गोरु तस्कर र भाडाका गुण्डा हामीसँग भिड्न आए
2016-02-01   weeklynepal  



० रंगेलीमा तपाईहरू निहुँ खोज्दै गएका कारण जनताको ज्यान जाने खालको घटना भयो भन्ने आरोप छ नि ?

–हामी निहुँ खोज्न गएकै होइनौं र युवा संघ नेपाल निहँु खोज्दै हिंड्ने संगठन होइन बरु निहँु खोज्न आउनेलाई सम्झाई बुझाइ गरेर पठाउने दायित्व बोक्छौं । दोस्रो कुरा रंगेली भनेको नेकपा एमाले निहँु खोज्न जानुपर्ने ठाउँ पनि होइन । यो रंगेलीकै जनताको मतले एमालेले मोरङ क्षेत्र नम्बर १ बाट निर्वाचन जितेको छ । हाम्रो प्रत्यक्ष निर्वाचित सांसद कमरेड ऋषिकेश पोखरेल जनताकै बीचमा हुनुहुन्छ । हामीले केन्द्रीय निर्णय अनुसार मधेशमा जनतालाई संविधानबारे पारिएको भ्रम चिर्नका लागि मधेश संवाद तथा जागरण अभियान अन्तर्गत मधेशी बाहुल्य क्षेत्रमा सभा गर्ने भनेरै डेढ महिनाअघिनै कार्यक्रम तय गरेका थियौं ।

० मधेशमा मधेशी मोर्चाले तपाईहरूको कार्यक्रम बिथोल्न प्रयास गरिरहेका बेला भिडन्त निम्त्याउन जानु भएको आरोप त लाग्यो नि ?

–पहिलो कुरा भिडन्त गर्ने वा मुठभेडमा जाने हाम्रो नीतिनै होइन । यदि हामीले भिडन्त निम्त्याउन चाहेको भए मधेशी मोर्चालाई उहिल्यै मधेशका गाउँ गाउँबाट लखेट्ने ताकत युवा संघ र एमालेसंग छ । तर, हामीले संयमित भएर अघि बढ्ने र जनतालाई संविधानको बारेमा पारिएको भ्रम चिर्ने प्रयास अन्तर्गत मधेश पसेका हौं । त्यसैले भिडन्त गर्न चाहेको भन्ने आरोप सही होइन । हामीले डेढ महिनाअघि कार्यक्रम तय गरेका हौं । हाम्रो कार्यक्रमको प्रचार प्रसारकै क्रममा मधेशी मोर्चाले धम्की दिने, हाम्रा स्थानीय कमरेडहरूको घर घरमा पसेर ज्यादति गर्ने जस्ता काम गरे । तर, पनि हामी संयमित भएका थियौं । तर, उनीहरू हिंसात्मक ढंगले आउने, हतियार सहित कार्यक्रम बिथोल्न आउने क्रममा प्रहरीसंग झडपमा निर्दोष मान्छेको मृत्यु हुने अवस्था आएको हो । यसमा युवा संघको कुनै दोष छैन ।

० यस्तो अप्रिय घटना हुन नदिन तपाईहरूले त्यहीँ कार्यक्रम नगरेको भए के हुन्थ्यो ?

–हामीले लोकतान्त्रिक व्यवस्थामा पार्टीको कार्यक्रम गर्न पनि नपाउने हो भने अलग कुरा भयो । नत्र भने हामीले कुनै गल्ती गरेका छैनौं । उनीहरूले शुरुदेखिनै हाम्रो कार्यक्रम हुन नदिने प्रयास गरे । हामीले जनतालाई प्रष्ट पारेमा उनीहरूको भ्रमबाट जनता मुक्त हुने डर थियो । हामीले उनीहरूलाई तपाईहरूको भनाई पनि हाम्रो सभाबाट राख्नुस् भन्यौं । प्रधानमन्त्रीलाई नल्याइदिनु पर्‍यो समेत भने । हामीसंग एउटा कुरा गरेर सहमति भयो तर हाम्रो कार्यक्रम भाँड्न उनीहरू हतियार र पेट्रोल बम लिएर आए । हाम्रो कार्यक्रममा सहभागी हुन आएका जनतालाई डाइनियामा रोकेर बसमा आगो लगाए । हामीले धेरै सहेका हौं । हाम्रो कार्यक्रममा आठ दश हजार जनता थिए । त्यहाँ नसकेर उनीहरू हतियार लिएर प्रहरीलाई आक्रमण गर्न गएपछि त्यो झडप भएको हो ।

० तपाईहरूले बाहिरबाट मान्छे ल्याएर रंगेलीमा आतंक मच्चाएको आरोप पनि छ नि ?

–बाहिरबाट मान्छे त आउनै दिएनन् । उनीहरूले ठाउँ ठाउँमा बसमा आगो लगाए । हामीले भिडन्त गर्न चाहेनौं । भारतीय अपराधीहरूलाई भाडामा ल्याएर हिंसा मच्चाउन खोजे । हाम्रो सभामा रंगेलीका जनतामात्र सहभागी थए । उनीहरूले चाहिं भाडामा मान्छे ल्याएर भिडन्त गर्न खाजेका थिए तर हाम्रो सभामा जनताको ठूलो उपस्थिति देखिएपछि भागेर प्रहरीमाथि आक्रमण गर्न गएका हुन् । उनीहरूले जुन ढंगले हिंसा मच्चाउने काम गरे, यसबाट उनीहरूलाइ नै क्षति भएको छ ।

० तपाईहरूका कार्यकर्ता पनि त बिस्थापित भए नि होइन ?

–मैले भनिसकें, हामीले झडप वा भिडन्त चाहेका छैनौं । हामीसंग निहुँ खोज्न आउछन् भने अब हामी चूप लागेर चाहिं बस्दैनौं । जहाँसम्म बिस्थापित हुने कुरा छ, अहिले हामी त्यहाँ गयौं वा हाम्रा कमरेडहरू त्यहाँ गए भने पनि झडप हुन्छ । जुन कुरा हामी चाहदैनौं । स्थानीय जनता हाम्रो पक्षमा छन् । अहिले मधेश आन्दोलन भनेर जे बितण्डा भइरहेको छ त्यहाँ सद्दे मान्छे छैनन् । गोरु तस्कर, इन्धन तस्करहरूले आन्दोलन थेगिरहेका छन्, किन कि यसबाट उनीहरूको तस्करी चलिरहन्छ । मधेशी मोर्चाले शान्तिपूर्ण कार्यक्रम हुन नदिन तस्कर र भाडाका अपराधी लगाएर जुन हिंसा मच्चायो, त्यसको जिम्मा मोर्चाले लिनुपर्छ । हामी भिड्न चाहिरहेका छैनौं । तर हामीलाई निषेध गर्ने कुरा चाहिं कुनै हालतमा स्वीकार गर्दैनौं । राजा महाराजाहरूले त सकेनन् तिनीहरू को हुन् हामीलाई रोक्ने ? हामी हाम्रो अभियान निरन्तर चलाउछौं । तपाईले फोन गरिरहँदा अहिले पनि म रंगेलीकै साथीहरूसंग छु ।

० अब यो अभियानबाट जुन क्षति भयो, यसलाई रोक्न सकिन्न तत्काल अर्को सहमति नभएसम्म ?

–हामीले अभियान रोक्ने होइन अझै ब्यापक बनाउने हो । युवा संघ नेपालले सामाजिक सद्भाव, राष्ट्रिय एकताका लागि मधेस जागरण अभियान सञ्चालन गरिरहेको छ । यो अभियानको सुरुवात मंसिर २८ र २९ गते सर्लाहीबाट सुरु गरेका हौं । नयाँ संविधानबारे जनतालाई बुझाउने, जनतासंग अन्तक्र्रिया गर्ने, मधेसमा व्याप्त सामाजिक, सांस्कृतिक कुप्रथाविरुद्ध जनजागरणको काम गर्ने गरी हामीले अभियान सुरु गरेको हौं । रंगेलीमा पनि हामीले नयाँ संविधानले जनतालाई के दियो, मधेसीलाई के दिएन ? यो विषयमा खुला बहस होस् भनेर शान्तिपूर्ण सम्बादको कार्यक्रम राखेका थियौं । त्यो कार्यक्रममा हामीले आन्दोलनमा रहेका दलहरूलाई पनि आमन्त्रण गरेका थियौं । सो सम्बाद अघि नै हामीले रंगेलीमा सरसफाई, रक्तदान आदि कार्यक्रम जनताको सहभागितामा सफल बनायौं । हामीले सम्बाद कार्यक्रम कालीमन्दिर अगाडि राखेका थियौं । पछि आन्दोलनमा रहेका मधेस केन्द्रित दलहरूको आग्रहपछि रंगेली चौकी छेउमा राख्यौं । तर हामीले शान्तिपूर्ण सम्बाद गरिरहँदा मधेसी मोर्चाका कार्यकर्ताहरूले २५० जना जतिको समूह बनाएर हातमा लाठी, भाला, खुकुरी, भरुवा बन्दुक लिएर हाम्रो सभा विथोल्न अघि बढे । त्यहाँ प्रहरीले उनीहरूलाई रोक्न खोज्यो । जब मधेसी मोर्चाको तर्फबाट फायरिङ्ग सुरुभयो, त्यसपछि प्रहरीले जवाफी फायरिग गर्दा रंगेलीमा दुई र डायनियामा एकजनाको ज्यान गयो । त्यसबीच रंगेली अनेमसंघकी अध्यक्ष उषा ठाकुर, रंगेली एमाले अध्यक्ष रबीन्द्र ठाकुरलाई मधेसी मोर्चाका कार्यकर्ताले अपहरण गरी बन्धक बनाए । सन्तोष साहको घरमा आगजनी गरे । डायनियामा हाम्रा साथीहरूलाई घेराबन्दी गरे । तर हामीले शान्तिपूर्ण वैचारिक अभियानभन्दा बाहिर जान हुँदैन भनेर संयमता अपनायौं । हामीले संयमता नअपनाएको भए उनीहरू २५० थिए, हामी सात हजार थियौं । त्यहाँ जे पनि हुन सक्थ्यो तर हामीले गर्न चाहेनौं ।

० मधेशी मोर्चाका कार्यकर्ताको भिडन्त तपाईहरूसंग भएको होइन ?

–उनीहरू हाम्रो सभामा ठूलो जनसहभागिता देखेपछि प्रहरीमाथि जाइलागे । यस क्रममा उनीहरूको तर्फबाट बन्दुक पड्किएको छ । उनीहरूले ल्याएको भरुवा बन्दुक सुरुमा पड्केको हो । उनीहरू घरेलु हतियार समेत लिएर प्रहरीमाथि जाइलागेका थिए । यस क्रममा प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको भनेको छ ।

० अहिलेको अवस्थामा तपाईहरूले हठ देखाएको कुरा त अरु दलले पनि भने नि ?

–शान्तिपूर्ण ढंगबाट सभा सम्मेलन गर्न पाउने जनताको अधिकार हो । यस्तो अधिकार उपभोग गर्नबाट रोक्ने मधेसी मोर्चा को हो ? संविधानले दिएको अधिकार प्रयोग गरेर हामीले शान्तिपूर्ण सभा गरेका हौं । शान्तिपूर्ण सभा विथोल्न खोज्ने गलत कि हामी गलत ? उनीहरूले इटहरी घटनाको बदला पनि भनेका छन् रे । इटहरी घटना कसरी गराएको हो त्यो छानविन होस् । हाम्रा संगठनभित्रकाले कानून हातमा लिएको हो भने जो कोही भए पनि हामी कारबाही गर्छौं । इटहरी घटनामा युवा संघका कार्यकर्ताको संलग्नता भएको पुष्टि भएमा हामी तुरुन्तै कारबाही गर्छौ । तर शान्तिपूर्ण सभा समारोह हुन नदिने वा बिथोल्ने नीति हाम्रो छैन र हामी अरुबाट त्यस्तो भयो भने पनि सहन सक्दैनौं ।

० सरकारमा बसेर आतंक मच्चाउनु भएको आरोप पनि छ नि ?

–सरकारसंग यस कार्यक्रमको कुनै साइनो छैन । सरकारमा को छ भन्ने कुरै होइन यो । हामीले रंगेलीमा मात्रै कार्यक्रम गरेका हौं र ? सर्लाहीबाट सुरु भएको कार्यक्रम मधेसका विभिन्न जिल्लामा गरेका छौं । कतै पनि कुनै समस्या भएन । सबैतिर शान्तिपूर्ण भएको छ । तर, जब एउटा जिल्लामा एक घटना हुन्छ, अनि युवा संघले मुठभेड निम्त्यायो भनेर परिभाषा गर्न मिल्दैन । मधेस १६० दिनदेखि जबर्जस्ती जलिरहेको छ । तरुण दल र वाइसीएल अनि अरु पार्टीका युवा संगठनहरू मधेस जाँदै जाँदैनन् । जनतालाई संविधान बुझाउँदैनन् । मधेसमा व्याप्त भ्रम चिर्न उनीहरूको कुनै भूमिका देखिदैन । हामी पनि नजाँदा युवा संघ गएन भन्छन् । हामी जाँदा चुरे क्षेत्रमा गयो, खास मधेसमा गएन भन्छन् । मधेसमै जाँदा किन गयो ? भन्छन् । भन्नेको मुख टाल्न सकिदैन । हामी निरन्तर जनताको बीचमा जान्छौं त्यत्ति हो ।
Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com