मेरो हालखबर (गजल)
न त मेरो घर सोध्छिन् न त नाम थर
केबल सोधिरहन्छिन् मेरो हालखबर
तिमीसंग बोल्ने मेरो फुर्सद छैन भन्दा
हो र साईला!भन्दै जिस्किन्छे अक्सर

रिप्लाई नदिंदा नि कोसंग बिजी?अरे
छिटो भन्नु भन्दै,सताऊछिन् हर प्रहर
मेरोबारे किन धेरै चासो राख्छ्यौ भन्दा
तिमीलाई गुमाउछु कि लाग्छ अरे डर

मलाई पनि उनको बारे केहि थाह छैन
थाहै नपाई बसाई सरें उनकै मन वरपर
न त मेरो घर सोध्छिन् न त नाम थर
केबल सोधिरहन्छिन् मेरो हालखबर

आत्मासन्तुष्टि
बोलीमा नै मान्छे असल, बोली नै त हो बिझाउने l
धन दौलत केही हैन, आत्मासन्तुष्टिले हो बचाउने ll

ठुलालाई आदर गर्नु बिचार सुन्नु ठुलाहरु कै,
बुबा-आमा पहिलो गुरु बन्नु भो पाठ सिकाउने ll

पराइ आफ्ना भए बरु आफ्ना पराइ हुँदै गए ,
अप्ठ्यारोमा साथ छोडी झन्झन भए रुवाउने ll

महल भित्र बन्द चरी सुनको पिंजडामा भन्दा,
स्वतन्त्र भइ उड्न पाउँदा खुल्ला आकासमै रमाउने ll

आँखाको नानी भइ बस्ने सधै मन् मुटु मझेरीमा,
आज भोलि ति मान्छे भए मुटुमै आगो लगाउने ll

एक युगे आन्दोलन
एक ताका
यहीं मा'लाजेमा उभिएर
इतिहास नै बदल्ने
एक ढाकर आन्दोलन बोकेर
उत्रेको थेँ रणभूमिमा
बोके थें -राष्ट्र झण्डा
गाए थें - सम्बृद्दिको गाना
र लाए थें- राष्ट्रताको नारा
जय जय नेपाल-ज़िन्दाबाद!!
संगै थे रणभूमिमा
पश्चिम महाकालीका भीमदत्त पन्तहरु
हातमा हली,कोदाली र हँसिया बोकी
साथमै थे,
पूर्ब मेचीका रत्न कुमार बान्तावाहरु
हातमा सिरुपाते र भरुवा बोकी
आन्दोलित थे ति सबै
आफ्नो अधिकार र अस्तित्वको निम्ति
एक हूल महिलाहरु
छौपडी गोठ छाडी आएका थे
छौपडी प्रथा बिरुद्द आन्दोलन गर्न
अर्को एक हूल कमलरीहरु
कमलरी प्रथा बिरुद्द आन्दोलित थे
एक ताँती दलितहरु
नरसिंगा,सनही र बाजाको तालमा
अधिकार खोजिरहेका थे
तर थियो
सबैको हातमा राष्ट्र झण्डा
गाइरहेका थे-सम्बृद्दिको गाना
र लाइरहेका थे- राष्ट्रताको नारा
जय जय नेपाल - जिन्दाबाद!!
तर यतिबिघ्न आज...
समय बित्यो,युग फेरियो,इतिहास बदलियो
तर खोई कहाँ बदलियो मेरो देश???
अहँ अझै उस्तै छ मेरो देश!!
वि.क. दाजुभाईहरु
अझै खलाँती फूकिरहेका छन्
अझै हाम्रो चेलीहरु छौपडी गोठमै छन्
अझै बोक्सीनीहरु जलिरहेकै छन्
अझै महिला विरुद्ध हिंशा भइरहेकै छन्
अझै हामी नुनको भारी बोकिरहेकै छौँ
हाम्रो जिजु बाजेले जोतेका खेत बारी
अझै हामी जोतिरहेकै छौँ
अझै धामी झाँक्रीले ढ्यांग्रो ठटाइरहेकै छन्
बांगे देशीका खलकहरू
अझै लाहुर धाइरहेकै छन् त
खोई त मेरो देश???
अहँ पटक्कै परिवर्तन भएन
उहीँ पृथ्बीनारायण बाजेको
भत्किन लाग्या शालिक
र मेरो देश उस्तै उस्तै देखीरहेको छु
क्रमश भत्किरहेको..................

आमा! बा लाई बिदेश नपठाउनुहोस…
बिन्ती आमा!
बालाई बिदेश नपठाउनुहोस।
मेरो भबिष्यको चिन्ता गरेर
बालाई बिदेश नपठाउनुहोस
म दुई महिनाको भ्रुण हुँ।
गर्भ भित्रै बाट तपाइको ढुक्ढुकी छाम्न सक्छु।
आमा!
बालाई बिदेश नपठाउनुहोस।
पहिलो पटक जब धरतिमा अवतरण हुनेछु।
प्रकृतिको नियम अनुसार अवस्य रुनेछु।
त्यो पल मलाई फकाउन……
मुखमा चुहाई दिनु छातिको अमृतधारा
...र सम्झेरै पनि नबिर्सी एउटा हातमा थमाइ दिनु कलम र अर्को हातमा राखिदिनु खोरिया खोस्रीने औजार।
तर!बिर्सेर पनि
पैसा र बिलासिताको खेलौना दिँदै नदिनु।
म प्राकृतिक बाँच्न चाहन्छु।
त्यसैले,बालाई बिदेश नपठाउनुस आमा।
लाले दाईले सिलाएको भोटो ,
रामे दाईले बनाएकै चप्पल लगाएर
छाती भरी पुस्तक च्यापी जाउँला बरु
घण्टौँ टाढाको छाना नभएकै
त्यही पाठशाला ।।
त्यस माथि तपाईँले सिकाउनु मानवताको संस्कार
ठड्याई दिनु म भित्र नैतिकताको स्तम्भ
प्रयास गर्नु साधारण मान्छे बनाउनलाई
तर बालाई बिदेश नपठाउनुहोस आमा……
जुनकीरीले पुल्टो बालेर सजाएको गाउँ छोडेर
नजाउँला शहरको रमझममा
जहाँ,मध्यरात जुनमायाको चित्कार गुन्जिन्छ।
अहम खाएर,घृणा डकार्ने त्यो शहर बिच
स्वतन्त्रता कैद गरेर उठाईएको ठूलो भवन भित्र नबसौँला
जहाँ निसासियोस आफ्नै फोक्सोको श्वास
त्यसैले……
आमा!बालाई बिदेश नपठाउनुहोस।
आमा!
सपनाको झोला भिरेर बिदेश गएकाहरु
आफै भरिएर आउछन बन्द बाकस भरी-भरी..
जिउँदो फर्किनेहरु
उतै बुझाएर आउछन यौवनको लालपुर्जा।
फेरि किन बिदेशिनु पर्यो?
भो आमा!बालाई बिदेश नपठाउनुहोस।
तै पनि मान्नु भएन भने बा...
तगारोमा राखी दिनु
सिन्दुर,पोते,चुरा र मायाको चिनो"म"
अनि बगाई दिनु आँखा बाट
......सप्तकोसी र कर्णाली।

चप्पल
चप्पल
चुडिन सक्छ
हिड्दा हिड्दै बिच सडकमा
नाच्दा नाच्दै डिस्को, नाइट क्लबहरुमा
तर्दा तर्दै जङ्घार,साघुहरुमा
पुग्दा नपुग्दै गन्तब्यहरुमा
सुखको अधिकतम शिखर बिन्दुमा पुगेर
आनन्दको सास फेर्दैगर्दै या
दुखको महासागरमा पौडी खेल्दै गर्दा होस
जहाँ जैले पनि चुडिन सक्छ ।

जीन्दगी
चप्पल जस्तो घिसारेर
दम्भको मान्छे हु भन्नेहरु
खडा गर्न खोज्छन आफ्नो साम्राज्य
खोसेर दुनियाको ओठको मुस्कान
चुडाएर फक्रिन्दै गरेको कोपिलाहरु
पुछेर सिउदोको रातो सिन्दुरहरु
बर्साएर निर्दोस परेलिहरु
निभाएर गरिबको चुलाहरु
उजाडेर सुन्दर गाउँ बस्तीहरु ।

भुलेर सारा सौर्न्दय
जस्तोकी
फुलहरुको कोमलता सौदर्य र सुबास
इन्द्रेणीको मनै लोभ्याउने सप्तरङ्गी रङहरू
नदि महासागरको शालिन्ता
हिमाल टाकुराहरुको सुन्दरता
आमाहरुको अनुपम माया प्रेम ।

मानव चेतनाको उच्चतम युगमा
किन जन्मिरहेछ किम जोङउनहरु?
उड्न पाउने पंन्क्षिहरुको स्वतन्त्रता माथि
धावा बोल्दै ,बुट बजार्दै परेड खेल्न
किन तयार हुन्छ
आफ्नो साम्रज्य फैलाउनुको निमित्त
यि आइ एस आइ बोकोहरामहरु ?
फुलहरुको सुन्दर बस्तिहरुमा
आणबिक अस्त्र सम्म खसाल्नलाई ।

यति बुझुनु छ मान्छे भएर
मान्छे भन्दा माथी उठ्न चाहानेहरुले
महङ्गो भएपनी सस्तो भएपनि
ब्रान्डेड भएपनी ब्रान्डेड नभएपनी
राजा महाराजाले लगाएपनी
भिकारी सडक छापले लगाएपनी
चुटिएपछी फ्याकिनु पर्नेत
आखिर त्यै फोहोरको भाडो न हो।

<<  <    1 2 [3] 4 5 6 7 8 9 10    >  >> 


 


एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com