डोलु आले मगर

आत्महत्याविरुद्ध संकल्प गरौं
[2016-03-07 오전 6:35:00]

आमा मरेर सन्तानको जन्म दिन्छ, पालनपोषण गरेर हुर्काउँछ,बढाउँछ, पढाउँछ। तर हुर्के पछी किन आत्महत्याको बाटो रोज्दछ ? जिवन दुखकै विच सुन्दर छ, पिडाकै विच रङ्ग छ, र दुखमै जिवनको अर्थ छ। संघर्षको विच जीवनको रहस्य छ। जीवनको गोरेटोमा आइपर्ने हरेक किसिमको बाधाहरु, अवरोधहरु विचनै जिन्दगीको वास्तविक रहस्य छ। अँध्यारो विचनै उज्यालो छर तर पनि मान्छेहरु जिन्दगीको यो अर्थ यो अनुपम अनमोल उपहार सहर्ष लिएर जिउन किन सक्दैन ? किन जान्दैन ? र किन जीवन देखि हार खाएर आत्महत्या जस्तो आफ्नै इहलीला समाप्त पार्ने बाटोमा पुग्छन ? के मरे पछि सबै समस्याको समाधान भयो त् ?

यदि दुख नहुँदो हो त् सुख भन्ने अर्थ हुने थिएन। अँध्यारो नहुँदो हो त् उज्यालोको महत्व नहुँदो हो, जसरि दिनमा टुकीको जरुरि नभए जस्तै। यो संसार संघर्ष गरेर जिउनेहरुको लागि हो। यो सृष्टि को सुन्दर, अनुपम उपहार यो सुन्दर जीवन चाहेर कसैले फेरी पाउने वाला छैन। सुख-दुखको विच, हर्ष-पीडाको विच, सफलता-असफलताको विच जीवन जिउन सक्नु पर्छ। मरेर जीवनको सुख भेटिदैन ,न त् हरेक संघर्ष संग हारेर गरिने इहलीलाले सान्त्वना नै प्राप्त गर्न सक्छ। मृत्यु त्यस्तो होस् ताकि सान्त्वना नगुमोस्।

कयौं मान्छेहरु नजिक बाट देखेको छु जसले जीवनको अन्तिम क्षण सम्म जीवनको आशा गर्दै हस्पिटलको मृत्यु शैयामा मृत्युलाई पर्खिरहेको हुन्छ। तर चाहेर जीवन कसले पाउने ? यो प्रकृतिको नियमलाई तोड्न सक्ने औषधि कसले बनाउन सक्छ र? प्राकृतिक नियम हो जन्म र मृत्यु। हरेकको जन्ममा मृत्यु ध्रुव सत्य छ । फरक ढिलो चांडो होला तर मृत्यु सबैको गन्तव्य हो। तर आत्महत्या प्राकृतिक नियम होइन। यो मिर्त्यु पनि होइन र यो जीवन पनि होइन। जीवन त्यो हो जसले जिउन सक्छ, जीवन त्यो हो जसले प्राकृतिक नियम अनुसारको मृत्यलाई अंगाल्न सक्छ। होला अचेलको चिकित्सक विज्ञानले विभिन्न रोगबाट हुन सक्ने मृत्युलाई केहि लम्बा गरिदिएको। तर मृत्यु सत्य छ चाहे त्यो संसारकै धनि र सुखी व्यक्तिलाई किन नहोस, वा संसारकै सबैभन्दा गरिब किन नहोस्।

मैले सम्भवत दश वर्षे उमेरमा होला पहिलो पटक आत्महत्या गरेको लास देखेको। कक्षा ५ मा पढ्दै गर्दा हुनुपर्छ संगै पढ्ने तर उमेरले केहि जेठो एक मित्रको। मृतकका आफ्न्तिको अगाडी सबैले सहानुभूति प्रकट गरेपनि बाहिर एउटा कुरा चल्ने रहेछ “गरेर खान नसक्नेहरु मर्छन” आफु त् मरेर गए आफ्नो जन्म दिने आमाबाबलाइ समेत जिउंदै मारेर गए। त्यस् दिन देखि नै मेरो मनमा एउटा संकल्प बस्यो बरु कुकुरले नपाउने दुख स्वीकार छ आत्महत्या मेरो मन-मष्तिस्कमा बास गर्ने छैन।

रोजगारीको आकर्षक मानिएको दक्षिण कोरियामा आउने नेपालीहरुको शंख्या बढ्ने क्रम संगै विभिन्न खाले दुर्घटना परेर ज्यान गुमाउने, आत्महत्या गर्ने नेपालीहरुको शंख्या पनि बढ्दो छ। कम्पनी मालिकहरुको दवाव, कामको चाप, संगै बस्ने सहपाठीहरुको बेमेल-मनमुटाव, घर परिवारको पैसामा बढी जोड, मदिरा सेवन, भाषा समस्या, जस्ता कुराहरुले पर्ने मानसिक पिडा र तनाव नै आत्महत्याको कारणहरु हुन्। आज भएको घटना त्यस्तै प्रकृतिको छ। घर जान कम्पनीले छुट्टी नदिएको भन्दै, झण्डै दुइ वर्ष अघि इपिएस मार्फत कोरिया आएका गुल्मी अर्खलेका विजय खत्रीले कम्पनीको कोठामा झुण्डिएर आत्महत्या गरेका छन् । इपीएस मार्फत कोरिया आउन सुरु भएयता करिब ३० जनाले आत्महत्या गरि सकेकाछन्।

आत्महत्याको कारण आन्तरिक मात्र नभएर बाहिरी कुराहरु अवस्य हुन्छन्। तर आत्महत्या कसैले कसैको गलामा पासो लगाएर आत्महत्या हुँदैन त्यो हत्या हुन्छ। तसर्थ यस्ता घटनाहरुलाई कम गर्न पहिलो जरुरि आफ्नै मनोवल उच्च राख्नु जरुरि छ। त्यस् क्रियामा बाहिरको वातावरण, आफ्ना साथीभाई, आफ्न्तिहरुको केहि भूमिका अवश्य हुन्छ, परदेशमा हुनेहरुको लागि त झन् महत्वपुर्ण नै। जीवनको रहस्य, जीवनको अर्थ, यो सृष्टिको सुन्दर सिर्जना, आमाको प्रसव पिडा, बाबुआमाको योगदान बुझ्नेहरुले बाबुआमालाई रुवाएर आत्महत्या गर्ने बाटो दुखमा,पिडामा,असफलता हुँदैमा अवश्य रोज्ने छैनन्। बाहिरी जतिसुकै कारण भए पनि आत्महत्या को कर्ता र मर्ता आफै हुने हो। प्राकृतिक नियमलाई कुरौं गन्तव्य सबैको उही हो। जीवन जिउन संघर्ष गर्नु पर्ने अवश्य छ। दु:ख, पिडा, रोग व्याधि, अशन्तुष्टी,भय,क्षय सबैको जीवनमा छ र जीवनको रहस्य त्यहि विचमा छ। नियम विपरित जीवन जिउछुं भनेर कहाँ पाइन्छ र ? त्यसैले आत्मै देखि संकल्प गरौँ बरु “कुकुरले नपाउने दुख स्वीकार छ, आत्महत्या म देखि संधै टाढा रहने छ”




Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com