भगीरथ अवस्थी

मान्छे किन आत्महत्या गर्छ ?
[2017-09-11 오후 8:42:00]

जिल्लाको सुर्नया गाउँपालिका वडा नं ४ बाट भाद्र २१ गते इलाका प्रहरी कार्यालय पाटनलाई एउटा किशोरीले झुण्डिएर आत्महत्या गरेको खबर गरियो । त्यसैदिन पाटन नगरपालिका वडा नं ४ मा एक २५ वर्षीय युवकले झुण्डिएर नै आत्महत्या गरेको खबर प्रहरी समक्ष पुग्यो । एकैदिन भएका दुई आत्महत्याका घटना नसेलाउँदै त्यसको भोलिपल्ट अर्थात भाद्र २२ गते दशरथचन्द नगरपालिका वडा नं ९ ग्वाल्लेकमा एक महिलाले बिष सेवन गरेर आत्महत्या गरेको खबर प्रहरी समक्ष आइपुग्यो ।

जिल्लामा आत्महत्या गर्नेका यी उदाहरण मात्रै हुन् । पछिल्लो समयमा आत्महत्याका घटना बढ्दै गइरहेका प्रहरीको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार चालु आर्थिक बर्षमा दुई महिनाको अवधिमा सात जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्ने पुरुषको तुलनामा धेरै महिला रहेका छन् । प्रहरीलाई आत्महत्या गरेकाहरुको घटना संकलनमा भ्याईनभ्याई भएको जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका प्रहरी सहायक निरीक्षक करनसिंह धामीले बताए । उनले भने,‘पछिल्लो समयमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । आत्महत्या गर्नेको विवरण र पोष्टमार्टम रिपोट सहित आफन्त शव नबुझाउँदै अर्को घटना आइहाल्छ ।'

चालु आर्थिक बर्षमा ६ जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने एकजनाले विष सेवन गरेर आत्महत्या गरेका छन् । ७ जना मध्ये अकालमै देहत्याग गर्नेमा ६ जना महिला रहेको प्रहरी सहायक निरीक्षक धामीले बताए । उनले भन, ‘आत्महत्या गर्ने पुरुषको तुलनामा महिला धेरै छन् । ती मध्ये पनि किशोरावस्थाकाले धेरै आत्महत्या गरेका छन् ।'

आर्थिक बर्ष २०७१/७२ मा १६ जनाले आत्महत्या गरेकोमा २०७२/७३ मा २९ जनाले आत्महत्या गरेको देखिएको छ । गत आर्थिक बर्ष २०७३/७४ मा आत्महत्या गर्नेको संख्या बढेर ३६ पुगेको छ । महिलामाथि हुने घरेलुहिंसा, मानसिक तनाव लगायतका कारणले आत्महत्या गर्नेको संख्या बढ्दै गएको प्रहरीको निष्कर्ष छ । गरिबी, बेरोजगारी लगायतका कारणले पनि आत्महत्या गर्नेको संख्या बढ्दै गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक कमलबहादुर बिष्टले बताए । उनले भने,‘आत्महत्या यही कारणले गरेको हो भन्न गाह्रो भएपनि धेरैजसो गरिबि, बेरोजगारी, पारिवारिक असमझदारीका कारण घटना भइरहेका छन् ।'

मानिसले जीवन जिउनु अर्थ नदेखेपछि अकालमा जीवन फाल्ने गरेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले बताए । उनले भने,‘आत्महत्या मानसिक स्वास्थ्य समस्याको उपज हो । मानसिक स्वास्थ्य कार्यक्रम अघि सारेर मात्रै यसको न्यूनीकरण गर्न सकिन्छ । आत्महत्या मानिसले किन गर्छ । यो बिषयमा अध्ययन गरेर सचेतनामूलक कार्यक्रम अघि सार्नुपर्छ ।'

आत्महत्याका घटना बढ्दै गएपछि यसले समाजमा विकराल विकृति ल्याउने जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानीका क्याम्पस प्रमुख पृथ्वीराज अवस्थीले बताए । उनले भने,‘आत्महत्या गर्नेमा धेरै जसो किशोरावस्थाका रहेका छन् । यसले देखासिखी पनि भइरहेको छ । यसको रोकथामका लागि उचित कदम चाल्नु आवश्यक छ ।' आत्महत्या गर्ने संख्या बढ्दै जानुमा पारिवारिक असमझदारी मुख्य कारण रहेको क्याम्पस प्रमुख अवस्थीले बताए । उनले भने,‘परिवारका सदस्यहरुबीचको बेमेल नै आत्महत्याका घटना भइरहेका छन्।'



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com