छोरीहरु.....
ए छोरीको अामा/बुबाहरु हो
छोरीलाई स्कुल नपठाउ
जब तिम्रो छोरी सात बर्षकी हुन्छे
जम्मा गर गाउँका
उस्तै उमेरका अरु छोरीहरु
र नाङगो सुताईदेउ सडकमा
तेहिँ बाटो भएर हुईँकिने चिल्लो कारका महापुरुषहरु होस्
अथवा, पैदल हिँड्दैगरेका चिम्पाञ्जीहरु
लगाअोस् गिद्दे नजर
र लुछोस्, निमोठोस् अवाला नानीहरुलाई
र मेटाअोस् तिर्खा सम्भोगको कतिसम्म चाहान्छ
मुर्छित् नानीहरु
छट्पटिदै तेहिँ मृत्युवरण गर्नेछन्
तिमीहरु जिउँदो लास जिउनु घरमा
ममता टुक्रिएको वियोगमा
सम्झिनु,
यो पुरुषप्रधान देशमा
छोरीहरु यौनतृप्तताको लागि मात्रै जन्मिएको हो
अाफ्नै बुबा, काका र शिक्षकहरुको
बलात्कारको निम्ति जन्माईएका हुन्
सम्झिनु यत्ति र चित्त बुझाउनु ।

यन्त्रहरुको वस्तीबाट
दुनियामा नोटका खेती गर्नु पहिले
छरेको वीज उम्रिनु पहिले
भन्छन्
बाच्नकालागी ति कन्दमुलहरु काफी थिए रे
हास्नकालागी निस्वार्थ ति मुस्कान साफी थिए रे

आफैलाई चिमोट्नुको व्यथा पोख्दिन म
बरु यि कर्कश आवाजहरुले गुन्जाइरहेको ध्वनीलाई
मिठा धुन सम्झिएर
आफनै गीत गुन्गुनाईरहेछु
अघि-पछि कोही छ र सुन्ला भन्नु पर्दैन
बरु भएका यि कानहरुमापनी
घुसाइएकाछन् ठेडीहरु
अलग-अलग छन् अलि परै
सुन्लान् कि भन्नेहरु!

छैन यहाँ आमाले दु:खका कनिकाहरु निफन्ने नाड्०लो,
देखिदैन बाबाले जिन्दगी बाट्ने बट्नेसोहरु
त्यसैले घरी-घरी निस्सासिएर खोल्छु
नाक/मुख छोपिएका महला

यी हात-गोडाहरु सधैँ जुधिरहेछ
कुन बेला औला चुडाउन सक्छ
कुन बेला हातै भचाउन सक्छ
कुन बेला खुट्टा बंगाउन सक्छ
त कुन बेला शरिरनै बेरिन सक्छ,किच्याउन सक्छ
जिन्दगीलाई निल्न सक्छ
यि सब जान्दा-जान्दै,देख्दा-देख्दैपनि
नजानेझै/नदेखेझै एकोहोरो उसकै आसपास वित्नेगर्छ
घामले पर्दा खोल्नु भन्दा पहिल्यैबाट
धरतीमा जूनले चियाउनु अघिसम्म

ध्वनिहरुको नेपथ्यबाट लाग्छ
कसैले जुलुस् लगाईरहेछ
जिन्दावाद र मुर्दावाद नभनेरै

उसो त मेरी आमाले बर्षौ फेर्न नपाएको
मजेत्रो फेर्न नपाउदै
अघाइसकेकाहरुलाई दिनु छ भ्याट्,तिर्नु छ कर
म मेरो देशको मुलढोका छिर्दैगर्दा

हाय!ग्ल्यामर्स जीन्दगी !
भन्नु मलाई सुहाउदैन
त्यो जिन्दगी त जिइरहेकाछन् अरु कसैले
तरिका मात्रै फरक कमाउने आखिर रहेछ पैशै
आफु अनि देशलाई नंगाउनेहरुलाई के थाहा?
आफ्नो पसिना बगाउनुको मजा,
परदेशबाट श्रमले सिंचाईरहेको
नेपाली बजारमा बढिरहेको महंगाई?

एउटा अनुरोध!
युवाहरुलाई देशमा अटाउने कोसिष गर सरकार
ताकी मोती जस्तै पसिनाको थोपाहरुले सिँचुन् आफ्नै देश
बिस्तारै देश आफै समृद्व हुनेछ
र फर्किनु पर्नेछैन सेतो बाकसमा
आफै पार्सल बनिएर

आलु जिन्दगी
भुईचालोले धाजा फाटेको बारीमा
फलेका आलु बेचेर
मेरी आमा
कयौं आलुजस्तैं सपनाहरु
किनेर मकैंको झुत्ताजस्तैं
थाक्रोमा झुन्डाईदिनुहुन्छ ।
बैंशाखमा खडेरीले बर्रा डांडामा
धुलो उडाउन थालेपछि
मेरा बा
उडेर आकाश छुन नसकेका
मेरा आलुजस्ता सपनाहरु
बजारमा लगेर बेच्ने सपना
कुंदनुहुन्छ ।
आलु आलुजस्ता आलुहरुको
भीडमा हराएर
टमाटरको अचार बन्न नसकेको
म मुलांगखरे
मेरै करेसाको
आलुको तरकारी
आलुदम
आलु तामा
आलुसाग
आलुको अचार
आलुचप
आलुचिउरा
आलुको समोसा
खाएर आलुजस्तैं सर्वापरी भएको छु ।
परिक्षामा फेल आलु
काम गर्न जानेन आलु
जेमा पनि फिट आलु
आलुजस्तो जताततैं मिल्ने आलु
आलु नैं आलु खाएपछि
मेरो जिन्दगी पनि आलुजस्तो
सबैंतिरबाट
थिचिएर,चेप्टिएर
आलुजस्तैं आकारको भाछु ।
तर
मैंले सधैं खाने आलु
कुहिएर फयात्त भयो भने
तिमीलाई कुहाएर
फयात्त बनाईदिन्छु आलुजस्तैं ।

लठ्ठीको आविस्कार
मैले
जसरी बनाएँ,यो लठ्ठी मेरै भलाईको निम्ती
परिणामको बोक्रा फरक देखियो ,

मैले
मज्जाले खिपेको यो लठ्ठीले
आज मेरै सहारा बन्न ईन्कार गर्छ

मेरै टाउकोमा बजारिनु खोज्छ

लठ्ठिको बाँङ्गिएको भागबाट
यतिबेला जन्मिरहेछन्-करोडौँ विष-बिच्छिहरु
यिनिहरु
दुईबाट चार, चारबाट आठ,आठबाट सोह्रको हिसाबले
पला-पलामा बढिरहेछन् ,

म डराईरहेको छु,
बिस्तारै-बिस्तारै मैले कहाँ टेक्नेछु?
बिस्तारै-बिस्तारै मैले कहाँ देख्नेछु?

बिच्छिहरुले ढाकेको-
आकाशबाट निलो रङ कसरी देख्नेछु?
धरतीबाट हरियो रङ कसरी भेट्नेछु?
बिच्छिको थुप्रोबाट
अलिकती छिरेको उज्यालोबाट पनि
आँखिर बिच्छी नै त देख्नेछु ,
र देख्नेछु-तिनिहरुले टोकिरहेको सुर्यलाई !

बिच्छिहरुले छोपेको
यो ब्रह्माण्डबाट
हटाउनैपर्नेछ-यि काला बिच्छिहरु,
नत्र त
ताराहरुको गाउँमा
स-साना घामजुनका राता/पहेँला बच्चाहरूलाई
टोकि-टोकि सक्नेछन् यिनिहरुले,
र फेरि सदाको लागी मर्नेछ- उज्यालो !

हिजो
मैले लठ्ठी बनाएकै हो,
जसको सहाराले
म जस्तै झुसे दारी बोकेर बुढो भैइरहेको
यो पृथ्विलाई ढल्नुअघी
दिन सक्छु कि सहारा भनेर;
जसको सहाराले
यसरी धुजा-धुजा च्यातिएको यो आकाशको छातालाई
टेको लगाउन सक्छु कि भनेर ;
सुनामीको बेगबाट
आधिँको आबेगबाट
आगोको डँडेलोबाट
पहाडको पहिरोबाट
मान्छे जातीले शासन गरेको
एउटा घर जोगाउन सक्छु कि भनेर !

लठ्ठी
बनाउँदा मैले, यो सोचिनँ कि-
लठ्ठीले आतंक ल्याउँछ,
लठ्ठीले निरंकुश शासन चलाउँछ,
लठ्ठिले कानुन बनाउँछ
लठ्ठिले कानुन च्यात्छ
लठ्ठीले धर्म बनाउँछ
लठ्ठीले धर्मग्रन्थ च्यात्छ
लठ्ठीले जाती/लिङ्ग बिभाजन गर्छ
लठ्ठीले मालिक जन्माउँछ
लठ्ठीले श्रमिक जन्माउँछ

मैले
यो पनि सोचिनँ कि-
लठ्ठिले यो पृथ्वी थाम्छ र ढलाउँछ पनि,

आज
आफैले बनाएको लठ्ठीमुनि
यतिबिघ्नँ डराएर बस्नुपर्नेछ, यो पनि मैले कहिले सोचिनँ !

उमेरमा
जब मैले यो लठ्ठी बनाएँ,खाली यो सोचेँ कि-
यो मेरो बुढेसकालको सहारा हो,

मेरो सोचाईले यसरी फेल खायो कि
जसरी
पाल्नेछ भनेर सोचेको एउटा छोराले
आफ्नो बाउआमालाई
बुढेसकालमा आफुबाट निक्कै परको
धर्मशालामा हुत्याईँपठाउँछ....

जिवनको अन्तिम प्रहर
एउटै काम गर्नुछ,

यो लठ्ठीको बढ्दैगरेको झुस्स दारी खौरिनुछ, जहाँ
झुण्डिएर पिङ्ग खेलिरहेछन्-
आतंककारी/अहमकारी बिच्छिहरुको कानुन !

हिर्कायो....
हिर्कायो।
बेस्सरी हिर्कायो।
अनाहकमा थापी रहें
नदुख्नु थ्यो,दुखिरह्यो।
नदुखेको अभिनय गरिरहें।
ओठमा गुराँस फुलाएँ।
आँखाहरुमा ताराहरु टल्काई रहें।
त्यो गल्यो।
फतक्क गल्यो र थुचुक्क बस्यो।
मुसुक्क हाँसे।
त्यो जल्यो।
धुवाँ-धुवाँ भयो।
नजर आकाश मास्तिर डुलाएँ।
त्यो उड्यो।
सुस्त सुस्त कतै बिलिन भयो।
दसक बितेर गयो।
मेटिएन त निलडाम।
सहज भएको छ बाँच्न अचेल।
सोच्ने गर्छु त्यो...
माया थियो या,थियो जिन्दगिको पाठ?

<<  <    [1] 2 3 4 5 6 7 8 9 10    >  >> 


 


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com