karobardaily

मन्त्रीले उद्घाटन गरेको रजिष्ट्रार कार्यालय गायब
[2018-04-23 오후 8:36:00]

आर्थिक नगरी वीरगन्जमा तत्कालिन उद्योग राज्यमन्त्री मेघराज निषाधले उद्घाटन गरेको कम्पनी रजिष्ट्रारको सम्पर्क कार्यालय नै अहिले गायब भएको छ । व्यवसायीहरूलाई अनलाइनमार्फत कम्पनी दर्ता गर्नका लागि वीरगन्जमा स्थापना गरिएको कम्पनी रजिष्ट्रारको कार्यालयको शाखा कार्यालय गायब भएको हो । निषाधले वीरगन्जको पानीटंकीमा रहेको घरेलु तथा साना उद्योग कार्यालयमा स्थापना गरेको कम्पनी रजिष्ट्रारको कार्यालयमा अहिले न त सेवाग्राही नै गएका छन् न कर्मचारी नै छन् ।

कार्यालय स्थापना भएपछि वीरगन्जका व्यावसायीहरू कम्पनी दर्ताका लागि काठमाडौं धाउनुपर्ने बाध्यताबाट मुक्त हुने भन्दै खुसी भए पनि अहिले घरेलु तथा साना उद्योगका कर्मचारीहरूलाई नै यसको कुनै जानकारी छैन । २०७२ मा केपी ओलीको नेतृत्वमा गठन भएको सरकारमा उद्योग राज्यमन्त्री बनेका तत्कालिन तराई मधेस समता पार्टीका अध्यक्ष मेघराज निषाधले वीरगन्जको घरेलु तथा साना उद्योग कार्यालयमै रहनेगरी कम्पनी रजिष्ट्रारको सम्पर्क कार्यालय उद्घाटन गरेका थिए । वीरगन्ज उद्योग वाणिज्य संघको आग्रहमा कम्पनी रजिष्ट्रारको कार्यालयमा अनलाइनमार्फत काम गर्न कार्यालय स्थापना गरिएको भए पनि अहिले रजिष्ट्रारको कार्यालयमा एक जनापनि कर्मचारी नरहेको र कार्यालयमा एउटा पनि कम्पनी दर्ता नभएको घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख कृष्ण सिग्देलले बताए ।

पहिले घरेलु साना उद्योग कार्यालयमा ब्यानर लगाएर उद्घाटन गरिएको कार्यालयको अहिले घरेलु उद्योग कार्यालय स्थानान्तारण भएपछि कम्पनी रजिष्ट्रारको व्यानरसमेत छैन । उद्योग मन्त्रालय उद्योग महाशाखा कम्पनी रजिष्ट्रारको कार्यालयबाट अहिलेसम्म एकजना पनि कर्मचारी पठाइएको छैन । कम्पनी रजिष्ट्रारको कार्यालयमा हुने अनलाइनसम्बन्धी कामहरू प्राविधिक सुरक्षाका दृष्टिकोणले संवेदनशील हुने र मन्त्रालयको कम्पनी रजिष्ट्रारको कार्यालयबाहेक अन्य क्षेत्रबाट काम गर्न नमिल्ने भएकोले वीरगन्जको कार्यालयबाट अनलाइन काम नभएको घरेलु उद्योग कार्यालयका कर्मचारीले बताए ।

कम्पनी रजिष्ट्रारको कार्यालय अन्य स्थानबाट गर्न नमिल्ने भए पनि तात्कालिन उद्योग राज्यमन्त्री र कम्पनी रजिष्ट्रारको कार्यालयले भने वीरगन्जमा कम्पनी रजिष्ट्रारको अनलाइन कार्यालय स्थापना गरेर वीरगन्जका उद्योगी व्यवसायीहरूलाई आँखा छारो हालेको पुष्टि भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयको काम वीरगन्जबाटै अनलाइनमार्फत हुने भनेर वीरगन्ज उद्योग वाणिज्य संघमा समेत सूचना टाँस गरिएपनि अहिलेसम्म एउटा पनि कम्पनी वीरगन्जबाट अनलाइन दर्ता नभएको पाइएको छ ।

“सूचना टाँस गरेर प्रचारप्रसार त ग-यो तर, अहिलेसम्म एउटा पनि कम्पनी वीरगन्जको कार्यालयबाट अनलाइन दर्ता हुन सकेनन्,” वीरगन्ज उद्योग वाणिज्य संघका कार्यकारी सचिव सुनिल कण्ठले भने । कार्यालयका अनुसार अहिले घरेलु तथा साना उद्योगमै पनि कोही पनि कर्मचारी आउन नमान्दा कार्यालय प्रमुखविहिन रहेको छ ।



Nick Name     
comment   




कोरियामा नेपाली रादूतावासको मनपरीतन्त्रले मृतकका परिवारलाई पिडा


बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com