setopati

पम्पबाहेक जहाँ पनि पाइन्छ पेट्रोल
[2016-02-04 오전 1:22:00]

भारतले चार महिनादेखि लगाएको अघोषित नाकाबन्दीका कारण देशभरि चरम इन्धन अभाव छ तर ‘च्यानल’ मिलाउन सक्नेलाई न पेट्रोल नपाएर गाडी थन्काउनुपर्छ न त ग्यास नपाएर भुसेचुह्लोको भर पर्नुपर्छ। नाकाबन्दी सुरु भएदेखि मैले आजसम्म पेट्रोल पम्पमै लाम लागेर तेल भर्न पाएको छैन, तर तेल नपाएर आजसम्म मेरो मोटरसाइकल थन्किएको पनि छैन।

मैले यो अवधिमा त्यस्ता–त्यस्ता ठाउँमा पेट्रोल किनेको छु, जहाँ तेल पाउनु कालोबजारीको हदै हो। मेरो अनुभवमा,काठमाडौंका मोटरसाइकल वर्कसप पेट्रोल पाइने सबभन्दा सहज ठाउँ हो। गएको साता कहीँ तेल नपाएपछि म कलंकी पुगेँ। एउटा वर्कसपको भाइलाई हारगुहार गरेपछि उनले प्रतिलिटर २ सय ५० रुपैयाँका दरले तीन लिटर पेट्रोल तुरुन्तै व्यवस्था गरिहाले।

तर, मोटरसाइकल वर्कसपभन्दा सजिलो त राजमार्गमा पो हुँदो रहेछ। यसको ज्ञान मलाई कलंकीको त्यही वर्कसपमा भयो। ‘लिटरको २ सय ५० त अलि महँगो भएन!’ मैले त्यो वर्कसपका भाइलाई सोधेको थिएँ, ‘अहिले त ब्ल्याकमा पनि २ सयमै पाइन्छ त!’‘दाइ, योभन्दा सस्तो तेल त राजमार्गतिर मात्र पाइन्छ,’ उनले भने।

मलाई पनि यो कालोबजारको दर कहाँ कति रहेछ भन्ने जान्न मन लाग्यो। यसका लागि मोटरसाइकलमै नेपालगन्जसम्म यात्रा गर्ने योजना बनाएर भोलिपल्ट फेरि म उनकोमा पुगेँ। तेल मागेँ। यसपालि भने उनलाई शंका लागेछ।‘दाइ, हामी पेट्रोल बेच्दैनौं,’ उनले भने।

अघिल्लो दिन उनले जहाँबाट पेट्रोल झिकेका थिए, त्यहाँ अहिले पनि २० लिटरको झर्किन थियो, जहाँ रातो तरल पदार्थ प्रस्टै देखिन्थ्यो। त्यो पेट्रोल नै हो भन्नेमा मलाई शंका थिएन। तर, उनले दिँदै दिएनन्।त्यही वर्कसपको पल्लो छेउमा गाडीका पार्टपूर्जा बेच्ने पसल थियो, जहाँ जर्किनबाट माइक्रोबसमा पेट्रोल भर्ने काम हुँदै थियो।

‘दाइ, पेट्रोल छ?’ मैले नजिक गएर सोधेँ।
साहुजीले मेरो अनुहारतिर शंकाले हेर्दै भने, ‘छैन, यो पेट्रोल बेच्ने ठाउँ हो र?’
‘हेर्नुस् न कस्तो आपत पर्यो,’ मैले निरीह बन्दै भनेँ, ‘मलेखुसम्म पुग्न पाएमात्र हुने थियो।’
एकछिन मेरो परिचय सोधखोज गरेपछि उनले भने, ‘अलिकति आफ्नो लागि राखेको छु, लैजानुस्, लिटरको २ सय ७५ पर्छ।’
‘नौबिसेतिर पुग्नुभयो भने जति पनि पाइन्छ,’ उनले थपे।
‘साँच्चै हो?’ मैले सोधेँ, ‘फेरि दुःख पाइन्छ कि?’
‘ढुक्क भएर जानुस्,’ उनले आश्वस्त पारे, ‘बरु बाइक फुल ट्यांक गरेर ग्यालेन पनि भरेर ल्याउनुहोला।’
पाँच लिटर पेट्रोल हालेर म अघि बढेँ।

नभन्दै, काठमाडौंबाट चार किलोमिटर पर पुग्नेबित्तिकै तेलको कालोबजार मूल्य प्रतिलिटर २५ रुपैयाँ कम थियो। बाटोमा कुनै पनि पेट्रोलपम्पमा तेल थिएन, तर तेल नपाइने कुनै दोकान थिएन।

‘पेट्रोलको खाँचो परेको छ, अलिकति पाइन्छ?’ मैले मलेखुको चिया पसलमा सोधेँ।
‘मकहाँ त छैन,’ पसल्नी दिदीले भनिन्, ‘उ पारी फलफूल पसलमा पाइन्छ होला।’
मैले ती दिदीले देखाएको फलफूल पसलमा गएँ। तेल मागेँ। उनले एक–एक लिटर मिनरल वाटरको बोतलमा पेट्रोल बेचिरहेका थिए। मलाई पनि दुई बोतल दिए।

‘कहाँबाट ल्याउनुहुन्छ पेट्रोल?’ मैले सोधेँ।
‘तराईबाट फलफूल पठाउने साथीले पठाइदिएको हो,’ उनले जवाफ दिए, ‘बेच्नलाई होइन, आफ्नै लागि हो।’

दुई लिटर पेट्रोल फलफूल पसलमा भरेपछि नारायणघाटसम्म पुग्ने पक्का भयो। मुग्लिङ कटेपछि बाटोमा पेट्रोलको निर्वाध खरिदबिक्रीले मुलुकमा पेट्रोलियम पदार्थ अभाव छ भनी पत्याउन मुश्किल थियो। नारायणघाट पुगेपछि बसपार्क वरिपरि दुईचार पसल चहारेँ। ‘बुटवल जानुस् जति पनि पाइन्छ,’ त्यहीँका एक दोकानदारले भने।
तर, मसँग बुटवल पुग्नलाई पनि पेट्रोल थिएन। खाना खाइरहँदा होटलका साहुजीले सोधे, ‘कति लिटर पेट्रोल चाहिने हो भाइ? मसँग ३० लिटर छ, सबै उठाउने भए दिन्छु।’
‘कति हो लिटरको?’
उनले जवाफ दिए, ‘भैरहवाबाट ल्याएको नमिसाएको तेल हो। लिटरको दुई सय पचास।’
मसँग त्यति धेरै तेल हाल्ने ठाउँ थिएन। जेनतेन बुटवल पुगेँ। त्यहाँ पनि लिटरको २ सय ५० घटी पाइएन। पाँच लिटर भरेर म भोलिपल्ट बिहानै नेपालगन्जतिर लागेँ।

बुटवल नाघेर अघि बढ्नेबित्तिकै धेरै पसलमा मिनरल वाटरका बोतलमा पेट्रोल बिक्री भइरहेको देखिन्थ्यो। भालुवाङ पुगेपछि फेरि पेट्रोल खोज्न पसलतिर चहारेँ। सेल, पुरी, तरकारी र भात पाइने पसलमा पेट्रोलको खोजी गर्न थालेँ। त्यहाँ पनि तीन लिटर सजिलै पाइयो।

सतवरीया पुगेपछि मैले त्यहाँका सुरक्षाकर्मीको अगाडि मोटरसाइकल रोकेर सोधेँ, ‘सर, नेपालगन्ज पुग्पर्ने, पेट्रोल सकियो कतै पाइन्छ होला?’

उनले घुम्तीपसलतिर देखाइदिए।
नौ घन्टाको मोटरसाइकल यात्रामा बाटोभरि पेट्रोलको खोजी क्रम रोकिएन। र, तेल नपाएर रोकिनुपरेन।
प्रहरीले नै कालोबजार जाने बाटो देखाइदिने देशमा तेल अभाव किन हुन्थ्यो र?



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com