हत्याको षड्यन्त्र भएपछि परदेशिन बाध्य भएँ
2017-07-26   ghatanarabichar  



तात्कालिक प्रधानन्यायाधीश सुशीला कार्कीको कोपभाजनमा परेर पदमुक्त गरिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तात्कालिक प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफ्नो हत्या गर्ने षड्यन्त्र रचिएको सुइँको पाएपछि देश छोड्न बाध्य भएको बताउनुभएको छ । केही महिनायता प्रवासमा रहँदै आउनुभएका कार्कीले दूरभाष–संवादका क्रममा ‘तपाईंले देश किन छोड्नुभएको हो’ भन्ने घटना र विचारको प्रश्नमा जवाफ दिँदै भन्नुभयो, ‘मैले देश छोडेको होइन, छोडाइएको हो । मलाई मेरो देश प्राणभन्दा प्यारो लाग्छ र अहिले म जहाँ छु त्यहाँ आफ्नो देश सम्झेर तड्पिरहेको छु । देश बर्बाद गर्नेहरू र देश लुट्नेहरूले मलाई आफ्नो मातृभूमिमा रहनै नसक्ने परिस्थिति सिर्जना गरेका हुन् । मेरो माटोसँग टाढिएर रहनुपर्दा मलाई जुन छटपटी भएको छ, त्यो पीडा म यहाँ शब्दमा व्यक्त गर्न सक्दिनँ ।’

० कसले–कसरी तपाईंलाई देश छोड्न बाध्य तुल्याए, स्पष्ट गरिदिन सक्नुहुन्छ ?
– केही पुराना व्यापारिक घरानाका व्यक्ति, केही राजनीतिक दलका नेता र उच्च तहबाट अवकाशप्राप्त केही प्रहरी अधिकृतहरूले मेरो हत्या गर्नेसमेतको षड्यन्त्र रचेको सुइँको पाएपछि म नेपाल छोड्न बाध्य भएको हुँ । जसले मुलुकमा ब्रह्मलुट गरिरहेका छन् र जो लोकतन्त्र आफ्नो कब्जामा लिएर मनपरीतन्त्र चलाउँदै छन्, तिनले ममाथि दागा धरे । विदेशी लगानीमा आफ्नो जीवन निर्वाह गरिरहेकाहरूले मलाई विस्थापित गर्न सम्भव भएसम्मका उपाय अवलम्बन गरे । सतीले श्राप दिएको देशमा भीमसेन थापाहरू सेरिए, म खेदिएँ ।

० तपाईंले राज्यसँग सुरक्षा माग्न पनि त सक्नुहुन्थ्यो नि ?
– हेर्नुस्, मेरो कामका कारण ममाथि उत्पन्न सुरक्षा थ्रेटलाई लिएर विश्लेषण भयो र मलाई आजीवन विशेष सुरक्षा दिने भनी मन्त्रिमण्डलले निर्णय पनि गरेको हो । तर, मलाई जब सुरक्षा चाहियो, तब सबै सुरक्षा व्यवस्था हटाइयो । मैले आफ्नो सुरक्षाको लागि विभिन्न च्यानलबाट राज्यसँग अनुनयविनय गरेँ । क्याबिनेटले गरेको निर्णय मात्र कार्यान्वयन गरिदिए हुन्छ भनेर पनि पटक–पटक भनेँ । तर, कुनै सुनुवाइ भएन । हामीले त्यसबेला जो–जसलाई कारबाहीको दायरामा ल्याएका थियौँ, जसमाथि निगरानी बढाएका थियौँ र जो अनुसन्धानको दायरामा परेका थिए, ती सबै घोषित या अघोषित रूपले एक भएछन् । मलाई टेलिफोनमा ज्यान लिनेलगायतका धम्की आउन थाल्यो, मेरो मुभमेन्ट हुने सम्भावित ठाउँहरूमा शङ्कास्पद मानिसका गतिविधि बढ्न थाल्यो । त्यस्तो अवस्थामा मैले आफू हुँडारहरूको बीचमा फसेको हरिणझैँ महसुस गरेँ र ज्यान जोगाउन अनेक उपाय गर्ने क्रममा बिदेसिन पुगेँ ।

० त्यसो भए अब तपाईं कहिल्यै नेपाल फर्कनुहुन्न त ?
– म पनि तपाईंलाई प्रश्न गर्छु– के नेपालमा कहिल्यै सुशासन र मानवराज वहाली हुँदैन र ? सधैँ यस्तै बेथिति र विकृति रहिरहला र ? असल मानिसले राम्रो काम गर्ने दिन पनि आउला नि नेपालमा ! देशमा राम्रा मानिसले शासन गर्ने दिन अवश्य आउनेछ र त्यतिबेला मुलुकमा कसैले पनि अन्याय महसुस गर्नुपर्ने छैन । म र मजस्ता मानिस जो देशभित्रै असुरक्षित महसुस गरेर बाहिरिनुपरेको छ तिनले स्वदेशका निम्ति केही गर्ने अवसर पाउने छन् । तर, मैले देशको अवस्था राम्रो भएपछि मात्र फर्कन्छु भन्न खोजेकोचाहिँ होइन, मेरो ज्यान सुरक्षित रहन्छ भन्ने विश्वास भएका दिन म स्वदेश फर्कन्छु । त्यो भोलि नै पनि हुन सक्छ र थप केही समय लाग्न पनि सक्छ ।

० देशका भ्रष्टाचारीहरू एक भएर तपाईंलाई दुःख दिएको भन्ने तपाईंको दाबी छ । तर, तपाईं ती को–को हुन् र तपार्इंले के गर्न लाग्नुभएको हुनाले उनीहरू एक भएर तपाईंका विरुद्ध जाइलागेका हुन् भन्ने विषयमा केही बताइरहनुभएको छैन, किन ?
– मैले राष्ट्रपतिसमक्ष गोपनीयताको शपथ खाएको छु । त्यसैले कानुनले तोकेको, बाध्य तुल्याएको या देशमा असामान्य स्थिति उत्पन्न भएको अवस्थामा मात्र मैले कानुननिर्दिष्ट स्थानमा गएर मुख खोल्ने हो । जहाँ पायो त्यहीँ बोलेर हिँड्ने कुरा भएन । संसद्को महाभियोग समितिमा बोलाएर सोधिएको भए म सम्मानित संसद्का माननीय सदस्यहरूसमक्ष आफ्ना कुराहरू राख्न तयार थिएँ र छु । समितिले मेरो स्पष्टीकरणसमेत नराखीकन प्रतिवेदन बनाएको र रेकर्डमा राखेको भन्ने सुनेर म स्तब्ध भएको छु । वास्तवमा मेरो भनाइसमेत नसमेटीकन प्रतिवेदनले पूर्णता पाउन सक्ने म ठान्दिनँ । एक न एक दिन मलाई यसबारेमा सत्य प्रकट गर्न पाउने कानुनी अवस्था र अवसर मिल्ने विश्वास छ । त्यस्तो अवसर आउँदा सबै तथ्यहरू कानुनसम्मत ढङ्गले म बाहिर ल्याउनेछु । कोही गैरजिम्मेवार र पूर्वाग्रही भए भन्दैमा मैले पनि गैरजिम्मेवार बन्न मिल्दैन ।
Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com