शशिशेखर घिमिेरे

“विकासको गुलियो नारा अलापेर नथाक्नेहरु”
[2017-12-01 오후 6:40:00]

नेपाल जस्तो तेश्रो विश्वको गरिब देशमा निर्वाचन एउटा सुनौलो बिहानी र आशाको दियो बनेर आउनुपर्ने हो । निर्वाचनले छनौट गरेका जनप्रतिनीधिले देश र जनतामा खुशीको संञ्चार गर्न पर्ने हो । विकासमा मूल फुटाउन पर्ने हो । अनि राष्ट्रलाई समृद्ध बनाउने महाअभियानमा स्वर्तस्फूर्त लाग्न पर्ने हो । तर यस्को बिपरीत नेपालमा निर्वाचन कागलाई बेल पाक्यो हर्ष न विष्मात झै हुने गरेको छ ।

निर्वाचनले पार्टी तिनका नेता र कार्यकतालाई बढि नै खुशी बनाउने गरे पनि आमसर्वसाधारणलाई भने खुशी बनाउन नसकेको घाम झैं छर्लङ्ग छ । जनताले निर्वाचन मार्फत थुप्रै आशा गरे । थुप्रै अपेक्षाहरु एकपछि अर्को गर्दै पूरा नहुँदा एकातिर निर्वाचन प्रति नै आमसर्वसाधारणको रुझान वढेको देखिन्छ भने अर्को तिर उनिहरुलाई मत गर्ने र नगर्ने स्पष्ट कारणहरु के भन्ने समेत अन्योल भएको देख्न सकिन्छ ।

हिमाली जिल्ला सोलुखुम्वुका तिङला गाँउका जनताले सीमामा भएको हेरफेरकै कारण असन्तुष्टि स्वरुप न स्थानीय निकायको निर्वाचनमा मतदान गरे न प्रतिनीधि सभा र प्रदेशसभा अन्र्तगत पहिलो चरणको निर्वाचनमा । निर्वाचन बहिष्कारका घटना हुन् या गएको निर्वाचनमा ३० प्रतिशत मतदाताले निर्वाचनमा सहभागीता नजनाउनुबाट पनि निर्वाचनप्रति आमसर्वसाधारणको रुचि घटाएको दुष्टान्तहरु केलाँउदा बुझन् सकिन्छ । बिषेशत निर्वाचन सर्वसाधारणहरुलाई गुलिया सपना बाड्ँने माध्यम मात्रै बनेको आभाष हुन्छ । निर्वाचनका बेलो सुन्दर र समृद्ध देशको कागजी खाँका घोषणापत्रमा राखेर नथाक्ने दलका नेता र उम्मदेवारहरुले आफनो योजना र घोषणपत्रको केहि प्रतिशतमात्र काम गरिदिएको मात्र भएपनि आज अवस्था केहि सुखद हुने थियो ।

अन्यत्रको कुरै छौडौं राजधानीकै जनताले राजधानी हो भन्ने आभाष गर्न पाएका छैनन् । जहाँ एकघण्टाको दूरी तय गर्न झण्डै एक बिहान नै खर्च गर्नु पर्ने नियतीको शिकार हुन परेको छ । खानेपानीको आशामा बर्षौसम्म बसेका जनतालाई नेताहरुले बर्षौसम्म पनि चुनावी मुद्या बनाएर थाकेनन् । उहिल्य कँग्रेस नेता कृष्णप्रसाद भट्टराईले राजधानीबासीलाई मेलम्चीको पानीले शहर पखालीदिने भनेर गरेको बाँचा भट्टराईको देहान्त भएको केयौं बर्ष बितिसक्दापनि पूरा हुन सकेको छैन । जवसम्म जनताको धारामा पानी खस्दैन तवसम्म योजना पूर्ण भएको मानिदैंन् । शहरमा छाडा, असभ्य शैलीले सार्वजनिक सवारी गुडाउने चालकको गतीविधीले जो-कोही नागरिक राजधानीभित्रको यात्रामा छु कि छैन भन्ने भेउ पाउन् सक्दैनन् । सवारी कुरेर बसेका चाहे भद्रकाली छेउका दुश्य होस् या अन्यत्रका अनि खुल्मखुल्ला दिनडहाडै रत्नपार्क क्षेत्रमा चलिरहने यौनक्रर्मीको व्यवहारले जो-कोही घण्टाघर र रानीपोखरीको सौन्र्दयता नियाल्दै रत्नपार्क छेउको सडकपेटीमा उभिन नसक्ने अवस्था छ ।

सडकपेटीमा अंगभंग भएर माग्न बसेकाको कूरै छौडौं, हातखुट्टा चल्नेहरु नै पनि यो शहरकोलागी प्रदुषण भएपनि तिनलाई नियन्त्रण गर्न नसक्दा दिनँहु जस्तो शहरका पेटीहरुमा राम्रो संग हिड्न सक्ने अवस्था छैन । सडक मिचेर बनेका घरहरुका कारण समस्या एकातिर छ अर्कोतिर त्यसमाथि पनि सडक नै ढाँकेर व्यपार गर्न बसेकाहरुको लाचारीले राजधानीलाई गिज्याईरहेको छ । बलात्कार, चोरी,पाकेटमारका कारण शहर,शहर जस्तो छैन । भाचिए -कुचिएका सडक बारहरुको दूराअवस्था होस् या सडक निर्माणको क्रममा लथालिंग छाडिएका तारका गुजुल्टा देखि मास्कले नै नधान्ने गरि उड्ने कुहिरीमण्डल धूँलोले राजधानी शहरको यर्थाथता देखाईरहेको छ ।

यी त भए शहरभित्रका आँखाले हेर्दा सरसर्ती देखिने विकृती । यी बाहेक थुप्रै समस्याका चंगुलहरु राजधानीबासीका साझा समस्या भएका छन् । हो, यीनै राजधानीबासीको समस्या समाधान गर्न भन्दै थुप्रै दलका नेताहरु चुनावी प्रतिस्पर्धाको दौडमा उभिएका छन् ।

यीबीचमा एक से एक सपनाको दर्जनौ चाँङ राजधानीबासीकोलागी पस्कदै दिनँहु दर्जनौ नेता र कार्यकताहरु काठमाण्डौंका विभीन्न स्थानमा भोट माग्न झण्डा हल्लाउदै हिडेका छन् । तर यसअघि उनिहरुको आँखाले जनताले वषौदेखि पाईरहेको दुश्य नदेखेकै कारण फेरि पनि यो र त्यो मुद्या बोकेर जनतासामू भोट माग्दै हिड्न परेको महशुस हुनसक्छ ।

हो,यतिखेर फेरि पनि काठमाण्डौं उपत्यकाको विभिन्न क्षेत्रको प्रतिनीधित्व गर्दै राष्ट्रिय राजनीतिमा चर्चित अनुहारहरु विकासको सपना बाँड्दै उठेका छन् । अनि संगै छन् बिबेकशील साझा पार्टीका तर्फबाट केहि नयाँ अनुहरहरु । जस्ले विगत लामो समय विदेशमा विभीन्न क्षेत्रमा बिताएको अनुभव र मोडलहरुलाई आत्मसाथ गर्दै नेपाली राजनीतिमा राष्ट्रिय दल बन्ने अभिप्रायका साथ आएका छन् । यीनै नयाँ र पुराना अनुहारवीच नै यसपल्ट भीडन्त हुदैछ । जनता जर्नादन हुन् उनिहरुले अव कस्लाई जितउालान् त्यो भने हेर्न बाँकि नै छ ।

वर्षौसम्म जनताको भोट मार्फत सतामा पुगेकाहरुले बाँडेका सपनाहरु पूरा भईदिएको भए अहिल्य फेरि पनि उम्मेदवारले अनेक थरिका योजना वाड्दै दुई हात पसारेर जनतासामू जान पर्ने अवस्था आउने थिएन । उपत्यका भित्रै र आसपासका क्षेत्रमा सयौंको संख्यामा रहेका ईट्टाभट्टाले मानव स्वास्थ्यमा गम्भीर असर गरिरँहदा पनि ‘चू’ गर्न नसक्ने लाचार प्रतिनीधिबाट विकासका गुलिया भाषण सुनेर थाकेका जनताहरु मौन बस्नुको शिवाय केहि देखिदैन् ।

साँस्कृतिक उपत्यकामा रहेका सयौं मठमन्दिरहरु आधुनिक्ताको शिकारमा ओझेलमा परेका छन् , तर तिनको अस्तित्व कायम गर्न तर्फ जनप्रतिनीधिहरुले साँधेको मौनता उदेकलाग्दो देखिन्छ । उपत्यकाको मुटु मानिने बसन्तपुरमा रहेको ऐतिहासीक काष्ठमण्डप (अर्को नाम मरुस्थल )२०७२ को भुईचालोले भत्कायो । तर तीन बर्ष पुग्न लाग्दा समेत काष्ठमण्डप उठाउन नजुट्नेहरु हुन् या ऐतिहासीक भीमसेन स्तम्भ (धरहरा) खण्डहर हुँदासमेत पुनस्थापनामा उदासीनता साँधेर राजनीतिक खिचातानीको दोष देखाँउदै पन्छनेहरुबाट जनताले अव अरु के अपेक्षा गर्ने ? कुन खुशीले मतदनस्थलसम्म पुगेर मतदान गर्ने ? प्रश्नका दर्जनौ फेहरिस्त छन् यतिखेर ।

त्यसो त उपत्यका बाहिरको अवस्था अझ दयनीय छ । कैयौं स्थानका जनता प्रत्येक बर्ष जस्तो बाढीपहिरोको चपेटामा अनाहकमा मर्न बाध्य छन् । अनि कति जनता पुष माघको जाडोमा कठ्याङिर्दै मरिरहेका छन् । प्रत्येक वर्ष जस्तो आफू वर्षौदेखि वस्दै आएको थातथलो डुवानको चपेटामा पर्छ, तर ति स्थानलाई बाढीपहिरोबाट सुरक्षित बनाउने योजनाहरु जनप्रतिनीधिहरु समक्ष हुदैन् शिवाय नागरिकहरु मरिसकेपछि दुई थोपा आशु बगाउने बाहेक ।

भौगोलीक विकटाले गर्दा जनतालाई गाँउबाट सदरमुकामसम्म आउन ठूलै सास्ती मोल्नु पर्छ । तर ति स्थानका जनतासमक्ष बाटो पुराउन नसक्ने जनप्रतिनीधि हुन् या सामान्य स्वास्थय उपचारकोलागी ठूलै दूरी तय गर्नुपर्ने नियतीको अन्य हुन नसक्दा जनताले कैयौ हिउँद र बर्षा बिताउन परेको छ । विकासको आशमा कति जनप्रतिनीधिलाई जनताले चुनावमा जिताए । तर जनताको वर्षौको समस्या हिजो जस्तो छ त्यसमा खासै परिवर्तन आउन सकेको देखिदैन् । भौगोलिक बनावटका कारण देशको कूनोमा जन्मनु परेको पीडाले सताईरहेका जनताहरु अपर्झट हुने बिरामीको उपचार गर्न हेलिकप्टर चार्टड गरेर राजधानी आउन पर्ने बाध्ता छ अनि त्यही ऋणको भारले थिचेर मर्न पर्ने विवशता छ ।

उनिहरुको लागी गाँउमै सुलभ स्वास्थय उपचारको व्यवस्थ गर्न अहिल्य सम्म देश हाँकेका कैयौ सरकार र तिनका स्वास्थ्यमन्त्रीहरुलाई खासै चासो लाग्न नसकेको अनुभव थुप्रै स्थानहरु डुलेर हेर्दा हुन्छ नै । सामान्य सिटामोलकै लागी कैयौ कष्ट व्यहोर्नुपर्ने जनताले मानव स्वास्थयका दुष्टिकोणको जटिल ठहराईएको रोगको उपचार र निदानकोलागी मोल्न परेको कसरत बयान गरिसाध्य नै छैन ।

हुन त पछिल्लो समय सरकारले सबैकोलागि स्वास्थ्य विमाको अवधारणा गाँउ- गाँउमा पुराउने कसरत त गरेको छ, तर त्यसमा पनि रोगको प्रकृति अनुसार कतिपय जटिल रोगको उपचारकोलागी दुर्गम स्थानमा न स्वास्थ्यक्रर्मी न उपचारपद्धती त्यसको शिकार फेरि पनि जनता हुनु नै पर्ने देखिन्छ । याव्त बेथीतिहरुको पहाड बाकेर याव्त पीडाका चाङ लिएर बाँचेका जनताहरुको लागी फेरि पनि एकचोटी सपनाका पोकाहरु लिएर नेताहरु गाँउगाँउ डुलिरहेका छन् । तर ति पोकाहरु खोलेर जनतालाई दिने नेताहरुको बाचा त परको कूरो त्यो भित्र के छ नजानेर नै हाम्रा कैयौ निर्दोष आमाबाबु -दाजुभाई -दीदीबहिनी अस्पतालको मुख नै नहेरी मर्न पर्ने अवस्था छ त्यसको अन्तय हुने कहिल्य ? आफनो घर नै अघिबाट मोटर चढेर यताउति गर्न पाईने आशामा बसेका जनताको ईच्छा पूरा हुने कहिल्य ? नदि वारपार गर्न कै लागी तुईनमा भुण्डिएर वारिपारि गर्न पर्ने जनताको दैनीकीलाई कम गर्ने कहिल्य ? अनि कहिल्य सम्म सडकको दूराअवस्थाकै कारण सडक यात्राको कारण मृत्युवरण गर्नु पर्ने ?

रोजगारीले आक्रान्त युवाहरु प्रत्येक दिनजस्तो दोश्रो दर्जाको नागरिक बन्दै अभिशप्त अर्काको भूमि सिंचन गर्न जानुपर्ने अवस्थाको अन्तय हुने कहिल्य ? कहिल्यसम्म हाम्रा दाजुभाईहरु खोरिया साहूकोमा बन्धकी राखेर कोरिया जाने अनि कहिल्य सम्म हाम्रा दीदीबहिनीहरु सुन्दर भविष्यको कामनामा दुवही,मलेसिया र केन्याका डान्सबारहरुमा नाँच्न गईरहने ? अनि कहिल्यसम्म हाम्रा थुप्रै ससाना केटाकेटीहरु आफनो थातथलो छोडेर शरहको रंगिन दुनियाँमा बाँच्नकै लागी कन्टेनरमा फालिएका खानेकूरा र प्लाष्टिक सुँघेर बस्न पर्ने ? अनि कहिल्य सम्म टेलिभीजन सेटहरुमा विश्वका विकसीत देशहरुले दिन दुई गुणा र रात चार गुणाको दरले वैज्ञानीक र प्राविधीक पाटोमा गरेको गुणातमक विकासको समाचारहरु हेरेर बसिरहने प्रश्न देश हाँक्न खोज्नेहरुलाई ?



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com