यथार्थमा दशैँ
सोँच्छु
बूढो हुँदै जानू भनेको
बिगतहरु खात् लाग्दै जानू रैछ
दिमागको आल्मारीमा
जसरि छ घरमा पढ्दै राखेको
किताबहरुको चाङ
सानोबेला
दँशै आउँथ्यो
बोकि ल्याउँथ्यो उमङग एकाबिहानै घामले
उफ्रिन्थ्यौँ न्यानोपनमा
बाख्रापाठा सँगै
चाहिन्थ्यो नयाँ लुगा
खानु त उस्तै हो
लाग्थ्य‍ो घरको अगेना माथि धेरै झुण्डियोस् मासु
बाबाले दक्षिणा धेरै दिउन् पैसा
खुवाउन् आमाले मिठोमिठो परिकार पकाएर
आमालाई झिँजाउने मौका खुब थियो
सताउँथ्यौँ बेस्सरी
माकुराका बच्चाहरुले झिँजाउँछ कसरी आमालाई
सबै पुराईदिनुहुन्थ्यो बाले आमाले
नपुगेर कै रोएर माग्नु परेन
खेल्नलाई, खानलाई अनुमति मागिएन
जे जे भन्यो तै तै पाउने भएर होला
सायद भनियो सम्पुर्णतालाई दशै केटाकेटीमा
अहिले,
उमेरले मध्यान्तर नाघिसक्यो
पश्चिम क्षितिज उक्लँदैगरेको घाम झैँ
समय अनुकुल, प्रतिकुल बन्दै चुनौती दिईरहन्छ
जिन्दगीलाई
हरेक बर्ष आउँछन् दशै र तिहारहरु
तर अचेल आउँदैन त्यो केटाकेटीको दशैँ
बरु ठिक उल्टिएर आउन थालेको छ
म सानो हुँदाका मेरा बा आमा
ठिक मै भएको छु अचेल
र थुप्रै लालाबाला प्रति छ मेरो जिम्मेवारी
फुकाईदिनु छ उनिहरुलाई
खुसिका पोकाहरु
उमङगका लट्टाईहरु
र सजाईदिनु छ आगनमा दशैँ
जसरि मेरा बा आमाले
मेरो लागि गर्नुभएको थियो
मलाई लाग्थ्यो
म जत्तिकै बा आमा पनि खुसि थिए होलान् त्यो दशैँमा
तर होईन रहेछ
आाफ्नो रहरबाट टाढै रहेर पो
ल्याउनुपर्दोरैछ घरमा दशैँ नानीहरुलाई
सन्तानको ओठओठमा
खुसि बाल्नको लागि
आफु जल्नुपर्नेरहेछ तेलमा लिपिएर दीयो
कति चाँडै दगुरेर आयो समय
र सिकाएर भाग्यो तै बाटो
दशैँको बास्तबिकता
केटाकेटीको रहर
र बा आमाको बाध्यता ।


शकुन आँसु,खोटाङ
हाल- दक्षिण कोरिया

संघार
यसरी तिमी आयौ कि-
सँगै यो उमङ्गको
आकाश बर्सौपछी मुस्कुरायो,
खुशीको लहराहरु
उजाड तारेभिरमा लहराउन थाल्यो,
पोटिलो-पोटिलो
भएर हरियो चम्किन लाग्यो-सुख्खा पहाडको गालाहरु !

फूल
फूलजस्तै देखिनुको अर्थ फूलमा तिमी मिसिनु रहेछ,
ताराहरु चम्किनुको अर्थ तिम्रो धक्धक-धड्कन धड्किनुरहेछ,
यो सृष्टि
शान्त, सौम्य,निर्दोश प्रेमिकाजस्तै
अलिकति मुस्कुराउनुको अर्थ तिम्रो कदमको कोमल स्पर्शले पो रहेछ!

तिम्रो आगमनले-
यि रेलहरु चले, बत्तिहरु बले,
म आकाशमा उडेँ,धरतीमा गुडेँ

तिम्रो आगमनले-
मैले आकाश चिरेँ,म पाताल छिरेँ,
म जूनमा पुगेँ,म सागरमा डुबेँ

बसपार्कमा बिदाईको हात हल्लाउँदै
छुट्टिन गार्हो भैइरहेको प्रेमिकासँग जस्तै
छुट्टिन आँखिर किन गार्हो भैइरहेछ- मलाई !?

तर
समयको यो भन्ज्याङबाट
एउटा हातमा परेवा
र अर्को हातमा आफ्नै टाउको बोकेर
तिमी त जसरी नि छुट्न खोजिरहेछौ !!!

ढ्यांङ्ग्रो (कविता)
मौन छु सुषुप्त छु
तर यसलाई कमजोरी नसोचिदिनु
अंह मलाई फिटिक्कै मन पर्दैन
हतियारको कर्कश कर्णभेदी र
रक्तपिपासु खुकुरीको छप्प छप्प आवाज
जसलाई भिरेर मेरो बाले पल्टनमा
बहादुरको बिल्ला भिर्दै थापे होलान्
केही थान तक्माहरु
म त चुपचाप शब्दहरु र रंगहरुमा
खोजिरहेछु मेरो पहिचान
यसैलाई मौनता सोचेर
नदबाईदिनु मेरो शब्दहरुलाई
ननिम्त्याईदिनु मेरो रंगहरुलाई
जबर्जस्ती रगतको होली खेल्न
हो,म बिरोधी हुं
बा को दुश्मन तर्साउने बन्दुकको
म बिरोधी हैन
कुनै जातको,कुनै धर्मको
तर मेरो मौनतालाई कमजोरी ठानेर
नकुल्चिदिनु मेरो भावनाहरुलाई
दुश्मनलाई तर्साउन मलाई
न खुकुरीमा धार लगाउनु पर्दछ
न त बन्दुकको नाल सफा गर्न नै
तर अवश्य
मैले ठोक्नपनि जानेको छु
बीर मसान,टुनामुना,लागोभागो खेद्ने
मेरो बाजेको ढ्याङ्ग्रो

म, गौ-माता अनि मेरो देशको कानून
यो तिम्रो राज्य हो गौ-माता
यो तिम्रो शहर हो
तिम्रै निम्ति बनेका छन कानून
तिम्रै सुरक्षामा खटिन्छन गोठाला देखि
देशको पुलिस प्रशासन..
बधाई गौ-माता !
म त नाथे एउटा मान्छे जातको पनि छोरीमान्छे न हुँ!
एक-दुइ वटा बच्चा-बच्चिको आमा न हुँ
जाबो मेरो त काँचै लुछी-लुछी मासु खाएका त हुन
तिमीलाई जस्तो कहाँ च्वाट्टै काटेर भक-भकी आगो
माथि उमालेर खाएका हुन र,
मेरो काँचो मासु खानेहरुलाई सजाय दिन्छ र यो राज्यले ?
म हैन, तिमी सर्बश्रेष्ठ प्राणी हौ
तिम्रो पिसाब अमृत हुन्छ
मेरो पिसाब फेर्ने अङ्ग
त्यसैले त हतारिन्छन् नरपिसाचहरु
झम्टिदै लुछ्न..
बरु मलाई पनि स्विकार्य छ तिमीलाई जस्तो
च्वाट्टै काटेर मेरो मासु टुक्रा-टुक्रा पारोस
तात्ताको आगोको रागमा पोलेर खाओस
भक-भकी उम्लिरहेको तेलमा तारेर खाओस
या आफ्नो स्वाद अनुसार सुकुटी, चाउमिन
या मो-मो बनाएर खाओस
तर...
जिउँदै मेरो इज्जत र आत्मासम्मानलाई लुछी-लुछी खाए मलाई
जिउँदो लास बनाएर मनपरी मेरो शरीर
सँग खेलेर मारे मलाई...
तै पनि बेखबर भएर बस्छ मेरो देशको कानून
म जस्तै छोरीमान्छेहरुले चलाएको राज्य
देख्छ त केवल तिमीलाई मारेको गौ-माता !
हुन त तिमी राज्य र कानूनको माता हौ
तिम्रो लागि पो कानून बन्न सुहाउँछ
तिमीलाई मार्नेहरु अपराधी हुन्छन
म नाथे त एक-दुइ वटा बच्चाहरुको माता न हुँ
मान्छे जात भित्रको एउटी छोरीमान्छे न हुँ
म जस्तो जाबोको लागि कहाँ बन्छ र कानून
मलाई मार्ने अपराधीलाई पक्रने फुर्सद कहाँ
हुन्छ र राज्यलाई...
त्यसैले त भन्दैछु, यो राज्य तिम्रो हो गौ-माता
यो शहर तिम्रै हो..
तिमीलाई मार्ने मात्र अपराधी हुन
मलाई बलत्कार गरेर मार्नेहरु त साहसी हुन
अनि त राज्यले तिमीलाई मार्नेहरुलाई सजाय
दिन्छन्...
मलाई मार्नेहरुलाई प्रोत्साहन
र आजकाल तिमीलाई मार्न डराइरहेछन
भने 'म' हरुलाई बलत्कार गरेर मार्न हौसिरहेछन
यो राज्य र कानून तिम्रै लागि हो
लौ तिमीलाई बधाई गौ-माता !!!

मालिक
श्रीमतीको लागि हातमा बाला
बैंनीको लागि गलामा सिक्री
स्कुल जाने भतिजको लागि झोला
टुकुटुकु हिँड्ने भतिजीको लागि राम्रो नाना
किन्दिएँ ।

तर अझैं पनि बांकी नै छ किन्न
श्रीमतीको लापग सपनाको घर
दाइलाई लखपति बन्ने महत्त्वकांक्षा
आमाको लागि पुरानो खुशी
बाबाको लागि एक झोला बलवान खैंनी
मेरो लागि एक जोर नयाँ सपना
र मैले नजन्माएको छोरीको लागि के–के ।

मालिक
आज म अलिकति खुशी छु
तैपनि मस्तिष्क गलेको छ
मौसम चिसो छ
मन भोकाएको छ
रामेन चाउचाउको तातो झोल पिउन चाहन्छु ।

जिन्दगी साँधेर एउटा युग बाँच्न चाहन्छु
हिँउले सपना कलेटी परेको बेला
आमाको न्यानो काख
बाबाको कसिलो स्पर्श
प्रियसीको अजम्बरी माया सम्झेर
समयको आँगनमा नाँच्न नजानेर
एक्लै लबर्राउँछु मालिक म ।

मालिक
आज अलि धेरै दुखेको छ
पाइतालादेखि नै थाकेको छु
गिलो माटो जस्तै भाको छु
नदुखेको शरीरको कुनै हाँगा छैन् ।

जरादेखि आकाशसम्म
थिलथिल भएर
आधा फयात्त
कुहिएको जिन्दगी हुर्काएको छु
मुठ्ठी भरिको मुटुमा ।

मालिक
दुखाइ कम गर्न उपद्रो पिउन चाहन्छु ।
अस्पताल पुगेर मिठो औषधि खान चाहन्छु
यो युग भरि नदुखेर
कलकल निदाउन चाहन्छु ।

मालिक
तिम्रो पाउमा पर्दापर्दै ढले भने
तिमीले मलाई काठको बाकसमा सजाएर
फूलको गुच्छा र मलाई जलाउन पुग्ने
पैसाको बिटा हाल्दिएर त पठाउँला
तर
मेरो लाश हेरी
आँसुमा लपक्क भिजेर
आँखाको आँसु रोकी
तिमी दिएको एक बिटा पैसामा
के मेरी प्रियसी रमाउलिन् मालिक
ता ता तु तु गर्दै
मेरी भतिजी कसरी खेल्ली मसंग ?

बुढेसकाल र चिसोले चाउरिएका
मेरा बा र आमा
न्यानो आभास गर्लान् ?
मलाई मुढा बनाई तापेर

भो मालिक
यो खोंचमा एक्लै निदाउन चाहन्नँ
बरु
म मेरो आमाको लागि
सगरमाथाभन्दा अग्लो भएर
आफ्नै खाडलमा उभिन चाहन्छु
मेरो बाबाको लागि
बुद्ध नै किन नहोस् ।

तर,
उनकै छायामा बुढो भई
एक अँगालो हुर्किन चाहन्छु ।

<<  <    [1] 2 3 4 5 6 7 8 9 10    >  >> 


 


एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com