सिंहदर्वार
जुन उपत्यकामा 'सिंह' कहिल्यै थिएन
कसको कैफियती वीर्यले तँ
बास्टार्ड ‘सिंहदर्वार’ जन्मिस्, र
मुलुकको भीर-पाखा र दूरदराजका मनुवाका
खुन-पसिना खैँचेर बैभव कमाईस्?
सिंहदर्वार, तँ चुपचाप केही नबोली
सँधै, हरेक नेताका मुखमा
दाह्रा-बंगारा जडान गरिदिन्छस्
जसले मानिसको सिकार पक्रेर
तेरो निम्ती कवाफ जुटाईदिन्छन्
जन-जनको सेवक जागिर पाएका
हाकिम र कर्मचारीका औँलाहरूमा तँ
हिंस्रक नंग्राहरू जडान गरिदिन्छस्
जसले रैथाने मानिसको निरीह छाती लुछेर
तेरो लागी छोएला र सेकुवा ल्याईदिन्छन्
म छक्कै परेकोछु, कि -
तेरो बा-आमा सिंह-सिंहिनी नै थिए भने
तेरो नाक त थेप्चो हुनु पर्ने हो,
आँखा चिम्सा हुनु पर्ने हुन्
झ्याप्प दाह्री-जुँगा कुन ककेशीयनकोबाट
तेरो ओँठ र चिउँडोमा सारिस्?
धुर्त खुराफाती दिमाग
कुन चाण्क्यको खप्परबाट आफ्नोमा हालिस्?
भन्, तेरो आसली रुप के हो 'सिंहदर्वार'?
मलाई शंका लागेकोछ, कि-
भारतीय नस्लको कुनै हरामी सिंहले
कान्तिपुरको कुकुर्नीलाई वीर्य दान गरेपछि
तँ जन्मेको पो हो कि 'सिंहदर्वार!'
खाँट्टी 'सिंह' त
यति धेरै अत्याचारी नहुनु पर्ने हो
भन्, तँ जन्मिँदा वरिपरिका
कति तामाङका जवान रगत-पसिना पिईस्?
अनेक कालखण्डहरूमा सातसाल सम्ममा
कति नागरिकलाई तुरुङ ठोकेर मारिस्?
कति ईमान्दार जनतालाई शुलीमा झून्ड्याइस्?
कति पतिव्रतालाई चीतामा शती चढाईस्?
कति बाहुन-टाउको चारपाटे मुडेर भन्ञ्याङ कटाइस्?
कति राजालाई तरुनी-रक्सीले मताएर
आफ्नो निम्ती ‘राजदण्ड’ हात पारिस्?
आफुलाई 'सिंहदर्वार' भन्दै, यहीँबाट
एकतन्त्रे राणा शासन कसरी चलाइस्?
आफुलाई 'सिंहदर्वार' भन्दै, यहीँबाट
निरंकुश राजतन्त्र कसरी चलाइस्?
आफुलाई 'सिंहदर्वार' नै भन्दै, यहीँबाट
उत्ताउलो-कांग्रेसी साशन कसरी चलाइस्?
आफुलाई 'सिंहदर्वार' भनेरै, यहीँबाट
पञ्चायती हिजडा शासन कसरी चलाइस्?
'सिंहदर्वार'कै आडमा लुकेर, यहीँबाट
नौलो प्रजातन्त्रको नाटक कसरी खेलिस्?
आफुलाई 'सिंहदर्वार' भनेरै, यहीँबाट
गणतन्त्रको न्वारानको दिनैदेखि
कसरी मुलुकलाई खाल्डोमा हालिस्?
बोल, सिंहदर्वार, बोल !
जुन उपत्यकाको ईतिहासमा
'सिंह' कहिल्यै थिएनन् भने, तँ
कसको कैफियती वीर्यले 'दरवार' भएर जन्मिस्?
नबोली चुपचाप अझै मुलुकलाई वर्वाद गर्छस् भने
अब म, भुइँचालो भएर तँलाई ध्वस्त पार्नेछु
त्यसपछिको मुलुकमा
‘दर्वार’का निम्ती केही हुने छैन, तर
जनताका ‘घर्बार’का निम्ती सबथोक हुनेछ ।

फूलको कथा
तर,
उसको आत्मा जलेको थिएन !
सप्तरंगी आशाहरु
अहिले अंगारको एउटै
कालो रंगमा बद्लिसकेको थियो;

उजाड पाखामा,
भस्मेको ठुटा भई बेबारिसे लडिरहेको त्यो
अरु कोहि नभएर त्यही फूल थियो-
जो हिजो सबैलाई हाँस्न मात्र सिकाउँदथ्यो ,
जो पिडाहरुलाई शीत बनाएर पनि
केबल हाँसिरहन्थ्यो र भन्थ्यो-
"फूलको आँखामा फूलै संसार..."
मानौ, उसको हाँसो बाह्रमासे फूल हो,
जो सदाबहार मगमाईरहन्थ्यो-
सुनको गमलामा पनि!
अक्करे-भिरहरुमा पनि !!
उसको जवान परागहरुमा झुण्डिएको
घाम र जूनका कति चिचिलाहरु
सित्तैमा लिएर जान्थ्यो-माहुरी,
र बनाउँथ्यो अमृतहरुको मह !
उसको अनुहारबाट
भारीका-भारी
मुस्कान चोरेर जान्थ्यो-पूतली,
र स्वर्गमा गई इन्द्रलाई नाँच देखाउथ्यो !!
खहरे-खोला झै बेग मारेर
आउनेहरुको हुलमा भवँरा किन नपर्नु?
भवराँ आउँथ्यो-र उसको कोमल मुहारमा
जबर्जस्ती चुम्बन गरेर फर्किन्थ्यो !!!
उ मुस्कुराउँदै सबै सहिदिन्थ्यो,
तर उसले यो कहिले सोचेन कि,
खहरेहरु फेरि फर्किदैनन्-आफ्नै जवानी जस्तै;
समयको डसाईले समयान्तरमा-
फूलको उमेर निहुरीदै गयो,
आकर्षण हरायो,
पूतली, माहुरी र भवँराको हुल हरायो ।
उ झोक्राएर ओईलाउन थाल्यो;
अब उ बास्तबमै एउटा अस्थिपन्जर बनिसकेको थियो,
बेस्वाद र बेआकर्षक!
एकदिन
अराजक अरिङ्गालहरु आएर
उसलाई झम्टिए, लछारपछार गरे,
र उसलाई ढालिदिए;
बिस्तारै मट्टितेल हालेर आगो झोसिदिए;
उसको शरीर पत्पती जल्यो,
जलिरहयो...
तर उसको आत्मा कहिले जलेन !!!

चोकमा हल्ला छ
चोकमा
बेतोडको हल्ला छ-
लाग्छ,
त्यहाँ कुनै ईश्वर वा ईश्वरको मुर्तिको आविस्कार हुदैछ !

"ईश्वर
आफैमा भ्रम होइन"
नभन्नेहरु पनि कम भेटिदैनन्-चोकमा ।

चोकको
परिधिभन्दा बाहिरपटिको
च्यातिएको प्वालबाट प्रष्ट देख्न सकिन्छ-
बिग्रेको साईकल घण्टी बजाउदैँ आउँछ,
बिग्रेको टरक हर्न लगाउदै नाँच्छ,

बिग्रेको माइक
केके-केके भनेर चिच्याएर जान्छ !

सबै टाईसुट लाउनेहरु
कुकुर हुँदैनन्, न त गोरु नै हुन्छन् ;
हल्लाको संगित यसरी गुन्जिन्छ-
मानौ त्यहाँ फेरि बेतोडको उत्सव हुँदैछ ।
जाँडको मातहरुले
साथ दिएकै छन्-नाँचेर ,
मन्द बातासहरु उफ्रेकै छन-शिरशिर गित गाउँदै,
झन् उकासेकै छन् -दृस्टिबिहिन तालीहरुले !

यसरी नै यो चोक बर्सौदेखी निदाउन सकेको छैन ।

फेरि समयको जाँतोले
उहीँ पहिलेकै समय फर्काउछ-
च्यातिएको छाला ओढेर
तीन महिना मज्जाले जोतेको गोरुले
पाउँछ-मालाको भारी,
ताली-परर..र ,सायद आज गोरु तिहार हो !

टाईसुट लगाएर
बर्शैभरी मालिकको चाकरी गर्ने
कहिलेकाहिँ मालिकको मुखमा समेत चुम्बन भ्याईसकेको कुकुरले पनि पाउँछ- उस्तै मालाको भारी,
बल्छ-झिलिमिली यो चोक,
सायद आज कुकुरतिहार हो !

तर
बर्सैभरी नांगो छालाको पिठ्यूले
भारी बोकिरहने गधाले पाउदैन- मालाको भारी,
र कहिले आउदैन-गधा तिहार पनि !

गाईजात्रा देखाईरहने
यो चोकको हल्लाको बारेमा
ज्ञानगुनका धेरै सुन्तला खाएर
कुप्रीएका बुढाहरु भन्छन्-" डराउनुपर्दैन,यी हल्लाहरुले
भुईचालो ल्याउँदैनन् !"

संघर्षका डोबहरु
एसो अनलाईन के बसेथे
पुलुक्क तिम्लाई च्याउदा
निल्थोप्लामा देखियौ
इन्स्टग्राम अपडेट बनी झुल्कियौ
सोचे मैलेपनि यहि हो मौका
कोशिपुल झै लस्करिलो
सम्झानाका तरेलिहरु
यसै माध्यमबाट ब्यक्त गरु
तर एकसब्द के एसो लेख्न लागेथे
सम्प्रेषित गर्ने मनका भाबहरु
सुटुक्कै पत्तो पायौ क्यार
चारकोसे झाडि फोर्दै
चारभन्ज्याङ पारै गर्यौ
एकै सासको अन्तरमा
साझ झै झमक्कै ढल्किगयौ
आक्रान्तित भईगयौ
भो भैगो त्यसरी
तुफानिलो सुईकुच्चा लाउनुपर्दैन
मेरा मनका अन्कुरहरु
हिमनदिझै हामफालेनी
सम्यम भै बगुला
रित्तिएको परिभाषा गरेपनी
झुसीनिम्ठो टाढै राखी
चुली बनुला
तिम्रो खातिर हुईकिदैका
संघर्षका डोबहरु
पुर्दै जाउला
सम्झनाका बाणहरु
भो भैगो यसरि
कुनै एककुनामा
चाङ लगाउला

एक दिन (गजल)
दू:खको जीवन कर्मले सप्रिन्छ एक दिन l
पसिना बनेर कोपीला फक्रिन्छ एक दिन ll

सम्पती ओईरो लाग्दैमा,घमण्ड गर्छ मान्छे,
सुरिलो रुख नि! फलेर लत्रिन्छ एक दिन ll

उपियाँ बनेर हिड्छ जो, सफल बनि आफु,
संसारै पछाडी लागेर घस्रिन्छ एक दिन ll

धिक्कार्दै पुर्पुरो रोएर,भाग्य त्यो बदलिन्न
समय र दिन सबैको तग्रीन्छ एक दिन ll

अर्काको लुटेर खान्छ जो, रुवाई धर धरी,
आफैले खनेको खाल्टोमा बज्रिन्छ एक दिन ll

<<  <    1 2 3 4 5 [6] 7 8 9 10 11    >  >> 


 


एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com