सुरेश हमाल

आमाको काख प्यारो कि कोरियाको लाख ?
[2016-10-24 오후 8:07:00]

भर्खर आईए पढ्दै गरेको बेला एउटा गैरसरकारी संस्थामा जागिर गर्ने अवसर मिल्यो । १७ वर्षको उमेरमा जागिर खाएर हातमा पैसा पर्न थालेपछि लाग्यो, संसारमा सबथोक पैसा नै हो । दिमागमा पैसाको भूत यति चढ्यो, ‘गरिब भएर जन्मनु गल्ती होइन, बरु गरिब भएर मर्नु गल्ती हो’ भन्ने बिल गेट्सको यो भनाइ त मूल मन्त्र नै बन्यो । उनी नै मेरो आदर्श बने । वारेन बफेट, अम्बानी हुँदै विनोद चौधरीसम्मका सफलताका सूत्र खोजियो । कसरी धनी बन्ने ? कसरी करोडपति बन्ने ? कसरी सफल बन्ने ? यस्तै-यस्तै किताबको चाङ नै लगाएर पढियो ।

निष्कर्ष निकलियो, धनी बन्न जागिर होइन, व्यवसाय गर्नुपर्छ । इमेल, इन्टरनेट सेवादेखि फोटो, भिडियो खिच्नेसम्मका व्यापार गरियो । फेरि कृषिप्रधान देशमा त कृषि नै गर्नुपर्छ भन्ने सोचेर कुखुरा पालनदेखि खसीपालनसम्म गरियो । तराईका जर्सी गाई पहाड भित्र्याउनुका साथै भारतका होलिस्टेन गाई काठमाडौं ल्याएर दूध पनि बेचियो । तर, सफलता भन्ने कुरा पुस्तकमा पढे जस्तो सजिलो नहुने रहेछ । सबै व्यवसाय केटाकेटीमा बनाएको खोयाका घर जस्तै भयो । त्यसपछि करोडतिरको होइन, रोडतिरको यात्रा सुरु भयो ।

पुँजीवादले ढ्याप्पै ढाकेको यो समाजमा मान्छेको सफलताको मापन गर्ने कसी भनेकै पैसा रहेछ । यो मानेमा म पूर्णरुपमा असफल भएँ । स्थानीय विश्लेषकहरुले त विष्लेषण नै गरे, यो मान्छे कहिल्यै उठ्न नसक्ने गरी ढल्यो ।

पैसा भन्ने चिज नभएपछि साहुहरु सिंह बन्दा रहेछन्, छिमेकीहरु शत्रु बन्दा रहेछन्, आफन्तहरु पराइ हुँदा रहेछन् अनि पँधेरा, चौतारा र भट्टी पसलमा आफू गफको विषय बनिँदो रहेछ ।

आमा पँधेरीमा जाँदा छरछिमेकीले भन्दा रहेछन्, ‘एक/दुई लाख त पैसै हैन !’ त्यसपछि त आमाका आँखा ओभानो हुनै छाडे । मेरी आमालाई पनि त मन लाग्दो हो एक/दुई लाख त पैसै हैन भन्दै पटुकीको छेउमा हजार-हजारका नोट पोको पार्न ।

बा मेलापात जाँदा उहाँका दौंतरीले भन्दा रहेछन्, ‘पोहोर साल शहराँ एक लाख हात घडेरी लिएको, यसपालि त दुई लाख हात पुगेछ ।’

त्यसपछि त बाको मनको पीडा अनुहारमै देखिन थाल्यो । मेरा बालाई पनि त मन लाग्दो हो, शहरमा १०/२० हात घडेरी किनेर आरसीसी प्रविधिबाट घरको पिलर गाड्न ।

श्रीमती शहर बजार झर्दा संगीहरुले भन्दा रहेछन्, ‘बिहे गरेको मान्छे भएर पनि यसरी थुचैबुच्चै हिन्छन् !?’ त्यसपछि त श्रीमतीको अनुहारमा हाँसो र खुसी देखिनै छाड्यो । उनलाई पनि त मन लाग्दो हो, कानमा झुम्काना झुन्ड्याई गलामा छड्के तिलहरी भिर्न ।

यी सब देख्दा यस्तो लाग्यो, मैले अपराध गरेछु कि क्या हो । त्यो अपराधका कारण परिवारले सजाय भोगिरहेछन् । मैले परिवारको खुसी खोसिरहेछु ।

नेपालीको अन्तिम विकल्प भनेकै विदेश रहेछ । देशमा केही नभएपछि मैले पनि अब लाहुर जाने सोच बनाएँ । हुन त मलाई पहिल्यै थाहा थियो, नेपालमा केही गर्नेको भन्दा विदेश जानेको ठूलो इज्जत छ । तैपनि सकेसम्म आफ्नै देशमा केही गरूँ भन्ने चाहनाले परदेशी हुने इच्छा कहिल्यै पलाएन । तर, नेपालमा केही गर्न खोज्यो भने पनि कसैको साथ मिल्दैन, नेपालमै गर्नेलाई त ऋण पनि पत्याउँदैनन् । विदेश जाने भनेपछि एकसे एक हुन्छन् ऋण दिने मान्छे । आजकल त कस्तो हुन थालिसक्यो भने, विदेश नजानेलाई गाउँघरमा मान्छे नै गन्न छाडिसके ।

अझ कमाइ राम्रो हुने ठाउँमा गएको भए त इज्जतै बेग्लै हुन्छ । ‘फलानोको छोराले त शहराँ घडेरी किनेछ नि, भए आफ्नै र नभए हाम्रै आफन्तको केटी पार्न पाए हुन्थ्यो’ भनिहाल्छन् । लाहुरेहरुले पनि विदेशमा जिन्दगी फालेरै भए पनि बजारमा १०/२० हात घडेरी लिएकै छन्, छोराछोरी बोर्डिङमा पढाएकै छन् । ट्याक्क एक/दुई वर्षमा छुट्टीमा आउँछन् । गोरो-गोरो भएकै हुन्छन्, पुट्ट भुँडी लागेकै हुन्छ, मगमग बसाउने भएकै हुन्छन् । गाउँमा दुई/चार जना केटा जम्मा गर्यो, दुई/चार वटा वियर प्वाट्ट फोर्यो, साथिभाइ मक्ख ! गाउँतिरका आमा समूह र क्लबहरुमा दुई/चार हजार सहयोग गर्यो , गाउँ नै मक्ख ! घरमै आउँछन्, खादा ओढाउँछन् अनि समाजसेवी घोषणा गरिहाल्छन् । यस्तो पो जिन्दगी !

यस्तै-यस्तैमा अनेक हन्ठर र ठक्कर खाँदै अन्त्यमा म पनि लाहुरे बन्न कोरिया आइपुगेँ ।

काम सुरु भयो । जुलाई महिनाको गर्मी, त्यसमाथि ८० डिग्रीको तातो पानीमा जिन्स पाइन्ट धुनुपर्ने काम रहेछ । पसिनाले जिउ निथ्रुक्कै । एकछिन काम ढिलो गर्‍यो भने कोरियन चिच्याइहाल्छ, पाल्लि हे खे सेक्या ! ( छिटो गर् कुकुरको बच्चा !)

एक/दुई घण्टा पो छिटो गर्न सकिन्छ काम, पूरा दिनैभरि उही रफ्तारमा कसरी गर्नु ! त्यसमाथि भाषा नबुझेर हैरान ! एउटा काम गर भन्दा अर्को हुन्छ अनि लात उचालिहाल्छ, गोलीभन्दा कडा बोलीले हानिहाल्छ । कति बेला त यति झोंक चल्छ, यसलाई मुक्का हानेर नेपाल फर्किन्छु भन्नेसम्मको सोच आउँछ । रिसै उठेर कति पटक त नेपालीमै गाली पनि फर्काएँ, ए… भोटे कुत्ता … !

‘के भनिस् ? के भनिस् ?’ भन्दै कति पटक त गर्धन पनि समायो ।

खाना खान गयो, एक सय मिटर टाढै गन्हाउँछ । खायो, घाँटीबाट भित्र जानै गाह्रो मान्छ । तैपनि बाँच्नको लागि सकी-नसकी दुई गाँस त कोच्नै पर्‍यो ।

दिनभरि काम गरेर मात्र कहाँ सुख छ र, बेलुका आफैं पकाएर खानुपर्ने । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका साथीसँग मिलेर बस्नुपर्ने ।

कतिपय आफ्नै देशका साथीले पनि नयाँ मान्छे भनेपछि हेपिहाल्ने ! अझ साहु र कोरियनसँग राम्रो बन्नको लागि नेपाली-नेपालीबीच हुने द्वन्द्व त झनै खतरनाक हुँदो रहेछ ।

यी सब देख्दा एकछिन पनि बस्न मन लागेन । सब मान्छे पराइ लाग्न थाले । घरपरिवार र साथीभाइ त हुँदै भए, गाउँघरको ढुङ्गा-मुढाको पनि याद आउन थाल्यो । बाटोमा हिँड्दा ठेस लागेमा गाउँको त्यो ढुङ्गा रुन्थ्यो होला, तर यहाँ मेरो लागि रुने कोही छैन ।

चारैतिर अन्धाकार लाग्न थाल्यो, जीवनमा स्तो दु:ख र तनाव होला भन्ने कल्पना नै गरेको थिइनँ । जीवनदेखि नै ठूलो निराशा बढ्यो ।

समाचार हेर्‍यो, हप्तैपिच्छे नेपाली मरेको खबर मात्र आउँछ । कोही झुन्डिएर मरेका छन् त कोही दुर्घटना भएर । यत्तिकै त तनाव भएको बेला यस्ता समाचार पढ्दा मन अझ खुम्चिने रहेछ । भित्रभित्रै अत्यास लाग्थ्यो, म पनि यहाँ मर्नै आएको रै’छु कि क्या हो ! यसरी नेपालीहरु पालैपालो गरे झैं मरिरहेका छन्, कतै मेरो पालो पनि आउने त होइन ?

नेपाल रहँदासम्म सोच्थेँ, मान्छे किन आत्महत्या गर्छन् होला ? कायर भएर अनि जिन्दगीदेखि हारेर मर्छन् होला । यस्ता मान्छे धर्तीका बोझ हुन् ।

तर, कोरिया आएको एक/दुई हप्तामै मान्छे आत्महत्या किन गर्छ भन्ने आफैंलाई अनुभूति भयो । मान्छे कायर भएर होइन, मानसिक समस्याले ग्रस्त भएपछि, दिमागले काम नगरेपछि बेहोशीमै ज्यान फालिदिन्छ । नत्र त मानसिक रुपमा स्वस्थ मान्छेले कायर भएरै यो अमूल्य जीवनलाई क्षणभरमै अन्त्य गर्न सक्दैन ।

कोरियामा पनि घरपरिवारले दिने तनाव, कोरियनको व्यवहार, कामको लोड र त्यसैमाथि नेपालीले नेपालीलाई गर्ने व्यवहार आदि कारणले मानसिक समस्या बढ्ने र अन्तत: आत्महत्या गरेको देखिन्छ ।

नेपालमै अनेक हन्डर र ठक्कर खाएर मुग्लान पसेको मान्छे यस्ता कुरालाई ठूलो मान्न त हुँदैनथ्यो, दु:ख-कष्ट त सहनै पर्थ्यो । विरानो ठाउँमा आएपछि आफ्नै गाउँघर र पाखापखेरामा घुमे झैं, आमाको काखमा खेले झैं त कहाँ हुन्थ्यो र ! आखिर मन त बुझाउनै पर्थ्यो ।

कहिले मन हलुंगो पार्न कोठाको कुनामा मुख छोपेर रोएँ, कहिले सोजु (कोरियन रक्सी) को सहारा लिएँ, कहिले मध्यरातमा एक्लै सडकको बत्तीसँगै रमाएँ त कहिले मोबाइलका गीतसँग भुलेँ ।

सम्झेँ, गाउँमा निकै सम्मान र इज्जत पाएका ती लाहुरेहरुलाई । फेरि सम्झेँ, परदेशमै पसिना बगाएका ४० लाख युवालाई, अनि मनलाई सान्त्वना दिएँ र चित्त बुझाएँ ।

यसरी महिना बितेपछि तलब आयो । हेरेको त जिन्दगीमा पहिलो पटक सबैभन्दा धेरै पैसा कमाइएछ । महिनाको लाख भनेर आएको, डेढ लाखभन्दा पनि बढी कमाइएछ । मन फुरुङ्ग भयो । हत्तपत्त घरमा फोन गरेँ । घरका मान्छे पनि खुसी नहुने कुरै भएन ।

कोरिया आउनुअघि नेपालमा तालिम लिने क्रममा राई थरका एउटा सरले भन्न त भन्थे, ‘गोर्खे, काम गर्न गाह्रो भो भने फ्याट्ट लाख रुपैयाँ सम्झनू अनि शीतल हुन्छ ।’

साँच्चि हो रै’छ, त्यसपछि त मैले पनि काम गर्न गाह्रो भयो भने लाख रुपैयाँ सम्झिन थालेँ । त्यसपछि त जस्तै काम पनि सहज लाग्न थाल्यो । जसरी पनि काम त गर्नु नै रै’छ, दिन घचेट्नु नै रै’छ । यसरी आज, भोलि, पर्सि गर्दागर्दै दिनहरु बित्न थाले । बिस्तारै साथीभाइसँग घुलमिल हुन थालेँ । काममा बानी पर्न थाल्यो ।

साँच्चि हाम्रो शरीर त मेसिनभन्दा पनि बलवान हुने रै’छ । मेसिन बरु खिया लागेर भाँचिएला, धेरै चलाए तातेर पड्केला । तर, यो शरीर अचम्मको ! जति काम गर्यो, त्यति बलियो हुने । जस्तो गरायो, त्यस्तै बन्ने । काम गर्दागर्दै कहिले शरीर दुख्छ, कहिले बिरामी नै परिन्छ । तर, काम गर्दागर्दै आफैं निको हुन्छ । काम नै बिरामी अनि काम नै डक्टर पो रहेछ !

नेपाल छँदा दुई/तीन घण्टा काम गर्दा नै थाकेर लखतरान पर्ने यो शरीर यहाँ दिनदिनै १२/१४ घण्टा काम गर्दा पनि फूर्तिलो छ । यो जिब्रो पनि त्यस्तै रहेछ, जुनसुकै खानेकुरा पनि खाँदाखाँदै त्यही स्वाद जिब्रोमा बस्ने रहेछ । सय मिटर टाढै गन्हाउने खाना पनि दिनदिनै खाँदा त मीठो लाग्न थाल्ने ।

समय कामैकाममा बित्न थाल्यो । एकदिन आइतवार बिदा बस्दा पनि दिन काट्न गाह्रो लाग्न थाल्यो । आइतवार पनि काम चल्दिए हुन्थ्यो, ओभरटाइम चल्दिए पैसा कमाइन्थ्यो भन्ने लाग्न थाल्यो । आखिर पैसा त दु:खैमा हुने रहेछ । जस्तै दु:ख भए पनि पैसामा रस बस्न थालेपछि काममै रमाउन थाले ।

कम्पनीमा काम गाह्रो भए अनुसार कमाइ कम जस्तो लागेर कम्पनी परिवर्तन गर्ने विचार आयो । तर, कोरियामा कम्पनी परिवर्तन गर्न साहुको स्वीकृति चाहिन्छ । धेरै कामदार भएका ठूला कम्पनीले सजिलै रिलिज पेपर दिए पनि साना तथा कमजोर कम्पनीबाट साहुको स्वीकृति लिनु भनेको फलामको चिउरा चपाउनु सरह नै हुन्छ । अहिले कोरियामा विदेशी कामदारको मुख्य समस्या नै यही हो । काम गाह्रो, जोखिमयुक्त जस्तोसुकै भए पनि साहुले जान स्वीकृति नदिएसम्म जसरी पनि काम गर्नैपर्ने बाध्यता छ ।

साहुको स्वीकृति पाउन मैले हथकण्ठा अपनाउन थालेँ । कहिले सुतेर बस्ने, कहिले हस्पिटल जाने त कहिले काममै अल्छी गर्ने जस्ता अनेक गरेपछि बल्ल एक वर्षमा रिलिज पेपर दियो र कम्पनी परिवर्तन गरेँ । पहिलेको कम्पनीमा दैनिक १२/१३ घण्टा काम थोरै भएर अहिले १६/१७ घण्टा पो काम गर्न थालेको छु ।

नेपाल छँदै सफल हुनलाई यसरी दिनकै १६/१७ घण्टा काम गर्नु पर्छ भन्ने जानेको भए र आफूभित्र यति धेरै मिहिनेत र परिश्रम गर्न सक्ने खुबी छ भन्ने थाहा पाएको भए सायद यतिबेला म नेपालमै स्थापित भइसक्थेँ होला । यसरी कोरिया आउनुपर्दैनथ्यो होला ।

अहिले काम गर्ने कम्पनीको नजिकै खेतमा एउटी बूढीआमा दिनदिनै काम गरिरहेको देख्छु । म बिहान ७ बजे उठेर काममा निस्कँदा उनी काम गरिरहेकी हुन्छिन्, बेलुका काम सकेर म फर्कंदा पनि टनेलभित्र लाइट बालेर काम गरिरहेकी हुन्छिन् । कति बेला सुत्छिन्, कतिबेला उठ्छिन् भन्ने पत्तै हुँदैन । खेतमा खुर्सानी, साग र अन्य विभिन्न तरकारी लगाएकी छिन् । हामी आइतवार बिदा बस्छौं । तर ती आमालाई बिदा भन्ने थाहै छैन ।

एकदिन कुरा गर्न मन लाग्यो र उनी नजिक गएँ । सोधेँ, ‘कति वर्ष पुग्नुभो ?’

उनी त ९० वर्षबाट पनि उकालो लागिसकिछिन् । तरकारी लगाएर कति कमाउनुहुन्छ भनेर सोध्दा मासिक सरदर नेपाली दुई लाखभन्दा पनि धेरै कमाउँछिन् रे ।

वाह ! यो उमेरमा पनि क्या मिहिनेत छ, क्या कमाइ छ !

डाँडामाथिको घाम भएकी छिन्, कति बेला अस्ताउने हो थाहा छैन । तर पनि अहोरात्र काम गरिरहेकी छिन् । यी आमैले नेपालीको जस्तो बिस्तरामा थला परेर होइन, त्यही तरकारी बारीमै ढुंगा, माटो, साग र खुर्सानीसँगै लडिबुडी खेल्दाखेल्दै जीवनको अन्त्य गर्नेछिन् ।

यी आमा नेपालमा हुन्थिन् भने ‘यो छुची बूढी मर्ने बेलामा पनि कति काम गरेको ? कति दु:ख गरेको ? कति लोभ गरेको हो ?’ भनेर मान्छे नै गन्दैनथे । तर, यहाँ कामलाई पूजा र सम्मान गर्छन् । आज यस्तै बूढी आमाले गर्दा एकै पुस्तामा कोरियाको विकास सम्भव भएको छ ।

त्यसैले त मैले आजकल बिल गेट्सलाई होइन, यिनै बूढीआमालाई आफ्नो आदर्श मान्न थालेको छु । वारेन वफेट, अम्वानी र विनोद चौधरीका सफलताको सूत्र होइन, धूलोमैलो, मिहिनेत र पसिनालाई पढ्न थालेको छु । यसैले त मलाई सफलताको अनुभूति मिल्दै छ ।

यिनै बूढी आमाले जस्तै मिहिनेत र परिश्रम गर्न सिकेपछि त म पनि आमाको पटुकीमा हजार-हजारका नोट पोको पारिदिन सक्ने भएको छु । बा कै लागि भए पनि बजारमा घरको पिलर गाड्न सक्ने भएको छु । अनि श्रीमतीको कानमा झुम्काना र गलामा छड्के तिलहरी झुन्ड्याइदिन सक्ने भएको छु ।

त्यसैले आजकल मलाई आमाको काखभन्दा कोरियाको लाख प्यारो हुन थालेको छ । कारण, यही लाखमा नै आमाको खुसी, बाको मुस्कान अनि श्रीमतीको माया लुकेको छ ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com