गोपाल संग्रौला

कोरिया नेपाली युवाका लागि ड्रिम कन्ट्री
[2016-03-03 오전 12:02:00]

नजानिँदो किसिमले विश्वलाई आफूतिर आकर्षित गरिरहेको कोरिया नेपाली युवाका लागि पनि ‘ड्रिम कन्ट्री’ बनिरहेको छ । युरोप, अमेरिका जान नसक्ने र खाडी मुलुकमा नाक खुम्च्याउने वर्गका लागि कोरिया रोजगारीको राम्रो विकल्प बनेको छ ।

करिब दशकअघिदेखि नेपाली युवा रोजगारीका लागि कोरिया गइरहेका छन् । कमाइकै कुरा गर्ने हो भने त दक्ष कामदारले खाडी मुलुकमा पनि कोरियाको जति कमाइ गर्छन् । तर, त्यहाँको श्रम कानुन, रोजगार प्रणाली, मेहनती जीवनशैली र श्रमिक अधिकार अन्य देशको तुलनामा राम्रो छ । त्यसैले पनि पढेलेखेका युवाले समेत कोरियालाई श्रम गन्तव्य बनाउन थालेका छन् ।

त्यसो त कोरिया कस्तो छ भनेर बुझ्दै नबुझी पनि रोजगारीमा जाने पनि थुपै्र छन् । कामको अवस्था बुझेर जानेका लागि त दाम कमाउन सकिने राम्रो मुलुक ठहरिएको छ कोरिया । त्यहाँको काम गर्ने संस्कृतिसँग भिजेर लामो समयसम्म एउटै स्थानमा रहेर काम गर्ने एकाग्रता नभएका र नेपालमा कडा मेहनत नगरेका युवाको लागि कोरियाको काम दुःखको पहाड पनि हो ।

भाषा, संस्कृति, मौसम, कामको प्रकृति तथा बसाइ, रहनसहन आदि नबुझी कोरिया जानेहरू केही महिना पनि नटिकी फर्किएका उदाहरण पनि छन् । अनौपचारिक तथ्यांक र कोरियामा लामो समय बिताएकाहरूको भनाइअनुसार त्यहाँ गएका करिब ५ प्रतिशत काम गर्न नसकेर फर्किन्छन् । सबै जानकारी हुँदाहुँदै पनि ‘जे हुन्छ, हुन्छ’ भनेर जाने धेरैजसो नेपाली मानसिक रोगी पनि बनेर बसेका छन् । कतिपयले आत्महत्यासमेत गरेका छन् ।

आर्कषक रोजगार गन्तव्य मानिएको कोरिया रोजगारीका लागि जान सरकारले निष्पक्ष एवं पारदर्शी प्रणाली विकास गरेका कारण सबै क्षेत्र, वर्ग र जातिका युवाले समान अवसर पाएका छन् । सस्तो, विश्वसनीय र पारदर्शी आर्थिक कारोबार हुने भएकाले कोरिया पूर्ण सुरक्षित र कम लगानीमा जान सकिने सुरक्षित गन्तव्य सावित भएको ईपीएस कोरिया शाखाका अधिकृत शोभाकर भण्डारी बताउँछन् ।

सम्पूर्ण प्रक्रिया सरकारी संयन्त्रबाट हुने भएकाले नेपालका लागि रोजगार गन्तव्य भनेर खुला गरिएका १०८ मुलुकमध्ये कोरिया उत्कृष्ट मानिन्छ । त्यसो त कोरियाले जनशक्ति निर्यात गर्ने १५ राष्ट्रमध्ये नेपालले सर्वोकृष्ट भएर ३ पटक उपाधिसमेत हात पारिसकेको छ । रोजगार स्रोत मुलुक कोरिया नेपाली जनशक्तिका लागि पूर्ण रूपमा लगानी सुरक्षित गन्तव्य मानिँदै आएको छ ।

कोरियाले सन् २००४ देखि रोजगार अनुमति प्रणाली (ईपीएस) नाम दिएर एसियाआसपासका विशेषगरी विकासशील तथा विकासोन्मुख देशबाट १८ देखि ४० वर्षका युवालाई रोजगारीका लागि भि-याउँदै आएको छ । कोरियाले उत्पादनमूलक, कृषि तथा मत्स्य व्यवसायका लागि विदेशी कामदार लैजाने योजनासँगै ईपीएस प्रणालीको विकास गरेको हो । यी क्षेत्रलाई ‘डीथ्री अर्थात् डर्टी, डिफिकल्ट र डेन्जर’ पनि भनिन्छ ।

नेपालबाहेक अन्य मुलुकबाट सेवा क्षेत्रका लागि कोरियाले कामदार माग गर्छ । नेपाल सरकारले दक्ष कामदार पठाउने सम्बन्धमा कोरिया सरकारसँग पटकपटक छलफलसमेत गर्दै आइरहेको छ । ईपीएस लागू हुनुअघि सन् १९९३ देखि कोरियाको साना तथा मझौला उद्योग (किट्को)ले प्रशिक्षार्थी कामदारका रूपमा नेपाली जनशक्ति माग गर्ने गरेको थियो ।

यो प्रणालीअन्तर्गत कोरिया सरकार र नेपालका लुम्बिनी र मुनड्रप्स ओभरसिजबीचको समन्वयमा युवाहरू कोरिया जान्थे । पछि यो प्रणाली विवादमा आएपछि कोरियाले सन् २००४ मा खारेज ग¥यो । हाल ईपीएसमार्फत् नेपालसहित इन्डोनेसिया, मंगोलिया, श्रीलंका, फिलिपिन्स, थाइल्यान्ड, भियतनाम, उज्वेकिस्तान, पाकिस्तान, कम्बोडिया, चीन, बंगलादेश, किर्गिस्तान, म्यानमार र पूर्वी टिमोरका कामदार कोरियाले लगिरहेको छ ।

नेपाल सरकार र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीच सन् २००७ मा समझदारी भएपछि नेपालमा ईपीएस लागू भएको हो । ईपीएस कोरिया शाखा र मानव संशाधन विकास बोर्ड ( एचआरडी) कोरियाले सामान्यताः प्रत्येक वर्ष कोरियन भाषा परीक्षाको आवेदन माग गर्दै आइरहेको छ । सो भाषा परीक्षा पास गरेका नेपालीले मात्र स्वास्थ्य परीक्षण प्रतिवेदन र प्रहरी रिपोर्टसहित रोजगारीका लागि आवेदन दिन सक्ने ईपीएस कोरिया शाखाका अधिकृत भण्डारीले जानकारी दिए । सन् २००८ देखि हालसम्म ३४ हजार ३१९ नेपालीले कोरियामा रोजगारीको अवसर पाइसकेका छन् ।

कोरिया जाने नेपालीले परीक्षा दस्तुर, राहदानी शुल्क, स्वास्थ्य परीक्षण शुल्क, रोजगार आवेदन, भिसा शुल्क, बिमा र सेवा शुल्कदेखि हवाई टिकटसम्मको ९० हजार रुपैयाँमात्र बुझाउनुपर्छ । सरकारमार्पmत हुने प्रक्रिया भएकाले भाषा परीक्षा पास गराउने र रोजगारीको ग्यारेन्टीमा अन्य कुनै पक्षको भूमिका नरहने भएकाले त्यस्तो प्रलोभनमा नपर्न शाखाले अनुरोध गरेको छ ।

ईपीएस प्रणालीका नराम्राभन्दा राम्रा पक्ष नै धेरै छन् । मेहनतसाथ काम गर्ने नेपालीले ओभरटाइम पाउने राम्रो कम्पनीमा रोजगारी पाए भने मासिक ३ लाख रुपैयाँसम्म कमाइ गर्न सक्ने कोरियामा ५ वर्ष रोजगारी गरेर फर्केका पोखराका सुनिल श्रेष्ठको अनुभव छ । “ओभरटाइम नगरे पनि १ लाख २५ हजार मासिक कमाइने हुनाले नेपालीका लागि आकर्षक मुलुक बन्यो कोरिया,” उनले भने ।

काम के गर्नुपर्छ ?

कृषि क्षेत्रमा काम गर्न कोरिया जाने नेपालीले खेती र पशुपालनमा काम गर्नुपर्छ । प्लास्टिकको टनेलभित्र साग तथा बिभिन्न प्रकारका तरकारी रोप्ने र टिप्ने काम नै प्रमुख हो । त्यसैगरी पशुपालन क्षेत्रमा गाई गोठ, बंगुर फार्म र कुखुरा फार्ममा काम गर्नुपर्छ ।

उत्पालनमूलक क्षेत्रका भने धेरै वर्ग छन् । नेपालीहरू जहाज निर्माण कम्पनी, मेटल वर्क, प्लास्टिक उद्योग, अटोमोबाइलका पार्टपुर्जा निर्माण कम्पनी, कपडा उद्योग, फर्निचर उद्योग, रङ गर्ने काम, केमिकल कम्पनी तथा खाद्य पदार्थ उत्पादन गर्ने क्षेत्रमा कार्यरत छन् ।

महिलाको माग न्यून

ईपीएसअन्तर्गत कोरिया जाने युवाको संख्या हेर्ने हो भने पुरुषको तुलनामा महिला निकै कम छन् । अहिलेसम्म पुरुष ३२ हजार १९० कोरिया प्रवेश गरेकोमा महिलाको संख्या २ हजार १२९ मात्र छ । यो कुल संख्याको ६.६१ प्रतिशत हो ।

कोरियामा दक्ष र बौद्धिक जनशक्ति धेरै भएकाले नेपालबाट दक्ष कामदार भने माग गर्ने गरेको छैन । तर, त्यहाँ ४ वर्ष १० महिना कार्य अवधि पूरा गरेर वैधानिक रूपमा फर्केका कामदारलाई अनुभवी एवं अर्धदक्ष कामदारको रूपमा मूल्यांकन गर्दै पुनः प्रवेशको मौका दिन थालेको छ । यसका लागि वैधानिक रूपमा नेपाल फर्किएर कम्प्युटर बेस्ड टेस्ट (सीबीटी) पास गरी जान पाउने व्यवस्था सहित कोरियाले नेपालमा सुविधासम्पन्न परीक्षा केन्द्रसमेत स्थापना गरिसकेको छ ।

ईपीसका कमजोरी पनि नभएका भने होइनन् । कोरियन भाषा परीक्षा उत्तीर्ण हुँदैमा कोरिया जान पाइने होइन । रोजगारीको पनि ग्यारेन्टी हुँदैन । भाषा परीक्षा पास हुनु भनेको रोजगारीका लागि आवेदन गर्न योग्य हुनुमात्र हो । यस्ता कुरा थाहा नपाउँदा भाषा परीक्षा उत्तीर्ण भएपछि आफ्नो पेसा, व्यवसाय र अध्ययन नै छाडेर लामो समय कोरिया जान प्रतीक्षा गरेर बसेका सबै युवा कोरिया जना पाएनन् । यसले गर्दा कतिपयमा मानसिक समस्या पनि देखियो ।

कोरियामा उत्पादन क्षेत्रको तुलनामा कृषि तथा पशुपालनतर्फ कार्यरत कामदारमा धेरै समस्या छ । रोजगारदाताले महिला कामदारको माग न्यून गर्नु, नेपाली कामदारलाई नेसनल पेन्सन सुविधा उपलब्ध नहुनु, कामदारमा डिप्रेसन, आत्महत्या र कुनै रोगबिना सुतेकै ठाउँमा मृत्यु हुनेजस्ता गम्भिर समस्या पनि देखिएका छन् । त्यसैगरी मृतकको शव नेपाल ल्याउने व्यवस्थापन खर्च कसले बेहोर्ने भन्नेमा पनि अन्योल छ । गैरकानुनी बसाइ र कार्यस्थल छिटो परिवर्तन गर्नेजस्ता प्रवृत्ति पनि देखा परेका छन् ।

वैदेशिक रोजगारीबाट फर्केका युवाको कमाइ उत्पादनमूलक क्षेत्रमा लगानी गरेर स्वदेशमा नै रोजगारीको स्रोत खोज्नुपर्नेमा घर, जग्गा तथा विलासिता वस्तु खरिदमा सकिने गरेको विज्ञहरू बताउँछन् । सरकारले रेमिट्यान्सलाई मुलुकभित्रै लगानी गर्ने वातावरण बनाउन नसक्दा परदेशमा पसिना बगाएर कमाएको पैसा अर्को बाटो हुँदै पुनः विदेश नै जाने गरेको यथार्थ हामीसामु छ ।

कोरियाबाट फर्केका क्रियाशील नेपालीको समूह अंकुर नेपालले गरेको अध्ययनअनुसार कोरियामा काम गरेर फर्केका नेपालीले केही न केही पेसा–व्यवसाय सञ्चालन गरी स्वरोजगार तथा आयमूलक काममा लागनी गरेको देखाएको छ । ६३.१५ प्रतिशत उद्योग व्यवसायमा लागेको र ५.२६ प्रतिशत कृषि तथा पशुपालन क्षेत्रमा लागेको अध्ययनले देखाएको छ ।

त्यस्तै ५.७८ प्रतिशत सामाजिक काममा लागेका छन् । २.१० प्रतिशत पर्यटन क्षेत्रमा लागेको देखिन्छ भने २० प्रतिशत बेरोजगार रहेको देखिएको छ ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com