nk

जनसम्पर्क समिति दक्षिण कोरियाको सभापतिमा भजिन्द्र क्षेत्रीको उम्मेद्वारी
[2018-05-05 오전 11:10:00]

दक्षिण कोरिया स्थित नेपाली कांग्रेसको प्रवासी भातृ संगठन जनसम्पर्क समिति दक्षिण कोरियाको पाँचौं महाधिवेशन यही मे महिनाको ६ तारिखमा हुँदैछ । राजधानि सिओलमा हुने अधिवेशनले केन्द्रिय कार्य समितिको आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

एक विज्ञप्ति प्रकाशित गर्दै आगामी नेतृत्वका भजिन्द्र क्षेत्रीले नेपाली जन सम्पर्क समिति दक्षिण कोरियाको सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । क्षेत्रीले आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गर्दै सहयोगको अपिल पनि गरेका छन् ।

उनले आफ्नो विज्ञप्तिमा लेखेका छन् ‘म विधार्थी जीवनदेखि नेपाली कांग्रेस पार्टीमा आबद्द भइ नेपालमा भएका हरेक परिवर्तनका आन्दोलनहरुमा सहभागी हुँदै आफ्नो राजनीतिक यात्राको क्रममा आजको स्थानसम्म आइपुगेको छु । मेरो लागि इमान्दारिता, नैतिकता र समर्पणभाव नै मूल राजनीतिक मार्गदर्शन हो। मैले लोकतन्त्रप्रति आस्था राख्ने एउटा इमान्दार राजनीतिक सिपाहीको रुपमा यो अभियानमा समर्पित हुंदै गर्दा आफ्नो विवेकले भ्याएसम्म विभिन्न क्षमतामा रहेर संगठनमा योगदान पुर्याउँदै आएको छु ।’

उनको विज्ञप्तिमा उल्लेख छ- ‘नेपाली राजनीतिमा एक दूरदर्शी राजनेता एवं महामानवको रुपमा सम्मानित बी.पी कोईरालाले सन् १९७६ मा भारतमा निर्वासित जीवन विताइरहंदा प्रवासमा रहेका नीपाली कांग्रेसका शुभेच्छुकहरुलाई समेटेर स्थापना गर्नु भएको नेपाली जन-सम्पर्क समिति भारत नै तात्कालिन समयमा मुलुक बाहिर रहेको नेपाली कांग्रेसको पहिलो प्रवासी संगठन थियो।

आज यसको संरचना फैलिएर विश्वका अधिकांश मुलुकमा विस्तार भइसकेको छ। नेपाली जन-सम्पर्क समिति एउटा विशुद्द राजनीतिक दलमा आबद्द संगठन भएपनि, प्रवासी भूमिमा रहेर आम नेपाली समुदायकको हितको पक्षमा कार्य गर्नुपर्ने गरी संगठनलाई अझै व्यापक बनाउनु पर्ने समय आएको छ। तसर्थ म, मेरो उम्मेदवारी घोषणासंगै मेरा धारणालाई एजेण्डाको रुपमा यहांहरु समक्ष प्रस्तुत गर्न चाहन्छु ।’

उनले आफ्ना तीन एजेण्ड प्रस्तुत गरेका छन्, ती यसप्रकार छन्ः

१. सांगठनिक सुधारमा मेरो धारणा
दक्षिण कोरियामा रहेका आम कांग्रेसजनलाई यस समितिमा आबद्द गराउंदै मजवुत संगठन निर्माणका लागि संगठनलाई कोरियाव्यापी बनाउने अभियानलाई तीब्रता दिनेछु र यसका लागि समितिको हाल विधमान संरचना एवं विधानलाई आवश्यकताअनुसार परिमार्जन एवं सुधार गरी संगठनलाई नयां उचाइमा पुर्याउन काम गर्नेछु।एकता नै बल हो भन्ने सत्यलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्दै संगठनमा आबद्द विभिन्न विचार र भावना बोक्नुभएका साथीहरु सबैलाई समेट्ने नेतृत्व प्रदान गर्नेछु।

जन-सम्पर्क समिति दक्षिण कोरिया नेपाली कांग्रेसको भातृ संगठन भएकोले संगठनको राजनीतिक गतिविधिमा नेपाली कांग्रेस पार्टीको नीति, निर्देशन र उद्देश्यलाई केन्द्रविन्दूमा राखेर काम गर्नेछु र आवश्यकता अनुसार कोरियावासी कांग्रेसजनको आवाजलाई पार्टीको नीति तथा निर्देशनमा प्रतिबिम्वित गराउन सामूहिक रुपमा पहल गर्नेछु।यसका अतिरिक्त आम नेपाली समुदायको चासो, हक र अधिकारका पक्षमा मातृपार्टी नेपाली कांग्रेस र नेपालको सरकारसंग निरन्तर लविङ गर्ने कुरामा प्रतिबद्द छु।

२. अन्तरराष्ट्रिय सम्बन्धमा मेरो धारणा
दक्षिण कोरियामा रहेका नेपालको लोकतन्त्रका पक्षधर अन्तरराष्ट्रिय समुदायका संघ, संस्था तथा निकायसंग पारस्परिक विकास, अध्ययन, अनुसन्धान र सहयोगको लागि सम्पर्क सम्बन्ध स्थापना गर्दै कोरिया सरकार र नेपालका हितैषी मित्रहरुसंग सम्बन्ध स्थापित गर्न आवश्यक पहल गर्नेछु।यसैगरी अन्य मुलुकका जन-सम्पर्क समितिहरुसंग पनि आपसी सम्बन्ध विस्तार गरी मातृपार्टी नेपाली कांग्रेसको पक्षमा अन्तरराष्ट्रिय सम्बन्ध अझ व्यापक बनाउन विभिन्न कार्यक्रम गर्ने प्रतिबद्दता व्यक्त गर्दछु।नेपाली कांग्रेस अन्तरराष्ट्रिय समाजवादी आन्दोलनको एक पुरानो सदस्य भएको नाताले हाम्रो पार्टीप्रति अन्तरराष्ट्रिय समुदायको निकै भरोसा रहेको छ।अब यो आधारलाई हामीले मातृभूमि नेपालको अधिकतम हितमा परिचालन गर्नुपर्ने समय आएको छ।नेपाली कांग्रेसको विचारधारा र आदर्शको पक्षमा अन्तरराष्ट्रिय समुदायसंग समन्वय गरेर काम गर्न म सदैव प्रतिबद्द रहनेछु।

३. सामाजिक एवं परोपकारी कार्यमा मेरो धारणा
यसका अतिरिक्त कोरियामा रहेका आम नेपाली समुदायको हितमा स्थानीय संघ, संस्थासंग आपसी समन्वय कायम गर्दै आधारभूत सरोकारका विषयमा जन-सम्पर्क समितिका केन्द्रिय तथा क्षेत्रीय समितिहरु मार्फत सामाजिक सेवका कार्य गर्ने, गराउने काम गर्नेछु।कोरियामा रहेका सबैखाले विचारका पक्षधरहरुसंग समन्वयात्मक सम्बन्ध कायम राख्दै आम नेपाली समुदायको हितमा कार्य गर्नेछु।यसैगरी नेपाली कला, संस्कृति, शिक्षा र पर्यटनको विकास एवं प्रबर्धनको लागि नेपाली समुदायका अन्य संघ-संस्थाहरुसंग समन्वय गर्दै नेपाल प्रबर्धन सम्बन्धि विभिन्न कार्यक्रमहरु आयोजना गर्ने र समग्र रुपमा कोरियामा नेपाल चिनाउने कार्यमा संगठनको तर्फबाट विशेष भूमिका निर्वाह गर्नेछु।
मेरा यीनै धारणाहरुलाई मुख्य एजेण्डाको रुपमा प्रस्तुत गर्दै आगामी नेतृत्वका लागि यहांहरु समक्ष मेरो उम्मेदवारीको औपचारिक घोषणा गर्न चाहन्छु। तर, मैले आफ्नो उम्मेदवारी घोषणा गर्दै गर्दा सहमति र सहकार्यको राजनीतिमा आफू सधै सकारात्मक रहेको कुरा पनि यहांहरुलाई अवगत गराउन चाहन्छु। यसै औपचारिक घोषणा मार्फत नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरुलाई आगामी मे ६ तारिखमा हुने महाधिवेशनमा सहभागी भइ महाधिवेशन सफल बनाइदिनु हुन आग्रह गर्दै, आगामि कार्यकालमा मेरो नेतृत्वको लागि यहाँहरु सबैको साथ र सहयोगको अपेक्षा गर्दछु । धन्यवाद ।



Nick Name     
comment   




बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न


नेपाली बुद्धको प्रतिमाको प्रसंशा गर्दे विदेशी बौद्ध धर्मावलम्बीहरु












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com