प्रेम छिप्पिएपछि काँडा उम्रन्छ र घोच्न थाल्छ
2018-02-27   onlinekhabar  



एक साताअघि साहित्यकार प्रगति राईको उपन्यास ‘बिर्सिएको मृत्यु’ प्रकाशित भयो । राईका केही शुभचिन्तक पाठकहरुले आफ्नी प्रिय लेखकको समाचार प्रकाशित नभएपछि हामीलाई फोन गरेर चासो राखे । एउटा लेखकप्रति पाठकले दिएको त्यो महत्वपूर्ण सम्मान थियो । र, त्यही सम्मानलाई पछ्याउँदै हामी प्रगति राईलाई भेट्न उनको घरसम्म पुग्यौं ।

हामी पुग्दा प्रगति राई आफू अध्यक्ष रहेको मूलबाटो प्रतिष्ठानको राजधानीमा हुन लागेको कार्यक्रमको तयारीमा व्यस्त रहिछन् । आधा घण्टा कुरा गर्ने सर्तमा सुरु भएको अन्तरवार्ता ४ घण्टासम्म चल्यो । उनको ‘लेखक–मन’ बहकिँदै गयो र केही अनौठा सन्दर्भहरु बाहिर आए, जसलाई प्रगति राई आफैंले प्रकाशन गर्नुपर्ने ठहर गरेपछि हामीले त्यसका मुख्य अंश अन्तरवार्ताका रुपमा यहाँ प्रकाशित गरेका छौंः

तपाईंले मदन पुरस्कारप्राप्त आफ्ना श्रीमान् एवं चर्चित लेखक राजन मुकारुङका विषयमा जे बोल्नुभयो र त्यो जसरी प्रकाशित भयो, त्यसले ठूलै चर्चा पाएको थियो, यस विषयमा के भन्नुहुन्छ ?
-मैले सत्य कुरा बोलेकी हुँ । चर्चाका लागि त्यो कुरा गरेको थिइनँ । राजन मुकारुङसँग मेरो विवाह भयो, तर प्रेम हुन सकेन । २५ वर्षदेखि हामी श्रीमान–श्रीमती देखिन्छौं, तर सम्बन्ध प्रेमपूर्ण छैन । उनी आफ्नो बाटो हिँडेका छन्, मैले हिँड्न दिएकी छु । म स्वतन्त्र हुन चाहन्छु भने अरुलाई बाँध्नुहुँदैन । तर, मेरो एउटा भनाइ के छ भने श्रीमानसँग सम्बन्ध बिग्रियो भन्दैमा श्रीमानका परिवारसँग पनि सम्बन्ध तोड्ने जुन चलन छ, त्यसको म विरोधी हुँ ।

तर पनि तपाईं राजनजीसँगै हुनुहुन्छ नि हैन ?
-हामी सँगै छौं पनि, छैनौं पनि । उनी आफ्नी प्रेमीकासँग बस्छन्, तर बिहे गरेका छैनन् । मैले उनको घर सम्हालेकी छु । प्रेम गरेका हौ भने बिहे गर, प्रेमको इज्जत गर भनेर सम्झाउँछु । बरु छिमेकी भएर बसे पनि हुन्छ भन्छु । मानेका छैनन् ।
मैले उनलाई स्वतन्त्र हुन दिएको मात्र हो । म त उनका दुई छोराकी आमा हुँ । परिवारभित्र मेरा आफ्ना दायित्व छन् । मैले त्यो निभाएकी छु । खासमा यो २५ वर्षमा हामी ५ वर्षजति मात्रै सँगै बस्यौं ।

यत्रो वर्षपछि यो कुरा बाहिर किन आयो ?
-राजन मुकारुङसँग मेरो विवाह भयो, तर प्रेम हुन सकेन । २५ वर्षदेखि हामी श्रीमान्–श्रीमती देखिन्छौं, तर सम्बन्ध प्रेमपूर्ण छैन । हामी सँगै छौं पनि, छैनौं पनि । उनी आफ्नी प्रेमीकासँग बस्छन्, मैले उनको घर सम्हालेकी छु
राजनले नै फेसबुकमा आफ्नी १५ औं प्रेमीका सार्वजनिक गरेपछि त्यसको काउन्टरमा मैले आफ्ना कुरा लेखेकी हुँ । मैले उनलाई स्वतन्त्र हुन दिएँ, त्यहाँसम्म ठीक थियो । १४ जना प्रेमिका बनाउञ्जेलसम्म मैले सार्वजनिकरुपमा केही बोलिनँ । किनभने उनलाई प्रेम गर्नु र चुरोट पिउनु उस्तै लाग्छ क्यारे !
श्रीमती हुनुको दायित्वले मैले घरमा, एक्लै हुँदा निकै सम्झाएँ । १४ औं सिगरेट पनि फ्याँकेर जब १५ औं सिगरेट च्यापे, मलाई खल्लो लाग्यो । अझ सानका साथ अझ बढाइ–चढाइ प्रस्तुत गरेपछि लाग्यो, अब बोल्नुपर्छ । चाहे ती प्रशिद्ध भैसकेका लेखक राजन मुकारुङ नै किन नहून् ।

तपाईंले सम्झाउँदा उहाँ के भन्नुहुन्थ्यो ?
-धेरै महिलासँग सम्बन्ध राख्नु सायद पुरुषहरु सानको काम ठान्छन् क्यारे ! पुरुष अहंकार ! पिता–पूर्खाको विरासतले पनि काम गरेको होला । किनभने उनका जिजुवुवाका ९ श्रीमती थिए रे । हजुरबुवाले दुईटी विवाह गर्नुभएको थियो । तर, अरु पनि धेरै महिलासँग सम्बन्ध भएको कुरा घरमा सानका साथ कुरा हुन्थ्यो ।
उनका बुवाले पनि गर्भमै छँदा अर्की विवाह गरेर हिँड्नु भएको थियो रे । हाम्रो समाजमा त्योबेला यस्तो काम गर्नुलाई गौरव मानिन्थ्यो । अहिले बहुविवाह गर्न पाइँदैन । तर, प्रेमका नाममा सँगै बस्न पाइन्छ ! सायद यही काम गरेका होलान् ।

अनि तपाईं पनि प्रेम गर्न स्वतन्त्र हुनुहुन्छ ? कि महिलाले चाहिँ सहेरै बस्नुपर्छ भन्ने ठान्नुहुन्छ ?
-मलाई थाहा छ, प्रेम एक्लै आउँदैन । प्रेमको सिंगो प्याकेटभित्र केवल प्रेम मात्रै हुँदैन । प्रेमसँगै अधिनायकवाद आउँछ । प्रेमसँगै दायित्व, घुर्की, दासता, अनिच्छित यौन र आर्थिक समस्याहरु पनि आउँछन् । कविको कल्पनाजस्तो वा कुनै अदर्श सिद्धान्तजस्तो मुलायम र कल्काउँदो मुना भएर प्रेम बसिरहँदैन । छिप्पिदै गएपछि यसमा काँडा उम्रन थाल्छ र घोच्न थाल्छ ।

भनेपछि तपाईंको विचारमा प्रेमको कुनै अर्थ छैन ?
-अर्थ छैन भनिहाल्दिनँ । अरुका लागि अर्थ होला । मेरो जीवनमा त्यो भएन ।

कुनै एक क्षण पनि ?
-सायद । यसको अर्थ, म रुख्खा–सुख्खा महिला होइन । हेर्नुस्, यी कुरा गर्दा मेरा आँखा भिजिरहेका छन् ।

तपाईं आफ्नो बच्चा बेलाको के कुरा सम्झनुहुन्छ ?
-म दुई दाजु र दुई दिदीपछिकी सन्तान हुँ । मपछि एउटी बहिनी पनि जन्मिइन् । मेरा बुवा हास्यरसले भरिपूर्ण व्यक्ति हुनुहुन्थ्यो । आमा भने तार्किक कुरा गर्न मन पराउनुहुन्थ्यो । मलाई लाग्छ, बुवाको हास्यरस र आमाको तार्किकताले मेरो आजको लेखक व्यक्तित्व जन्मिएको हो । मलाई माइतीमा निकै स्वतन्त्रता थियो । एकप्रकारले लाड–प्यारले हुर्किएकी हुँ । ८ वर्षको उमेरमा मात्र मलाई स्कुल भर्ना गरियो । तर, म घरमै लेखपढ गर्न जान्ने भैसकेकी थिएँ ।
तपाईंको ‘वादी विज्ञप्ति’ कविता सङ्ग्रह पढ्दा निकै विद्रोही कवि लाग्छ । ‘लेखककी स्वास्नी’ उपन्यासमा महिलाको पीडा र त्यसबाट पाउने मुक्तिका विषयमा लेख्नुभएको छ । दुवै पुस्तकमा पाइने त्यो विद्रोह तपाईंको जीवनमा पनि छ कि लेखनमा मात्रै हो ?
धेरै लेखकहरु यसो हेर्छु र मनन गर्छु, उनीहरु एकथोक बाँच्छन् र अर्को थोक लेख्छन् । सायद मसँग त्यस्तो व्यक्तित्व छैन । मलाई याद छ, स्कुलमा मलाई एक कक्षामा भर्ना गरियो, तर म ठूली भैसकेकीले माथिल्लो कक्षामा पढ्न चाहन्थेँ ।
सरले एकैपल्ट माथि चढाउन मिल्दैन भनेर हप्काउनुभयो र आमा–बुवालाई सम्झाउनुभयो । मैले नियम नै यस्तै होला भन्ने ठानेँ र चुपचाप पढेँ । एक कक्षामा पढ्नुपर्ने कुरा केही थिएन, त्यसैले धेरै दिन स्कुल नगए पनि प्रथम भएँ ।
दोस्रो वर्ष हेडसरले आफ्नो भजितलाई एक कक्षा पनि नपढाइकन तीनमा भर्ना गरिदिनुभयो । मैले विद्रोह गरेँ । त्योबेलासम्म मैले विद्रोह गरेँ, जबसम्म मलाई पनि तीन कक्षामा भर्ना गरिएन । त्यसपछि के थियो र ? तीनबाट अर्को वर्ष ५ मा प्रवेश पाउन जिद्दी गरेँ । त्यसपछि अर्को वर्ष ७ पढेँ । म कक्षा फड्कँदा पनि प्रथम नै हुन्थेँ । र, विद्यालयमा हुने कविता–निबन्ध प्रतियोगिताहरुमा पनि प्रथम हुन्थेँ ।

आठ कक्षापछि नि ?
-म खोटाङ्को एउटा दुर्गम गाउँकी छोरी हुँ । गाउँमा ७ सम्मको मात्र स्कुल थियो । त्यो पास भएपछि म एकैपटक ९ कक्षामा नाम लेखाउन चाहन्थेँ । तर, पासआउट भएर नयाँ विद्यालय जाँदा गाउँमा जस्तो माथिल्लो कक्षामा राख्न मान्नुभएन । गाउँकै हेडसरले नै पत्र लेखेर त्यसो नगर्न अनुरोध गर्नुभएको भन्ने कुरा गर्नुभयो । मलाई निकै चित्त दुख्यो । त्यसपछि स्कुल नै जान छाडिदिएँ ।

पढाइ नै छाडिदिनुभयो ?
-हो । तर, मेरो जीवनमा अर्कै कथा लेखिँदैछ भन्ने कुरा मलाई नै थाहा भएन ।

कस्तो कथा ?
-मेरी एउटी साथी थिई दीपकला । उहाँकी फुपू भोजपुरको दिल्पामा हुनुहुन्थ्यो । उसले एक दिन आफ्नी फुपूको घर जान आग्रह गरी । मैले मानिनँ । उसले खोटाङ र भोजपुरको सीमानामा रहेको डाँडोसम्म जाउँ, त्यहाँबाट साह्रै राम्रो दृश्य देखिन्छ भनेर फकाई । हामी घरबाट हिँड्यौं । त्यहाँ पुगेपछि उसले फुपूको घर पनि पुगिहालौं न त भनेर आग्रह गरी । घर फर्कने अवस्था थिएन । म उसको पछि लागेर दिल्पा पुगेँ ।
त्यसपछि त्यहाँ यस्तो अनौठो चक्रब्यूहमा फसेँ कि थाहै नपाई मेरो विवाह पो भएछ ।

कसरी ?
-खासमा दीपकलाले मेरा बारेमा आफ्नी फुपूलाई निकै कुरा गरेकी रहिछ । उनका कान्छा छोरा राजन मुकारुङ अलि अल्लारे टाइपको केटो भएकाले उसको विवाह यही केटीसँग गर्ने हो भने उसले सुधार्छे भन्ने उहाँको धारणा रहेछ ।
उहाँले रातभरि मलाई यतै बसेर पढ, तिमीलाई कुनै समस्या हुँदैन भनेर सम्झाउन थाल्नुभयो । म जसरी पनि ९ कक्षामा पढ्न चाहन्थें र १६ वर्षमै एसएलसी पास गर्न चाहन्थेँ । यो सुविधा उहाँले जुटाइदिने कुरा गर्नुभयो । मलाई लाग्यो, उहाँले मेरो चिन्ता गर्नुभएको हो ।
तर, दुई दिनमै मैले राजनसँग बस्नुपर्ने भयो । किनभने, यता घरमा म राजनसँग भागेको कुरा चलेछ । फर्कने अवस्था भएन । यसरी म सस्ती बेहुली भएर राजनको कोठामा सजिएँ ।

विवाह भए पनि पढाइ अघि बढाउन समस्या त भएन होला नि ?
-नौ कक्षामा नाम लेखाएर पढ्न थालें । कविता प्रतियोगिताहरुमा प्रथम आउँथे । मेरो प्रगति देखेर सबै खुसी थिए । तर, हामी दुबै १५–१६ वर्षे अल्लारे थियौं । विवाहपछि कसरी सुरक्षित यौनसम्पर्क राख्ने भन्ने थाहा थिएन । हुन त सासू आमा गाउँकी स्वास्थ्य परिचारिका हुनुहुन्थ्यो । तर, उहाँले सुरक्षित कसरी रहने भनेर सिकाउनुभएन । परीक्षा दिने बेलामा म गर्भवती भएँछु । अचानक पढाइ छाड्नुपर्‍यो ।

अनि अर्को वर्ष ?
-हामी साथीजस्ता मात्रै थियौं । एउटा छोरा जन्मिएपछि किन एउटा मात्रै, भोलिको के भरोसा ? दुईटा बनाउनुपर्‍यो भन्ने मेरो मनमा आयो । त्यसपछि अर्को बच्चा भैहाल्यो । jlचरा राजनलाई पनि थाहा भएन होला ।
यसरी पढ्न भनेर भोजपुर पुगेकी केटी १८ वर्षकी हुँदा दुई छोराकी आमा पो भएँ ! खासमा विवाह के हो, त्यो पनि राम्रो थाहा भएन । लोग्ने–स्वास्नीबीचको प्रेम के हो, त्यो पनि थाहा भएन ।

आज तपाईं र राजनजी दुवै प्रशिद्ध लेखक हुनुहुन्छ । नपढी तपाईंहरु यो स्थानमा पुग्न कसरी सम्भव भयो त ? यसलाई प्रगति किन नमान्ने ?
-म पो महिला थिएँ र मेरा सन्तानका कारण मेरो पढाइ रोकियो । राजन त एसएलसी पास गरेर काठमाडौं आइहाले । उनी पनि पहिलेदेखि लेख्थे । तर, काठमाडौं आएपछि उनको लेखन सायद बढ्दै गयो । एक दिन मेरी आमाले खोटाङबाट के खबर पठाउनुभयो भने, ‘तैंले पढाइ छाडेर छोराहरु हुर्काइरहेकी छेस् । तेरो श्रीमान् पढेर विद्वान हुँदैछ । तैंले यसरी पढाइ रोकिस् भने भोलि तेरो र श्रीमानको स्तर मिल्दैन । उसले अर्को विवाह गर्छ । तँ न यताको हुन्छेस्, न उताको हुन्छेस् । बरु छोराहरु लिएर माइत आइज, म तेरा छोराहरु हुर्काउँछु ।’
यो कुराले मेरो मन छोयो । म घर छाडेर माइती आएर पढ्न थालेँ ।

त्यसपछि ?
-एक वर्ष पनि माइतीमा टिक्न सकिनँ । स्कुलमा जाँदा आफूभन्दा जुनियरसँग पढ्नु पर्दथ्यो । उनीहरु मलाई जिस्क्याउँथे । त्यहाँसम्म ठिकै थियो, तर शिक्षकहरु नै मुटु दुख्नेगरी भन्थे, ‘पढ्नेबेलामा पोइला गई, अहिले पढाएको कुरा बुझ्दिन भन्छे ।’
खासमा तीन–चार वर्ष पढाइ छाडेपछि र छोराहरु हुर्काउनु पर्ने दायित्वले सबै कुरा बिर्सिसकेकी रहेंछु । सर र मेरा सहपाठीहरु मेरो यही पक्षलाई नमीठो गरी उडाउँथे । अन्त्यमा केही लागेन र भोजपुर नै फर्किएँ । बरु सासूको सहयोगले पछि एसएलसी पास गरेँ ।

त्यहीँदेखि राजनजीसँग छुट्टै बस्न थाल्नु भएको हो ?
-होइन । छोराहरुलाई घरमा छाडेर म पनि कलेज पढ्न काठमाडौं आएँ । काठमाडौंमा संगै बसियो । तर, राजन अलि अल्लारे टाइपको मान्छे, त्यसमािथ तत्कालीन सरकार विरोधी र माओवादी पक्षधर । उसको आस्था थाहा पाएपछि मानिसहरु उसलाई काम दिन डराउँथे । मैले शिक्षण पेशा गरेर छोराहरु पालेँ । उनी कविता लेख्ने र साहित्यिक आन्दोलनमा लागे । यसरी फरक शैलीले हाम्रो आ–आफ्नो जिन्दगी अघि बढ्न थाल्यो ।
हामीमा प्रेम थिएन, त्यसैले छोराहरु काठमाडौं नल्याई म बस्न सकिनँ । उनी खासै कामकाजी नभए पनि घर र छोराहरुको दायित्व नलिने । सबै मैले नै हेर्नुपर्ने भएकाले मैले स्कुलको जिम्मेवारी राम्रोसँग लिन सक्दिनँ थिएँ । कहिले छोराहरु कता गइरहेको, कहिले घाइते भएको खबर सुन्नु पर्दथ्यो । यसले गर्दा पनि सायद हामीसँगै भएर पनि सँगै नभएजस्तै थियौं ।

तपाईं कुनबेला लेख्नुहुन्थ्यो त ?
-घरमा लेख्ने वातावरण नै थिएन । स्कुलमै हुँदा लेख्थेँ । जागिर खाँदै ‘वादी विज्ञप्ति’ का कविताहरु लेखेकी हुँ र संग्रह पनि निकालेकी हुँ । कविता लेखेका कारण मैले विद्यालयमा धेरै गाली पनि खाएकी छु । बोर्डिङ् स्कुलमा अंग्रेजी लेख्ने बोल्नेलाई महत्व दिइन्थ्यो, नेपाली कविता लेख्नेको इज्जत हुने कुरै भएन । तै पनि लेख्न छाडिनँ ।

तपाईं त विदेश पनि जानु भएको थियो क्यारे, कसरी पुग्नुभयो ?
-कोरिया गएकी थिएँ । करिब साढे चार वर्ष बसेँ । पैसा कमाउने बाध्यता पनि थियो । कोरियन भाषाको शिक्षक भएर काम गर्दागर्दै उता जान मन लाग्यो र गएँ । ‘लेखककी स्वास्नी’ उपन्यास मैले कोरिया बसेरै लेखेकी हुँ ।
तीन महिनासम्म जागिर छाडेर कोरियामा साथी–भाइको भात पकाउँदै किताब लेखेकी हुँ । पैसा कमाउन आएकी मान्छे, जागिर छाडेर लेखेको देख्दा मलाई त्यहाँ पागल पनि भने । सायद उहाँहरुको नजरमा त्यो पागलपन नै थियो । तर, मभित्र जुन आगो सल्किएको थियो, त्यो नलेखी पूरा हुँदैनथ्यो । लेखेर मैले राजनलाई पठाइदिएँ । उनले केही सम्पादन गरेर छापिदिए ।

तपाईंको लेखनमा राजनजीको के कति योगदान छ ?
-खासै योगदान छैन भन्दा अन्याय हुँदैन होला । यसको अर्थ, उनले असहयोग गर्थे भन्ने होइन । उनले मेरो लेखनको विषयवस्तु रुचाउँथे, रुचाउँछन् । लेखनको हकमा हामी एकअर्काका शुभचिन्तक हौं ।

अनि तपाईंले नि ? उहाँलाई कति योगदान गर्नुभयो लेखनमा ?
-म पनि उनलाई लेख्ने वातावरण बनोस् भन्ने चाहन्थेँ । उनी लेखक भएकैले अल्लारे भएर हिँडेका हुन् भन्ने महसुस गर्थे । त्यही भएर पनि स्वतन्त्र छाडेको हुँ । म कोरिया गएपछि तिमी केही काम नगरी लेख, चाहिएको पैसा म पठाइदिन्छु भन्थेँ । नभन्दै म विदेशीएकै बेला उनले ‘दमिनी भीर’ लेखे र त्यसले मदन पुरस्कार पनि पायो । यसअघि उनको ‘हेत्छाकुप्का’ उपन्यास प्रकाशित भएको थियो ।

श्रीमान् राजन मुकारुङको धेरै आलोचना भयो । लेखक राजन मुकारुङको पनि आलोचना गर्नुहुन्छ कि प्रशंसा ?
-प्रसंसा गर्छु । लेखक राजन मुकारुङ साह्रै सुन्दर लेख्छन् । मैले चिनेदेखि नै उनले किरातका लुकेका कुरा बाहिर ल्याउने, त्यसमा बहस गर्ने उनी एक्ला व्यक्ति हुन् । पछि उपेन्द्र सुब्बाहरु थपिए । खासमा सिर्जनशील अराजकताले मूलधारको भनिएको खस आर्य र पछाडि पारिएका जात–जातिका भाषा साहित्यका बीचमा पुलको काम गर्ने, ती विषयमा बहस गराउने काम गरेको छ । उनी र उनका साथीभाइहरु लगातार यो काममा लागिरहेका छन् ।


अनि तपाईं नि ?

म पनि लगातार मेरो लक्षका लागि काम गरिरहेकी छु । तर, मेरा विषय अलि फरक छन् । म महिला र उनीहरुले भोगेका पीडाहरुका विषयमा काम गर्न चाहन्छु । मेरो एउटा सपना छ, महिलाहरुले नै वंशको अधिकार पाउनुपर्छ । वंश अधिकार नपाएकै कारण समाजले पुरुषलाई महत्व दिएको हो ।

जुन दिन महिलाले आफ्नो जन्मथर आफ्ना सन्तानलाई दिन थाल्छन्, त्यही दिनदेखि महिलाहरुका समस्या समाधान हुन थाल्छ ।

अलि बुझिएन, अझै स्पष्ट पारिदिनु हुन्छ कि ?

महिलाको वंशअधिकार भन्नेवित्तिकै पुरुष प्रधान समाज डराउँछ । वंशअधिकार भन्नाले कुनै पुरुषले बिहे गर्ने बित्तिकै उसले महिलाको घर जानुपर्छ भन्न खोजेको होइन । केवल महिलाले जन्माएको सन्तानलाई उसले चाहेको थर प्राप्त गर्ने अधिकार भन्न खोजेको । मानौं, उसलाई श्रीमानको थर दिन मन लागेन भने उसले आफ्ना सन्तानलाई माइतीको थर राख्न पाउने अधिकार ।

यसो हुनेवित्तिकै छोरीको हात माथि हुन्छ । माइतीहरु गौरवान्वित हुन्छन् । उसको मानमनितो नै अर्कै हुन्छ । आज समाज किन पुरुष प्रधान छ ? किनभने पुरुषको थर नै उसका सन्तानको थर हुन्छ । मेरो माग यति मात्रै हो, महिलाले आफ्ना सन्तानलाई माइतीको थर दिने कि घरको थर दिने भन्ने अधिकार महिलालाई हुनुपर्याे ।

म यो सपना पूरा गर्न रातदिन लागिरहेकी छु । लडाईं लडिरहेकी छु । मेरो मृत्युअघि यो सपना पूरा हुन्छ भन्ने विश्वास छ ।

यसका लागि ठूलो लडाईं लड्नुपर्छ होला । तपाईंका हतियार के के हुन् ?

मुख्य कुरा त लेखन नै हो । मेरा कवितामा तपाईं यी कुरा पाउनु हुन्छ । ‘लेखककी स्वास्नी’मा समस्या देखाएकी छु । आउँदो पुस्तक ‘थाङ्ग्रा’ मा यो अझ स्पष्ट भएर आउनेछ । जसमार्फत मैले आफ्ना मुद्दा अघि बढाइरहेकी छु ।

यो लडाईं लड्ने अर्को हतियार भनेको म अध्यक्ष रहेको मूलबाटो प्रतिष्ठान हो । यो संस्थामार्फत म आफ्ना मुद्दा सरकार र समग्र महिलासमक्ष पुर्याउँछु । पुरुषहरुको नैतिक समर्थन लिन्छु । महिलाको वंश अधिकारको रक्षा गर्नुको अर्थ पुरुषलाई अन्याय गर्नु होइन, केवल आमाको हक स्थापित गर्नु मात्रै हो भन्ने कुरा बुझाउँछु ।

अहिले सरकारले अन्तर्राष्ट्रिय महिला दिवश मनाइरहेको छ । उसलाई महिला दिवस कसरी सार्थक हुन्छ भनेर बुझाउने प्रयास गर्छु । यसका लागि संसारभरका नेपाली महिलाको साथ र सहयोग प्राप्त हुन्छ भन्ने विश्वास छ । अमेरिकाबाट दीपा राई पुन र कोरियाबाट केही महिला दिदी–बहिनीहरुले आर्थिक सहयोग गर्न थाल्नुभएको छ । बाँच्न त जसरी पनि बाँचिन्छ, तर यो अवधिमा मानिसले के गर्छ, कसका लागि बाँच्छ, आफ्ना लागि मात्रै कि अरुका लागि पनि ? यो महत्वपूर्ण प्रश्न हो । मैले जीवनमा जे भोगेँ, अबका छोरीचेलीले त्यो भोग्नु नपरोस् । यही मूल मन्त्र नै मेरा हतियार हुन् ।
Nick Name     
comment   




कोरियामा नेपाली रादूतावासको मनपरीतन्त्रले मृतकका परिवारलाई पिडा


बुद्धको प्रतिमा अनावरण कार्यक्रम भव्य रुपमा सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com