Setopati

बुबा मुलायमविरुद्ध छोरा अखिलेशको 'कू'
[2017-01-02 오전 9:05:00]

भारतको उत्तर प्रदेशमा चलेको बाबु-छोरा र यादव परिवारभित्रको राजनीतिक द्वन्द्व कुनै हिन्दी सिनेमाको पटकथाभन्दा कम सनसनीपूर्ण छैन। पछिल्लो घटनाक्रममा समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष मुलायम सिंह यादवलाई हटाएर उनका छोरा तथा उत्तरप्रदेशका मुख्यमन्त्री अखिलेश यादव राष्ट्रिय अध्यक्ष भएका छन्। छोरा अखिलेशको यो ‘राजनीतिक कू’ पछि समाजवादी पार्टी विभाजनको संघारमा पुगेको छ।

अखिलेश क्याम्पले आइतबार ‘आकस्मिक’ बैठक डाकेर अखिलेशलाई राष्ट्रिय अध्यक्ष बनाएको घोषणा गरेको हो। त्यसको केही घन्टापछि नै मुलायमले उक्त घोषणालाई 'गैरकानुनी' भन्दै आगामी ५ तारिखमा पार्टीको राष्ट्रिय महाधिवेशन आयोजना गर्ने बताएका छन्। छोरा अखिलेशलाई उचालेर राजनीतिक दाउपेचका लागि उक्त घोषणा गराइएको उनको भनाइ छ। उनले पार्टीका राष्ट्रिय महासचिव रामगोपाल यादवलाई पनि पार्टीबाट निष्कासन गरेका छन्।
रामगोपाल मुलायम सिंहका काकाका छोरा हुन्। मुलायम सिंहलाई उनकै भाइ तथा समाजवादी पार्टीका उत्तरप्रदेश प्रमुख शिवपाल यादवले साथ दिइरहेका छन्।

आइतबारको घटनापछि समाजवादी पार्टीको विवादले नयाँ मोड लिएको छ। जातीय तथा पारिवारिक राजनीतिको प्रभावमा रहेको समाजवादी पार्टीमा लामो समयदेखि विवाद भए पनि गत बिहीबारदेखि उक्त पार्टी गहिरो संकटमा फसेको थियो।
यो विवादको बीउ अघिल्लो चुनावपछि मुलायम सिंहले आफ्ना छोरा अखिलेशलाई मुख्यमन्त्री बनाएपछि रोपिएको हो। समाजवादी पार्टी बनाउन र त्यसलाई यहाँसम्म ल्याउन मुलायमसँगै खटिएका उनका भाइ शिवपाल मुख्यमन्त्रीका आकांक्षी थिए। अखिलेश मुख्यमन्त्री भएपछि मुलायम सिंह यादवको परिवार र उनको ससुरालीभित्रको अघिल्लो पुस्ता अखिलेशको उदयसँगै आफ्नो हातबाट सत्ता गएको ठानी सशंकित बनेको थियो।

मुख्यमन्त्री बनेपछि अखिलेशले पुस्ताको विवादलाई झनै अघि बढाए। उनले पार्टीभित्र नयाँ पुस्ताका कार्यकर्तालाई अघि मात्र बढाएनन्, पार्टीको परम्परागत एजेन्डा पनि भत्काए। उत्तर प्रदेशमा मुस्लिम र पिछडिएका वर्गको गठवन्धन तथा जातीय राजनीतिभन्दा बाहिर गएर अखिलेशले विकास र सुशासनको राजनीति अघि बढाए।

अखिलेशको बढ्दो प्रभावलाई लगाम लगाउन शिवपालले आफ्ना दाइ मुलायम सिंहलाई साथ लिएर समाजवादी पार्टीका ७६ जना उत्तरप्रदेशका सांसदलाई आसन्न चुनाव निम्ति टिकटको सूचीबाट हटाइदिए। तर, अखिलेशले २३५ जना उम्मेदवारको छुट्टै नाम घोषणा गरेपछि पार्टीभित्र तीव्र विवाद सुरु भयो।

मुलायमले कारबाहीस्वरूप छोरा अखिलेश र आफ्ना काकाका छोरा रामगोपाललाई पार्टीबाटै निष्कासन गरे। पार्टीमा ठूलो समर्थन अखिलेशको पक्षमा देखिएपछि उनले त्यो निर्णय बदर गरे। त्यसबाट पार्टी विभाजन हुने सम्भावना रोकिएको अन्दाज गरिएको थियो l आइतबारको घटनाले भने फेरि यो विवाद बल्झाइदिएको छ। पार्टी महासचिव रामगोपालले बोलाएको ‘आकस्मिक बैठक’ ले अखिलेशलाई पार्टीको राष्ट्रिय अध्यक्ष घोषणा गरेको छ। राज्यका २२९ सांसदमध्ये २०० जनाको समर्थन अखिलेशलाई भएको भारतीय मिडियाले बताएका छन्।

उत्तर प्रदेशमा हुन गइरहेको आगामी चुनाव र पार्टी संगठनलाई कसले नियन्त्रणमा लिने भनेर नै समाजवादी पार्टीभित्र विवाद भएको हो। ४४ वर्षीय छोरा अखिलेश पार्टीका तर्फबाट उत्तर प्रदेशको मुख्यमन्त्री भए पनि समग्र पार्टी मुलायमकै नियन्त्रणमा थियो। उक्त पार्टीका तर्फबाट दुई दर्जनजति यादव बन्धुहरु राज्यको राजनीतिमा हाबी छन्। उनीहरुबीचको शक्ति संघर्ष केही समययता निकै चर्किएको थियो। रामगोपालले अखिलेशलाई फसाएर पार्टी कब्जामा लिन खोजेको मुलायमको बुझाइ छ।

केही विश्लेषक मुलायमले छोरा अखिलेशको हातमा पार्टीको पूर्ण नियन्त्रण सुम्पन यस्तो राजनीतिक चालबाजी गरेको पनि आशंका गर्छन्।हुन पनि पार्टी नियन्त्रण कसले गर्ने भन्नेबारे यादव बन्धुहरुबीच तीव्र प्रतिस्पर्धा छ। द्वन्द्वको जरो अखिलेश र मुलायममा मात्र सीमित नभई समस्त यादव परिवार, आफन्तजन र मित्रको परिधिभरी फैलिएको छ।

मुलायमका भाइ शिवपाल आफूलाई पार्टीमा दाजुको उत्तराधिकारी ठान्छन्। पार्टी निर्माणमा भतिजा अखिलेशभन्दा आफ्नो ठूलो योगदान रहेकले पार्टी नेतृत्व र मुख्यमन्त्रीको हकदार आफू भएको उनको दाबी छो अहिले उनी मुलायमको साथमा छन्।

अखिलेशको राजनीतिक उदयबाट मुलायमकै दोस्रो श्रीमती साधनाको परिवार पनि असन्तुष्ट छ। मुलायमका निकट मित्र तथा नेता अमर सिंह पनि अखिलेशसँग रुष्ट छन्। उता अमर सिंहले आफ्ना पिता मुलायमलाई फसाएर भ्रष्टाचार गरेको आरोप अखिलेशले लगाएका छन्।

भारतमा जयप्रकाश नारायण र राममनोहर लोहियाको समाजवादी चिन्तनबाट प्रभावित भएर मुलायमले राजनीति सुरु गरेका थिए।उनको पार्टीलाई यादव र अन्य पिछडिएका वर्गको समर्थन थियो। भारतमा कट्टरपन्थी हिन्दुले बाबरी मस्जिद भत्काएपछि मुस्लिम समुदायको भरोसा कांग्रेसबाट घट्यो र उनीहरुको मत समाजवादी पार्टीलाई गयो। त्यसपछि मुलायम उत्तर प्रदेशको राजनीतिमा निकै शक्तिशाली भएका थिए।

उनलाई भ्रष्टाचारमा लिप्त भएको, राज्य व्यवस्थामा आफन्तजनको सञ्जाल निर्माण गरेको र अवैध धन्दा गर्नेलाई संरक्षण गरेको आरोप पनि लागेका थिए। त्यसपछि उनले छोरा अखिलेशलाई राजनीतिमा अघि सारेका थिए। पार्टीको वास्तविक शक्ति भने मुलायमकै हातमा थियो। पछि गएर अखिलेशको लोकप्रियता मुलायम तथा परिवारको अघिल्लो पुस्ताका हस्तीहरुका निम्ति चुनौती बन्यो।

जनमानसमा लोकप्रियता हासिल गरे पनि अखिलेशसँग पार्टी संगठनको अभाव थियो। पार्टीमा भएको पछिल्लो घटनाले अब अखिलेशलाई संगठन पनि दिएको छ। तर विभाजित पार्टीबाट उनले कति सफलता प्राप्त गर्ने हुन् भन्ने प्रस्ट छैन। अहिले अखिलेश विभाजित समाजवादी पार्टीको राष्ट्रिय अध्यक्ष भएका छन् भने बाबु मुलायमले जनवरी ५ मा नयाँ पार्टी महाधिवेशन बोलाएका छन्।

अहिलेसम्मको घटनाक्रम हेर्दा पार्टी औपचारिक रुपमा टुक्रने देखिन्छ। तर एकताको सम्भावना अझै सकिएको छैन। अखिलेशलाई एउटा पक्षले राष्ट्रिय अध्यक्षमा घोषणा गरे पनि मुलायमले अखिलेशलाई कारबाही गरेका छैनन्। बरु त्यस्तो कदम उठाउने रामगोपाललाई मुलायमले कारबाही गरेका छन्।

यसबाट देखिन्छ- एकताका लागि उनले अझै ठाउँ बाँकी राखेका छन्। बाबुछोरा मिले भने पार्टीको उत्तराधिकारी अखिलेश हुनेछन् र द्वन्द्व सामाधानका नाममा केही महत्वाकांक्षी नेताको फेरि बलि चढ्नेछ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com