म मरेकाे दिन
रित्तो बगरकाे काँश झैँ,
शिरकाे कपाल फुलेकि मेरि अामा
कुप्राे ढाड र रुग्न शरीर घिसार्दै,
गाई भैँसिकाे गाेबर साेहाेर्दा
फाटेका पैताला चहराई रहेपनि,
मलाई नै सम्झिरहेकि हुनेछिन
सायद,
म मरेकाे दिन ।
म झरिसकेकाे खबर सुनाउन
जब,
माेबाइल अाफ्नाे चीत्कार सुनाउला
खेतका पाटा खनिरहेका मेरा बा,
हत्तपत्त हरियाे बटन थिच्लान्
साेच्लान म कुनै सपनामा छु ।
शुरुमा सन्देश सुन्नेछैनन्
सुनेर साँचाे मान्ने छैनन्
जब,
बाेलिरहेकाे काेहि बिश्वास दिलाउला,
अाफुलाई धेरै समयपछि हिलाेमा
लम्पसार पाउनेछन्
सायद,
म मरेकाे दिन ।
सिन्दुर पुछिएकाे भन्दा बढि,
जब,
पिडाले मस्तिष्क थिच्नेछ,
मेरा दिदिबहिनी छट्पटिदै, मुर्छिदै
डाकाे सुकुन्जेल कराएर
मेराे नाम जप्दै भगवानसँग
मेराे प्राण,
भिख मागिरहेका हुनेछन्
सायद,
म मरेकाे दिन ।
एक कान, दुई कान, मैदान हुँदै
जब,
साथिसँगि थाह पाउलान
काल अाफ्नै नजिक अाएझैँ
झस्किई अाेठ, मुख सुकाउदै
उद्दिग्न र निरास बन्दै
एकछिन जिवनका लक्ष्य थन्क्याएर
मलाई झल्झलि सम्झेलान्
सायद,
म मरेकाे दिन ।
माया गर्ने मेरि प्रेमिका
हाेस पाउदै, हाेस गुमाउँदै
सँसार धिप्प अँध्यारिएझैँ
चुरा बिनाका हात अनि
सिन्दुर बिनाकाे टाउको पछार्दै
बिलाप गरि
सास छाेड्लिन जस्तो गर्नेछिन
सायद,
म मरेकाे दिन ।
मेरा दुश्मन खुच्चिङ भन्दै
मेराे घरकाे बाटो
अाेहाेरदाेहाेर गर्लान,
अाफ्नाहरु अाउन नभ्याउलान
पराइले नै काँध लाउलान्
ब्राह्मण शँख फुक्लान
बाटोभरि मन्त्र पढ्दै,
अलिकति कमाएको धन छर्लान
अनि गाउँकाे पुछारबाट अाेरालि लाग्लान सबै,
जब,
जलेर देह मेराे चितामा
खरानी पनि बाँकी नहाेला,
छाेडि मलाई मसानघाटमै
मलामिहरु घर अाउँदा,
मेरा मित्र, अाफन्त, दुश्मनहरु सबै,
फर्केर अघिकाे चिता सम्झदै
"मान्छे वास्तवमा राम्रो थियाे"
जरुर भन्नेछन्
सायद,
म मरेकाे दिन ।।।

ओ मायालु...
छर्केर अोठका ती लाली रङ्ग
सजाएर ईन्द्रधनुषी सपनाहरु
स्वच्छन्दताको निलो आकाशमुनि
सदाबहार हरियाली बसन्त डाक्ने
तिमी मेरो प्यारो मान्छे
हिऊद यामको चिसो सिरेटो पनि
तिम्रो सामिप्यताको एक आभाषमा नै
बाफ बनि उड्छ प्रिय
अनि सुन न
ग्रीष्म ऋतुको उखर्माउलो घाममा पनि
तिम्रा ती गुलाबी ओठमा
न'ओईलाई फक्रेको देख्छु
मेरा स साना खुशीहरु
हाना नदिको कसम
विश्वास गर
तिम्रो लाली ओठ चुमेर
तिम्रै सिऊदो भर्न चाहान्छु
केबल तिम्रो सौभाग्य बनेर
उत्साहको होली रंग भर्न चाहान्छु

धतूरे जिन्दगी

दिनभर हावामा महल ठड्यायो
ओबामा देखि ओली सम्मको गफ लडायो
न त चिन्ता छ भोलीको कुनै
न नै मान्छ राम्रो कुरा सुन्नै,
मनमा लोभ र जागर शुन्य अल्छी
घाम देखे घामै राम्रो जून देखे जूनै
हैट, धतूरे जिन्दगी!

आफुलाई डन भनेर गर्छ घमन्ड
ज्यान हेर्यो फिलिली सुकेको पात झै,
मुखले घामको राप ओकल्ने
अनुहार अन्धकार औसीको रात झै
कुरा गर्छ दशौ गर्धन छिनाको
दिमाग चै भुत्ते धार बिनाको।
हैट, धतूरे जिन्दगी!

पार्क अनि गल्ली सबैमा यिनको राज
एक स्वाट धूवाँ भए यिनलाई मोज र भोज
निदाएको हो कि मातेको आफैलाई थाह छैन
जिन्दगी जाकियोस भडखालोमा बाल मतलब भएन
कन्तबिजोग देखाएर यिनको, चन्डालहरू पैसा फलाउछन
सहानुभुतीको खेती गर्दै आफ्नो सस्था चलाउछन।
हैट, धतूरे जिन्दगी!
हाम्रो होंगकोंगमा।

नायकको आत्मालाप
बिस्तारै- बिस्तारै
फेरिदियो समयले-मेरो लिङ्ग
र म भएँ -तेस्रोलिङ्गी !
आजकाल
मेरो आँसु पुछिदिने रुमाल पैला गएको छ,
मेरो जाडो छेक्ने बाहुला बहुलाएको छ,
मेरो इँजार
अर्कै नयाँबस्तीको खोजिमा हराएको छ,
मेरो गन्धे जुत्ताको तुना
मलाई नै अल्झाउँदै कोच्न खोजिरहन्छ-
अन्धकार ट्वाइलेटको पाइपभित्र !
रगतमा नाँच्ने
मेरा मित्र उपियाँहरु
मेरै बिरोधमा आगो पकाउँदै उफ्रीरहन्छन् ;
पसीनाको छातीमा टेकेर
बनेको पसिनाकै महलमा
पसिना र आँसुको व्यापार गरिरहेछन्-
मेरा भ्रस्ट-दुस्टहरु !
अनि
इस्ट जुम्राहरु बस्दैनन्-
मेरो टाउकोको जंगलमा मिटिङ
र बनाउँदैनन् योजना-रुख काटेर घर बनाउने !
पुरानो जंगलका
बाघ-भालुहरु मलाई चपाउन चाहँदैनन्,
कुकुर मदेखी डराउँदैन र मलाई भुक्दैन पनि ,
बिरालो पनि
मलाई खोज्दै आउँदैन-सुरुङतिर !
आजकाल
आफ्नै सपनाका बच्चाहरुले
सर्लक्कै निल्न खोजिरहेछन् मलाई-
जसरी माकुराको बच्चाले आमालाई निल्दछन्!
म बिल्कुल नाङ्गो छु,
मेरो अंग-प्रत्यङ्ग खोक्रीएको छ,
मेरो ओठ,आँखा,कान र मस्तिष्क स्तब्ध छन्,
आगो धड्किने मेरो मुटु मक्किएको छ,
र यी पाईलाहरुको गतिमा अल्पबिराम लागेको छ,
बरु,
गतिशिल भएर हिँड्न थालेको छ-
बेहुली झै हिजो सृङ्गारिएर म पसेको यो- भूतघर !
हिजो-
शिखरमा मैले झण्डा फहराउँदा
बिजयको जुलुस निकाल्ने इतिहाँसका
प्रत्येक पन्नाहरुले आज मलाई नै गिज्याईरहन्छन् !
के भएर
यति कम्जोर भएँ म?-यो यूगको नायक;
बस !
लिङ्ग बद्लिदैमा यस्तो हुन्छ र ?

देश भक्तिको एउटा सिंगो माला गाँस्नु छ
संघियताको फूलबारीमा
सहिदका सपनाहरु
फक्रनु छ ।
अटल, अमर तिम्रो नाममा
सप्तरंगी सम्बृद्धिका शिखरहरु
ढकमक्क फूलाउन
देश भक्तिको एउटा सिंगो
माला गाँस्नु छ ।
गाउँ बस्तिमा
मानबताको बेर्ना रोप्न
मुटु भित्र
खोस्रीदै ती नरभक्ष
मिसाइलका चिहानहरु पन्छाएर
बगैंचाको नक्सा कोर्नु छ ।
संघी र सम्धिको भेषमा
बैरीहरु
मसान जगाउँन
ढोल बोकेर
बगैंचामा छिर्दा
फिलिङ्गोको झिल्का सँगै जले पनि
तिम्रो नसा नसामा
कुदेका पवित्र
जल छर्किएर
पारि गाउँको दुष्ट जोगीलाई
आज फेरी
अलिकति
सद्धभाबको
खरानी धस्नु छ ।
देश भक्तिको
एउटा सिंगो माला गाँस्नु छ ।

<<  <    2 3 4 5 6 [7] 8 9 10 11 12    >  >> 


 


एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com