लिम्बु ईमुहाङ्ग

कोरियामा विमारी हुदाको अविस्मरणीय क्षण,आफै बिरामी आफै कुरुवा
[2017-01-02 오전 10:48:00]

३० डिसेम्बर २०१६ मेरो जिवनमा कालो दिन बन्यो। त्यो दिन १२ बजे मलाई हस्पिटल बोलाईएको थियो तर म ११ बज्नु पुर्व नै हस्पिटल पुगिसकेको थिँए । कारण मेरो नाकको शल्यक्रिया गर्नु पर्ने थियो। नाकको दांयापट्टिको भागमा भित्रपट्टिबाट हड्डी सुन्निएको थियो साधारण भाषामा पिनास भएको थियो भनौ र त्यसैको शल्यक्रिया , जिवनमै पहिलो पटक।

हस्पिटलको तेस्रो तलामा रहेको DSC कक्षमा गँए । मलाई नर्सले बिरामी सुत्ने बेड देखाऊदै आफ्नो कपडा फेरी बिरामीले लगाउने कपडा लगाउन भनिन्। मैले कपडा फेरिसके पछि उनले स्लाइन जोडिदिइन म करिब ४ घन्टा स्लाइन जोडेर बसें । अघिल्लो दिन बेलुका देखि पानी पनि नखानु भन्ने निर्देशन थियो डाक्टरको । भोक र तिर्खाको सिमा नै थिएन तर सहनै पर्यो।

करिब ३ बजे मलाई अपरेसन थिएटरमा लगियो। "तँपाईसँग को आउनु भएको छ?" एउटी नर्सले सोधिन् "म एक्लै आएको छु। " मैले जवाफ दिँए । नर्स छक्क परिन् ,साथीहरु सबै ब्यस्त भएकोले आफु एक्लै आएको बताएं र शल्यक्रियाको लागि तयार रहेको बताएँ।

मनमा केही डर थियो त्यो भन्दा बढी आत्मविश्वास । जतिसक्दो चाँडो निको हुनुपर्छ भन्ने दृढता मनमा थियो। मलाई के के कुरा सोधिरहेका थिए डाक्टरहरु कुन बेला थाहा नपाई बेहोस पारेर नाकको भित्रसम्म चिरफार गरिसकेछन्। आफुलाई होसमा पाउँदा म अर्कै कक्षमा थिंए। नाकमा टेप टासिएको थियो। नाकका दुलोमा बुजो खाँदिएको थियो। नाक ,टाउको र माथिल्लो दाँत र गिजा बेस्सरी दुखिरहेको थियो। ओठ र मुख सुकेर टाट भएको थियो । जिब्रो निकालेर ओठ भिजाउन खोजें तर उस्तै सुकेको थियो जिब्रो पनि। नर्सलाई पानी खान मन लागेको कुरा सुनाएँ तर ४ घन्टा सम्म पानी र ६ घन्टा सम्म खाना खान हुन्न भनिन्। मैले भोक प्यासभन्दा पनि चाडै निको हुनुपर्छ भन्ने सोँचे त्यसका लागि जतिसुकै तपस्या गर्न किन नपरोस्।

मलाई केही समय पछि सुरुको DSC कक्षमै सारियो। म हट्टकट्ट हस्पिटल आएको मान्छे अब चाहि पुरै बिरामी भएको थिँए । मलाई निदाउन मन लागेको थियो किनकी टाउको बेस्सरी दुखिरहेको थियो तर नर्सले मेरो बेड अलि उठाईदिदै २ घन्टा सम्म निदाउन नहुने भनिन्। पानी सम्म पनि खान नमिल्ने निदाउन नि नमिल्ने ऊफ्! समय बिताउन गाह्रो भयो, मोबाइल छेवैमा थियो। क्यान्डी क्रस खेल्दै बंसे । केही न्युज हेरेर बंसे।

केही समय पछि मेरो अपरेसन गर्ने डाक्टर आएर मेरो अवस्था बुझ्दै नाकको बुजो निकाली दिइन्। २ घन्टा जति आराम गरेर घर जान सक्ने जानकारी पनि दिइन्।

आफै बिरामी आफै कुरुवा , गाह्रो त अवस्य भएको थियो तर गर्नु आफैले थियो।

बेलुकाको साढे ५ भएको थियो साथीहरुलाई फोन गरेँ सबै आ आफ्नो काममा थिए । म ७बजेसम्ममा डिस्चार्ज हुनुथियो तर साथीहरु काम सकेर हस्पिटल आइपुग्दा ८ बज्थ्यो तसर्थ म आफै डिस्चार्ज हुने निर्णय गरें । नर्सलाई भँने , कपडा फेरेर आउन भनिन् उनले। टाउको ,नाक दुखाइ र रिंगटा लागिरहेको थियो तर मलाई सहयोग गर्ने केवल म बाहेक कोहि थिएन।
म यसरी हिँड्दा नाकबाट रगत बग्थ्यो , नर्सले टिस्यु पेपर दिइन् त्यसले पुछ्थें तर लगातार बगिरहन्थ्यो तर नाक बुच्याउन चाहि नमिल्ने रे!

१ तलामा ओर्लेर काउन्टरमा पैसा बुझाएर आउन भनिन्। म टाउको आकासतिर फर्काएर आँखाले भुँइतिर हेरेर हिड्थे एउटा हातले नाकको रगत लगातार पुछिरहनु पर्थ्यो र अर्को हातमा पुर्जी । काउन्टरबाट अर्को पुर्जी लिएर मेडिकलमा गएर औषधी लिएर आउनु पर्थ्यो टिस्युले नपुगेर म मफ्लरले नाक पुछिरहेको थिएं सेतो मफ्लर रातो सेतो टाटेपांग्रे भैसकेको थियो।

प्यासेजमा भेटिने मानिसहरु सबैले अचम्म मानेर हेर्थे अझ लिफ्टमा चढ्दा मानिसहरु तर्किन्थे मानौ कि म एलियन हुँ मंगल ग्रहवाट झरेको । हुन पनि त्यस्तै देखिदो हुं सुन्निएको अनुहारमा टेप टाँसेको आकास तिर फर्केर हिडिरहेको देख्दा।
औषधीको प्रेप्किप्सन लिएर आफै जानसक्ने भनेपछि नर्ससंग बिदा मागेर करिब साढे छ बजे बाहिर निस्किएं।

हस्पिटल बाहिर -८ डिग्रीको जाडो थियो , ट्याक्सी कुर्न थालें तर ट्याक्सी देखिएनन् । ट्याक्सी पनि प्याकाप्याक । कहिले वारि कहिले पारी जान्थे तर ट्याक्सी रोकिएनन्। अन्त्यमा बसबाट ट्रेनस्टेसन सम्म गएर ट्रेनबाट जाने निर्णय गरें तर बस र ट्रेनबाट जॉदा म उभिएर जानुपर्ने हुनसक्थ्यो , सिट पाउने ग्यारेन्टी थिएन । अझ एउटा हातले लगातार नाक पुछिरहनु पर्थ्यो । ट्याक्सी नै नभेटेपछि बस चड्न जॉदै थिँए झ्याप्पै एउटा ट्याक्सी आयो र चढें ।

कोरियामा कसैलाई ५ मिनेट भेट्न १ महिना अघि नै समय माग्नु पर्छ। सबै आ आफ्नो काममा ब्यस्त हुन्छन्। यसरी विदेशमा बिरामी हुंदा सबैभन्दा गाह्रो हुंदो रहेछ। न कोही आफ्नो छ , न कोही आफन्त ।

यहि बेला साथ चाहिएको हुन्छ तर सबैले सान्त्वना बाहेक दिन नै के पो सक्छन् र? पैसा सबैले दिन्छन र दिन खोज्छन तर पैसाले त्यो साथ र अभाव निभाउन सक्दैन रहेछ।

त्यसैले कोरियामा रहने साथीहरु ! कोरियामा जाडोमा अति जाडो , गर्मीमा अति गर्मी ! लगातारको काम र थकानले गर्दा स्वास्थ्य स्थिती बिग्रन सक्छ। ख्याल गर्नुहोला । ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com