साले मोतिबिन्देहरु
सरकार
म देवनारायण हुँ देवनारायण
मलाई तिम्रा आँखाहरुले चिन्दैनन
आँखा नै नदेखेसी
चिन्छौ पनि कसरी पो ?
न त तिमिले देख्छौ
दसगजा बलत्कार भएको
न त तिमिले देख्छौ
दसगजाको नागरिकले सास्ती पाएको
स्यालको छाला ओढेर
सिंह जस्तो गर्जन्छौ
रास्ट्रीयताको नाममा
अराष्टीय ङुररर.... ङुरररर....।
सरकार
मैले त देशलाई
आफ्नो शरिर जतिकै प्रेम गरेको हुँ
मानौ कि
शरिरको कुनै पनि भागमा
चोट लाग्यो भने दुख्छ ।
हो
मैले देशलाई शरिर ठाने
र राजधानिलाई मुटु ठाने
र शरिरका बिभिन्न अंगहरुलाई
बिभिन्न प्रदेश र राज्यहरु ठाने
तर सरकारको आँखाले मलाई
साम्प्रदायिक देख्नु भो
छिमेकिको जासुसी देख्नु भो।
याद रहोस सरकार
म जस्ता लाखौँ देवनारयणहरुमाथी
जसै यो आक्षेप लाईरहेको छौ
उहि देवनारायणहरुले
आफ्नो देशको माटोको निम्ती
बैरिसंग लडेका छौँ
रगत बगाएका छौँ।
सरकार
मुटुले शरिरको बिभिन्न भागमा
रक्त सन्चार गर्न सकेन भने
ति अंगहरु कम्जोर हुन्छ्न
अर्थात रगत नपुगेका
ति अंगहरु काम नलाग्ने हुन्छन
फेरि तिमि चाहिँ भन्दै छौ रे
काम नलाग्ने ति अंगहरु काटेर फाल्ने ।
सोच्नुहोस सरकार
हात बिनाको शरिर जस्तो देश
खुट्टा बिनाको शरिर जस्तो देश
मुटु मात्र तन्दुरुस्त
हात खुट्टा नभएको
जिउ र टाउको मात्र भएको शरिरजस्तो
देश भयो भने के हुन्छ?
त्यसैले
शरिरको अरु अंगहरुमा
धमनी र सिराहरुबाट
चाँडो रक्तसन्चार प्रवाह गर
होइन भने मुटुको सल्यकृया होला ।
सरकार चाँडो गर चाँडो
आफ्नै देशको नागरिकहरुलाई
म जस्ता देवनारायणहरुलाई
सहयोग देउ
अधिकार देउ
हैन भने छिमेकिको घरमा के पाक्दै छ?
पाहुना बन्न जान ति लालयित
उतै हेरिरहेका
ति आँखाहरुको पनि सल्यकृया होला !।।

काठमान्डु-
यो काठमान्डु आफुलाई
"मुटु हु" भन्छ देशको
तर
बग्दैन नसानसा
पुग्दैन कोषकोष
सपना जगाउने अक्सिजन बोकेर,
बरू थुपार्छ आफुभित्र मुलुकको सीमाना।
कानो नजर यसको
सक्दैन छुट्याउनु
आफ्नो र पराई अर्थात (देब नारायण र राजेन्द्र)
अनि,
चिन्न नसकेर रंग भित्रका रंगहरू
कुल्चिन्छ मुलुक हुर्काउने मनहरू।
यो काठमान्डु,
बूढो मस्तिष्कमा थुप्रीएको
जलेको समयको खरानीको रास
दल्छ आफ्नो अघोरी निधारमा अनि
जगाउन लागि पर्छ इतिहासको प्रेत।
भूकम्पले सोत्तर पारेको
जर्जर कायामा
घमण्डी धरहराको चिहान पाल्ने
यो काठमान्डु,
खुट्टा छ
तर उभिन
बैशाखी खोज्छ,
हिड्ने गोरेटो बिर्सिएर
पूच्छर हल्लाउदै उल्टो यात्रा रोज्छ।
हात उचालेर
आकाश तिर
चोर औला ठ्ड्याउछ,
र ओकल्छ मुखबाट
बासी दिप्योपदेशको दूर्गन्ध।
यो काठमान्डु,
प्वाल परेको कानले
सुन्दैन सिमानाका चित्कारहरू,
बुझ्दैन खाल्डो बाहिरका बिचारहरू,
बस
आफ्नो भजन सुन्छ, रमाउछ।
अनि
मुलकको रगत निचोरेर
आहाल जमाइ
कूपमन्डूक आस्थाको डुबकी लाउछ।
दसगजाको चिहानमा
मधेस जाकिदैछ,
बास भत्केर पूरिदैछ /भेलले बगाउदैछ
बस्तीका बस्ती,
सपना खोज्दै उडेका पौरखहरू
फर्किदैछन बाकसमा,
तारा खसेर रित्तिएको आकाशमा
गिद्दको हुल मराडिदैछ,
तर
आफ्नो सन्तानको लागि
बाझो स्तनबाट
केवल आसुका थोपा चुहाउने
यो काठमान्डु
पशुपतिको कल्याणमा मुलुकको अस्तित्व सुम्पेर
सिहदरबारको
खोपी भित्र मस्त सुतिबस्छ।
ए काठमान्डु!
परिबर्तनको हुरीले उखेल्न नसकेको
तेरो भग्न ईतिहास,
समयको चोट्ले बिथोल्न नसकेको
तेरो ऐजेरू बिश्वास,
थेग्न अस्विकार गर्दैछ
यो माटोले,
मेटाएर तेरा डोबहरू
तेरो आकाश भन्दा पर
नया क्षितिज रच्दैछ
यो बाटोले।
कि,
त भित्र खुम्चिएको नेपाल
तेरो आकाश च्यातेर
फैलिदैछ मन मनमा,
हुर्कदैछ कण कणमा।
कि अब,
काठमान्डु मात्रै होइन
यो माटोको हरेक अंश
यो देशको राजधानी बन्छ।

सप्तकोशी र मान्छे
सुनकोशी, तामाकोशी र इन्द्रावतीको पवित्र जलझैं
कहिले अरुण झैं शान्त भएर
कहिले तमोर झैं उछृंखल भएर
दूधकोशीको श्वेतपनलाई
लिखुले झैं सम्झौता गर्दै
म सप्तकोशी भएर बगिरहेको छु ।
म बगिरहेको छु
समयको भेलसँगै
सुसाइको धुनले वाईवाई गर्दै
निराश हुँदै ओरालो लागिरहेको छु
बङ्गालको खाडीतिर ।
विगतहरु अरुण-तमोर हुन्
सुनकोशी, तामाकोशी, दूधकोशी,
इन्द्रावती र लिखुहरु हुन्
यिनै परिदृश्यबाट जीवनको उद्भव भएको छ ।
कति आत्माहरु पौडँदैछन्
कति डुबेर मरे
मैले छेकेको छु कतिलाई-
नदीको दुई किनारा भएर
यसैले पनि त म सप्तकोशी हुँ ।
मान्छेले थुन्न नखोजेका होइनन् मलाई
मनभित्रै भीमनगरको बाँध नबाँधिएको पनि होइन
त्यतिखेर म
दायाँ-वायाँ बग्न नथालेको पनि होइन
अहिले, कोशी सम्झौता झैं
आफ्नै यात्राविरुद्ध करारनामा गर्दै
म बगिरहेको छु,
चुपचाप-चुपचाप
हेर्नेका आँखा नै टट्टाउने गरी
आफैंभित्रसम्म भएर म बगिरहेको छु
फर्केर कहिल्यै नआउने गरी बगिरहेको छु ।
म जस्तै,
पहाडको झरनामा नुहाएर आउनेहरु
बगिरहेका छन्
तराईको मैदानमा घस्रेर हिँड्नेहरु
बगिरहेका छन्
एकैठाउँ, सप्तकोशीझैं
विस्फारित भएर बगिरहेछन्
विस्तारित भएर बगिरहेछन्
सारमा
पानी- मान्छे
मान्छे-पानी
पानी बगरमा बग्छ
मान्छे उमेरमा बग्छ
अविरल-अविरल दुबै बगिरहन्छन्
दुबै जन्मिइरहन्छन्
दुबै ओरालो बग्छन् ।
कहिलेकाहीँ,
पानी बादल भएर माथिसम्म पुग्छ
मान्छे मन भएर बादलमै पुग्छ ।
बादल र मन
पानी र मान्छे.....
सङ्लो पानी-धमिलो पानी
पवित्र मन-अपवित्र मन ।
सप्तकोशी र मान्छे ।

‎भुतको शहर
‪रातमा देखिने
पहाडजस्तै
मेसिनले कतै थिचिएँ भने,
या त आतंककारीको
आत्मघाती
बमबाट उडाईएँ भने,
अलिकती
बाँकी उकालो
पार गर्ने अन्तिम स्वप्नमा,
हिँड्दाहिड्दै
भिरबाट खसेर
टुक्रा-टुक्रा भएको गाडीजस्तै
चोइटिएँ भने,
ननिभेर कतै
समयको आगोमा
उम्लिदा उम्लिदै
डढिँहाले भने,
अथवा
यादहरुको पहाडदेखी
जिवनको समुन्द्र हेर्दाहेर्दै
पाइताला खुस्किएर
त्यहिँ डुबिहाले भने-
नसुकाउनु आफूलाई पृया-
तिहारपछिका दिनमा ढोकामाथी सुकेका सयपत्रीजस्तै,
नझार्नु आँसु आमा, बाबा-
समुन्द्रको पानी वा पिँडालुको पातमा झरेको शीत जस्तै,
नसंझिनु साथी-
सँधै झस्काईरहने फिल्मको दृश्यजस्तै,
म त;
अँधिया जीवन बोकेर
कालको खेत जोत्न आएको छु-
बालुवाको मान्छे र
मेसिनहरुको भूत नाँच्ने यो शहरमा !

दु:ख
कहिले त म निराश हुन्छ…
जीवन को अनेक समस्यालाई सम्झेर ।
पथ भ्रष्ठो झै बसी रहेको छु म
एकजना लाचार ब्यक्ति झै बनेर ।।
सुख र शान्तिको को खोजिमा ---
परदेशी बनी म बिरानो देशमा पुगेछु ।
भोक र तिष्णाले पिड़ीत हुन्दै -----
आँशुको नुनिलो घुट्को पीई रहेको छु ।।
एउटा सानो संसार बनाउने कल्पना थियो
जीवनलाई सार्थक बनाउने सक्लंप थियो
कल्पना कहिले वास्तव भएना
निसार्थक जीवनलाई सार्थक बनाउनु सकिन्ना ।
दुई नयन बाट आँशु बगिन्छ
कहिल्ये यो मति बनीदिने हो ?
निभि सकेका आशाको दियो हरूपनि
कहिल्ये फेरि उज्यालो ज्योति बनीदिने हो?
कहिल्ये आफ्नो जीवन लाई गुनाश पोख्छु
कहिल्ये आफ्नो भाग्यले नै दोषछु।
कस्तो यो जीवन पाए छु मैले भनि ---
एकान्त ठाउँमा बसी सच्दै नै रई हिड़छु
पाउदिना कसै बाट सान्तना सहानुभुति
पाउदिना कसै बाट सहायता र सुबुध्दि ।
हिड़नु चाहान्छु कहिल्ये त यो संसार त्यागेर.
आफ्नो कर्तव्य र दायित्य बाट टाड़ा भागेर
आशा लागेको थियो मलाई
कसै बाट प्रश्न को अत्तर पाउछु भनेर।
त्यसले पत्र लेखि पठाए मैले
कसले आफ्नो प्रिया झैं ठानेर ।।
धैरे दिन साल महिना बिति गयो
तर मेरो आशा फुल झैं फुल्न सकेना
मनको कुराहरु सबै मनमै रह्यें
कसै संग प्रकट गर्नु सकिना।।
निष्ठुरी प्रियाले बिर्सीछीन मलाई
म भने उनिलाई कहिल्ये बिर्सीनु सकिना
सागर झै गम्भिर, उनकी बोलि मह जस्तो ।
उनकी सान्निध्य कहिल्ये पनि पाउन सकिना।।
मन निराश छ सदै उनको स्मृतिमा
उनिले कहिल्ये त्यो सम्झि दिदेंना,
पत्र लेखि पठाँउछु सदै उत्तर पाउने आशाले
तर मेरो प्रश्रको उत्तर कहिल्यें पाउँदीना।।।

<<  <    1 2 3 [4] 5 6 7 8 9 10    >  >> 


 


एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com