वाइसीएलको प्रतिकार नगरेको भए मुलुक अधिनायकवादीसँग जुधिरहन्थ्यो
2015-12-12   weeklynepal  



० तपाई युथ फोर्सको अध्यक्ष भएपछि आम मानिसमा चिनिनु भयो । युथ फोर्स वाइसीएलको प्रतिकार गर्न जन्मिएको हो ?

–२०६४ सालको निर्वाचनमा एमालेले लज्जास्पद रुपले हार्‍यो । त्यसपछि युवा संघको केन्द्रीय कमिटीको बैठक बसेर समीक्षा गर्‍यौं । समीक्षामा देशभरिका माओवादीबाट खेपेका पीडा त यसरी प्रकट भए कि एकदम रुवावासी, भावविहल । त्योभन्दा अगाडि कोटेश्वरका ब्यापारी रामहरि श्रेष्ठको माओवादीले अपहरण गरेर चितवनको शक्तिखोरमा लगेर हत्या गरेको थियो । त्यसको विरोधमा हामीले कोटेश्वरमा सशक्त मुभमेन्ट गरेका थियौं । म दृष्यमा नभए पनि खास योजनाकारमध्येमा थिएँ । एमालेको हारको पछाडिका अन्याय, अत्याचार, थिचोमिचो, अधिनायकवादी शैली लगायतको सामाजिक फासीवादी शैलीका कुराहरू हामीले डटेर प्रतिरोध गर्न सकेनौं । त्यसको प्रतिरोध गर्नुपर्छ भन्ने कुरा हाम्रो जवर्जस्त दिमागमा आयो । रामहरि श्रेष्ठ एउटा उदाहरण हुन सक्छ भन्ने हामीले ठान्यौं । त्यसलाई आधार बनाएर हामीले युथ फोर्स जन्मायौं ।

० सुरुमा वाइसीएलको प्रतिकारका लागि गोली चल्यो, खुकुरी, भाला पनि उठ्यो । वाइसीएल पो सशस्त्र द्वन्द्वबाट आएको थियो । युथ फोर्सले हतियार उठाउनु ठीक थियो ?

–अब एउटा बौद्धिक र सैद्धान्तिक बहस गर्दा युथ फोर्सले गल्ती गर्‍यो भन्ने निष्कर्ष निकाल्न सकिएला । तर, फलामले फलाम काट्छ भन्छन् नि । यदि युथ फोर्सले त्यो तहको प्रतिरोध नगरेको भए नेपाली समाजमा जुन खालको एउटा अधिनायकवादी चिन्तन अर्थात् माओवादीले जस्तोसुकै अपराध गरे पनि कुनै पनि प्रतिरोध नगर्ने खालको भइसकेको थियो । तसर्थ त्यो समयमा हामीले त्यस्तो प्रतिरोध गरिएको थिएन भने आज नेपाली समाज अधिनायकवादको पञ्जाभित्रै हुनेथियो । ज्ञानेन्द्र खड्का लगायतका धेरै पत्रकारको हत्याको श्रृंखला जारी रहन्थ्यो । धेरै बुद्धिजीवीको अपहरण भइरहन्थ्यो । त्यो प्रतिरोधले मुलुकलाई ठीक ट्रयाकमा ल्याउने सबालमा अहम् भूमिका खेल्यो । कतिपय सन्दर्भमा माओवादीले पनि हामीले गल्ती गरेका रहेछौं भनेर सच्चिने ठाउँमा पुग्यो । युथ फोर्सको जन्म होइन शैली चाहिं गैरकानूनी थियो । तर, कहिलेकाहीं के हुन्छ भने मुलुकको सुरक्षार्थ त्यस्तो गर्नुपर्दो रहेछ । एउटा गाडी ट्रयाक छाडेर भीरको बाटो गयो भने त्यसलाई फेरि सही ट्रयाकमा ल्याउन एकछिन अर्को गाडीले पनि ट्रयाक छोड्नै पर्छ । ठ्याक्कै त्यस्तै भएको हो । माओवादीलाई ट्रयाकमा ल्याउन युथ फोर्सले केही समय ट्रयाक छोड्यो ।

० पछिपछि त युथ फोर्सले माओवादीको प्रतिकार गर्न छाडेर उद्योग धन्धा, कलकारखानातिर पनि आँखा लगायो किन ?

–त्यो चाहिं म किन मान्दिन भने युथ फोर्सले क्याम्प चलाउँदैन, समानान्तर सरकार चलाउँदैनौं, ब्यारेक जाँदैनौं भन्ने एउटा सैद्धान्तिक मान्यतालाई स्थापित गर्दै आएका थियौं । जवर्जस्ती चन्दा उठाउँदैनौ भनेका थियौं । वाइसीएलमा पूर्व जनमुक्ति सेनाका कमाण्डर नै नेता थिए । उनीहरूसंगको संघर्ष गर्ने कुरा जनताको मतको आधारमा र नैतिक बलको आधारमामात्र गर्न सक्छौं भन्ने नै थियो । सहयोग लिने क्रममा पूर्व आर्मी, प्रहरी, खेलाडी, समाजमा राम्रो दख्खल नभएकाहरूकोसमेत सहयोग लिंदा छिट्फुट रुपमा गल्ती हुन गयो । तर, ती घटनालाई हामीले कहिल्यै प्रोत्साहन गरेनौं ।

० युथ फोर्स जन्माएर तपाईं ब्यक्तिगतका लागि राम्रो गर्‍यो है ?

– युथ फोर्सको प्रमुख भइरहँदा जुनसुकै बेला मृत्यु हुनसक्छ मेरो भन्ने सोचेरै सपथ लिएको थिएँ । किनभने गणेश चिलवाल जो माओवादी पीडित संघको अध्यक्ष भएका थिए केही महिना अगाडिमात्र बागबजारमा उनको खुल्लमखुल्ला गोली हानी हत्या भएको समय थियो । मलाई प्रत्यक्ष धम्की त आउँदैनथिए तर अप्रत्यक्ष गाडीले किचेर मारिदिन्छु, गोली हान्दिछु भन्ने जस्ता अनेकखाले धम्कीहरू आउँथे । कति त प्रहरीका र प्रशासनका च्यानलमार्फत आउँथे । साथीहरूको पीडा र रामहरि श्रेष्ठको पीडा प्रत्यक्ष देखेपछि समाजमा यसरी केही नगरी बाँच्नुको अर्थ छैन भनेरै लागेको थिएँ । बाँचें त्यसैले समाजलाई फाइदा गर्‍यो । मलाई पनि फाइदा गर्‍यो । एमालेभित्रमात्र होइन आम जनताले पनि बाटोमा हिंड्दासमेत परिचय दिन नपर्ने बनाइदियो ।

० तर, दु:खको कुरा संविधानसभाको दोस्रो निर्वाचनमा भक्तपुरबाटै हार्नुपर्‍यो ?

–त्यो चाहिं के हो भने मलाई समानुपातिकमा लडेर देशभर विशेषगरी माओवादी प्रभावित क्षेत्रहरूमा प्रचारमा जानका लागि सल्लाह थियो नेताहरूको । मैले भने संसदीय चुनावलाई आत्मसात् गरेपछि एउटा नेताको एउटा क्षेत्र हुनुपर्छ भनेर ठानें । भक्तपुर २ को मान्छे भएकाले मान्छेलाई थाहा हुनुपर्छ भन्थें । कमजोर क्षेत्रमा उठेको थिएँ । हारें । हारजीत त भइहाल्छ ।

० हारे पनि मन्त्री बनेर देखाइदिनु भयो है ?

–(हाँस्दै) भक्तपुरको चुनाव पनि हारें । पार्टीको केन्द्रीय कमिटी चुनाव पनि हारें । त्योभन्दा अगाडिको राजनीति जितैजितको थियो । हारले शिक्षा पनि दियो । पार्टी अध्यक्षले यसको समीक्षा गरेर मलाई पुरस्कार स्वरुप मन्त्री पद दिनुभयो कि जस्तो लाग्छ ।

० पार्टी अध्यक्षले तपाईलाई के देखेर उद्योग मन्त्री नै बनाउनु भयो ?

–म केन्द्रीय कमिटीको चुनाव हारेपछि उहाँकोमा गएको थिएँ । मैले युद्धमा सेनापतिलाई विजयी गराउन केही केही सेनाले वीरगति प्राप्त गर्न सक्छन् भनेर टिप्पणी गरेको थिएँ । त्यसबेला महाभारतको युद्धको प्रसङ्ग जोडेर उहाँले सम्झाउनु भएका थियो । अर्जुनको छोरा अभिमन्युले चक्रब्यूह तोड्दै गए तर चक्रब्यूहबाट निस्कन सकेनन् । त्यो महाभारतका अरुले पनि अभिमन्युको अस्तित्व कायम रहँदा हाम्रो सकिन्छ भन्ने ठानेका थिए । त्यसैले त्यो योजनावद्ध थियो । ठीक त्यस्तै एमालेको केन्द्रीय कमिटी चुनाव पनि महेश बस्नेतका लागि यो खालको भयो । उहाँले बत्ती बालेर उचित जिम्मेवारी दिन्छु भन्नु भएको थियो । मन्त्री नै बनाउनु हुन्छ होला भन्ने सोचेको थिइन ।

० तपाईको राजनीति कहिलेदेखि सुरु भयो ?

–म अहिले ४१ वर्षको भएँ । ०४६ सालमा म १० कक्षामा पढ्दै थिएँ । त्यतिखेरको आन्दोलनका बारेमा हामी सुन्थ्यौं, बुझ्थ्यौं तर त्यो खालको विकास भने भएको थिएन । राजनीतिक जीवन भने कलेज गएदेखि सुरु भयो । अझ सक्रिय राजनीति भने ०४९/५० देखि भएको हो । कार्यकर्ता राजनीति त्यहाँबाट सुरु भएको हो । अखिलको राजनीतिमा म प्रारम्भिक कमिटीमामात्र बसें । म बढी गाउँको भूगोलको राजनीतिमा बढी भिजें । २३ वर्षको उमेरमा म ०५४ सालमा भक्तपुरको गुन्डु गाविस अध्यक्ष बनें । अध्यक्ष बन्दा मेरो जीवनको सिकाइको रुपमा रह्यो । पाँच वर्षमा मैले पहिलो पटक पिच बाटो लान सफल भएँ । टेलिफोन मेरै पालोमा लगें । पुल, निजी क्षेत्रका खानेपानीका कुराहरूमा विकास गरें । जनताका आधारभूत आवश्यकताहरू पूरा गर्न म तत्कालीन अवस्थामा सफल भएँ जस्तो लाग्छ । सबैभन्दा राम्रो सामुदायिक वन मेरै गाविसमा पर्छ । महिला उपभोक्ता समूहले अब्राहम लिंकन राष्ट्रिय पुरस्कार पायो । भक्तपुरका १६ गाविसमध्ये उत्कृष्ट भएर जिविसबाट पाँच लाख रुपैयाँको प्रथम पुरस्कार पायो ।

० २३ वर्षमै गाविस अध्यक्ष बन्दा कस्तो अनुभूति भयो नि ?

–विशेषगरी एमालेले ‘आफ्नो गाउँ आफै बनाउँ’ अभियान ल्यायो । गाउँगाउँमा ३ लाख रुपैयाँ दिने कार्यक्रम थियो । स्थानीय चुनाव कांग्रेसले जितेको थियो । कांग्रेसले त्यहाँ त्यो रकम लैजान चाहेन । कांग्रेसले सर्वदलीय संयन्त्रमार्फत उपयोग गर्न चाह्यो । हाम्रोजस्तो गाविस जहाँ कांग्रेसको गढ मानिन्थ्यो त्यहाँ हामीजस्ता युवाहरू जो कलेजमार्फत अनेरास्ववियु हुँदै एमाले भएका थियौं हामीलाई सर्वदलीय संयन्त्रमा पार्टीले पठायो । त्यहाँको सुकुम्वासी समस्या समाधान आयोगको गाउँको अध्यक्ष पनि बनायो । त्यसले विकाससंग जोड्ने काम गर्‍यो र हामीले गाविसमा जुधेर, झगडा गरेर त्यहाँका बजेटहरू लग्यौं । सानो उमेरदेखि नै म विकास निर्माणमा लागें । मलाई नै त्यहाँ रुचाइयो । अध्यादेश आउनु अगाडि २५ वर्षको हदबन्दी थियो । म २३ वर्षको हँुदै थिएँ । हामीले अरु मान्छेलाई विकल्पका रुपमा सारेका थियौं । अध्यादेशमार्फत गृह मन्त्रालयले उमेरको हदबन्दी हटाएपछि स्वभाबैले मेरो पालो आयो । दुई सय ४९ मतले जितेको थिएँ ।

० ४१ वर्षको उमेरमै तपाईले ‘म महेश’ भनेर पुस्तक निकाल्नु भयो नि किन ?

–मेरो राजनीति नै यसरी छिटोछिटो भयो कि मलाई अहिले नै परिपक्व बनायो । २३ वर्षमा गाविस अध्यक्ष भएपछि पाँच वर्ष त्यो जिम्मेवारी बहन गर्दासम्म म निकै परिपक्व भएको थिएँ । त्यसपछि म ३४ वर्षको हाराहारीमा युथ फोर्सको प्रमुख भएँ । त्यसले मेरो उठबस युवाहरूसंग भयो । ७ वर्ष मैले युवाहरूको क्षेत्रमा काम गरें । मैले किन यो किताब लेख्नु पर्‍यो भने नेतृत्व गरेर विभिन्न ठाउँमा जाँदा विभिन्न खालका प्रश्नहरू आउने । मेरो जीवन व्यस्ततामा बित्ने । मैले त्यसको जवाफ दिन नसक्ने । मिडियामा पनि युथफोर्सका विभिन्न खाले टिप्पणी आउने । त्यसको मैले जवाफ दिन सकेको थिइन । त्यसैले यो ‘म महेश’ किताब लेखें ।

० त्यो हो कि विवादमा धेरै परियो त्यसैले क्लियरिफिकेसन पार्न किताब लेखियो ?

– ठ्याक्कै क्लियरिफिकेसन त नभनौं । जेहोस् मेरो जीवनमा मैले भोगेका कतिपय घटनाहरूको ब्यापक आम चासो छ आम पाठकमा । कतिपय विषयमा रहस्यमय जस्तो लागिरहेको छ । त्यसैले म महेशमार्फत सबै कुरा बाहिर ल्याउनु पर्छ भन्ने लागेर ल्याएको हुँ ।

० के छ त्यस्तो जुन क्लियर पार्न खोज्नु भएको छ ?

–आम रुपमा भन्ने हो भने मेरो राजनीतिक करियरलाई खत्तम पार्नेगरी विराटनगर घटना आयो । वाइसीएल र युथ फोर्सको निरन्तर लडाइा हुँदा हाम्रा साथीहरू घाइते भए । दुई साथीको हत्या पनि भयो । ठूलो लडाइँ चलिरहेका बेलामा पर्शुराम बस्नेत जसलाई अन्य खालका प्रश्नहरू उठाइए । उनी युथ फोर्सको त्यहाँका प्रमुख थिए । त्यहाँ एकैपटक दुई वटा घटना भए । एउटा नागरिक दैनिकका संवाददाता खिलराज ढकालमाथि युवा संघका केही साथीले आक्रमण गरे । अर्का अभिषेक गिरी भन्ने अपराधिक मान्छेलाई जेल लैजाने क्रममा उनीमाथि आक्रमण भयो । खिलराजमाथिको आक्रमण पर्शुरामले गराएको भन्ने निष्कर्ष त्यहाँको पत्रकार महासंघले गर्‍यो । हामीले त्यो तथ्य हेर्दा हैन भन्दै संलग्न दुई जनालाई हामीले प्रहरीमा बुझाइदिएर अनुसन्धानको प्रक्रिया अगाडि बढाऔं भन्यौं । हामीले सघायौं । तर त्यहाँ हामीलाई बदनाम गर्न मिडिया लागे जुन दु:खद थियो । दुई कार्यकर्ताबीचको लडाइँमा राष्ट्रिय मुद्दा नबनाएको भए हुन्थ्यो भन्ने मलाई लाग्छ ।

० दिनेश अधिकारी चरीलाई पनि त तपाईहरूले आफ्नो बनाएर बाहिर फाल्नु भयो नि ?

– चरीको घटनाको सन्दर्भ पनि मैले किताबमा डिटेलमा लेखेको छु । चरीलाई हामीले धेरै सुधार्न पर्यत्न गर्‍यौं । काठमाडौं प्रमुख रमेश खरेल हुनुुहुन्थ्यो । ऊ ६ महिना जेल पनि बस्यो । अब सुध्रिन्छु भनेर प्रतिवद्धता पनि जनायो । तर ऊ नसुध्रिएपछि मबाट भने टाढिंदै गयो ।

Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com