गोपाल संग्रौला

एनआरएनएलाई एकढिक्का बनाइराख्ने प्रतिवद्धता
[2017-10-18 오후 6:36:00]

रूपान्तरणको बाटोमा : सुदृढ भविश्यका लागि महिला, युवा तथा नयाँ पुस्ताको सहभागिता’ भन्ने मूल नारासहित सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौं विश्व सम्मेलन १४ बुँदे घोषणापत्र जारी गदै मंगलबार सम्पन्न भएको छ । चार दिनसम्म चलेको सम्मेलन टिबीआई समूहका अध्यक्ष भवन भट्टको अध्यक्षतामा २ वर्षका लागि ३९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो ।

सम्मेलनको समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीले आफ्नो जन्मभूमीप्रति देखाएको सद्भाव र सहयोगको प्रशंसा गर्दै विदेशमा आर्जन गरेको सीप तथा ज्ञान नेपालमा लगानी गर्ने बेला आएको बताए । “विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीले अब नेपालमा लगानी गर्ने वातावरण तयार भएको छ,” प्रधानमन्त्री देउवाले भने, “नेपालको राजनैतिक अवस्थामा सुधार आएकाले अब नेपालमा विदेशी लगानी भिœयाउन उपयुक्त समय आएको छ ।”

संविधानमा नै गैरआवासीय नपालीलाई नागरिकता दिने व्यवस्था गरिएका कारण एनआरएनहरूलाई नेपालमा लगानी गर्न उत्साह मिल्ने प्रधामन्त्रीको भनाइ छ । मुलुकमा जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा सञ्चार प्रविधिका क्षेत्रमा लगानीको सम्भावना र अवसर रहेको उनले बताए ।

सम्मेलनले पारित गरेको घोषणा पत्रमा ‘एक एनसीसी, एक लगानी रोजगारीको अवधारणाको व्यवहारिक कार्यान्वयनका लागि सबै राष्ट्रिय परिषदलाई आह्वान गरिएको छ । यस्तै, संविधानमा उल्लेखित एनआरएनहरूलाई नागरिकता प्रदानसम्बन्धी व्यवस्थाको शीघ्र कार्यान्वयनका लागि ऐन बनाउन सरकारलाई अनुरोध गर्ने उल्लेख छ । घोषणापत्रमा भनिएको छ, “गैरआवासीय नेपालीको परिभाषाभित्र एक आवमा १८३ दिनभन्दा बढी सार्क मुलुकबाहेक बसोबास गर्ने, सरकारी सेवामा रहेका बाहेक विद्यार्थीलगायत सबै नेपाली नागरिक पर्नेगरी ऐनमा नै संशोधन गर्ने निष्कर्षका साथ त्यसतर्फ संघ प्रयत्नरत रहनेछ ।”

सन् २०२२ सम्म नेपाललाई विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने तथा सन् २०३० सम्म मध्यम आय भएको मुलुकमा पु-याउने दिगो विकास लक्ष्य हासिल गर्न एनआरएनएको भूमिका महत्वपूर्ण रहेको भन्दै सरकारलाई पूर्ण सहयोग गर्ने निर्णय गरिएको छ । संघमा निकै विवादित रहेको भिजन ट्वान्टी ट्वान्टी एन्ड बियोन्ड सम्मेलनले संशोधनसहित पारित गरेकाले यसलाई अबको कार्यसमितिले कार्यान्वयन गर्ने उल्लेख गरिएको छ ।

वैदेशिक रोजगारलाई व्यवस्थित गर्न न्यायिक संयन्त्र स्थापनाका लागि सरकारलाई आग्रह गर्ने तथा संघले अघि सारेको सञ्चयकोष अभियानलाई थप प्रभावकारी बनाउने घोषणापत्रमा उल्लेख छ । यस्तै, वैदेशिक रोजगारीका क्रममा महिलाबाट जन्मिएका र विदेशमा अलपत्र परेका बालबालिकाको नागरिकतासम्बन्धी हकको लागि संघले पहल गर्ने उल्लेख छ ।
विज्ञान प्रविधिका क्षेत्रमा रहेका एनआरएनहरूको लगत संकलन गरी उनीहरूको सीपलाई नेपालमै उपयोग गर्ने, विभिन्न मुलुकमा दूतावास वा महावाणिज्य दूतावास खोल्न आग्रह गर्ने, साविकका नियोगलाई जनशक्ति र प्रविधियुक्त बनाउन सरकारलाई आग्रह गर्ने उल्लेख छ ।

समापन समारोहमा संघका नवनिर्वाचित अध्यक्ष भवन भट्टले लाप्राक परियोजना, ‘भिजन २०२० एन्ड बियोन्ड’ र सचिवालय निर्माणका काम आफ्नै कार्यकालमा पूरा गर्ने प्रतिवद्धता जनाए । निवर्तमान अध्यक्ष शेष घलेले प्रजातान्त्रिक प्रक्रियामा चुनावमा हारजीत हुनु स्वभाविक रहे पनि संस्थाको हार कहिल्यै हुन नहुने बताए ।

पूर्वअध्यक्षहरू जीवा लामिछाने, देवमान हिराचन र संस्थापक अध्यक्ष उपेन्द्र महतोले एनआरएनमा चुनावी प्रक्रियाले नेतृत्व चयन भए पनि संस्थालाई एकढिक्का बनाइराख्ने प्रतिवद्धता जनाए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष भट्टसहित पदाधिकारी तथा सदयस्यहरूलाई सपथ ग्रहण गराइएको थियो ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com