एमालेको जे हरिबिजोग भएको छ, त्यही हेरेर बस्ने हो
2016-09-06   weeklynepal  



० माओवादीबाट फेरि पुरानो घर एमालेमा त फर्कनु भयो, तर उतिधेरै सक्रिय देखिनु हुन्न नि ?

–आवद्ध त म एमालेमा नै छु यद्यपि खासै व्यस्त हुने जिम्मेवारी मलाई दिइएको छैन । मलाई केन्द्रीय सदस्य त बनाइएको छ, तर यसको भूमिका छैन । एमालेमा त्यो पनि २ सय हाराहारीको भीमकाय केन्द्रीय सदस्यको के नै काम हुन्छ र ? धेरै केन्द्रीय सदस्य एमालेमा मानार्थ छन्, त्यस्तै मानार्थ केन्द्रीय सदस्यमध्येको म पनि एक भएकाले राजनीतिक र सांगठनिक जीवनमा म त्यति व्यस्त छैन । अरु केन्द्रीय सदस्यले झै म पनि मानार्थ केन्द्रीय सदस्यको मानमनितो खाएर बसेको छु । चिन्तनगत रुपले त म व्यस्त नै छु ।

० तपाईं जस्तो उचाई भएको नेतालाई एमालेले किन भूमिकाविहीन बनाएर राखेको होला ?

–यो प्रश्न मसंग भन्दा पनि एमालेका ठूला नेताहरूसंग सोध्नु जायज होला । मेरो विचारमा म भूमिकाविहीन हुनुमा दुई कुराले काम गरेका छन् । पहिलो नेताहरूको अनिच्छा, अर्को एमालेको संगठनको आकार । संगठन वास्तवमा चुस्त–दुरुस्त हुनुपर्छ । जुनसुकै पार्टीको ठूलो संगठन भनेको मान्छेमा लागेको क्यान्सर जस्तै हो । बाहिर हेर्दा राम्रो देखिन्छ, भित्र बिग्रिरहेको हुन्छ । एमालेमा अहिले त्यो रोग लागेको छ । एमालेमा ५०–५१ जना केन्द्रीय सदस्य हँुदा त्यो कार्यकारी हुन्थ्यो, संगठन चलायमान र गतिशील हुन्थ्यो । तर, यहाँ संगठनलाई चुस्तदुरुस्त र गतिशील बनाउने भन्दा पनि ठूलो देखाएर कमजोर पारिएको छ । एमालेमा योग्यता, क्षमताको कुनै मूल्य छैन । गुटगत आवद्धताले पनि यहाँ काम गरेको छ । क्षमताहीनहरूले माथि जान चाकरी गर्छन् । एमालेमा चाकरी र चाप्लुसी चरमचुलीमा पुगेको छ । यस्तो बेला चाकरी र चाप्लुसी मन नपराउने क्षमतावानहरू भूमिकाविहीन हुनु स्वभाविक नै हो ।

० तपाईंले यो विषयमा आवाज किन उठाउनु भएन ?

–कहाँ उठाउने, नयाँ सडकमा उठाएर भएन ? केन्द्रीय समितिको बैठक वर्षमा १–२ पटक हुन्छ । २ सय जना मान्छेले मेलामा कराए झै कराएर कसले सुन्छ ? गुटका नेताले यहाँ पनि दिमाग भएका मान्छे छन्, उनीहरूले भनेको कुरा पनि मान्नुपर्छ भन्ने भइदिए त सुन्थे, तर, कोही छैनन् । एमालेका चारै जना नेतालाई कसैको सहयोग चाहिंदैन, आफ्ना विचार भन्दा अरु विचार सुन्नु पनि चाहँदैनन् । यो खालको संस्कार भएपछि केन्द्रीय कमिटिमा दिएको सुझावको के अर्थ रहन्छ र ?

० एमाले पार्टी फर्किनुपूर्व तपाईंलाई दिइने भूमिकाको विषयमा कुराकानी भएको थिएन र ?

–एमालेका ठूला नेताहरूसंग बसेर मलाई दिइने भूमिकाको विषयमा बकाइदा कुरा भएको थियो ।

० तपाईंलाई कस्तो भूमिका दिने सहमति भएको थियो उतिबेला, बताइदिनुहोस् न ?

–नवौं महाधिवेशन अगाडि विष्णु पौडेल पहिलोपटक पार्टीमा फर्किनु पर्‍यो भन्दै आउनु भएको थियो । अहिलेका महासचिव ईश्वर पोखरेल, युवराज ज्ञवाली पनि आएर कुरा गर्नुभयो । अध्यक्ष झलनाथ खनाल हुनुहुन्थ्यो, दुईजना स्थायी कमिटीका सदस्यबाहेक झलनाथको घरमा बसियो । उपस्थित अधिकांशले मलाई एकहोरो पार्टीमा आउन आग्रह गरेपछि मैले त्यतिबेला भनेको थिएँ– हिजो मलाई पार्टीबाट निकालियो । अब मलाई केमा राख्नुहुन्छ ? उहाँहरूले पोलिटब्युरोमा राख्ने बताउनुभयो । तर, मैले पोलिटब्युरो होइन, मलाई स्थायी समितिबाट निकालिएकाले त्यसैमा राख्ने भए आउँछु भनें । त्यतिबेला कुरा मिलेन । अधिवेशनका बेला मैले प्रतिनिधि बनाउनुस्, म कार्यकर्ताको बीचमा जान्छु भनें । तर, त्यहाँ पनि लगिएन । अधिवेशनबाट केपी ओलीजी अध्यक्ष हुनुभयो । ओलीजी मेरो बालसखाका साथै सुख–दु:खका साथी हुन् । उनको र मेरो वैचारिकी ‘इन्टिमेसी’ पनि नजिकै थियो । उहाँ अध्यक्ष भएपछि धेरैपटक पार्टीमा फर्किन आग्रह गर्दै मेरोमा आउनु भएको थियो । उहाँले स्थायी समिति सदस्यमा ल्याउछु, पार्टी फर्किनुस् भनेपछि मैले उहाँलाई विश्वास गरें र एमालेमा फर्किएँ । एमालेमा मलाई केन्द्रीय सदस्यको जिम्मेवारीपछि स्थायी समितिमा लैजाने भनिएको थियो, तर अहिलेसम्म कुनै जिम्मेवारी दिइएको छैन ।

० यो विषयमा तपाईंले ओलीका साथै एमालेका मुख्य नेताहरूसंग कुरा गर्नु भएको छैन त ?

–मैले यो विषयमा ओलीका साथै वरिष्ठ नेताहरू माधव नेपाल र झलनाथ खनालसंग कुरा राखिसकेको छु । माधव र झलनाथ ओलीजी अध्यक्ष हुनुहुन्छ, उहाँले प्रस्ताव गरे हामीलाई आपत्ति छैन, हामी मान्छौं भन्नु हुन्छ । ओलीजीलाई मैले यही कुरा भन्दा उहाँले अहिलेसम्म मेरो कुरा सुन्नु भएको छैन, भोलि के गर्नु हुन्छ थाहा छैन । उहाँले मेरो कुरा नसुने पनि यसैलाई लिएर राडे रुवाइँ गर्ने पक्षमा म छैन ।

० पार्टी अध्यक्ष ओलीले तपाईंलाई भूमिका दिन किन आनाकानी गर्नु भएको होला ?

–वास्तवमा ओलीका साथै अन्य नेताहरू मसंग संशकित हुनुहुन्छ । हिजो माधव नेपाल पनि आरकेले के–के न गर्छ भनेर डराउनु भएकै हो । मेरो सामान्य पुँजीकै कारण उहाँहरू अहिले पनि डराउनु भएको छ । आरके आएपछि अर्को गुट चलाउँछ, ल्याउनु हुँदैन भन्ने मत प्रकट गर्नेहरू पार्टीमा उत्तिकै छन् । यसो भन्नु ममाथिको अन्याय हो । तर, म यहाँनिर के प्रष्ट पार्न चाहन्छु भने त्यसरी गुट सञ्चालन गरेर पार्टी कमजोर बनाउने पक्षमा म कहिल्यै पनि छैन । मैले हिजो पनि पार्टीमा गुटबन्दी गरिनँ, अब पनि गर्ने छैन । यहाँनिर म एउटा विषय स्मरण गर्न चाहन्छु । अहिलेकै केन्द्रीय कमिटीका दुई दर्जन मान्छे मलाई २०५९ सालमा पार्टीबाट निकालिएपछि अर्को पार्टी खोलौं भनेर आउनु भएको थियो । तर, मैले आफू निस्किए पनि अर्को पार्टी खोलेर एमालेलाई कमजोर बनाउन चाहिना र एक्लै बाहिरिएँ ।

० को–को आएका थिए नि त्यतिबेला पार्टी फुटाउनु पर्यो भन्दै ?

–साथीहरूले आन्तरिक विश्वासमा जे कुरा गरे, अहिले १० वर्षपछि आएर यसो भन्थे उसो भन्थे भन्नुको अर्थ हुँदैन । मैले भन्न खोजेको अर्थ मैले गुट बनाउन खोजेको भए बन्थ्यो भन्ने मात्र हो ।

० अब कसरी अगाडि बढ्नुहुन्छ ?

–एमालेले जिम्मेवारी दियो भने यही पार्टीमा रहेर देश र जनताका लागि काम गर्छु ।

० प्रसंग बदलौं, ओली नेतृत्वको सरकार नौ महिनामै ढल्यो । ओली सरकार मात्रै ढलेन, कम्युनिष्ट गठबन्धन अल्पायुमै ढल्यो । यसलाई तपाईंले कसरी लिनुभएको छ ?

–देशका लागि यो ठूलो नोक्सानी हो । यो कम्युष्टि आन्दोलनका लागि मात्रै होइन, देशको प्रजातान्त्रिक इतिहासकै फेलियर बिन्दु हो । ०४६ सालयता जति पनि सरकार बने तिनीहरूले राजनीतिक कुरा मात्र उठाए, तर ओली सरकारले पहिलोपटक आर्थिक उपार्जनका साथै पूर्वाधार निर्माणको कुरा उठाएको थियो । तर, त्यो पूरा हुन नपाउँदै यो सरकार ढल्यो, यो विडम्बनाको कुरा हो ।

० यो गठबन्धन ढल्नुको मुख्य दोष कसको देख्नुहुन्छ ?

–एमालेका तीनवटै नेता प्रधानमन्त्री भए । यी तीनवटै नेतालाई प्रचण्डले सिङ् उचालेर समर्थन गर्दै प्रधानमन्त्री बनाउनु भयो । ओली प्रधानमन्त्री हुँदा देश संकटमै थियो । यस्तो बेला ओली अलि बढी गम्भीर हुनुपर्दथ्यो । उहाँले आफू जति महत्वकांक्षी हुनुहुन्थ्यो, त्यो भन्दा चौगुणा प्रचण्ड छन् भन्ने बुझ्नु पर्दथ्यो । यस्तो साथीसंग सहकार्य कसरी गर्ने भन्नेमा ओलीले ठन्डा दिमागले सोच्नु पर्दथ्यो ।

प्रचण्डले अव्यक्त रुपमा मैले सघाएँ, अब तपाईंले सघाउनु पर्छ भन्ने कुरा व्यक्त गरिरहनु भएकै थियो । तर ओलीले बालुवाटार पुगिसकेपछि यो सधैंका लागि मेरै हो भन्ने प्रवृत्ति देखाउनु भयो । ओलीले आर्थिक उपार्जन र पूर्वाधार निर्माणका महत्वपूर्ण कुरा उठाउनु भएको थियो, यसलाई मूर्तरुप दिनका लागि पनि उहाँले बरु आफू बालकोटमै बसेर भए पनि प्रचण्डलाई सघाउनु पर्दथ्यो । यसो गरेको भए हप्तामा तीन दिन प्रचण्ड बालकोट पुग्नु पर्ने हुन्थ्यो । कम्युनिष्ट मिल्दा धेरै उपलब्धि हासिल हुनसक्थ्यो । यसो गरिएको भए राष्ट्रले पत्याउने नेता त ओली बन्नुहुन्थ्यो । तर, ओलीले त्याग गर्न सक्नु भएन ।

२०१७ सालमा राजा महेन्द्रले नथुनेको भए वीपी कोइराला यति धेरै चीरञ्जीवी नहुने थिए । पुष्पलाल सरकारमै आएनन्, अहिले पनि वामपन्थी आन्दोलनको तारा छन् । मदन भण्डारी कहिल्यै सरकारमा आएनन्, तर उनी अहिले पनि एमालेभित्र र बाहिर चर्चाको विषय छन् । सरकारले मात्र व्यक्तिको व्यक्तित्व उठाउँदैन । राष्ट्रलाई नेतृत्व गर्ने क्षमता र कूटनीतिक पहल गर्नुपर्छ, जुन केपी ओलीले गर्न सक्नु भएन । कारण, अहिलेको गठबन्धन अल्पायुमै ढल्यो ।

० प्रचण्ड बाह्य शक्तिको प्रभावमा बढी नै बहकिए भन्ने आरोप पनि छ नि ?

–प्रचण्डमा प्रधानमन्त्री हुने महत्वकांक्षा त थियो नै त्योभन्दा बढी एमालेलाई छाडिनस् भने खैरात छैन भन्ने थ्रेट प्रचण्डलाई बढी थियो । यस्तो बेला प्रचण्डसंग दुई विकल्प थिए । पहिलो एमालेकै वरिपरि बसेर प्रधानमन्त्री हुने र एमाले छाडेर आफू सुरक्षित हुने बाटोमा उनी जानु पर्ने अवस्था आयो । यो मनोविज्ञान एमालेले बुझेको भए यो गठबन्धन भत्कने थिएन ।

० माओवादी केन्द्र र कांग्रेस गठबन्धनलाई कसरी लिनु भएको छ ?

–संविधान घोषणा हुनुपूर्व मुख्य दलबीच बनेको सहमति संविधान बनेसंगै तुहाइयो । त्यहीबाट संविधान कार्यान्वयन हुन नदिएर अस्थिरता निम्त्यिाउने नयाँ खेल सुरु भएको थियो ।
एउटा गठबन्धन भत्किएर अहिले जुन गठबन्धन बनेको छ, मेरो विचारमा यो पनि त्यसकै निरन्तरता हो ।

० भनेपछि यो गठबन्धनले पनि देशलाई निकास दिंदैन ?

–माओवादी केन्द्र र कांग्रेस दिंदैन । अब यसले झन् ठूलो संकट ल्याउनेवाला छ । संविधान कार्यान्व्यन गर्न झन गाह्रो हुनेवाला छ । ज्योतिषी पाराले यो नै हुन्छ भनेर भन्न त गाह्रो छ, तर अबको बाटो सहज भने छैन ।

० यो गठबन्धनको भविष्य के होला ?

–शेरबहादुरलाई सत्ता सुम्पने बेलासम्म जान पनि सक्छ । तर, त्यो अगावै शेरबहादुरलाई नदिएर फेरि एमाले माओवादीबीचकै गठबन्धन पनि हुनसक्छ । ठ्याक्कै सूचना त मसंग छैन तर अस्थिरता निम्त्याउन खोज्नेहरूले जस्तो सुकै चालबाजी पनि चाल्न सक्छन् ।

० नेपालको कम्युनिष्ट आन्दोलनलाई कसरी हेर्नुभएको छ ?

–कम्युनिष्ट आन्दोलन जसरी अघि बढ्नु पर्ने हो त्यसरी अघि बढ्न सकेको छैन । ओलीमा क्रान्ति हाँक्ने सम्भावना देखिएको थियो तर, उहाँले पनि बुद्धि पुर्‍याउन सक्नु भएन ।
जनतामा हँुदा क्रान्तिकारी देखिइने तर सत्तामा गएपछि या जाने हैसियतमा पुगेपछि छिन्न भिन्न हुँदै जानु कम्युनिष्ट आन्दोलनको विडम्बनाको कुरा हो ।

० कम्युनिष्ट आन्दोलनको भविष्य के हुन्छ ?

– कम्युनिष्ट पार्टी र आन्दोलन आम मान्छेलाई आत्मनिर्भर बनाउने बाटो हो । तर सत्ता र सरकारमा जाने नाममा नेपालका कम्युनिष्ट पार्टीहरूले आफ्नो धरातल बिर्सिंदै गइरहेका छन् । यसले कम्युनिष्ट आन्दोलनलाई पनि संकटतिर धकेलिरहेको छ ।

० दल/बदल त धेरै नै गर्नुभयो नि ?

–एमाले, माले र माओवादीको धरातल एउटै हो । त्यसैले मलाई लाग्दैन यति ठाउँमा जाँदा धेरै घुमफिर भो भन्ने लाग्दैन । कम्युनिजमको पेरी–फेरी भन्दा बाहिर गएको जस्तो लाग्दैन । जहाँसम्म राजाको कुरा छ, राजाको भनाइ पत्याउँदा म फसें । म राजाको पार्टीमा लागेको होइन । स्वतन्त्र भएर बस्दा राजाले द्वन्द्व समाधान गर्न सघाउनु पर्‍यो भन्ने प्रस्ताव आएपछि मैले साँच्चै उनले राष्ट्रको संकट समाधान खोजेको रहेछन् भन्ने लागेर सघाउन गएको हँु । तर, वास्तवमा राजाले समाधान नचाहेर तानाशाह हुन खोजेको रहेछन् । यहाँनिर विश्वासमा पर्दा म फसें ।

० माओवादीबाट पनि छिट्टै बाहिरिनु भयो नि ?

–भावनात्मक रुपमा त म माओवादीमा प्रवेश गरेको हँु । तर, मलाई सांगठनिक जिम्मेवारी कहिल्यै पनि दिइएन । असल राजनीतिभन्दा पनि धनाढ्य बन्ने संस्कृति माओवादीमा बढ्दै गयो । त्यसपछि मलाई यसले केही गरिखाला जस्तो लागेन र छाडिदिएँ ।

० भावी योजना के छ ?

एमालेमा स्थायी समितिमा लग्यो भने एमालेलाई अझै सुन्दर बनाउन लाग्ने हो । लगेनन् भने एमालेको जे हरिबिजोग भएको छ, त्यही हेरेर बस्ने हो ।
Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com