कृष्ण प्रसाद मरासिनी

चिकित्सा क्षेत्रमा लापरवाही छ
[2017-09-27 오후 7:32:00]

कानून र समाज एक अर्काका परिपुरक हुन्छन् । अराजक व्यक्तिका अभिव्यक्ति र आचरणलाई कानून तथा सामाजिक नियमले नियन्त्रण गर्ने गर्छ । तर व्यक्तिले व्यक्तिगत रुपमा या समूह बनाएर आफ्नो हित मात्रै साध्न कोसिस गर्छ । कानून कहिल्यै पनि भूतप्रभावी हुँदैन । तर आगामी परिवेशलाई सधैं दिशानिर्देश गर्छ । यसलाई अध्ययन, अनुसन्धान, नयाँ प्रविधिको विकास, मानिसको ज्ञान र विवेकले सधैं मार्गदर्शन गर्छ । अन्य देशमा भए गरेका अभ्यास र सिद्धान्तले कुनै पनि देशमा नयाँ कानून निर्माण गर्नलाई घच्घचाइरहेको हुन्छ ।

यी सबै कुराका बाबजुद जस्तो समाज र सामाजिक परिस्थिति छ कानून पनि त्यसै अनुसार बन्दै जाने हो । मैले यहाँ उठाउन चाहेको प्रसंग चिकित्सकले केही दिनदेखि जारी राखेको आन्दोलन र उनीहरुका मागका सम्बन्धमा हो । नेपालमा सबै पेसाकर्मीलाई समूहमा आबद्ध भई पेसागत हक, हित र सुरक्षाका विषयमा आवाज उठाउन संविधानले नै छुट दिएको छ । आफ्नो हक हितका बारेमा आवाज उठाउँदै गर्दा समाजका अन्य सदस्यको हक र अधिकारलाई कुन्ठित तुल्याइनु हुँदैन । समाजले केलाई राम्रो ठान्छ केलाई अपराध मान्छ त्यसै अनुसार कानूनलाई लिपिबद्ध गरिँदै जाने हो ।

पछिल्लो समय मेडिकल क्षेत्रमा जस्तो विकृति र बिसंगति कुनै पनि क्षेत्रमा छैन । नेपाल चिकित्सक संघको मातहत रहेर केही समय अगाडि नवजात शिशु, आमा र बच्चालाई पुर्याइनु पर्ने स्वास्थ्योपचार र सेवाका बारेमा नेपालका पाँचै विकास क्षेत्रका रिफरल हस्पिटल र मेडिकल कलेज गरेर १० वटा ठूला अस्पताल र तीनले पुर्याएको सेवाका सम्बन्धमा जान्ने मौका मिलेको थियो । अध्ययनका सिलसिलामा विभिन्न समस्या देखिए । त्यसमा अधिकांश विरामी र हस्पिटल प्रशासनले चिकित्सकको व्यवहारको खरो रुपमा विरोध गरेको रिपोर्ट छ ।

कुनै मेडिकल कलेजले त प्रसुती वार्डमा जानी बुझिकन विरामीको बेवास्ता गर्ने र त्यसैको भरमा नियोनेटल वार्डमा विरामी खचाखच भएको पाइयो । यो मैले एक्लै र कसैप्रति तुष्टी फेर्नलाई भनेको छैन । सात सय पृष्ठ लामो रिपोर्ट नेपाल चिकित्सक संघ, स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयमा बुझाएका थियौं त्यसको एक प्रति नेपाल चिकित्सक संघमा अझै पनि सुरक्षित हुनुपर्छ । अध्ययनका लागि चिकित्सक संघले जिम्मेबारी लिएको थियो र स्वयं चिकित्सक पनि त्यसमा संलग्न थिए ।

सामान्य स्वास्थ्य समस्या लिएर उपचारका लागि अस्पताल पुगेको मान्छे अर्कोदिन मृत घोषित हुँदा तिनका आफन्त आक्रोसित हुनु सामान्य हो । गम्भीर प्रकृतिका बिरामीलाई उसको अवस्थाको यथोचित बोध गराएर उपचारमा संलग्न हुनु र गराउनु चिकित्सकीय धर्मभित्र पर्छ र गर्ने पनि त्यही हो ।

चिकित्सकले जेनुइन प्रयास गर्दा गर्दै विरामीको मृत्यु हुन पुगेमा चिकित्सक त्यसका लागि दोषी हुँदैन तर त्यस्तो विवाद उठेमा प्रयास जेनुइन थियो कि थिएन र चिकित्सक या अस्पताल प्रशासनबाट कुनै त्रुटी भयो भएन भन्ने विषय तत्कालै छानबिन हुनुपर्छ । दैनिक अस्पतालमा सयौं विरामी मर्छन् तर सबै विवादमा आउँदैनन् । विवादमा आउने केस अपवादमा हुन्छन् ।

पछिल्लो केही दिनका घटना मात्र केलाउने हो भने मात्र पनि काफी हुन्छ । चिकित्सकको आन्दोलन सुरु भएपछि पनि एउटा घटना किस्ट मेडिकल कलेजमा घटिसकेको छ । विरामीलाई थाहा नदिई किड्नी निकालियो । उसको तत्कालै मृत्यु भयो । त्यसको केही दिन अगाडि चावहिलको ऊँ अस्पतालमा नाकको कुरकुरे हड्डिको अपरेसन गर्दा अर्को घटना घट्यो । मनमोहन मेमोरियल अस्पतालमा पनि त्यस्तै घट्ना घटेको थियो । यी सबै चिकित्सकीय लापरबाही प्रष्ट देखिने घटना थिए ।

एक महिना अगाडि मेरो साथिको बुवालाई सामान्य हाइड्रोसिलको अपरेसन गर्न वीर अस्पतालमा लगिएको थियो । चिकित्सकले अपरेसन गर्न सुझाए, उनी सामान्य थिए । चिकित्सकले पनि सामान्य अपरेसन हो भनेका थिए तर सामान्य मान्छे कहिल्यै बिउझिएनन् । अर्को घटना ६० सालको मेरै आफन्तको हो । उनी त्यस्तै २० वर्षजतिका थिए । उनलाई एपेन्डिक्सको समस्या थियो । पहिला एपेन्डिक्सको समस्या भए पनि एन्टिबायोटिक दिएर सामान्य भइसकेको थियो । उनी विदेश पढ्न जाने तरखरमा थिए । बाहिर रहँदा फेरि समस्या आयो भने अप्ठेरो हुन्छ भनेर उनले बाहिर जानुअघि अप्रेसन गर्न खोजे । महाराजगन्ज टिचिङ अस्पतालमा अप्रेसन गर्न गएका ती २० वर्षे युवक कहिल्यै फर्केनन् उनकी आमाले अझै पनि भन्नुहुन्छ मेरो छोरा डाक्टरले मारिदिए ।

आजभन्दा २० वर्ष अगाडि पाल्पा मिसन अस्पतालमा अर्को घट्ना घटेको थियो । त्यतिखेरका सात आठ वर्षका बालक अहिले इन्जिनियर भइसकेका छन् । सामान्य हड्डि क्र्याक भएको अवस्थामा अस्पताल पुर्याइका उनको खुट्टा काटेर फाल्नुपर्ने नत्र ज्यानै जोखिममा छ भनेपछि परिवार खुट्टा काट्न राजी भएको थियो । उनलाई अप्रेसन थिएटरमा लगियो तर त्यसैबेला केन्द्रबाट गएको अनुगमन टोलिले अनुगमनका क्रममा भेट्टाएपछि तीनलाई सामान्य प्लास्टर गरी घर पठाइयो । निको पनि भए । सिक्नका लागि ढाडबाट पानी निकाल्ने निउमा कैयौंको जीवन ह्विलचेयरमा बितेको छ । मैले माथि भनेका यी घटनाका सम्बन्धमा न अनुसन्धान भएको छ न कसैलाई कारबाही गरिएको छ ।

चिकित्सकको लापरबाही र हेलचेक्र्याइँले कसैको अंगभंग र जीवन तलमाथि भए सम्बन्धित चिकित्सकले नै त्यसको क्षतिपूर्ति बेहोर्नुपर्छ र उसको चिकित्सकीय लाइसेन्स खारेज गर्नेसम्मको कारबाही हुर्नुपर्छ । यसो भयो भने मर्यादित र पेसापर्ती निष्ठावान व्यक्ति मात्रै यो पेसामा लाग्छन् । पेसालाई मर्यादित बनाउन पेसापर्ती इमान्दार बन्नै पर्छ त्यसको बिकल्प छैन । चिकित्सा पेसाको बिकल्प मर्यादित चिकित्सा पेसा नै हो । ह्विम र सनकमा लागेर होइन विवेकले निर्णय गर्नु पर्छ ।

पछिल्लो समय सेवाग्राही र सेवाप्रदायक बिचको खाडल बढिरहेको छ । सामान्य मान्छे उपचारका लागि अस्पताल या क्लिनिक जाँदा ढुक्क हुन सक्ने अवस्था छैन । त्यहाँ उपचारका लागि जानुको बिकल्प पनि छैन । दातृ निकायको सहयोगमा सञ्चालित स्वास्थ्यसम्बन्धी परियोजना नेपालमा परीक्षणका लागि ल्याइएका हुन्छन् । डाक्टरले बिरामीलाई उपचार हैन प्रयोगशाला बनाएका छन् । यस्तो संक्रमणकालीन स्वास्थ्य अवस्थाको अन्त्य चिकित्सा पेसामा प्यासन भएका व्यक्तिको अग्रसरताबाट मात्रै हुन्छ । भीडको संरक्षणको लागि गरिने आन्दोलनले तत्काललाई त केही होला अन्यथा भोलिका दिन अझै भयावह बन्ने निश्चित छ । माग राख्ने शैली र प्रकृयालाई बदली मर्यादित नै बनाउनुपर्छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने चिकित्सा पेसा आफैंमा मर्यादित र गर्ब गर्न योग्य छ तर यसको गरिमालाई बढाउने जिम्मेबारी
स्वयं चिकित्सकको नै हो । राज्यले ति आवाजलाई सुन्नुपर्छ भीडलाई होइन ।

पेसाको नाममा थुप्रिएको अराजक भीडलाई विधि र कानूनले समेट्नै पर्छ । अहिलेको परिवेशमा नीजि क्षेत्रमा जति पनि मेडिकल केलेज र अस्पताल खुलेका छन् तीमध्ये ९० प्रतिशतभन्दा बढीमा चिकित्सककै लगानी छ । आन्दोलनका नाममा अर्को पक्षको आवाज र महत्वपूर्ण सरोकारलाई बेवास्ता गरी नेपाल चिकित्सक संघ जस्तो मर्यादित संस्थाले बिकल्पविहीन बनेर आन्दोलनको रटान लगाइरहनु किमार्थ उचित ठहराउन सकिँदैन । यसले निष्ठावान भएर पेसामा लागिरहेका चिकित्सकको पनि मान मर्दन गरिरहेको छ ।

-लेखक कानून व्यवसायी हुन् ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com