रासस

ट्रप्पको विजयले अमेरिकी प्रभुत्वमा संकट
[2016-11-13 오전 11:01:00]

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पको विजयले विश्वभर फैलिएको अमेरिकी दोस्रो वा नरम शक्तिमा ठूलै सङ्कट उत्पन्न हुँदैछ । नसङ्कोच भन्न सकिन्छ, यसलाई उल्ट्याउन ट्रम्प सायदै सक्षम हुनेछन् ।

परम्परागतरुपमा, मुलुकहरुको विश्व राजनीतिक शक्तिलाई सैनिक शक्तिका आधारमा मूल्याँकन गरिन्थ्यो, अर्थात जोसँग शक्तिशाली सैन्यबल छ उही सर्वाधिक शक्तिसम्पन्न हो । तर त्यो तर्क यथार्थमा सदैब प्रतिबिम्बित हुन सकेन ।

अमेरिकाले भियतनाम युद्धमा हार व्यहोर्यो, सोभियत युनियन अफगानिस्तानमा पराजित भयो । इराकमा सुरुआती केही वर्षबाहेक फ्रेन्च कुटनीतिज्ञ ट्यालीर्यान्डको भनाइ झैं अमेरिकाले इराकमा शासन गर्न सकेन, फर्कन बाध्य भयो ।

अब नरम शक्तिका बारेमा विचार गरौं । यो विचारधारा अमेरिकी हार्भर्ड विश्वविद्यालयका प्राध्यापक जोसेफ एस. नाईले सन् १९९० मा चर्चामा ल्याएका थिए, खासगरी अमेरिकी सैन्य शक्तिको प्रयोगको विकल्पमा ।

नाईले भने झैं, कुनै मुलुकको सामथ्र्य ‘आफूले चाहेजसरी अन्य मुलुक वा व्यक्तिको व्यवहारमा परिर्तन गर्ने’ क्षमतामा निर्भर हुन्छ, र यहाँ जबर्जस्ती नियन्त्रण (लाठी), पैसा लगानी (गाजर), वा आकर्षण (नरम शक्ति) को प्रयोग हुन्छ । ‘यदि तपाईं अरुलाई आकर्षित गर्न सक्षम हुनुभयो भने तपाईंले लाठी र गाजर दुवैमा गर्ने लगानीमा बचत वा किफायत गर्न सक्नुहुन्छ,’ उनी भन्छन् ।

नाईको तर्क छ, कुनै मुलुकको नरम शक्ति ‘त्यस मुलुकको संस्कृति (अन्यलाई आकर्षक भएमा), राजनीतिक मूल्यमान्यता, परराष्ट्र नीति’ बाट निःसृत हुन्छ । तर मेरो विचारमा कुनै मुलुकप्रतिको विश्वधारणा पनि नियाल्नु पर्दछ, र यहाँ कुनै मुलुकको नामसँगै जोडिएको सम्बन्ध र प्रवृत्तिलाई केलाउनु पर्दछ । कठोर शक्ति सैन्य आडमा अभ्यास गरिन्छ, नरम शक्ति मनमस्तिष्कमा जागृत गराइन्छ ।

संयुक्तराज्य अमेरिका विश्वकै सर्वाधिक ठूलो अर्थतन्त्र र सदियौं पुरानो लोकतन्त्र भएको, आप्रवासीका लागि स्वर्गभूमि, र अमेरिकी सपनाको भूमि हो, अर्थात कसैले मेहनत गरे जोकोही जेसुकै बन्न सक्दछ ।
यो बोइङ र इन्टेल, गूगल र एप्पल, माइक्रोसफ्ट र एमटीभी, हलीउड र डिस्नेल्यान्ड, म्याक्डोनाल्ड र स्टारबक्सको मुलुक हो, अर्थात विश्वका केही सर्वाधिक मान्यताप्राप्त र प्रभावशाली ब्रान्डको देश हो ।

यी सम्पत्तिको आकर्षण र अमेरिकी जीवनशैलीले अमेरिकाले अन्य मुलुकका नागरिकको मनमस्तिष्कमा प्रभाव सिर्जना गरेको छ, र यहाँ कसैलाई आफ्ना विचारधारा वा एजेन्डामा सहमत गराउन बाध्य बनाएको देखिन्न । यस अर्थमा, नरम शक्तिले बैकल्पिक र कठोर शक्ति दुवैको पुरकको रुपमा कार्य गरेको छ ।
तर कुनै पनि मुलुकमा नरम शक्तिमा पनि सीमितता हुन्छ – र त्यसमा अमेरिका पनि पर्दछ ।

अमेरिकामा सेप्टेम्बर ११, २००१ मा आतंकवादी आक्रमण भएपश्चात अमेरिकाप्रति सहानुभूति स्वरुप विश्वव्यापी रुपमा समर्थन ओहिरिएको थियो । त्यसपछि अमेरिकाले आतंकवादविरुद्ध युद्धको घोषणा गर्यो, र त्यसबखत अमेरिका कठोर शक्तिमाथि ज्यादै निर्भर थियो ।

त्यस बखत अमेरिकाले प्रयोगमा ल्याएका साधनहरु जबर्जस्त थिए – जस्तै, इराकमाथि हमला, शत्रु लडाकाहरु र अन्य शंकास्पद व्यक्तिहरुलाई ग्वान्तानामो बेमा अनिश्चितकालीन नजरबन्दी, अबु घारेब कान्ड, सीआईएका गोप्य स्थानहरुको खुलासा, अमेरिकी भाडाका सुरक्षाकर्मीद्वारा इराकी सर्वसाधारणको हत्या । यी दुःखान्त अमेरिकी कारबाहीका घटनाहरुप्रति विश्वले नै आँखा चिम्लिदिएको थियो ।
अमेरिकाको कठोर शक्तिको प्रयोगबाट सिर्जित कमीकमजोरीको क्षतिपूर्ति गर्न नरम शक्ति अपर्याप्त थियो । अमेरिकी संस्कृतिका अन्धभक्तहरु ग्वान्तानामोमा भएका ज्यादतीहरुलाई ध्यान दिन तयार नै थिएनन् ।

माइक्रोसफ्ट विन्डोज धेरैको लागि हितकारी भए पनि त्यसैको उत्पादनकर्ता मुलुक अमेरिकाले गरेका ज्यादती स्वीकार्य कसरी हुन सक्दछ रु अमेरिकाको नरम शक्ति तिब्र गतिमा ओरालो लाग्यो, र कठोर शक्तिको प्रयोग र नरम शक्तिको प्रयोगबीचको भिन्नता अनुभव हुन थाल्यो ।

अमेरिकी प्रभावको विदेश नीतिमा असफलता देखा पर्न थाले, र यसमा आजको विश्वको अभूतपूर्व सञ्जालले विशेष महत्व राखेको छ । आमसञ्चार माध्यमको बढ्दो प्रभावसँगै विश्वभर अनलाइन समाचार, स्मार्टफोनका भिडियो, ट्वीटर कुराकानीले विश्वमा तरङ्ग ल्याएको छ ।

यस्तो सूचना युगमा, नाई लेख्छन्, तीन किसिमका मुलुकहरुले नरम शक्ति आर्जन गर्न सक्दछन् ‘मुलुकहरु जसको संस्कृति र विचारधारा विश्वमा हाल प्रचलित मूल्यमान्यतासँग एकाकार भएको हुन्छ (जस्तै उदारवाद, बहुलवाद, स्वायत्तता), मुलुकहरु जसको सञ्चार माध्यमका विविध च्यानलसँग सर्वाधिक पहुँच स्थापित हुन्छ, र मुलुकहरु जसको विश्वसनीयता मुलुकभित्रै र अन्तर्राष्ट्रिय उपस्थितिबाट व्यापक बनेको हुन्छ ।’ अमेरिकाले माथिका तीनै मोर्चामा आफूलाई सफलसिद्ध बनाएको छ ।
हो, अमेरिकी संस्कृति र विचारधारा अन्य मुलुकका लागि पनि अनुकरणीय छ, र यसको अन्तर्राष्ट्रिय विश्वसनीयता मुलुकभित्रैको व्यवस्थापनमा पनि निर्भर छ ।

शताब्दीयौंदेखिको दासता र जातिवादको विरासतलाई तोड्दै सन् २००८ र २०१२ मा अमेरिकाले कालाजातिलाई राष्ट्रपति चुन्यो, र यसबाट अमेरिकी समाजमा पुनर्ताजगी गर्ने क्षमता छ भन्ने पुष्टी गरेको थियो ।

ट्रम्पको विजयले अहिले त्यो प्रतिष्ठा चकनाचुर भएको छ । अमेरिकासँग कहिल्यै तादाम्त्य नराखेका विषयहरुले अहिले टाउको उठाएका छन् । आप्रवासीमाथि त्रास, महिलामाथि द्वेषभाव, नैराश्य र स्वार्थप्रेरित कार्यहरु ।

कुनै पनि नागरिकलाई आफ्ना आकांक्षाको परिपूर्तिमा समान अवसर उपलब्ध गराउने विगतको अमेरिकी प्रतिबद्धतालाई यसपटक जिम्मेवार नेतृत्वबाटै भत्र्सना र आरोपित गरिएको छ ।
अन्य मुलुकमाथि लोकतान्त्रिक अभ्यासका बारेमा दृढतापूर्वक परामर्श गरिरहेको अमेरिकाले चुनावी नतिजा आफ्नो पक्षमा नआए त्यसलाई अस्वीकृत गर्ने धम्की दिने नेतालाई राष्ट्रपतिमा विजयी गराएका छन् ।

नाईले तर्क गरेका छन्, आजको सूचनाको युगमा नरम शक्तिले मुलुकका सफलताका राम्रा कथाहरु जम्मा गर्दै जान्छ । अमेरिका ‘राम्रो कथा संगालेको भूमि’ हो ।

यहाँ स्वतन्त्र प्रेस र खुला समाज छ, आप्रवासी र शरणार्थीहरुलाई स्वागत गरिन्छ, र नयाँनयाँ विचार र नवीन खोजीको भोको छ । यी सबैले अमेरिकालाई विशिष्ट कथाहरु भन्ने क्षमता प्रदान गरेको छ जुन प्रतिस्पर्धीहरुको तुलनामा निकै बढी प्रेरणादायी र आकर्षक छन् ।

तर यस निर्वाचनमा अमेरिकी कथाले अमेरिकाले सिर्जना गरेको नरम शक्तिलाई ज्यादै सङ्कुचित बनाएको छ । त्रासका कारण भरोसा तुषारापात भएको छ ।

अमेरिकी सपना विश्वमै दुःस्वप्न भएको छ । साथै, सन् २०१६ मा खोलिएको पान्डोराको बाकसबाट निस्केको दानवले मुलुकको स्व–दृष्टिकोणमा स्वतन्त्र रुपमा निरन्तर विचरण गर्नेछ, र त्यसले हरेक व्यक्तिको दृष्टिकोणलाई दूषित गर्नेछ ।हाम्रो दृष्टिमा, अमेरिका अब कहिल्यै विगतको झैं रहने छैन – किनकी ट्रम्पको कार्यकाल त अझै सुरु पनि भएको छैन ।

(सुप्रसिद्ध लेखक शशी थरुर भारतका पूर्व विदेश राज्यमन्त्री र हाल भारतीय संसदका सदस्य हुन् । उनी संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव पनि हुन् लेखलाई राससका लागि सोमनाथ लामिछानेले अनुवाद गरेका हुन् ।)



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com