कृष्ण अधिकारी

तराईमा घरेलु हिंसा पीडित महिलालाई न्याय पाउन मुस्किल
[2016-01-14 오후 7:48:00]

बाँके बेलभारकी २० वर्षीया पुजा मिश्राको छिमेकी गाउँ उदयपुरका गोकुल पाठकसंग दुवै पक्षवीचको सहमतिमै तीन वर्ष पहिले विवाह भएको थियो। विहेमा पुजाका परिवारले राम्रै दाइजो दिएका थिए। तर श्रीमान गोकुल र उनका आमा वुवाले दाइजो थोरै ल्याएको भन्दै पुजालाई थप दाइजो ल्याउन निरन्तर दबाब दिइरहे। पुजाले श्रीमान र सासु ससुराले थप दाइजो मागेको बारेमा माइतीलाई जानकारी गराइन्। तर माइतीले थप दाइजो दिन नसक्ने बताए। उनले त्यही जानकारी श्रीमान र सासु ससुरा गराइन्। त्यस पछि शुरु भयो पुजामाथि शारीरिक र मानसिक यातनाको शिलशिला।

उनले निक्कै अपमान र यातना सहेर दाम्पत्य जीवन अगाडि बढाउने कोशिस गरिन् तर उनको केही लागेन्। निरन्तरको शारीरिक र मानसिक यातना सहन नसकेपछि उनी माइती फर्किन र आफूमाथि भएको हिंसाविरुद्ध कानुनी लडाइ सुरु गर्ने निधो गरिन्। पुजा यस्तो समुदायकी छोरी हुन् जुन समुदायमा छोरी बुहारीले मान्यजन तथा अपरिचित व्यक्तिका अगाडि धोती वा सारीले टाउकोसहित मुख छोप्नु पर्छ। जसलाई घुट पनि भनिन्छ। घुट लगाएरै उनी न्यायको लडाइमा अगाडि बढिन। न्यायको लडाइका लागि आमा र दाइले पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाएपछि उनी न्यायका लागि महिला बालबालिका कार्यालय र प्रहरीसामू पुगिन्।

प्रहरीले दुवै पक्षलाई राखेर छलफल गरायो। मिलापत्र पनि भयो तर श्रीमान र सासु ससुराले त्यसको पालना गरेनन्। त्यसपछि उनी बाध्य भएर अदालत सम्म पुगिन्। बाँके जिल्ला अदालतले समेत पुजामाथि हिंसा भएको ठहर गर्‍यो। अदालत ले २०७२ साउन १० गते मुद्दाको अन्तिम टुंगो नलागे उनका श्रीमान अनिल कुमार पाठकबाट मासिक ४ हजार भरण पोषणका लागि दिलाउने आदेश दियो। अदालतको आदेशपछि पुजा निक्कै उत्साहित भइन्। तर अनेकौ जाल झेल गर्दै अनिलले पुजालाई भरणपोषणको रकम दिएनन्।

पुजाका श्रीमान अनिल जिल्ला अदालतको आदेशलाई चुनौती दिँदै पुनरावेदन अदालत गए। पुनरावेदन अदालत नेपालगञ्जले समेत जिल्ला अदालतको आदेशलाई सदर गरी दियो। अदालतको आदेश ४ महिना बितेपनि कार्यान्वयन नभएपछि पुजाले श्रीमान अनिलसहित परिवारका सदस्यविरुद्ध अदालतको अपहेलना र आदेशको अबज्ञा गरेको भन्दै २ वटा छुट्टा छुट्टै मुद्दा दायर गरेकी थिइन्। पुस २६ गते बाँके जिल्ला अदालतका न्यायधीश विष्णुप्रसाद कोइरालाको इजलासबाट घरेलु हिंसा सम्बन्धी मुद्दामा पुजाका पति अनिल, ससुरा गोकुलानन्द, सासु केतकी, जेठाजु कमलाकान्त, जेठानी गीता र जेठाजुको छोरा रोहित पाठक सहित ६ जनालाई जनही तीन÷तीन हजार जरिवाना र एउटै घरमा बस्ने वातावरण नहुँदासम्म भरणपोषणबापत मासिक ४ हजार उपलब्ध गराउन र प्रतिवादीबाट क्षतिपुर्ति बापत २५ हजार पाउने आदेश भएको छ।

त्यसैगरी अदालतको अपहेलना मुद्दामा सबै प्रतिबादीहरुलाई जनही एक ÷एक हजार जरिबाना र प्रतिबादी सबैलाई पाँच÷पाँच दिन कैद सजाय हुने आदेश भएको पुजाका कानुन व्यवसायी लोकबहादुर शाहले बताए। अदालतले पुजालाई न्याय दिने गरी फैसला गरे पनि सो फैसलाको कार्यान्वयन अझै हुन सकेको छैन। जसका कारण घरेलु हिंसाबाट पीडित पुजाले न्यायको अनुभुति गर्न पाएकी छैनन्। घरेलु हिंसाका घटनामा आफ्नै श्रीमान लगायतका परिवारका अन्य सदस्यविरुद्ध गाबिस, प्रहरी हुँदै अदालतसम्म पुगेर कानुनी उपचारका लागि आवश्यक पर्ने प्रमाण जुटाउन पीडित महिलाहरुलाई निक्कै गाह्रो पर्छ।

लामो र झन्झटिलो कानुनी प्रक्रियाका कारण अहिले पनि अधिकांश पीडित अहिले पनि हिंसा सहन बाध्य छन्। न्यायको लडाइ लड्ने हिम्मत गरेका महिलाहरु पनि महिला तथा बालबालिका कार्यालय प्रहरी र अदालत धाउदा धाउदै हैरान र निराश हुने गरेका छन्। यसैक्रममा मधेसी समुदायकी पुजाले आफूमाथि भएको घरेलु हिंसाविरुद्ध न्यायको लडाइ शुरु गरेकी हुन्। उनले न्यायको लडाई शुरु गरेको ७ महिनामै अदालतबाट न्याय पाए पनि त्यसको कार्यान्वयन भने अझै हुन सकेको छैन। जसका कारण उनले न्यायको अनुभुति गर्न पाएकी छैनन्।

घरेलु हिंसाबाट पीडित भएकी पुजाले माइतीमा बसेर आफ्नो प्लस टुको पढाइ र कानुनी लडाइलाई उनले एक साथ अगाडि बढाएकी छन्। पुजा त एक उदाहरण मात्रै हुन्, जिल्ला प्रहरी कार्यालय बाँकेको पछिल्लो तथ्याङ अनुसार बाँकेमा गत वर्ष हिंसामा परेका ३ सय ३१ जना महिलाले न्यायका लागि जिल्ला प्रहरी कार्यालय बाँकेको महिला सेलमा उजुरी दिएका थिए। ती मध्ये २ सय ७९ वटा उजुरीमा दुबै पक्षवीच मिलापत्र गराइएको थियो भने २८ वटा उजुरीलाई थप कानुनी कारबाहीका लागि अदालतमा पठाइएको महिला सेलले जनाएको छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com