फूलमान वल

सम्झनामा वारि जमुना...
[2016-08-28 오후 8:50:00]

कुनै समय संखुवासभाको खाँदबारीतिर एउटा मान्छे मादल बजाउँदै घुमिहिँड्थे । उनको नाम थियो, पिनासे सार्की । दसैंको बेला त उनी घरघरै गाउँदै हिँड्थे । गाउनु अघि लामो स्वर तानेर ‘अहम्’ भन्दै खोक्थे अनि भाका झिक्थे । प्राय: उनले गाउने भाका हुन्थ्यो– ‘हाऽऽऽऽ वारि जमुना पारि जमुना, जमुनाको फेदैको मनकामना....।’

अरूण उपत्यकाको यो चर्चित लोकभाकालाई कान थापेर नजिकबाट सुन्दै हुर्केको मध्ये मोटो ज्यानधारी एउटा केटो पनि थिए । उनी थिए, खेमराज गुरुङ । यिनै खेमले कालान्तरमा त्यही लोकभाकालाई व्यवस्थित रूपमा एल्बममा ल्याए । ‘पिनासे सार्कीबारे अहिले पनि खाँदबारीतिर कुरा हुन्छ’, खेमको चर्चित गीत ‘वारि जमुना...’मा सँगै टिमवर्क गरेका संगीतकार पारस मुकारुङ सम्झिन्छन्, ‘मादलको गर्रा तालमा आधारित यो पूर्वको निकै लोकप्रिय भाका हो ।’

यिनै लोकप्रिय भाकालाई देश–देशावर फैलाउने गायक खेमराज गुरुङको भने बिहीबार चोला उठ्यो । ‘खेमले यो गीत गाउनुअघि सुरुमा लामो स्वर तानेर खोकेका छन् नि, त्यो पिनासे सार्कीको क्यारिकेचर थियो’, आफ्नो मित्रको निधनमा भावुक बनेका मुकारुङले भने, ‘पछि खाँदबारीको बार्‍हविसे मेलामा जाँदा पिनासेको व्यापक चर्चा भएको पाएँ ।’

अरूण उपत्यकाकै हाक्पारे शैलीबाट प्रभावित यो गीतमा पूर्वमा प्रचलित मादलको गर्रा ताल प्रयोग गरिएको छ, जुन नेपाली लोकसंगीतकै पहिलो प्रयोगको रूपमा दाबी गर्छन्, मुकारुङ । यो गीत रेकर्ड भएको थियो २०५६ तिर, पुतली सडकस्थित शम्भु राईको श्रद्धा रेकर्डिङमा । यही गीत समेटिएको एल्बम ‘जीवन भाग २’ मा मुकारुङले पनि दुइटा लोकगीतमा संगीत भरे, ‘भेडेटार पारि छ, राजारानी गाउँ...’ र ‘घुम्दा-घुम्दै भेटैमा भयो...’ । आधुनिक बजारमार्फत पसिरहेको बाहिरिया संगीतको प्रभावको समय लोकशैलीको गीतलाई व्यावसायिक रूपमा संसारभर पुर्‍याउन महत्त्वपूर्ण योगदान दिएका खेमराजको सम्झनामा मुकारुङजस्ता थुप्रै संगीतकर्मी र संगीतप्रेमीहरू यतिबेला भावुक छन् ।

अस्पतालका अन्तिम क्षण
तीन दिनअघि गायक खेमराज गुरुङका बालसखा दीपेन्द्र बान्तवा चावहिलस्थित मेडिकेयर पुगेका थिए । सानो छँदा लात्ती जुधाइ खेल्दै संखुवासभा खाँदबारीमा हुर्किबढेका यी दुई अनन्य मित्र थिए । ‘त्यो भेट नै अन्तिम बन्यो’, खेमराजको सांगीतिक करिअरसित समेत जोडिएका सञ्चारकर्मी बान्तवाले भने, ‘उनको लिभर पुरै ड्यामेज भइसकेको थियो ।’

अस्पतालमा खेमराजको पहिलो यात्रा थिएन । यस अघि उनी दुईपटक जन्डिसले थलिएका थिए र अस्पतालमा लामै समय बसेका थिए । कहिल्यै हरेस नखाने, हठ्ठा–कठ्ठा र उज्यालो अनुहार बोकिहिँड्ने उनी यसपटक हतासिएका थिए । आँखाभरि आँसु पार्दै दीपेन्द्रलाई उनले भनेका थिए– ‘म निको हुन चाहन्छु । डाक्टरहरूलाई भनिदिनु । म अब रक्सी खान्नँ ।’ दीपेन्द्रका अनुसार भारतमा उपचारका लागि लैजाने तयारी पनि भइरहेको थियो । एयर एम्बुलेन्स बुकिङ हुँदाहुँदै खेमराज आन्तरिक रक्तस्रावको सिकार बने । सदाका लागि बिदा भए ।

राजनीतिबाट संगीततिर
सानैदेखि खेमराज स्वछन्द वातावरणमा हुर्की बढे । नाच्न र गाउन भनेपछि तम्सिहाल्ने । दीपेन्द्रका अनुसार अर्को विशेषता पनि थियो उनको– अन्याय नसहने र त्यस्तोमा लडभिड गर्न पनि अघि सर्ने । २०३३ माघ १ मा खाँदबारीमा जन्मेका थिए, उनी । बुबा अमृतबहादुर गुरुङ, आमा तुलसीमाया । बुबा ब्रिटिस लाहुरे, रसिक थिए । त्यही भएर पनि खेमराजले परिवारको साथ-सहयोग राम्रै पाए । ‘खेलकुद र गानाबजानामा उनी निकै अब्बल थिए’, दीपेन्द्र संझिन्छन्, ‘उनी हाम्रो समूहकै शान थिए । कविता पनि लेख्थे र हामी उनलाई आसु कवि भन्थ्यौं ।’

उनको यस्तो आसु कवित्व सुरुमा बिस्तारै राजनीतितिर मोडियो । २०४६ पछिको खुल्ला राजनीतिको तातोले गाउँघर छोएकै थियो । यो पार्टी र त्यो पार्टीको नाममा समाज विभाजित बन्दै थियो । यस्तैमा २०४८ को आमनिर्वाचन भयो । बुथ कब्जा र पार्टीगत झैझगडा सामान्य समाचार बन्न थाले । ‘यही बेला एउटा ठूलो घटना भयो’, दीपेन्द्र सम्झिन्छन्, ‘बुथ लैजाने क्रममा झगडा हुँदा स्थानीय कांग्रेस कार्यकर्ताको मृत्यु भयो, एमाले नेता डेढराज खड्कासहित खेम पनि पक्राउ परे । तर उनी निर्दोष थिए । चार वर्षपछि अदालतले पनि यही पुष्टि गर्‍यो ।’

तर कारागारको चार वर्ष खेमका लागि ‘सिर्जनशील फुर्सद’का समय रह्यो । यो समय उनले आफूलाई निखार्न प्रयोग गरे । अध्ययन, लेखन र गायनमा उनी झन् निखारिएर निस्के । जेलबाट निस्कँदा उनी गायकको छविमा थिए । लगत्तै उनी काठमाडौं आए र पहिलो एल्बम निकाले, ‘जीवन भाग १’ । यो एल्बमका लागि उनलाई हङकङ बस्दै आएका मामा जीवन गुरुङले सघाए । जीवनले पैसा दीपेन्द्र बान्तवाकै नाममा पठाएका थिए । ‘पहिलो एल्बम सफल नभएपछि उनी लोकगीतको स्वाद मिसाएर अर्को एल्बमको तयारीमा जुटे’, दीपेन्द्र सम्झिन्छन् ।

दोस्रोमा पनि उनलाई मामा जीवनले नै सघाए । केही वर्षपछि जीवन नेपाल फर्के, विद्यार्थी राजनीतिमा लागे र आरआर क्याम्पसको स्ववियु सभापति बने । यतिन्जेल खेमराजचाहिं मनोज गजुरेलहरूसित एमाले अखिलको उपत्यका सांस्कृतिक केन्द्र (उसाक) का सदस्य हुँदै सचिव बनिसकेका थिए । सुरुवाती चरणमा ‘जनवादी’ गीत/संगीतमा पनि काम गरेका उनले उसाकको एल्बम ‘अभिवादन’मा पूर्वतिरकै भाका समातेर ‘भारी बोक्ने भरियालाई कसले भन्छ कठैबरी लै...’ सोलो गाएका थिए भने तुलसा वाइबा र इन्दिरा योञ्जनहरूसित मिलेर ‘बिहानीको घामजस्तै रातो...’ लगायत आधा दर्जन गीत पनि गाएका थिए ।
‘जब वारि जमुना पारि जमुना...रातारात हिट भयो, त्यसपछि खेमराजको दायरा फैलियो । देश–विदेशमा डिमान्ड बढ्न थालेपछि उनको राजनीतिक सक्रियता कम भयो’, अखिलका तत्कालीन केन्द्रीय रचनात्मक क्रियाकलाप विभागका प्रमुख तथा गीतकार राजन राई भन्छन्, ‘सेलिब्रेटी भए पनि उनमा घमन्डीपन भने कहिल्यै पैदा भएको देखिन । उनी भलादमी स्वभावका थिए ।’

रक्सी र खेमराज
स्वभावले भलादमी भए पनि खेमराजको एउटै कमजोरी थियो, रक्सी । उनको खानपानबारे कलेजतिर पनि हमेशा चर्चा हुन्थ्यो । ‘सोल्टी’, ‘धरान पोखरा’, ‘आलुतामा’, ‘घुमफिर’ लगायतका दर्जन एल्बम निकालिसकेका यी स्रष्टालाई म्युजिक नेपाल पुरस्कार, छिन्नलता युवा प्रतिभा पुरस्कार, हिट्स एफएम रेकर्ड अफ दि इयर, म्युजिक नेपाल दशक पुरस्कार, प्रबल गोर्खा दक्षिण बाहु चौथो, लोकगीतका लागि सर्वोत्कृष्ट इमेज अवार्डजस्ता थुप्रै मानसम्मानले पछ्याए, यिनले भने रक्सी पछ्याउन छाडेनन् । ‘त्यही कारण आज हामीले उनलाई गुमाउनुपर्‍यो’, दीपेन्द्र भन्छन्, ‘४० वर्षको उमेर भनेको निकै कम हो ।’

पहिलेदेखि नै पिउने भए पनि दीपेन्द्रका अनुसार ‘पछि रातारात सेलिब्रिटी बनेपछि उनी रक्सीप्रति बढी नै उदार’ भएका थिए । साथीभाइसित भेटघाट गर्ने, रक्सी खुवाउने, खाने र रमाउने विस्तारै उनको दैनिकी बन्न थाल्यो । ‘म चाहिँ भेट हुने बेला गाली गर्थें प्राय:’, दीपेन्द्रले सम्झिन्छन्, ‘त्यही भएर यो मामलामा उनी मसित अलिक हच्किन्थे र प्राय: मसित भेट हुँदा तातोपानी खाएर बस्थे ।’

रक्सीकै कारण खेमराजलाई चार वर्ष अघि जन्डिस भयो । एकाध महिना पिउन छाडे, तर फेरि सुरु भयो, मदिराको लत । परिवार र साथीभाइको सुझावमा खेमराजलाई पत्नीले हङकङ लिएर गइन् । २०५७ मै उनको बिहे भएको थियो र दुईजना छोरा थिए । शानशौकात सहित विन्दास जीवन बिताइरहेका खेमराज हङकङमा रम्न सकेनन् र तीन महिनामै फर्किए । फेरि दोस्रोपटक जन्डिस भयो । चावहिलको मेडिकेयर अस्पताल आइपुग्नु अघि उनलाई दीपेन्द्र, बेलायत बस्ने दिदी चञ्चला र परिवारकै पहलमा बालाजुस्थित कार्कोन रिह्याव सेन्टरमा लगिएको थियो । तर, उनी बाँचेनन् ।

दिलदार मान्छे
भलादमीपन सँगसँगै खेमराजको अर्को स्वभाव थियो– सहयोगी भावना । दीपेन्द्रका अनुसार उनी एकदमै उदार र साथीभाइका लागि ज्यानै दिन तयार हुने स्वभावका थिए । खाँदबारीमा छँदा एकदिन दीपेन्द्र र खेमराजहरू पौडी खेल्न गए । तर पाङमा खोलाको दहमा दीपेन्द्र डुबे, सबैजना हेरिमात्रै रहे, ज्यानै माया मारेर खेम दहभित्र पसे र दीपेन्द्रलाई निकाले । ‘यस्ता थिए उनी’, दीपेन्द्र भावुक बने, ‘यति दिलदार कि उनलाई उपहारस्वरूप आएका मोबाइल, ल्यापटप र घडीहरूसमेत बाँडिदिन्थे । पैसा छैन भने रक्सी खाँदाको बिल आफ्नो नाममा उधारो राख्थे, साथीहरूलाई तिर्न दिँदैन थिए ।’

दीपेन्द्रका अनुसार गाउँका थुप्रै स्कुलहरूलाई खेमराजले चन्दा दिएका थिए र काठमाडौं, संखुवासभा र पोखराका गरी दसजना अनाथ बालबालिकालाई पनि पढाइरहेका थिए ।

अन्तिम फोन
केही अघि एकसाँझ एउटा फोन आयो । खेमराज गुरुङको थियो त्यो । उनी आफ्नो ‘घुमफिर’ एल्बम सफल भएको र अब मुलुकको पर्यटकीय र सांस्कृतिक महत्त्वको थलोहरूमाथिको एल्बम गर्न लागिरहेको र यसले मुलुकको पर्यटन प्रबर्द्धनमा सघाउने बताइरहेका थिए । केही पछि नै भेट हुने सल्लाह भयो । तर हुन सकेन । दुर्भाग्य ! अब कहिल्यै भेट हुने छैन ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com