मैले कांग्रेसलाई अलपत्र पारेर पछाडि हट्नु हुँदैन
2016-02-06   weeklynepal  



० कांग्रेसको १३ औं महाधिवेशन गाउँगाउँ–नगर–नगरबाट सुरु भयो है ?

– नेपाली कांग्रेसको महान् अभियान सुरु भएको छ । कांग्रेस लोकतान्त्रिक अभ्यासमा छ । गाउँगाउँ–नगर–नगर जताततै कांग्रेस तातेको छ । गाउँगाउँ–नगर–नगर प्रतिनिधि चुनिएर क्षेत्रीय अधिवेशन र त्यहाँबाट क्षेत्रीय सभापति चुनिन्छन् । त्यहाँबाट महासमिति प्रतिनिधि चुनिन्छन् । तिनैले जिल्ला सभापतिसमेत चुन्छन् । कोसंग कार्यक्षमता छ त्यसकै आधारमा साथीहरू लागिरहनु भएको छ । जो दक्ष छ उनै चुनिएर महाधिवेशन प्रतिनिधिका रुपमा काठमाडौंंको १३ औं महाधिवेशनमा आउने छन् । यसरी हेर्दा कांग्रेसको महाधिवेशन रौनकमय हँुदै गएको छ । कसलाई नेतृत्व दिंदा त्यसले नेपाली कांग्रेस, राष्ट्र, प्रजातन्त्रलाई र मुलुकलाई समृद्ध पार्न सक्छ भनी साथीहरू आफ्नो उत्कृष्ट व्यक्तिलाई छनोट गर्दै आउने कुरो हो । कोसंग कार्यक्षमता छ, कोसंग बोल्ने क्षमता छ भनी जाँच्नेकाम देशभरि भइरहेको छ ।

० केन्द्रमा जुन तरिकाले सभापति र पदाधिकारीका लागि आकांक्षी बढेका छन् त्यसमा तपाई कसरी अगाडि बढ्दै हुनुहुन्छ नि ?

– कुरा के छ भने पार्टीको महाधिवेशन प्रतिनिधि छानिएर आएपछि को को उम्मेदवार बन्ने भन्ने निष्कर्ष हुनेछ । को को उम्मेदवार भएर जनता सामु जान्छन् को को पार्टीको दावेदारीमा जान्छन् अहिलेसम्म त सबैले आफ्ना कुरा भनिराख्या छन् । पछि उम्मेदवारहरू सबैका अगाडि आउने नै छन् । मलाई के लाग्छ भने गाउँ–नगरमा भर्खर चुनाव भएको छ । नेताहरूसंग कुराकानी पनि भइरहेको छ । देशभरिका साथीहरूबाट मलाई नै नेतृत्वका लागि लड्नु पर्छ भनिरहेका छन् । साथीहरूको कुरा मैले बुझिसकेको छु । तसर्थ मैले उहाँहरूको भावनामा चोट पुर्‍याउनु हुँदैन । उहाँहरूको यत्रो ठूलो चाहनालाई मैले उपेक्षा गर्न सक्दिन । तर, पनि केही औपचारिकता हुन्छन् । अहिले पार्टीका समकालीन मित्रहरूसंग एकखाले कुराकानी चलिरहेको छ । सबैको एउटा समझदारीको वातावरण बनेर हामी एक भएर अगाडि बढ्छौं । अन्तिममा हामी केन्द्रमा छलफल गरेर निर्णय गर्नेछौं ।

० त्यसो भए केन्द्रमा शीर्ष तहमा छलफल नै नगरी किन त अहिल्यै तपाईले उम्मेदवारी घोषणा गर्‍या ?

– हैन । म अगाडि गएको हैन । मभन्दा अगाडि त शेरबहादुर देउवाजी जानु भएको हो । उहाँ गएको त दुई वर्ष अगाडि नै हो । कसैले भित्रभित्र कसैले बाहिर बाहिर निर्वाचनका लागि घुमिरहेको अवस्था त पहिलेदेखि नै हो । म त ‘कस्तो बन्यो संविधान, सद्भाव र एकताको अभियान’ नारा दिएर संविधानबारे बुझाउन देश दौडाहामा हिंडेको हुँ । आफ्नो व्यक्तिगत प्रचारमा हैन । नयाँ संविधान कस्तो छ, के छ भनी म देशभरि हिंडेको हुँ । संविधानबारे दुनियाँलाई पनि बुझाउनु थियो । नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई विचार दिएको छु । मैले पार्टीको विचार दिएको छु । अब पार्टी कसरी अगाडि बढ्नु पर्छ भनी बताउँदै हिंडेको छु ।
देशमा उब्जेका समस्यालाई कांग्रेसले कुन ढङ्गले समाधान गर्न सक्छ भनेर म लागिरहेको छु । मधेसी मोर्चाको आन्दोलनलाई कसरी संबोधन गर्ने भनेर त्यतापट्टि पनि म लागिराख्या छु । म काठमाडौंमा बसेर गुडुल्किएर गुटबन्दी गर्‍या छैन । मुलुकभर पुगेर चुनावी तयारी पनि गर्‍या छु ।

० तपाई चाहे पनि नचाहे पनि संस्थापनको निकटमा हुनुहुन्छ । गुटको राजनीति देखिंदा तीन नेताहरू सुशील कोइराला र शेरबहादुर देउवाबीच टक्करजस्तो देखिन्छ । तपाई आफूलाई कहाँ पाउनु हुन्छ ?

–म मेरै ठाउँमा पाउँछु । म कांग्रेसको नेता हो । मैले कांग्रेसलाई छोडेको छैन । म कुनै गुटबन्दीको हैन कांग्रेसको पक्षमा हो ।

० तपाईले भने पनि नभने पनि कांग्रेसभित्र गुटबन्दी त मौलाई रहेको छ । तपाईलाई संस्थापन पक्षले सहयोग गरेन भने त पार्टी सभापतिमा जित्न गाह्रो होला नि ?

–कुरो के हो भने जब दोस्रो संविधानसभाको निर्वाचनका बेला कसलाई टिकट दिने भन्ने मिटिङ्ग चलिरहेको थियो त्यतिबेला मैले भनेको थिएँ कि यहींबाट हामीले पार्टी विभाजनको विधिवत् प्रारम्भ गरिराख्या छौं भनेर । कांग्रेस पार्टी कता जाँदैछ । नेपाली काँग्रेस कहाँ पुग्न लाग्यो । त्यत्तिबेलै मैले गंभीर ढंगले यी कुरा राखेको थिएँ । साथीहरूलाई सम्झना होला ।

० तर, विभिन्न समयमा कांग्रेसभित्र ६०–४० को भागबण्डा देखिएको कुरा त सत्य हो नि ?

–हो, त्यही भागबण्डा कारणले त पार्टीभित्र दरार बढ्दै गयो । साथीहरूका बीचमा एउटै पार्टीभित्र पनि दुईवटा पार्टीजस्तो बन्न थाल्यो । यो भागबण्डाले नेपाली कांग्रेसलाई एक किसिमको प्यारालाइज्ड जस्तो गर्न खोजेको मैले देखें । त्यसपछि मैले सचेत गराउँदै हिंडेको छु कि भागबण्डाको आधारमा पार्टी संचालन गर्नुहुँदैन । मूल्यांकनको आधारमा राजनीति गर्नुपर्छ । मूल्यांकनको आधारमा पार्टी चलाइयो भने सबैले न्याय पाउँछन् भनेर मैलै भन्दै हिंडेको छु । सबैलाई पार्टीप्रतिको समर्थनसहित स्थान दिन सकिन्छ ।

० सय भारी खर काट्ने र सय भारी खर जलाउनेलाई एउटै राख्नु हुँदैन भनेर तपाईले भनेको चाहिं के हो नि ?

–मानसिक दवाव कांग्रेस पार्टीमा भइरहेको छ । मानसिकता नै परिवर्तन गर्नुपर्ने अवस्थामा पार्टी पुगेको छ । हिजो जसरी आन्दोलनमा एक भएर हिंडिरहेको अवस्था थियो आज आपसमा द्वन्द्व छेंड्ने काम भइरहेको छ । यसलाई रोक्नै पर्छ । यसले पार्टीलाई विभाजन गर्छ । गएको आम निर्वाचनमा पनि देखियो कि बरु एमाले वा माओवादीले जितोस् तर फलानोले नजितोस् भन्ने पाइयो । कांग्रेसभित्र हुर्किरहेको यस्तो प्रवृत्तिलाई जसरी हुन्छ रोक्नुपर्छ । त्यसका लागि म लागेको छु । शेरबहादुरजीले पार्टी फोड्ने बेलामा पनि पार्टी जोड्नका लागि मैले अन्तिम समयसम्म काम गरेको थिएँ । गिरिजाबाबुसंग अन्तिम समयसम्म लडिरहेको थिएँ । अहिले फेरि त्यस्तै अवस्था देखिएको छ । मैले सबैलाई एकजुट बनाएर लैजानका लागि पनि दावेदारी चाहिं दिएको छु ।

० तर, जुन उम्मेदवारी दिंदै हुनुहुन्छ दुईमध्ये एक खेमामा त लाग्नु पर्ला नि ?

–म पार्टीको संस्थापनमा रहेको मान्छे हुँ । अहिले कुनै पनि पक्षका साथीहरू मलाई अप्ठेरो मान्दैनन् । दुवै तर्फकाले सघाउँछन् । म मूलधारको पार्टीलाई जोगाउन भरपूर प्रयास गर्नेछु ।

० सभापति कोइरालाले तपाईलाई सघाउनु होला त ?

–शेरबहादुरजी धेरै अगाडि बढिसकेको अवस्था छ । हुन त उहाँलाई मैले सम्झाएको थिएँ । उहाँ गुटको राजनीतिमा अगाडि बढ्नु भयो । वहाँलाई सिङ्गो पार्टीलाई नेतृत्व गरेर जानेगरी हिंड्नुस् न त भनेर भनेको मान्नु भएन । मैले सुशीलजीलाई पनि पार्टी कहाँ छ, भविष्य के छ, कार्यकर्ताको भावना के छ ? त्यसलाई सम्बोधन गर्नुपर्छ भनेको छु । मलाई उहाँले सघाउनु हुन्छ भन्नेमा विश्वस्त छु ।

० उहाँले त आफ्नो पालामा संविधान बनेको छ भनेर फेरि कुनै हालतमा नछोड्ने आकांक्षी देखिनु भएको छ त ?

–अथक प्रयास गरेर संविधान हामी सबैले बनाएका हौं । नेपाली जनताको धेरै ठूलो रगत पसिना बगेको छ । सुशील कोइराला वा कुनै एक जनाले मात्र यो संविधान बनाएको हैन । लोकतान्त्रिक संविधान बनाउन मैले पनि लड्दै आएको हँु ।

० अरु पनि आकांक्षी देखिएका छन् नि सभापतिका लागि ?

–म उहाँहरूका बारेमा अन्यथा भन्न चाहन्न । उहाँहरूको पनि अधिकार छ । हामी सबै संगसंगै बसौं त्यसपछि अगाडि बढौं भन्ने मेरो विचार छ ।

० फेरि सोधौ, तपाईलाई सुशील कोइरालाले सघाउनु होला त ?

–मलाई विश्वास छ । सुशील कोइरालाले मलाई सघाउनु हुन्छ । मैले सहयोग नपाउने कुनै पनि आधारको एक रौं बराबर पनि देखेको छैन ।

० त्रिकोणात्मक भिडन्तको सम्भावना कत्तिको देख्नु हुन्छ नि ?
–यो महाधिवेशनमा सकभर त्रिकोणात्मक भिडन्त न होला । भयो भने के गर्ने, लड्ने । अरु त विकल्प के नै पो छ र ?

० फेरि पनि मलाई सघाउनु होस् भनेर भनेमा ?

–अहिले मैले जुन कुरा सोचिरहेको छु । कांग्रेसको भविष्य, प्रजातन्त्रको भविष्य र राष्ट्रको भविष्य गाँसिएको अवस्थामा जुन चुनौतीको सामना पार्टीले गर्नुपर्नेछ । यसलाई कार्यान्वयन गर्ने आवश्यकताले गर्दा मैले कांग्रेसलाई अलपत्र पारेर पछाडि हट्नु हुँदैन । मलाई पहिले पनि राष्ट्रपति बन्न आग्रह गरेका थिए, रामवरणजी राष्ट्रपति बन्ने बेलामा । तर, म त पार्टीलाई जोगाउनका लागि लड्नु पर्छ भनेर सम्झौतामा फस्नु हँुदैन भनेर अगाडि बढेको मानिस हुँ ।

० कांग्रेसमा कोइरालाबाट सुरु भएको विरासत त्यहीँ गएर टुड्डिने त होला नि ?

–भारतीय कांग्रेसमा गान्धी परिवारको प्रभाव भएपनि त्यहाँ कति जना बाहिरबाट प्रधानमन्त्री बने त । त्यसैले त्यो कुराको पाठ नेपाली कांग्रेसले पनि सिक्नुपर्छ ।

० सुशील कोइरालाको नेतृत्वको मूल्यांकन गर्दा उहाँको नेतृत्व कस्तो रह्यो त ?

–उहाँको बारेमा मैले अहिले केही टिप्पणी गर्दिन ं। उहाँको घरखेत सबै काँग्रेस हो । तसर्थ उहाँ त्यागी नेता हो । तर, अबको नेतृत्व उहाँले पुन: लिन सुहाउँदैन ।

० युवालाई नेतृत्व दिने सवालमा भने हामीले भोटो फटायौं तिमीहरू पनि फटाऔ भन्ने हो ?

–भोटो फटाउने भन्ने होइन तर संघर्ष गरेर सबै आएका छन् । यो कुरा किसुनजी, गिरिजाबाबुका पालामा पनि भनेका हौं । यस्ता कुराहरू बेलाबेलामा आउँछन् । युवाहरू पनि जोशमा आउँदैछन् । उहाँहरूले पनि सर्वस्वीकार्यताको वातावरण बनाउँदै जानु होला ।

० उमेरको कुरो पनि हेरौ भन्नुपर्ने तर विधानमा त्यो संशोधन भएन नि ?

–एकजना योगीले भनेका थिए– आयु भनेको ठूलो कुरा होइन, त्यसको स्वास्थ्य र क्षमता कस्तो छ त्यसमा जोडिनुपर्छ ।

० तपाई यो पदसम्म आइपुग्दा नेपाली कांग्रेसभित्र रहेर बुझेको शिक्षा के हो ?

–कांग्रेसले जुन राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भन्ने सिद्धान्त अंगालेको छ यसले नै कांग्रेसलाई जीवन्तता दिएको छ । हुन त अरु वाद पनि आए ती वादहरू जीवनका लागि दीर्घजीवी हुन सकेनन् । तर, नेपाली कांग्रेस भनेको त्यस्तो पार्टी हो जसले लोकतान्त्रिक समाजलाई अग्रसर बनाउन सक्यो ।

० पदको शिखरमा पुग्न के हुनुपर्दो रहेछ ?

–काम गर्नुपर्‍यो । लगन हुनुपर्‍यो । पार्टीका लागि दिलोज्यान दिनुपर्‍यो ।

० किन हारगुहार गर्नुपर्‍या त ?

– केही हारगुहार गर्नुपर्‍या छैन । मेरा साथीहरू छन् । उनीहरूले मलाई उर्जा दिइरहेका छन् ।

० रामचन्द्र पौडेललाई भोट हाल्नुपर्ने कारण के ?

–पार्टीलाई बलियो पार्न, राष्ट्रको विकास गर्न, कार्यकर्ताहरूलाई एक ढिक्का पार्न ।
Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com