nk

बाढीपीडितले सुरक्षित छानोको व्यवस्थापन छिटो गरिदिन माग
[2018-03-01 오후 2:34:00]

पालमुनि गुजारा गर्दै आएका बाँकेका बाढीपीडितले आफूलाई सुरक्षित छानोको व्यवस्थापन छिटो गरिदिन स्थानीय सरकारसँग माग गरेका छन् । एक वर्षदेखि पालमुनि बस्न बाध्य भएका बाढीपीडितले जिउधनको असुरक्षा बढ्दै गएको भन्दै पक्की छानोको माग गरेका हुन् ।

राप्तीपारिका डुढुवा, राप्ती सोनारी र नरैनापुरका बाढीपीडितले निर्वाचनका बेला केही समयमै बाढीपीडितको समस्या समाधान गर्ने वाचा गरे पनि हालसम्म जनप्रतिनिधि गम्भीर नदेखिएको भन्दै आक्रोशित भएका छन् ।

हिउँदको कठ्यांग्रिने जाडोमा कष्टपूर्ण जीवन बिताइरहेका बाढीपीडितले चैत/वैशाखबाट सुरु हुने गर्मीबाट बचाउन अनुरोध पनि गरेका छन् । जाडोमा कष्टकर बनेको दैनिकी खडेरीमा गर्मीले खप्न नसकिने भन्दै आफूहरूको समस्यालाई बुझिदिन आग्रह गरेका हुन् । निर्वाचनका बेला बाढीपीडितमाझ ६ महिनामै सुरक्षित स्थानमा बसाउने सपना बाँडेका उम्मेदवार चुनावपछि च्यातिएको पालको अवस्था हेर्न नआएको उनीहरूको गुनासो छ ।

‘नेताले हामीलाई भोट दिनुहोस्, स्थानीय सरकारमार्फत ६ महिनाभित्रै छानो दिलाइदिन्छौं भन्दै नमस्कार गरे’, डुढुवा गाउँपालिका–३ का राजकुमार शुक्लाले भने, ‘तर निर्वाचनपछि विभिन्न कार्यक्रम उद्घाटन गर्दै हिँड्न भ्याउँछन्, यहाँ आउन भ्याउँदैनन् ।’ हिँउदमा शीतलहरबाट जसोतसो पालमुनि गुजारा गरे पनि गर्मीमा च्यातिएको पालभित्र बालबच्चा र ज्येष्ठ नागरिकको सुरक्षा गर्न कठिनाइ हुने शुक्लाले दुखेसो गरे।

बाढीपीडितले सुरक्षित बासभन्दा पनि राहतको रकम हालसम्म पूरा नपाएकोमा आक्रोशसँगै गुनासो गरेका छन् । सरकारले घर बनाउन राहत दिए पनि पूरा रकम हात पर्न नसकेको शुक्लाको भनाइ छ । नदी नियन्त्रण गर्न थालिएको तटबन्धको काम पनि सुस्त गतिमा भइरहेको उनले बताए । बाँध निर्माण समयमै पूरा नभए वर्षातमा कटानको मारमा पर्ने स्थानीयको चिन्ता छ ।

बाढीपीडितको जमिन सुरक्षा गर्न तटबन्ध निर्माणको काम स्थानीय तहले केही ठाउँमा सहयोग गरे पनि अधिकांश ठाउँमा अवरोध सिर्जना भएको लक्ष्मणपुर बाँध संघर्ष समितिका संयोजक जगदीशबहादुर सिंहले बताए । स्थानीयले राप्ती सोनारी, डुढुवा, नरैनापुर गाउँपालिकाले बाढीपीडितको सुरक्षाका लागि कुनै ठोस कार्ययोजना निर्माण नगरेको भन्दै आक्रोश पोखेका छन् ।

एक महिनाभित्र बाढीपीडितको समस्या समाधान गर्न विकल्प खोज्ने जिम्मेवारी लिएका सम्बन्धित गाउँपालिकाले पनि केही काम गर्न सकेका छैनन् । बाढीपीडितले धमाधम वन कब्जा गर्न थालेपछि माघ पहिलो साता जिल्लामा सर्वदलीय बैठक बसेको थियो । बैठकले माघभित्र बाढीपीडितलाई विकल्पसहित सुरक्षित वासस्थान खोज्न निर्देशन दिएको थियो । तर, हालसम्म पनि स्थानीय तहले रिपोर्ट बुझाउन सकेको छैन ।

निर्वाचनअघि महŒवाकांक्षी सपना बाँडेका दलका उम्मेदवारले चुनाव जितेपछि कुनै पहल थाल्न नसकेको भन्दै पीडित आक्रोशित भएका छन् । तीनवटै तहको निर्वाचन सकिए पनि जनप्रतिनिधिले आफुसँग गरेका वाचा पूरा नगरेको उनीहरूको गुनासो छ ।



Nick Name     
comment   




कोरियामा नेपाली रादूतावासको मनपरीतन्त्रले मृतकका परिवारलाई पिडा


बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com