nk

बलात्कार मुद्दा तीन लाखमा मिलापत्र
[2018-03-01 오후 2:31:00]

मुगुमा बलात्कारको मुद्दा तीन लाख रुपैयाँमा मिलापत्र भएको पाइएको छ। सोरु गाउँपालिकाकी २० वर्षीया एक युवती बलात्कृत भएको मुद्दालाई अभियुक्तले प्रहरीमा उजुरी दिनबाट रोकेर मिलापत्र गरेको पीडित परिवारले जानकारी दिएको छ।

गत माघ १५ गते राति आठ बजे भएको घटना पीडित युवतीले अभियुक्त हिक्मत शाहीसहित ६ जनाविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि मात्र सार्वजनिक भएको हो। उनले जाहेरीमा ‘माइतीघर आएको बेला शाहीले सुत्ने कोठामा पसेर बलात्कार गरेको’ उल्लेख गरेकी छिन्।

घटनाको दोस्रो दिन नै सोरुकोट प्रहरी चौकीमा निवेदन दर्ता गराउन जाँदा अभियुक्तका आफन्तले बाटोमै रोकेर तीन लाख रुपैयाँ रकम उपलब्ध गराइदिने भन्दै प्रहरी चौकी जानबाट रोकेको पीडितले बताएकी छिन्। अभियुक्तबाट तीन लाख रुपैयाँ बुझेको पीडितका आफन्तले स्विकारेका छन्।

जाहेरी दिन सोरुकोट प्रहरी चौकीमा जान खोज्दा सोही गाउँका नरसुर शाही, नरवीर छन्त्याल, भक्त शाही, कृष्ण मल्ल, पूर्णबहादुर मल्ल र जिमा गाउँका पूर्णप्रसाद भट्टले बीच बाटोमा रोकेर मिलापत्र गरेका थिए। ‘मुद्दामामिलामा जाँदा दुवै जनाको लाज हुने भन्दै मुद्दा दर्ता गर्न दिएनन्’, पीडित युवतीले भनिन्।

अभियुक्तबाट तीन लाख रुपैयाँ लिएको विषयले गाउँमा हल्ला भएपछि थप पीडा सहन नसकेर भागेर न्यायका लागि प्रहरीमा उजुरी दिएको उनले बताइन्। अभियुक्तका परिवारले नै मिलापत्रबारे गाउँघरमा हल्ला फिँजाएको पीडित पक्षको भनाइ छ।

बलात्कृत युवतीको जिल्ला अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ। बलात्कारका मुख्य अभियुक्त र मिलापत्रमा संलग्न भनिएकाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिए। ‘अभियुक्तलाई पक्राउ गर्न सोरुकोट प्रहरी चौकी तथा मातहतका निकायलाई निर्देशन दिइएको छ’, उनले भने।

घटना लुकाएर झन् ‘लोकलाज’ भएपछि पीडित युवतीले गत फागुन १४ गते महिला तथा बालबालिका कार्यालयमा निवेदन दर्ता गराएकी थिइन्। कार्यालयले सोही दिन पीडितको न्यायका लागि बार एसोसिएसनको सहयोगमा मुद्दा दर्ता गरेको कार्यालयकी महिला तथा बालबालिका सहायक निरीक्षक भगवती गिरीले जानकारी दिइन्।



Nick Name     
comment   




कोरियामा उभौली साकेला भव्यताका साथ सम्पन्न


कोरियामा नेपालीले नेपालीलाई अमानविय व्यवहार गरेर मानसिक तनावमा












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com