जनता क्रान्तिकारी नभएसम्म गणतन्त्र चल्दैन, राजतन्त्र पनि जाँदैन
2015-12-21   weeklynepal  



० गणतन्त्र आएपछि जनताले सहज अनुभव गर्लान् भनेको त दु:खमाथि दु:खमात्रै पाएको जस्तो देखियो । दलहरूको अवस्था चाहिं कस्तो छ ?
–राजनीति सरल र सीधा बाटोमा लाग्दैन । नागबेली बाटो नै लिन्छ ।

० संसारकै राजनीति कि हाम्रो मात्र ?
–संसार कै यस्तै हो ।

० तपाईको जीवन पनि ?
–देशकै जीवन यस्तो छ । इतिहासै यस्तो छ । म कसरी अपवाद हुन सकौंला । जहाँसम्म गणतन्त्रको कुरा छ संयुक्त राज्य अमेरिकाको गणतन्त्रको घोषणा गरिसकेपछि झण्डै राजतन्त्र नभएको ठाउँमा राजतन्त्र ल्याउन खोजिएको थियो । सैनिक विद्रोह हुने भएरमात्र हो । त्यसकारण राजनीति सरल बाटो हिंड्दैन ।

० त्यसो हो भने नेपालमा जेजस्ता राजनीतिक उद्दण्डता भएका छन् नि ती सामान्य मानिन्छन् हैन त ?
–त्यो हरेक देशमा यस्तै हो । फ्रान्सकै उदाहरण लिने हो भने यहाँको भन्दा भिन्न छ । यहाँ त केही जुलुस गरेपछि परिवर्तन हुने । तर फ्रान्समा त लडाईंका लडाईं गरेपछि मात्र परिवर्तन आउने । १० वर्षमा ४ वटा संविधान बने त्यहाँ । लडाईंबाट मात्र सम्भव भएको त्यो । सबैसंग सेना छ । बन्दुक छ । त्यो हिसाबले त यहाँ केही पनि भएको छैन । स्थिति यो हो । तसर्थ, यहाँ त सरलतापूर्वक भइरहेको छ ।

० बढी सरलतापूर्वक गएकाले नै जटिल भएको होला हैन ?
–हो । त्यो जटिल अनुभव हामीलाई भयो । किनभने अंग्रेजहरूसंग युद्धपछि नेपाली ब्यापक जनताले त्यति दु:ख पाएकै छैन । २००७ सालमा अलिअलि भयो । १० वर्षमा अलिअलि ठाउँठाउँमा मात्र भयो । केही हड्तालहरू भए । त्योभन्दा त केही भएकै छैन ।

० हरेक परिवर्तनपछि देशले एउटा गति लिन बाटो त लिनु पर्ने हो नि हैन ?
–त्यति सजिलैसंग हुँदैन । संसारमा जहाँ पनि यस्तै हो । फ्रान्सजस्तो परिवर्तन चाहिरहने ठाउँमा त बाटो लिन सकेको छैन भने नेपालमा त भर्खरभर्खर हो परिवर्तन खोजिएको ।

० त्यसो हो भने तपाईंले मुलुकले स्थायित्व पाएको देख्ने सम्भावना छैन ?
–कसैलाई कुनै कुरा स्थायित्व जस्तो लाग्छ कसैलाई लाग्दैन । समय लाग्छ । यहाँ त एक जना राजा जान्छ दशथरीका राजा आउँछन् ।

० कतै दशथरीमा तपाई पनि पर्नुहुन्छ कि ?
–पर्दिन ।

० तपाईंलाई त ‘भक्तपुरको राजा’ भनी ब्याख्या गरिन्छ नि राजनीतिक वृत्तमा ?
–होइन । त्यो त गाली गरेको भयो नि । जनताका सेवकलाई राजा भनेपछि त तिमी जमिनदार हौ भनेर गाली पो गरेको त । त्यो भनाई ‘तिमी शोषक बन’ भने जत्तिकै भयो ।

० तपाईंले देखेका अहिलेका राजाहरू को को हुन् त ?
–अहिलेका नेपालका ठूलठूला शासकहरू सबै राजा त हुन् नि । उनीहरूलाई कानून नै लाग्दैन । प्रमुख दलका प्रमुखहरूले जे भन्छन् त्यो नै नेपालमा कानून बन्छ । जस्तो कि संविधानको विषयमा चारवटा पार्टीले बैठक गर्छन् । संसद मै ल्याउँदैनन् ।

० अनि उनीहरूका निर्णयलाई तपाईले समर्थन त गर्नुहुन्छ । किन त ?
–संसदले नै बहुमतले पास गर्छ नि त त्यसलाई । यसको अर्थ के हो भने उनीहरूको बहुमत छ । तर, बहुमतमा भएका जनता आलोचित छैनन् ।

० अहिलेसम्मका हतारका निर्णयले नै मुलुकलाई अप्ठेरोमा पार्दैछ भन्ने तिर संकेत हो तपाईको ?
–गणतन्त्र जहाँजहाँ सुरु भयो ती ठाउँमा राजतन्त्र पुन:स्थापना पनि भएको छ । बेलायतमा राजा चार्लस् फर्सलाई मारियो । त्यसपछिको राजा क्राम वेल १० वर्षमा गयो । उसको छोरोलाई सत्तामा ल्यायो । ऊ सैनिक नेता पनि थिएन राजनीतिक नेता पनि थिएन । एक वर्षमा उसले छोड्नै पर्‍यो । फेरि राजतन्त्रको पुन:स्थापना भयो । जो अहिलेसम्म छ । फ्रान्समा पनि त्यस्तै भयो । एउटा लुई गयो अर्को लुई आयो । त्यो पनि भाग्यो । फेरि नेपोलियनले आफूलाई राजा बनायो । फेरि उसको भतिज आयो । चीनमा पनि त्यस्तै । यानकाइसेक भन्ने एउटा राजा गएपछि उसले फेरि अर्को राजा घोषणा गर्‍यो । त्यो पनि खतम् भयो । सारमा ती देशहरूमा राजतन्त्र पुन:स्थापना हुन्छ स्वभाविक रुपले । त्यसका दुईटा कारणहरू छन्–एउटा जनतामा सारै अलोकप्रिय भइसकेको हुन्छ । र, सबै मिलेर त्यसलाई फालिसकेको हुन्छ । तर, एक आपसमा फेरि जुधाइदिन्छन् गणतन्त्रवादीहरूलाई । उनीहरूसंग शासन चलाउने एक प्रकारको अनुभवको कमीले एक आपसमा उनीहरू झगडा गर्छन् । अनि सजिलै फालिन्छन् । अनि फेरि राजतन्त्र पुन:स्थापित हुन्छ । हाम्रै देशमा पनि एकचोटी आन्दोलन भो । आन्दोलनकारी अगाडि बढे र सत्तामा आए । विचित्र, पछि त २०५ जनप्रतिनिधि भएको संसदमा जम्मा ११ जना मात्र सभासद् भएका महापञ्चहरू सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द फेरि प्रधानमन्त्री भएर कांग्रेस र एमालेलाई देखाई दिए । जबकि एमाले र नेपाली कांग्रेसको बहुमत थियो । एकआपसमा मिलेनन् र फेरि हातबाट सत्ता फुत्तकियो ।

० अहिले हाम्रा नेताहरूलाई कसले लडाइरहेको छ त ?
–हिन्दूस्तान छ नि त नेताहरूलाई लडाउने भिडाउने ।

० आफू ठाउँमा नबस्ने अनि अरुलाई पो दोष लगाउने ?
–त्यसोभए चोरहरूले अदालतमै बयान दिन्छन् त, किन चोर्‍यौ भनेर सोध्यो भने घरमा चुकुल पनि रहेनछ, चोर्न पनि सजिलो भयो भनेर । मेरो घरको परिस्थिति पनि राम्रो थिएन भन्दाखेरी तपाईं चोरलाई छोड्नु हुन्छ कि कार्वाही गर्नुहुन्छ ? नेपालीहरू आपसमा मिल्दैनन् अनि मैले मध्यस्थता गर्नुपर्छ त्यसैले उनीहरूले मलाई मान्नुपर्छ । मैले भनेको जस्तो गर्नुपर्छ भनेर भारत भनिरहेको छ । अनि संचार माध्यमले हस्तक्षेप गर्‍यो भन्छन् । भनेपछि यो के ठीक होला ?

० नेपालको राजनीतिमा यस्तो विकृति के कारणले भइरहेको छ त ?
–नेपाली राजनीति आफ्नो खुट्टामा उभिन सकेको छैन । तर, कहिलेकाहीं के हुन्छ भने अरब देशमा जहाजबाट डाँकुलाई समातेर ल्यायो, उसलाई सम्राटले सोध्यो–तिमी के गर्छौं ? उसले सरकारको र मेरो पेशा एउटै हो भन्छ । ह्या † तिमी डाँकु हौ तिमीले सम्राटसंग यस्तो कुरा गर्ने ? उसले भन्यो–मैले साँचो कुरा गरेको । मैले एक दुई वटा जहाजहरू लुट्छु, तर सम्राट त देशैलाई लुट्छौं † तसर्थ पेशा एउटै हो भने छ । तसर्थ हिन्दूस्थानका शासकहरू ठूलठूला शासक भए अंग्रेजका पुराना कुरा बोकेका छन् । जसरी अंग्रेजले हिन्दूस्थानलाई थर्काएका थिए, त्यसैगरी हिन्दूस्थानका शासकले नेपाललाई थर्काएका छन् ।

० भारतकै कुरा गर्दा तपाईले थुप्रै नेता र कर्मचारीले भारतको पैसा खान्छन् भनेर आरोप लगाउनु हुन्छ । आरोप साँच्चै हो त ?
–हो । एउटा उदाहरण दिन्छु म । अहिले नाकाबन्दी भयो । पेट्रोलियम पदार्थको हाहाकार भइराखेको छ । कात्तिक २ गतेका दिन आपूर्ति मन्त्रालयका मुख्यमुख्य मान्छेहरू र आयल निगमका मुख्यमुख्य मान्छेहरू बसेर बिहान १० बजेदेखि साँझ ७ बजेसम्म बसेर हाहाकारमा पेट्रोल अन्य देशबाट ल्याउनु पर्‍यो भनेको त नो अब्जेक्सन लेटर दिन मानेनन् । कानूनले उनीहरूलाई जिम्मा दिएको हिन्दूस्थानबाट किन्ने भनेर । उनीहरूले चिठी लेख्न मानेनन् । देशको अवस्था जटिल छ भनेर दबाब दिएको त फलाना पूर्व प्रधानमन्त्रीले बल गरेको हुनाले हामीले यस्तो निर्णय गर्नुपर्‍यो भनेर नै लेखे । उनीहरूले विदेशबाट लिने भनेर लेखे । मुख्यमुख्य मान्छेहरूले चीनसंग लिने भनेर लेख्नै मानेनन् । बल्लबल्ल पछि आएर चीन पनि भनेर लेख्नुपर्‍यो । लेख्न पनि लेख्यो । लिन पनि लियो । तर, चीनसंग किन्ने कुरो लेखेन । फेरि एक महिना, दुई महिना गयो । अहिलेसम्म चीनसंग पेट्रोलियम पदार्थ लिने कुराको कुनै लिखत गएकै छैन । त्यो त प्रधानमन्त्रीले नभनेसम्म नहुने । चलाखी के गर्‍यो भने हिन्दूस्थानले रोक्ने चीनसंग सित्तैमा लिने । यो त भएन भनेको त भारतीय आयल निगमसंग गिरिजाप्रसाद कोइरालाले सन् २०१७ सम्म सम्झौता गरेको कुरा आयो अहिले । यो कुरा त तिनै कर्मचारीले बाहिर ल्याएनन् नि पहिले ।

० नेताहरूको त नामै तोकेर भन्नुहुन्छ होला हैन ?
–त्यो त उनीहरूको पार्टीले भन्ने कुरा हो ।

० तपाईं त कोही चोखा नै देख्नु हुन्न कि के हो ?
–चोखा नेता, कर्मचारी पनि केही त छन् नि, इमानको खडेरी त कहाँ परेको छ र । कस्तोसम्म सुनियो भने चुनावको बेलामा कुनै प्रधानमन्त्रीको पैसा लिएर अर्को नेता कहाँ पुग्छ, नेता नभएका बेलामा उसका सचिवहरूलाई ५० लाख रुपैयाँ दिएको हुन्छ । अनि चुनाव सकिएपछि प्रधानमन्त्रीबाट मैले यति रकम लिएर दिएको पाउनु भयो कि भएन भनेपछि दुईवटै सचिवहरू जान्छन् । यस्ता पनि नेता छन् । यस्ता पनि सचिव छन् । जहिलेसम्म जनता क्रान्तिकारी हुँदैनन् तहिलेसम्म गणतन्त्र पनि चल्दैन राजतन्त्रको अवशेष पनि जाँदैन ।

० त्यसो भए अहिलेका दलहरूको लडाइँ के हो ? सदनदेखि सडकसम्म अवरुद्ध गरेर ?
–जहाँसम्म संसद अवरुद्ध गर्ने भन्या हो हामीले त्यसरी अवरुद्ध गरेकै हैन । हामीले चाहेको त सबै दलका प्रतिनिधिले सदनमा बोल्न पाउनु पर्छ भन्ने हो । यदि सदनमै बोल्न पाएन भने प्रजातन्त्र कहाँ गएर खोज्ने ? स्वतन्त्रता कहाँ गएर खोज्ने ? त्यसकारण हामीले पनि बोल्न पाउनु पर्छ भन्ने हाम्रो भनाइ हो । उठेर हामीले सभामुखसंग आग्रहमात्र गरेका हौं । अनि तपाईं के बोल्नु हुन्छ त भनेर भन्ने हो नि । त्यो प्रश्न आउनु भन्दा अगाडि मधेश आन्दोलन, नाकाबन्दी छ जनताले दु:ख पाए भनेर भन्यौं ।

० अहिले नेपालमा साम्प्रदायिक भावना बढ्नुको कारण के ठान्नु हुन्छ नि ?
– मैले त कुनै पनि पार्टीहरू भाषा, क्षेत्र, साम्प्रदायिक या जातका भरमा पार्टी दर्ता गर्न दिनुहुन्न भनेको थिएँ । अहिले त उल्टोउल्टो भयो । हामीले किन त्यस्तो भन्यौं त ? जस्तो हिन्दूस्थानमा त्यस्तै भएको थियो । मुस्लिम लिग । हिन्दू लिग । विभिन्न जाति र भाषाभाषीका पार्टीहरू बनेका छन् । त्यसले साम्प्रदायिकतालाई सेवा गर्‍यो । नेपालमा त्यस्तो नहोस् भन्नेमात्र हाम्रो भावना हो । देशर जनताको हितका हाम्रा प्रस्ताव/कुरालाई पनि प्रमुख दलहरूले नै मानेन् । तराई केन्द्रित दलहरू भन्नुपर्‍यो । फलाना जातको भन्नुपर्‍यो । नेवा: पार्टी भन्नुपर्‍यो । यस्तो भएपछि अनि साम्प्रदायिक भावना बढ्दैन त ?

० अनि २०६२/०६३ मा प्रचण्डले गरेका यस्तै कुरामा तपाईहरूले ढाडस दिएको हैन त ?
–त्यो कुरा एकदमै हैन । उहाँहरूसंग हाम्रो मतभेद रहन्थ्यो । माओवाद छैन, माओ त्सेतुङ्ग विचारधारा मात्र हो भनेर हामी भन्थ्यौं । माक्र्सबाद लेलिनवाद र माओ त्सेतुङ्गबीच जातको कुरा हैन वर्गको कुरामात्र हो । वाद भनेपछि त्यो सार्वभौम हुन्छ । त्यो जहाँ पनि लागु हुन्छ । तर, चीनको कम्युनिष्ट पार्टीको जुन अनुभव हो त्यो संसारमा जस्ताको तस्तै लागू हँुदैन । यसको कारण के भने चीनको क्रान्ति किसान क्रान्ति हो । कुनै कुनै देशमा त ३/४ प्रतिशतमात्र किसान छन् भने के को किसान क्रान्ति । त्यस्तै नेपालमा माओवाद भन्ने हँुदैन । किन भने सन् १९४७ तिरै माओत्सेतुङ्गलाई आफ्ना साथीहरूले माओवाद पनि राख्नुपर्‍यो भन्दा उनले मानेनन् । उनले भने म माक्र्सवादी लेलिनबादी हुँ आफ्नो कुनै वाद छैन । चिनियाँ पार्टीले नै पछि स्पष्ट पार्‍यो यो त माओ विचारधारामात्र हो । प्रचण्डले त अमेरिकाको एक स्कलरले लेखेको लेखबाट प्रभावित भएर माओवाद राख्नुभयो । जुन गलत हो । जुन, जस्तो वृक्ष लगायो त्यही फल फल्ने हो । तुलसी रोपे तुलसी विष रोपे विष ।

Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com