NK REPORTER

किराँत समुदायले हर्षोल्लासका साथ आज उधौली पर्व मनाउँदै
[2017-12-03 오후 5:25:00]

किराँत समुदायले हर्षोल्लासका साथ आज उधौली पर्व मनाउँदै छन् । उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसींतिर बसाई सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याएको खुशीयालीमा मनाइने चलन छ ।

प्रकृतिपूजक किराँत समुदायको भाषा, संस्कार र संस्कृतिले आ–आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उधौलीका अवसरमा संसारभरका किराँत समुदायले यो पर्व मनाउने गर्दछन् । विशेष गरी किराँत राईको बसोबास रहेको पूर्वी पहाडी जिल्ला भोजपुर, धरान, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बुलगायत काठमाडौंमा यो पर्व मनाउने गरिन्छ ।

उधौलीका अवसरमा यस समुदायका मानिस एकै ठाउँमा भेला भएर दुःख–सुख साट्दै संस्कृति झल्काउने पोशाकमा हातमा झ्याम्टा, ढोल, चमर र सेउली लिएर विभिन्न सोकवा साकेवा नाच्ने गर्दछन् ।

यसैबीच नेवार समुदायले यस दिनलाई योमरी पुन्हीका रुपमा मनाउँछन् । नेवारी समुदायमा योमरी पुन्हीको विशेष महत्व छ । योमरीको अर्थ सबैलाई मनपर्ने रोटी भन्ने हो । नयाँबालीका रुपमा भित्र्याइएको नयाँ धानको चामल पिसेर त्यसबाट बनाइएको रोटी बाँडीचुँडी खाने गरिन्छ । अण्डाकार रुपमा बनाइएको पीठोको रोटीभित्र चाकु र तिलको मिश्रणले तयार पारिएको खुवा हालेर योमरी बनाइन्छ ।

परम्परादेखि कृषि पेशा गर्दै आएको नेवार समुदायका ज्यापुहरुको अन्योन्याश्रित सम्बन्ध रहेको सन्दर्भ जोड्दै एक दशकअघि सरकारले ज्यापू दिवसको रुपमा पनि मान्यता दिएको थियो । यसै दिन बाहुन क्षेत्री समुदायले भने आ–आफ्नो दिवाली गर्ने गर्दछन् ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com