nk

अढाई वर्षमा ४ सीईओ, ९२% पीडित टहरामै
[2017-10-24 오후 7:58:00]

महाभूकम्पको ३० महिना बित्यो, पीडितमध्ये ८ प्रतिशतले मात्रै घर बनाउन पाएका छन्, तर चरम राजनीतीकरणका कारण पुनर्निर्माण प्राधिकरणमा चारपल्ट सीईओ फेरिएका छन् । सोमबार मात्रै चौथो सीईओ बनेका छन्– पूर्वसचिव युवराज भुसाल ।

भूकम्पले घर ध्वस्त भएका ७ लाख ६७ हजार पीडित परिवारमध्ये आइतबारसम्म ६२ हजारको मात्रै घर बनेका छन् । घर बनाएर सुरक्षित बास दिनुपर्ने जिम्मेवारी पाएको निकायमा पुनर्निर्माणको काम होइन, प्रमुखहरू फेर्ने काम भइरहेको छ । पीडितले तेस्रो हिउँद पनि टहरामै बिताउनुपर्ने बाध्यता देखिएको छ ।

पुनर्निर्माणका लागि सरकारले ३ लाख रुपैयाँ प्रतिघर अनुदान दिन्छ । पहिलो किस्ता ५० हजार, दोस्रोमा डेढ लाख र बाँकी तेस्रो किस्ताका रूपमा । प्राधिकरणले ६२ हजार घर बनेको दाबी गरे पनि अन्तिम किस्ता भुक्तानी करिब १३ हजारले मात्रै पाएका छन् ।

पुनर्निर्माण निकै सुस्त हुनुमा राजनीतिक चलखेल मुख्य कारण हो । २०७२ वैशाखको महाभूकम्पपछि पुनर्निर्माणको जिम्मेवारी पाएको प्राधिकरण प्रमुखको सबै नियुक्ति राजनीतिक पहुँच र लाभका लागि भएका हुन् । मन्त्रिपरिषद्बाट सोमबार सीईओ बनेका भुसाल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी हुन् । यसअघि निकै ताकेता गरेर प्रमुख भएका गोविन्द पोखरेल प्यूठानमा कांग्रेसकै तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।

उनी सिफारिसमा परेदेखि नै पुनर्निर्माणमा ध्यान नदिएर राजनीति गरेको आरोप लागेको थियो । त्यस अघि एमालेले सुशील ज्ञवालीलाई प्रमुख बनाएको थियो । ज्ञवालीभन्दा अघि पनि पोखरेल नै प्रमुख थिए । भूकम्प पुनर्निर्माणका लागि प्राधिकरण गठन गर्ने तयारीदेखि नै लाभका लागि दलहरू सल्बलाउन थालेका थिए । पुनर्निर्माणसम्बन्धी विधेयकलाई सुरुमा अध्यादेशमार्फत ल्याइएको थियो ।

योजना आयोगका उपाध्यक्ष समेत रहेका पोखरेलले प्राधिकरणको समेत नेतृत्व गरेका थिए । उपाध्यक्ष पदमै रहेका बेला उनलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) को पनि थप जिम्मेवारी दिइएको थियो । तर अध्यादेशबाट गठन गरेको प्राधिकरणसम्बन्धी विधेयक तोकिएकै समयमा व्यवस्थापिका संसद्बाट अनुमोदन नगराउँदा उनी पदच्युत भए । त्यसको करिब ७ महिनापछि व्यवस्थापिका संसद्बाट प्राधिकरणसम्बन्धी ऐन जारी भयो ।

ऐन जारी भएपश्चात् तत्कालीन केपी ओली नेतृत्वको सरकारले ज्ञवालीलाई नियुक्त गर्‍यो । ज्ञवालीको झन्डै एक वर्षे कार्यकालमा ११ हजार घर बनेका थिए । उनी प्राधिकरण प्रमुख हुनुअघि उनको उपसचिव सरहको पदमा काम गरेको अनुभव थियो । राजनीतिक पहुँचका आधारमा धेरै अनुभव नभएको व्यक्तिलाई प्रमुख बनाएपछि उनले सबैसँग समन्वय गरेर काम गर्न नसकेको भन्दै आलोचना भएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा कांग्रेससहितको सरकार बनेपछि ज्ञवालीलाई बर्खास्त गरी गत पुसमा पुन: पोखरेललाई नै सीईओ बनाइएको थियो ।

पोखरेलले जाँदाजाँदै ९ महिने कार्यकाल उपलब्धिमूलक भएको बताउँदै विज्ञप्ति जारी गरेका छन्, जसमा २४ हजार शैक्षिक संस्थासमेत बनेको दाबी छ ।

घर बनाउन ऋण लिने प्रक्रिया झन्झटिलो भएकाले पीडितलाई थप समस्या छ । हालसम्म घर पुनर्निर्माणका लागि भनेर दिने भनिएको ऋण जम्मा ७५ लाख रुपैयाँ बराबरको मात्रै प्रवाह भएको छ । राजधानीभित्र २५ र बाहिर १५ लाख रुपैयाँ दिने व्यवस्था छ । नवनियुक्त सीईओ भुसालले आफ्नो व्यवस्थापकीय र समन्वयकारी क्षमता भएको दाबी गरे । ‘मसँग राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा काम गरेको अनुभव छ,’ उनले भने, ‘माघ २ गते भूकम्प दिवससम्म देखिने गरी काम गर्नेछु ।’





Nick Name     
comment   




मानवअधिकार सुनिश्चितमा नागरिकको पनि दायित्व हुन्छ–अधिवक्ता ऋतु थापा मगर


मानवअधिकार सुनिश्चितमा नागरिकको पनि दायित्व हुन्छ–अधिवक्ता ऋतु थापा मगर












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com