डोलु आले मगर

कोरिया आउने हो भने डिग्रीको घमण्ड आर्यघाटमा सेलाएर आउ
[2016-06-13 오전 9:07:00]

करिब करिब टाउको छोइन लाग्ने टिनको छाप्रो हालेको एउटा ब्लकको कोठा, ३ जनाको भागमा पच्चीस सयलाई बाड्नु पर्थ्यो। वर्षातमा धमिलो पानी आउंथ्यो, हिउंदमा २-३ सम्म पनि पानी आउंदैन थ्यो। कहिले काहीं भान्सामा मांसाहार को रहरले बोइलर कटपिस् पाक्थ्यो।

बाबाले सानैमा टुहुरो बनाएर गए पछी घर व्यवहार,खेतीपाती र हामी चिचिलाहरुलाई हुर्काउने जिम्मेवारी बज्यै र आमाकै थियो। बाजेको बिर्ता थाम्दै तीन जना दाइहरु जम्मु काश्मीर तिर जय गोर्खे भन्न पुगिसकेको थियो र एकजना दाइ कतारतिर चर्कोघाम खान। र त खर्चको जोह हुन्थ्यो हाम्रो।

बाजे दोस्रो विश्वयुद्धमा बर्मामा, बेलायतको तर्फबाट जापान विरुद्ध दुवो र केराको गाबा खाएर गोर्खे खुकुरी नचाएर रिटायर्ड भएपछी पाउने पेन्सन बज्यैको भागमा छोडेर संसार छोड्नु भएको रहेछ। भारत छोड आन्दोलन पश्चात बेलायतले भारत छोड्नुपर्ने भए पछी बाजेको भागमा पाउण्ड परेनछ। अठहत्तर साल उमेर नाघेको बज्यैले पाउने आइसी पेन्सनले कोठा भाडा र पढाइ खर्च चल्दै थियो, तर बज्रपात भयो बज्यैले असी नाघ्नु भएन।

तीन जना मध्ये एक जना मित्र गाउकै स्कुलमा निजिस्रोत बाट पढाउने जागिर पाए पछी कुलेलाम ठोके र अहिले शिक्षक सेवा आयोग लडेर स्थायी भएका छन्। अर्को मित्र साँझ छिटो सुत्ने र बिहान सबैरै उठेर पढ्ने बानीले गर्दा सुतिसकेका थिए। त्यहि छाप्रोको भित्रको भित्तामा टाँगिएको थियो १६ घण्टे लोडसेडिङको पर्चा। खुट्टा हल्लिएको एउटा टेवल, टेवल माथि बल्दै गरेको मैन मधुरो प्रकाश छर्दै गल्दै थियो र त्यो मैनको अगाडी भविष्यको उज्यालो खोज्दै थिएँ म र मेरो अगाडी थियो असरल्ल अव्यवस्थित किताब र कापीहरु। बाहिर अन्धकार रात संगै भ्यागुता र तीतीर्काको ट्वाँर ट्वाँर .. क्यार..क्यार..र माथि छानोमा सुसाहरुको दौड प्रतिष्पर्धा चलिरहन्थ्यो।

बादल भित्र हराएको काग जस्तै बनेर मैनको उज्यालोमा म खोज्दै थिएँ भविष्यको उज्यालो। व्यवस्थापन विषयको विधार्थी आफ्नै जीवन अस्तव्यस्त र अव्यवस्थित थियो। बिजनेस स्टाटिक्स, एकाउन्ट र फाइनान्स को किताब पल्टाउदै कापीमा लामो लेजर र टेवल बनाएर अरुको कम्पनीको नाफाघाटा, सम्भाव्यता,निर्णय लिने आधार ,सूचांक, आदि इत्यादिको हिसाबकिताब गर्दै गर्दा आफ्नै जीवनको नाफाघाटा बेहिसाब बन्दै थियो। अर्थशास्त्रको नियम र सिद्धान्तहरु पढ्दै गर्दा आफ्नै जीवन जिउने नियमहरु रनभुल्लमा पर्दै थियो। “बिजनेस ल” मा करार, सम्झौता, नासो, धरौट,जस्ता टपिकहरु पढ्दै गर्दा आफ्नै जीवन करार र सम्झौतामा पर्दै जवानी नासो र धरौट गुमाउंदै जीवन लिलामी बन्दै गरेको आभाष हुन्थ्यो। मार्केटिङ गर्ने पाठहरुले आफ्नै जीवनको दैनिकी मुल्य पाउंदैन थ्यो।

पढेर केहि गर्छु र बन्छु भन्ने केहि निधो थिएन, गरेर हुने पनि त होईन रहेछ। तर पनि शिलशिला जारि थियो। कलेजमा साथीहरुबीच कुराकानी हुन्थ्यो पढेर के गर्ने ? नेपालमा पढेर कामै छैन जागिर पाउनै मुस्किल छ। बरु विदेश तिर लागे केहि कमाइन्छ होला यो कलेज सलेज हल्लिएर बस्नु भन्दा त्! साथीहरु संगै गफिदा त् हाँसो मजाक जे पनि हुन्थ्यो। तर जब त्यो छाप्रो भित्र फर्किए पछी सुरु हुन्थ्यो भविष्यको खोजाइ।

बि.बि.एस तेस्रो वर्षको परिक्षा नजिकिदै थियो र सबैतिर कोरियाको हल्ला चल्दै थियो। दायाँबाँया कति साथीहरुले कोरियन भाषा पढेको पनि एकडेढ महिना बितिसकेको थियो। दुवईको (UAE) “इमारट” पेट्रोल कम्पनीमा मेडिकल फेल भएर जान नपाए पछी मेरो कलेज पढाइ अगाडी बढ्दै थियो। र कोरियामा पनि मेडीकल अनफिट हुन्छु होला भन्ने सोंचले के गर्ने नगर्ने अनिर्णयको बन्दीमा थिएँ। कोरियामा रहेको एकजना मित्रमार्फत छातीमा भएको सामान्य दागले खासै असर नगर्ने भन्ने खबर पाए पछी सुरु भयो जसरि हुन्छ अब कोरियन भाषा पास गर।

करिब १८ घण्टा काठमाण्डौ गौशालामा लाइन बसेर फारम भरेपछि, भाउजुले घर खर्च राख्नु भएको पैसा बोकेर ल्याएँ र पोखराकै एउटा इन्स्टिच्युट मा भर्ना भएँ। र सुरु भयो हानगुकमाल घोक्ने काम। भित्ता भित्तामा पोस्टर जस्तै कोरियन भाषाहरु छापियो। झ्याल, ढोका, पर्दा, टेवल, भान्सा, भाँडाकुँडा, खाट, सिरक, सिरानी, क्यालेन्डर जताततै रंगिए कोरियन शब्दहरु। मोवाइलको मेमोरीबाट डिलिट भए नारायण गोपाल, अरुणा लामा, र अरुण थापाको बिरही गीतहरु र भरियो कोरियन भाषाका बेसंगित आवाजहरु। बाटो हिड्दा,खाना पकाउँदा,लुगा धुँदा, सुत्दा र ट्वाइलेट जाँदा सम्म पनि ठोसियो कानमा इयरफोन र गुञ्जियो कानमा आन्यङहासेयो, ईगसुन, इम्निका,इस्सुम्निदा आदि इत्यादी।

खासमा यस्तै मिहेनत गरेर कलेजको विषयहरु पढेको भए पनि एउटा अक्सर विधार्थी भन्दा माथि पक्कै गनिने थिएँ होला। तर कलेजको पढाइमा यसरि मेहनत कहिल्यै गरिएन। नेपालमा पढेर पनि के गर्ने भन्ने मानसिकता ले हो। नैराश्यताको कालो बादलको धब्बाले दिमाग छोपेको भएर पनि हुन् सक्छ। एस.एल.सी भन्दा पछाडी कहिल्यै पढाईमा त्यसरी मेहनत गरिएको थिएन।

करिब डेढ महिनाको तयारीमा भाषा परिक्षा दिएँ। रिजल्ट आयो पास भएँ। खुसि भएँ तर मनमा एउटा छेस्को थियो “कोरिया भाषा पास हुनु भनेको कोरिया जान पाउनु होइन”। कलेजको तेस्रो वषर्को परिक्षा तालिका पनि आइ सकेको थियो। भाषा परिक्षा पास भए पछी काठमाण्डौ टिचिङ हस्पिटलमा मेडिकल गर्न गएँ र फेरी उही पुरानो दाग देखियो कतै यहि कारणले कोरिया जान नपाउने हो कि भन्ने शंकाहरु उब्जिए,चिन्ता बढ्यो तर केहि झिनो आशा थियो। मेडिकल गरेको पर्सिपल्ट कलेजको परिक्षा थियो। पोखरा फर्किएँ र परिक्षा दिएँ र सकिएर गाउँ गएर बसें र विहे गरियो।

कोरियाको लागि लेबर कन्ट्रयाक्ट (श्रम सम्झौता) झर्न सुरु भएको थियो। बाँझा बारीहरु चिर्ने समय बिहानै नारेको गोरु टन्टलापुर घामले धपरी पर्दै थियो हलि र गोरु। घडीले एघार बजाएर मध्यान्ह तिर घाम उक्लदै थियो। काभोरोको घाँस गोरुलाई हालिदिए र त्यहि काभोरोको शितल छहारीमा बसेर पसिना पुछ्दै सोंचे कोरिया पुगेर यति पसिना बगाउन पाइयो भने त् जीवन अवश्य उकासिन्छ होला। कोरिया गएर धेरै त् होइन कम्तिमा पचपन्न-साठी हजार कमाइ गरियो भने चाहिं चित्त बुझाउनु पर्छ। गोरुको काँधबाट नारा जोताहरा फुकाएर घर फर्किएँ र श्रीमतीले पकाएको दालभात खाएर पटाहमा (पिंढी) आराम गर्दै गर्दा मोवाइलबाट इपिएस साइटमा छिरें। लेवर कन्ट्रयाक्ट चेक गरे लिस्टको अन्तिमतिर नाम देखे पछी खुसीले आगनमा फनफनी नांचे सारा संसार जितेको झैँ गरि। तल्लाघरका केटाकेटी हाँसे, जुठेल्नोमा भाँडो माझ्दै गरेकि श्रीमतीले खिस्स हाँसिन!

आमा बिरामीले थलिएर भरतपुर मेडिकल कलेजमा आइ.सी.युमा भर्ना हुनुभएको थियो। दाइभाउजु र भाइहरु आमाको कुरुवा हुन्थ्ये। म अइचो र पैचो गर्दै काठमाण्डौ दौडधुप गर्थ्ये। र भरतपुर हस्पिटलमा आमालाई भेट्न जान्थ्ये। एक रात म पनि विरामी आमाको कुरुवा बसें। बेलाबेलामा अनुमति लिएर आइ.सी.यु छिर्थ्यें, सलाइन पाइपले उल्टो रगत तानिरहेको देखेर किन यस्तो लापरबाही? भन्दै नर्सलाई खबर गरें नर्स उल्टो रिसाएर हामीलाई सिकाउनु पर्दैन भन्दै कराए। आमाको त्यो हालतमा म मुर्दा थिएँ केहि गर्न सक्ने अवस्था म जवान छोरोको थिएन, म लाचार थिएँ। एक जना म जस्तै विरामी कुरुवाले ल्याएको झमक घिमिरेको किताब “जीवन काँडा कि फूल” त्यो रात पढेर सिध्याएँ। त्यो किताबले मलाइ दुख र पिडामा जिउने थप साहस र उत्प्रेरणा दियो।

गाउँ गएँ केहि दिन पछी काठमाडौंमा अभिमुखिकरण तालिममा जानुपर्ने भयो हस्पिटलबाट आमालाई डिस्चार्ज गर्ने खबर आयो। आमालाई गाउँ ल्याउने कुरा थियो त्यसैले गाउँबाट नै हरि दाइको, मेरै मित्र केशवले चलाउने जीप रिजर्व गरेर भरतपुर गएँ र त्याहाँ बाट काठमाण्डौ तालिममा पुग्ने निधो गरें। हस्पिटलको प्रागणमा पुगेपछि जिपबाट ओर्लिए जेठो दाइको फोन आयो तिमी त्यहींबाट फर्कनु काठमाण्डौ जानु, माथि नआउनु। दाइको कुरा सुनी सकेपछी मेरा आँखाहरु आँसुले भरिसकेको थियो। रुदै प्रश्न गरे किन? एक पटक आमालाई भेटेर फर्कन्छु। तिमी कुरा बुझ्ने छौ भाइ तिमी माथि नआउनु र सिधै काठमाडौँ जानु। म हस्पिटलको बार्दली बाट तिमीलाई हेर्दै छु तिमि जाउ….जाउ..जाउ… !!

दाइको कुरा काट्न सकिन। लाग्यो अब आमा हामीसंग रहनु भएन। रुँदै ट्याम्पो चढेर पुल्चोक आइपुगे र माइक्रोबस चढेर काठमाण्डौ आउंदै गर्दा बीच बाटोमा पुगेपछि दाइले फोन गरेर भन्नु भयो अब आमा हामीसंग हुनुहुन्न। तिमीले आफुलाई कम्जोर नबनाउनु। तिम्रो तालिम सकिएर आउनु र ९ दिन देखि आमाको कर्मकाण्डमा बसौला। शोकमा डुब्दै गरेको काठमाण्डौ यात्रा निकोपर्सिपल्ट देखि तालिम सुरु थियो।

तालिम गर्दै गर्दा सी.सी.भी आइ आयो। एक हप्त्ते तालिम सकिन २ दिन अगावै म आमाको कर्मकाण्ड बस्न जानुपर्ने निवेदन दिएँ र गएँ। सात भाइमा एक दाइ विदेश भएको कारणले आमाको क्रिया कर्ममा बस्न सक्नु भएको थिएन र म ९ दिन देखि बसें। आमाको अन्तिम कर्मकाण्ड सकिएर गाउँ गएँ। केहि समय पश्चात कोरियाको उडान तालिकामा मेरो नाम परेछ। आमा गुमाएको पीडाको विच खुसि ल्याएन त्यसले।

त्यसपछि फिलिली कोरिया उडियो। कोरियामा थ्रीडी को काम (dirty,danger and difficult) गर्नुपर्छ भन्ने त् थाहा थियो। पैसा हो पैसा भएपछी जस्तोसुकै काम पनि गरिन्छ भन्ने मनमा हिम्मत थियो। ज्यानमा बल नभए पनि। ५०-६० हजार मासिक बच्यो भने त् सन्तोष गर्छु भनेर आएको म कोरिया आए पछी त्यो सोच हरायो। कम्पनीमा काम खासै चलेको थिएन। एक जनाले गर्नुपर्ने काम म सिकारु सहित दुइ जनाले गर्दा सजिलै लाग्थ्यो। यताउति साथीहरुको गफ र कमाइ सुनेपछि लाख केहि होइन भन्ने लोभ लाग्यो। यता उता बुझ्दा साथीहरुले दुइ ढाईलाखसम्म कमाउने कुरा गर्यो (खासमा कम्पनि चलेको सिजनमा र धेरै ओटी गरेको बेलामा मात्र हुने रहेछ)। मेरो मनमा कम्पनि चेन्ज गरेर धेरै कमाउने कम्पनीमा जाने हुत,हुति बढ्यो। कम्पनि डे-नाइट चलिदिए हुन्थ्यो जस्तो लाग्यो। करिब ५ महिना पछी कम्पनीमा डे-नाइट चल्ने भयो दुइजनाको काम एक्लैको भागमा पर्यो। त्यसपछि सुरु भयो असली कोरिया। काम गर्ने समय र पाउने तलब साथीहरुलाई सुनाए काम अनुसार दाम भएको भनेपछि अरु अशन्तुष्टी बढ्दै गयो। कतिले कम्पनि चेन्ज गर्न सुझाव दिए। मैले कम्पनीमा कुरा राखें र केहि हिसाब मिलाइयो।

खाना खाना पनि समय नपाईने। मुखमा गास हाल्दै गर्दा सिक्ताङको झ्यालबाट कम्पनि भित्र मेशिन ठिक चलेको नचलेको हेर्नु पर्ने। खासमा मेरो डिपार्टमा खाना खाने छुटै समय थिएन। यी कोरियन मालिकहरु, कामदारले खाना पनि छिटो छिटो खाइदिए हुन्थ्यो भन्ने सोच्दा हुन्, दिसा पिसाब गर्न ट्वाइलेट पनि नगैदिए हुन्थ्यो जस्तो सोच्दा हुन्, यिनीहरु कहिल्यै थाक्दैनन जस्तो सोच्दा हुन्, त्यो कुरा कोरियनको व्यबहारले पुष्टि गर्छ। मेशिनमा खराबी देखिए बिग्रिए पनि हाम्रै दोष हुन्थ्यो। काम गाह्रो भन्दा पनि कतिपय अवस्थमा मालिकहरुले गर्ने व्यवहारको कारणले गाह्रो बनाउने रहेछ।

यस अवधिमा धेरै नेपालीहरुले आत्महत्या गरेको, कम्पनि दुर्घटनामा परेर मृत्यु भएको, सडक दुर्घटना तथा अन्य थुप्रै कारणले मृत्यु भएको खबरहरुले पिडा दियो र दिन्छ। हामीलाई नेपालमै थाहा भएको कुरा के हो भने हामीले कोरिया गएर गर्ने काम भनेको साधारण कामदारको रुपमा हो। हाम्रो पढाइ र डिग्रीको कुनै भ्यालु हुँदैन। तर यति बुझ्दा बुझ्दै पनि पढाइ अनुसार कामको स्तर नमिलेको भन्दै ग्लानिबोध गर्नु व्यर्थ छ।. कसैले डिग्री गरेको घमण्ड पालेर कोरिया आउँछन् भने बिन्ति त्यो घमण्डलाई आर्यघाटमा सेलाएर आउनु। खासमा काम भनेको यो स्तर र त्यो स्तरकोले गर्ने/हेर्ने र बुझ्ने हाम्रो कमजोरी हो र हाम्रो देश नेपालमा कामको सम्मान नहुनु र परिणाम देशको विकास नहुनु जस्तो लाग्यो।

कहिले र कसरि पांच वर्ष कटाउने होला भन्ने कोरिया लेबरको भिसा अवधि क्रमश छोटीदै छ। मनमा एक खालको छटपटी बढ्दै छ अब अगाडिको बाटो के हो ? प्रश्न अनुत्तरित छन्। नेपालको परिस्थिति हिजो जस्तो थियो उस्तै छ। म यो परिस्थितिलाइ दोष दिएर कहाँ भागौं? आफन्त,साथीहरुले सोध्छन् भिसा सकिएर फेरी कोरिया जान पाउँछ कि पाउंदैन? इलिगल बसेर काम गर्न पाउँछ रे नि! कम्पनि चेन्ज गरेको कि नगरेको ? कम्पनीले फेरी बोलाउँछ होला नि? अचेल यस्ता प्रश्नहरु धेरै झर्छन् फेसबुक म्यासेज तिर।

कलेज पढ्दै गर्दा मैले धेरै साथीहरुलाई भन्ने गर्थ्यें यार तिमी त् बरु बेलैमा विदेश गएर कमाइ गरेका छौ, राम्रो गरेउ, हामी त् यस्तै हल्लौरे भैयो। अचेल साथीहरु मलाइ त्यस्तै भन्ने गर्छन्। संगै पढेका केहि साथीहरु कोहि डिग्री गरे, कोहि अस्थायी शिक्षक र कोहि बोर्डिंग, बैंक तिर जागिर गरेको कुराले निक्कै डाहा हुन्थ्यो र हुन्छ मनमा। तर हेर्दा हेर्दै ति साथीहरु पनि कोहि दुवै कतार तिर राम्रो कम्पनि तिर पुगेछन, कोहि अध्यन भिषामा जापान त् कोहि युके अस्ट्रेलिया पुगेछन।

अस्ति भर्खर डिग्रीको सर्टिफिकेट लिएर निजि विधालयमा अध्यापन गराउंदै आएका एक जना मित्रले भन्दै थियो यार तिमीले त् कोरिया बसाइ पुरा गर्न लागेउ तर म पनि कोरिया आउंदै छु श्रम सम्झौता आयो। मैले भने आउ कठिन श्रम र साहुको गालीहरु पचाउन सक्ने गरि आउ। करिब साठिलाख नेपालीहरुले विदेशमा दुख गर्दै गर्दा तिमी हामीले गर्न नसक्ने भन्ने त् होइन तर डिग्रीको घमण्ड छ भने आर्यघाटमा सेलाएर आउ।




Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com