Bimal Sitaula

टोपी
[2016-04-13 오후 7:31:00]

आफू सुत्ने कोठाभित्र पर्खालमा झुन्डिएको निलो गाडा रंगको टोपीले बीरुको ध्यान खिच्छ ।जसमा अगाडिपट्टि ठूलो अक्षरमा लेखिएको हुन्छ "EPS" । सात महिना आघि त्यहि टोपि कम्पनीको कोठा प्रवेशसँगै सबैभन्दा पहिले आफ्नो शीरबाट फुकालेर आफू सुत्ने स्थानको ठीक माथि दायाँतिर पर्खालमा सुरक्षित झुन्ड्याएको थियो। शुरुताकामा बीरुलाई टोपीप्रति गहिरो माया बसेथ्यो ।गहिरो माया यो अर्थमा कि कोरिया प्रवेशको अवसर ईपिसले दिएको हुनाले त्यो टोपि ईपिएस अंकित टोपी थियो।यसको अलावा बीरु टोपिको पारखि नै थियो।बजारमा फिजाएर राखिएका प्रकार प्रकारका टोपिहरु ऊसको नजर परिरहन्थे।यता ईपिएस प्रणालीको चिनारीको रुपमा टोपी पहिरिए पनि आफूले ईपिएसको चिनोकोरुपमा स्वीकार्दै त्यस टोपीलाई आफ्नो सन्तानलाई झैँ प्रेम दर्साएथ्यो।त्यसो त ऊसँग छेउमा थन्किएको लगेजमा अनेक टोपीहरु पनि छन जुन आजसम्म उसले एक पटकपनि हेरेको छैन ।आज झुन्डिएको टोपीले उसलाई विगतमा डोर्याइरहेछ र कामले थकित र एकाग्रित मनलाई बेकसुर घुमाईरहेछ ।नेपालमा ईपिएस सेन्टर परिसरभित्र ज्याकेट र टोपी बुझिलिँदा टोपीलाई नै असिम माया गर्दै चुम्बन गरेको सम्झन्छ ।कोरिया प्रवेशको क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जादा कोठैबाट ईपिएस अँकित टोपी पहिरिएको सम्झँन्छ ।कोरियन भाषा पास गर्दादेखि नै परिवारको खुशी समेट्दै साथीभाईसँग खुशी साटासाट गरेको यावत् कुराहरु सम्झँन्छ।बर्षैदेखि कोरियाको सपना सजाएर आफ्नो श्रम सम्झौताको ब्यग्र पर्खाइमा लामो समय खर्चेको उसले नवीन जोश ,जाँगर र संकल्प बोकी खुशीतुल्य मुद्रामा निर्धक्क कोरिया प्रवेश गरेको पनि सम्झँन्छ ।केबिजको तीन दिने लामो ट्रेनिङमा हरेक दिन पहिरिएको टोपीसँगसँगैको ज्याकेट पनि सम्झँन्छ ।उसलाई ईपिएस अंकित पातलो निलो रंगको ज्याकेटको झिनो वास्ता लाग्दैन तर ठीक विपरित पर्खालमा झुन्डिएको टोपीको भने अमिट छाप छ ।

संसारमा अति प्रिय लाग्ने वस्तु वा चिजहरु कुनै दिन अप्रिय पनि हुन सक्छन ।हिजोसम्म बहुत प्रेम गरेको टोपी आज उसका लागि यस्तै साबित भएको छ। कोरियाको दिनरातको कामको थकान र कोरियनहरुको निच र हिन गालिले आज झुन्डिएको टोपी घृणित र अपहेलित हुने भएको छ ।महिनैसम्म उठ्दा र सुत्दा ठीक माथिल्तिर देखिने त्यस टोपीको स्थानमा उसले अब अर्को टोपी झुन्ड्याउने अठोट गरेको छ । फलस्वरुप बीरुले छिनभरमै लगेज खोली एक कुनामा गुटुसमुटुस अवस्थामा रहेको ढाका टोपी हतारहतार निकालि निलो टोपीलाई झ्वाट्ट थुति नेपाली ढाका टोपी टक्रक्क काटिमा झुन्ड्याऊछ र टोपीलाई एकटकले गहिरीएर हेरिरहन्छ।तथापि घरिघरि ऊ टोपीमा झुक्किए जस्तो गर्छ र नजिकै पुग्छ र झन नियाल्दछ ।बीरुले टोपीमा स्वदेशको गन्ध पाउँछ ।मेचीकालीसम्मकै चित्र मनसपटलमा घुम्छ।अग्ला अग्ला हिमालदेखि तराईका समथर फाँटहरु टोपीका बुटाहरुमा देख्छ ।अझ भनौ सगरमाथा,कञ्चनजंघा ,गौरिशंखर आदिका चित्र देख्छ ।लालीगुराँसका थुँगाहरु चिसो बतासमा यता उता नाचिरहेको देख्छ।रेशादार टोपीभित्र सललल बग्ने सयौँ खोला र नालाहरु बगेको देख्छ ।

सात समुन्द्रपारि रहेको आफ्नो देशलाई आज बीरुले छिनभरमै टोपीमा देख्छ र अन्तस्करणबाटै गधगध हुन्छ ।
पहिले पहिले निलो टोपीमा गर्बित हुने बीरु आज ढाका टोपीमा मुस्कुराउँछ । उसले फेरि झुन्डिएको ढाका टोपीलाई हातैमा लिन्छ र टोपीकै खुम्चिएका भागहरु मिलाउने कोशिस गर्छ ।तर महिनैसम्म लगेजभित्र लुगाको थाकले किच्चिएर कच्याककुच्चुक परेको टोपीको भागहरु सजिलै यथास्थानमा आउँदैनन् ।तथापी फेरि खुम्चिएको टोपि नियाल्दै जाँदा उसले त्यसभित्र पनि अग्लाअग्ला पहाड र कन्दराहरु भेट्छ ।ठूलाठूला उत्तरी हिमश्रिङ्खलाहरु, चारकोसे झाडीहरु,सुन्दर र कञ्चन तालहरु,झर्झराइरहेका झरनाहरु आदि देख्छ ।यसरि नै बिरुले केहिबेर टोपीलाई ओल्टाई पल्टाई नियाल्छ र भावुकताको चरम उत्कर्षमा पुग्दछ ,र अन्त्यमा त्यस टोपीलाई बिस्तारै फेरि काटिमै झुन्ड्याउँछ।

यसरी एउटा टोपीको प्रेम एकाएक अर्को टोपीमा रुपान्तरण हुन्छ ।"सँसारका यावत् चिज वा मान्छे हाम्रो अनुकुलता र सहजतासँगै चल्न सके मात्र प्रिय हुने ?

नत्र अप्रिय हुने?" भन्ने प्रश्नले बीरुको मनमा डेरा जमाउन सुरु गर्छ।"होईन,टोपी खराब हुँदै होईन ,टोपीले के गर्यो र?, बिचरा ! निर्दोश टोपि"।बीरु फेरि निलो टोपीलाई खोज्न थाल्दछ ।रिसले चुरमुरिएर फ्याँकेको टोपी नमज्जाले कोठाको कुनामा उत्तानो परेर पल्टिएको हुन्छ ।टोपीलाई टक्टकाई छेवैमा घोप्टाएर राख्छ ।बीरुको त्यस निलो टोपीप्रति फेरि सहानुभूति देखाउन शुरु गर्छ ।क्षणभरमै माया पाएर टोपी पनि गमक्क फुलेजस्तो देखिन्छ।वास्तवमा बीरुको टोपीप्रतिको घृणा कोरियनहरुको क्षुद्र व्यवहारको उपज हो ।उसले सहन गरेको अपाच्य बोली र व्यवहारले उभित्र यसरी आगो दन्काईदियो जसले गर्दा सदाका लागि निलो टोपि आफ्नो स्थानबाट लखेटियो र अर्को टोपीले अवसर पायो, जुन उसका लागि निलो भन्दा वर्तमानमा धेरै मूल्यवान र गतिलो भएर उभियो।अब बीरुले निलो टोपी लगेजभित्र थन्काउँछ।बीरुलाई एकमनमा पहिल्यै देखि झुन्ड्याउनु पर्ने टोपी आजलदेखि झुन्ड्याएकोमा पश्चताप पनि हुन्छ।अर्को मनमा भने झनझन आन्नदित र उन्मादित पनि।बीरुले बास्तबमै ढाका टोपीमा नेपालको बास्तविक चित्र देख्छ र परदेशको ठाऊमा टोपीले नेपालित्व जगाईदिएकोमा टोपीप्रति गौरव गर्छ। आजभोलि बीरु हरेक दिन सुत्दा त्यहि पर्खालको टोपी हेर्दै सुत्छ र ऊठ्दा त्यहि पर्खालको टोपीलाई हेर्दै ऊठ्छ ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com