रासस

आगो र घाम तापेर जाडो छल्दै भूकम्पपीडित
[2016-01-13 오전 9:53:00]

सामुन्ने हिमाल देखिन्छ । बिहान, बेलुकीको स्याँठबाट बच्न टहराको चारैतर्फ चित्रोले बारिएको छ । आलु लगाउने मौसम भएकाले अस्थायी टहरो छाडेर पुरानै गाउँ, बस्तीमा भूकम्पपीडित फर्केका छन् । गुम्दा–६ का गोपाल गुरुङ पनि भर्खरै बारीबाट भत्किएको घर फर्किए। उनको परिवार अहिले सानोतिनो घर उभ्याउने तयारीमा जुटेका छन् । पुराना काठपात तह लगाउने काम भइरहेको छ । आँगनमा त्रिपालले छाएको सानो टहरो बनाइएको छ । नयाँ घर नबन्दासम्म त्यही गुरुङका परिवारले आश्रय लिन्छन् ।

एक कोठे टहरोमा कहाँ सुत्ने, कहाँ खाना पकाउने व्यवस्थापन गर्न गुरुङलाई हम्मेहम्मे परे पनि दुःखकष्ट सहेर बसेका छन् । बिहान, बेलुकीको तापक्रम शून्य डिग्रीमा झरेपनि घाम झुल्केपछि न्यानो हुन्छ । जमेर ढिक्का भएको पानी पनि पग्लन थाल्छन् । मुहान तातेपछि दिउँसोपख मात्रै धारामा पानी आउँछ । जमेका पानीका ढिक्का भाँडोमा तताएपछि मात्रै चिया, खाना पकाउन आवश्यक पानीको जोहो गरिन्छ ।

‘बिहानबेलुकी खपिनसक्नु चिसो छ’ गुरुङले भने, ‘घाम झुल्केपछि चिसो भाग्छ ।’ यसवर्ष हिउँ नपर्दा चिसो कम छ । हिउँ परिरहेको बेला न्यानो अनुभव भए पनि पर्न छाडेपछि ह्वात्तै चिसो बढ्छ । हिउँद्याम सुरु भएपछि एकपटक पनि पानी नपरेकाले हिउँ नपरेको स्थानीयवासी बताउँछन् । हिमालमा पनि हिउँ छैन । काला पत्थरले ढाँकिएको हिमाल कुरुप देखिन्छ ।

उत्तरी भेगमा बस्ने मानिस अहिले दुईवटा काममा व्यस्त छन् । मुख्य बालीअन्तर्गत आलु रोप्ने र चिसोबाट बच्न नयाँ घर बनाउने । आलु रोपेको छ महिनापछि मात्रै खन्नयोग्य हुन्छ । कम तापक्रमले गर्दा उत्तरी भेगमा वर्षमा दुईखेती मात्रै लाग्छ । छ महिनामात्रै खान पुग्ने खाद्यान्न उत्पादन भएपछि स्थानीयवासी मजदुरी, व्यापार गर्न बेसी झर्छन् ।

भूकम्पपछि बस्न अयोग्य ठहरिएका ठाउँमा अहिले धमाधम नयाँ घर बनेका छन् । गुम्दा ६, ७, ८ र ९ वडामा जताततै चिराचिरा परेको थियो । जमिन चर्केको देखेका भूगर्भविद्ले त्यसबेला बस्न अयोग्य भनेका ठाउँमा जमिन मिलिसकेको भन्दै स्थानीय बस्न सुरु गरेका हुन् ।

‘पहिले चिराचिरा परेको यो जमिन अहिले मिलिसक्यो’ गुम्दाका धनबहादुर गुरुङले भने, ‘सुरक्षित खोज्दै अन्यत्र बस्न जाउ भने आफ्नो नाउँमा जग्गा छैन । अर्काको बारीमा बस्न दिदैनन् । सरकारले पनि बस्ती सार्न सकेन ।’ गुम्दाकै सिङ्ला, यामगाउँ, लप्सीबोट पनि बस्न योग्य छैनन् । तर भूकम्पपीडित पुरानै जगमा नयाँ घर बनाइरहेका छन् । घर नहुँदा परिवारका सदस्य बिरामी परेपछि जसोतसो घर बनाउनुपरेको गुरुङको भनाइ छ ।

चिसोबाट जोगिन भूकम्पपीडितलाई न्यानो कपडाको अभाव देखिन्छ । सरकारले १० हजार बाँडेपनि नजिकै बजार नहुँदा त्यो रकम त्यसै गाउँमै छ । धेरैजसोले नुन, तेल किनेर त्यो रकम सकेका छन् । गैरसांसदहरुले पनि न्यानो कपडा बाँडेपनि त्यो पर्याप्त भने छैन । अर्काले दिएको न्यानोले चिसो नछेक्ने गुम्दाकी सुष्मा गुरुङले बताए। टहरोको सट्टा घर बनाएर बसेमा आधाजसो चिसो हट्ने उनको अनुभव छ ।

विद्यार्थी आगो तापेर बस्छन् स्कुले उमेरका बालबालिका आगो तापेर बस्दा पठनपाठन क्रियाकलाप द्रुतगतिले अघि बढाउन नसकिएको शिक्षक बताउँछन् । स्थानीय सूर्योदय माविमा अध्ययनरत् विद्यार्थी चिसो बढेको दिन विद्यालय जादैनन् । कम सङ्ख्यामा मात्रै विद्यालयमा विद्यार्थी उपस्थित हुने गरेको शिक्षकहरुले बताए ।

विद्यालय पुगेका विद्यार्थी पनि घाममा बसेर चौरमा पढ्न रुचाउँछन् । गुम्दा–६ मा रहेको उक्त विद्यालयअन्तर्गतको शिशु स्याहार केन्द्रकी शिक्षक सुकमाया गुरुङले पढ्न आउने विद्यार्थीको सङ्ख्या चिसो बढेपछि घटेको बताउनुभयो । पढ्न पुगेका विद्यार्थी पनि घाम लाग्न छाडेपछि घर भाग्छन् । ‘विद्यार्थी भाग्न थालेपछि बेलुकीपख मात्रै हाजिर गर्ने गरेको छु’ गुरुङले भन्नुभयो ।

गुम्दामा मात्रै होइन, लाप्राक र बारपाकमा पनि यस्तो समस्या छ । पठनपाठनमा समस्या भएको भन्दै लाप्राकको मणिकामदेवी मावि १० दिनका लागि बन्द गरिएको छ । तुषारोले गर्दा बढेको चिसोले बारपाकको हिमालय उमाविमा पनि विद्यार्थीको सङ्ख्या कम भएको छ । विद्यार्थी घाम या आगो तापेर बस्दा पठनपाठनमा कमजोर देखिएका छन् ।

स्वीटर, ज्याकेटको अभावले गर्दा न्यानोका लागि बख्खु, पछ््यौरा र घामको भर पर्नुपरेको हिमालय उमावी बारपाकको कक्षा १० का विद्यार्थी देवेन्द्र घलेले बताउनुभयो ।

राहत सदरमुकाममा थुप्रियो:
भूकम्पपीडितका लागि बाँड्न ल्याएको राहत सामग्री सदरमुकाममा थुप्रिएको छ । गुन्द्री १३ हजार एक सय थान, त्रिपाल ११ हजार एक सय ४८ थान, कम्बल एक हजार ४६ थान, गुणस्तरीय गुन्द्री ५५ थान, भान्छा सामग्री ५६ थानलगायत सामग्री स्टोरमै थुप्रिएको हो ।

त्यस्तै १२ हजार १२० केजी चामल पनि गोदाममा रहेको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ ।

समितिले चिसोले अति प्रभावित क्षेत्रका भूकम्पपीडितलाई उक्त सामग्री वितरण गर्ने तयारी गरेको जनायो । केही दिनअघि बसेको बैठकले बाँकी राहत सामग्री आवश्यकता पहिचान गरी वितरण गर्ने निर्णय गरेको हो । भण्डारण कक्षमा न्यानो कपडा हुने पीडित चिसोले मर्ने समस्या देखिएपछि यस्तो निर्णय गरिएको हो ।

अनियमितता खोज्दै अख्तियार:
राहत वितरणमा भएको अनियमिताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ । अख्तियारको केन्द्रीय टोलीका साथै क्षेत्रीय कार्यालय पोखराबाट आएको टोलीले त्रिपाल खरिदमा भएको अनियमिततादेखि राहत वितरणमा भए, गरेका अनियमितताबारे जानकारी लिएको छ ।

अख्तियारले गोरखा नगरपालिका, जिल्ला दैवीप्रकोप उद्धार समिति, गाविस, जिल्लास्थित विषयगत कार्यालयका फाइल अध्ययन गरिरहेको हो । विगत चार दिनदेखि अख्तियारको टोली जिल्लामै छ । राहत वितरणमा अनियमितता भएको भन्दै अख्तियारले छानबिन अघि बढाएको बुझिएको छ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com