बाला राई

सम्झनामा दशैं
[2017-09-30 오전 7:31:00]

ठ्याक्कै छ वर्ष लागेछ दशैंको मुख देख्न नपाएको । यदि फेसबुक लगायतका सामाजिक सञ्जाल नहुँदो हो त दशैं तिहार कुन दिन र कहिले हो भन्ने हेक्का समेत नहुदो हो । धन्न प्रविधिको विकासले बिर्सन लागेको समयलाई पनि सम्झाइदिन्छ । आज विजया दशमी रे गुगलमा नेपाली पात्रो सर्च गर्नै परेन फेसबुक खोल्नसाथ ह्र्वाह्वार्ती दशैंका सम्झनाहरु छछल्किन थाले । आमालाई फोन गरें । एकाबिहानै भएर होला आमा ओछ्यानमै रैछिन् ।

‘म त उठेकै छैन नानी । त्यति सञ्चो नि छैन गाह्रो लाग्छ छिटो उठन पनि’, मधुर स्वरमा आमा बोलिन् ।
‘के भयो बिरामी हुनुहुन्छ ?’ मैंले एकै सासमा सोधें, ‘एsss तेइ सञ्चो तेइ बिसञ्चो मेरो विमार तँलाई थाहा छँदै छ नि’, आमा फेरी सुस्ताइन् ।

चाडबाडको बेला एक्लै हुनुको पिँडा पनि त होला आमालाई । दशैं तिहारमा सबैका छोराछोरी घर फर्किन्छन् । आफ्नो त एउटा भएको छोरी पनि सात समुद्र पारी छे चाडपर्वमा आउली भन्ने आश नै नगरे हुन्छ । हरेक चाडपर्व खल्लो लाग्दो हो । नुनिलो आँसुको घुट्को पिउदै भए पनि चाडपर्वका नाममा पकाइएका मासु र भात जबरजस्ती निल्दी हुन् ।

मेरी आमा जस्तै हजारौं आमाहरु होलान् चाडपर्वमा परदेसिएका छोराछोरीको बाटो हेर्दै बसेका । अरु बेला भन्दा पनि चाडपर्वमा बढी याद आउने रहेछ आफ्नो परिवार, आफु जन्मे हुर्केको घर आगान अनि संगै खेलेको साथीसंगीहरुको ।

विशेषगरी चाडपर्वको रमाइलोपन नै केटाकेटीमा हुने हो । हरेक वर्षको दशैं तिहारले एकपटक भए पनि बाल्यकालको मिठो सम्झना गराउँछ । दशैं आउन दुई हप्ता अगाडि नै आमा अन्न बोकेर बजार जान्थिन् । फर्किदा कहिले कटन कहिले पोलिस्टरको कपडा ल्याउथिन् । अर्को दिन बिहानै मेशिन बोकेर कालु दमाइ घरको बलेसीमा ‘कान्छी आमा जदौ गरें’ भन्दै आइपुग्थ्यो । आमाले सिलबरे बोटुकोमा जाँड दिन्थिन् । कालु दमाइ मेरो जिउको नाप लिएर मेशिन हातले घुमाउन थाल्यो । आमाले थोरै चामल र धेरै जसो मकैंको च्याक्ला मिसाइएको भात, आलु र रायोसागको झोल तरकारी थालमा पस्किन्थिन् ।

कहिले चाम्रे, कहिले उसिनेको सुठुनी(सखरखण्ड) वा करेला(स्कुस) खाजा बोकेर गाउँले दिदीबहिनीहरुसँग सालको पात, रातोमाटो, सेतो माटो(कमेरो) लिन जान्थ्यौं । फुलपातीको बिहान गाउँलेहरु आएर बडेमानको सुँगुर काट्थे । छिनभरमै रगत हालेको भुटुवा तयार हुन्थ्यो ।

टिकाको दिन घरमा टिका लगाएर मासु भात भएर आफ्नो दाजुभाईको घर र छिमेकीको घरमा टिका थाप्न जान्थें । आमाले सानो तुकुनी(कठुवा)मा रक्सी हालेर पठाउथिन् । टिकाको दिन सात घरमा टिका लाउन जान्थें । दक्षिणा बटुल्नकै लागि भए पनि गाह्रो नमानी जान्थें । टिका लगाएपछि खाना पनि खानै पर्ने मासु भात भनेपछि पेट अघाएपनि मुख नअघाउने । अर्को दिन आमासँग कठुवामा रक्सी र सेल कोसेली बोकेर मामा घर जान्थ्यौं । मामाघरमा चार घर थिए जानुपर्ने । मामा घरको आतिथ्य सत्कारसँगै तीन चारदिनमा घर फर्किन्थ्यौं ।

आहा! कति मिठा थिए ती बाल्यकाल, ती परिवेश । तर समय कहाँ एकनासको हुने रहेछ र ? बिस्तारै जिम्मेवारी थपिदै गए । केटाकेटी हुँदा बुढापाकाले भनेको कुराको याद आयो, ‘दशैं आयो दशा लिएर’ । बल्ल बुझें यसको अर्थ । कहिले मनाइयो, कहिले दशैं हाम्रो होइन भन्दै बहिष्कार पनि गरियो । समयसँगै दशैं तिहार सम्झनामा मात्र सिमित हुन थाल्यो । परदेशिए पछि अझ याद आउने रहेछ ।

जुन देशमा बस्यो त्यहि देशको संस्कार संस्कृति र नियम कानुन पालना गर्नै पर्छ । म अहिले कोरियामा छु दशैं मनाउदिन तर मिस गर्छु । दशैको तिर्सना मेटाउने गरी कोरियाको ठुलो चाड छुसक आउदै छ ।

नेपालमा विजया दशमी अर्थात टिका आज । सबैले निधारमा रातो सेतो टिका थाप्दै कानमा पहेंलो जमरा सिउरेर आफ्ना मान्यजनबाट आशिष थाप्ने दिन । आजको पाँच दिनमा पञ्चमी अर्थात् पूर्णेको दिन दशैं विर्सजन गरिन्छ । त्यहि पूर्णेको दिन(बोरुम नाल) कोरियाको मुख्य चाड छुसक मनाइने गरिन्छ । त्यसैले सबैलाई पुनः ह्यापी दशैं तथा छुसक है!!



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com