लालबहादुर तमु

तमू, तामाङ र शेर्पाले मनाउने ल्होसारमा के छ अन्तर या समानता ?
[2016-01-09 오전 9:07:00]

भौगोलिक रुपमा सानो भूपरिवेष्ठित राष्ट्र नेपाल बहुजाति, बहुभाषी, बहुधार्मिक, बहुसांस्कृतिक विविधताले सुसज्जित छ । आर्य, द्रविड, मंगोलियन नश्लको संगमभूमि एवम् बहुराष्ट्रिय नेपाललाई साझा फूलबारीको रुपमा चित्रण गर्ने गरिन्छ । १२५ जातजाति १० भन्दा बढी धर्मावलम्बी, १ सयभन्दा बढी भाषाभाषी रहेको नेपालमा विगत सयौं वर्षदेखि राज्यसत्ताले कसैलाई काखा र कसैलाई पाखा गर्दै आएको छ । जसले गर्दा जातीय, भाषिक, सांस्कृतिक, क्षेत्रीय, लिंगीय, वर्गीय विभेद एवम् उत्पीडनको श्रृङ्खलाको निरन्तरता कायम छन् ।

तिनै उत्पीडित आदिवासी जनजातिभित्र पर्ने तमु (गुरुङ) समुदाय नेपालको जनगणनाअनुसार ११औं ठूलो जाति हो । मानव सभ्यताको विकासको चरणमा नेपाल राज्य निर्माण हुनुपूर्व वर्तमान कालिगण्डकी र बुढीगण्डकी बीचको भूभागमा घुमन्ते शिकारी पशुपालन अवस्था पार गर्दै कृषि यूगको थालनीसँगै आफ्नो छुट्टै पृथक पहिचान झल्कने मूल्यमान्यताको विकास गरेको तमुहरुको संस्कार र संस्कृतिबाट प्रस्ट हुन्छ ।

पृथक् सांस्कृतिक रुपमा सम्पन्न तमु समुदायले मान्ने महान् ऐतिहासिक सांस्कृतिक महिमा बोकेको ठूलो पर्व हो ल्होसार । ल्होसारको अर्थ नयाँ वर्ष हो । ल्होसारमा सबैजना एकै ठाउँमा भेला भई स्योकैं वनभोज खाएर नाचगान गरी धुमधामसँग मनाइन्छ । पछिल्लो समय तमु जातिको आफ्नो स्वतन्त्रता स्वाभिमान र अधिकारको आन्दोलनबाट ल्होसारलाई नेपाल सरकारबाट सार्वजनिक विदा दिएपछि गैरतमुहरुले पनि साझा पर्वको रुपमा ल्होसार मान्दै आएको पाइन्छ ।

ल्होसार के हो ?

नेपालमा तमु, तामाङ, शेर्पा, थकाली लगायतका जातिहरुले ल्होसार मान्दछन् । तर ती जातिहरुले मान्ने ल्होसार पर्व फरक फरक छन् । नेपालमा तीन प्रकारको ल्होसार मनाउने गर्दछन् । पुष १५ मा तमु समुदायले मनाउने ल्होसारलाई तोला ल्होसार भनिन्छ । त्यसैगरी माघ शुक्ला प्रतिपदामा मनाइने तामाङलगायत पश्चिमी तिब्बतीहरुले मनाउने ल्होसारलाई सोनाम ल्होसार र फाल्गुण शुक्ला प्रतिपदामा शेर्पा लगायत पूर्वी तिब्बतीले मनाउने पर्वलाई ग्याल्पो ल्होसार भनिन्छ ।

तमु समुदाय प्रकृतिवादी भएकोले प्रकृतिका जीवजन्तु र पशुपंक्षीलाई सांस्कृतिक प्रतीकको रुपमा लिएको पाइन्छ । प्रकृतिका १२ वटा प्रजातिहरुलाई ल्हो (वर्ग)को प्रतीक मानेको पाइन्छ । १२ वटा वर्गमा क्रमशः मुसा (च्यु), गाई (ल्वों), बाघ (तो), बिरालो (हिय), गिद्ध (मुप्रि), सर्प (सप्रि), घोडा, (त), भेडा (ल्हु), बाँदर (प्र), चरा (च्हय), कुकुर (खि) र मृग (फो) हुन् । जुन एकदेखि १२ सम्म एकअर्कामा दाहिनेबाट निरन्तर हरेक वर्ष एउटा वर्गबाट अर्काे वर्गमा घुमिरहन्छन् । एउटा चक्र पार गरेपछि पुनः दोहोरिएर घुमिरहन्छ ।

एसियाका प्रायः आदिवासी जनजातिहरुमा ल्हो पद्धति प्रचलित छ । ल्होसार दुई शब्द मिलेर बनेको छ । ल्होको अर्थ वर्ग जसलाई वर्ष मानिन्छ । र सारको अर्थ नयाँ भन्ने हुन्छ । तसर्थ ल्होसारको वास्तविक अर्थ नयाँ वर्ष हो । तिब्बती भाषामा ल्हो को अर्थ वर्ष र सारले नयाँ जनाउँदछ । जसले गर्दा चिनियाँ तिब्बतीहरुले ल्होसारलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । तमु भाषामा लोको अर्थ वर्ग र छारले नयाँ भन्ने हुँदा ल्होछार पनि भन्ने गरेको पाइन्छ ।

भाषा विज्ञानका दृष्टिले तिब्बती सभ्यताको मूल शब्द ल्होसार भाषिक विकास र रुपान्तरणको चरणमा तद्भव शब्दको रुपमा ल्होछार भएको मत पनि पाइन्छ । हिन्दुहरुले बडादशैं, विजयादशमी, तिहार, दिपावली शब्द फरक फरक प्रयोग गरेता पनि त्यसको अर्थ र संस्कृति एउटै हुन् । यी सबै शब्दहरु स्थापित भएकाले पर्यायवाचीको रुपमा लिने गर्दछन् । त्यसरी नै ल्होसार र ल्होछार शब्द फरक भए पनि अर्थ र संस्कृति तथा महिमा एउटै हो ।

भाषा विज्ञानको नियममा भाषाहरु तलमाथि भइरहन्छन् । तसर्थ यसलाई पर्यायवाची शब्दको रुपमा ग्रहण गर्न उपयुक्त हुन्छ । यी दुई शब्दलाई लम्बेतान बहस गरी भ्रम सिर्जना गर्नु र गराउने काम हामीले गर्नु हुँदैन ।

ल्होसार कसरी मनाइन्छ ?

पुष १४ गतेको मध्यरात १२ बजेपछि पुरानो ल्हो सकेर नयाँ ल्होको आगमन हुने हुँदा राती १२ बजे नयाँ वर्षको स्वागत गरिन्छ । क्होइवोमा वोन फायर गरी नयाँ वर्षको आगमनको संकेत गर्दछन् । पौष १५ गते बिहान १ अर्कामा शुमकामना साटासाट भेटघाट, ग्रहदशा नराम्रो रहेको बर्गले खेगीबाट रुपा लगाउने दिउँसो स्योकैं खाने नाचगान गरी धुमधामसँग ल्होसार मनाइन्छ ।

गाउँघरमा ल्होसार

गाउँघरमा युवा, आमा समूह, भद्रभलाद्मीको अगुवाइमा स्योकंै खाने प्रचलन छ । तिहारमा देउसी–भैलो खेल्ने र प्राप्त हुने रकम र अन्नपातले पुष १५ मा स्याकैं खाने गर्दछन् । यदि देउसी–भैलो खेलेको छैन भने केटीहरुले चामल, रक्सी, घ्यू उठाउने र केटाहरुले मासुको व्यवस्था गरी स्योकैं खाने गर्दछन् । गाउँघरमा तमु गैरतमु सबै समुदाय सँगै ल्होसार मनाउने प्रचलन छ । ल्होसारको अवसरमा चेलीबेटी खाना खुलाउने चलन पनि रहेको छ ।

शहरबजार र विदेशमा ल्होसार

शहरी इलाका र विदेशमा रहेका तमु संघ संस्थाहरुले ल्होसारको अवसरमा विभिन्न कार्यक्रमहरु खेलकुद, अन्तरक्रिया, शुभकामना आदानप्रदान, ¥याली, झाँकी, सांस्कृतिक कार्यक्रम चियापान आदि आयोजना गर्ने गर्दछन् । पुष १५ मा सामूहिक रुपमा स्याकैं खाने र धुमधामले ल्होसार मनाउँछन् । आजभोलि ल्होसार पर्वलाई आफ्नो पहिचान र अधिकारको मुक्ति आन्दोलनसँग पनि जोडेर कार्यक्रमहरु आयोजना गरेको पाइन्छ ।

ल्होसारको वैज्ञानिक पक्ष

पश्चिमेली खगोलशास्त्री एवम् भूगोलवेत्ताहरुको अनुसार डिसेम्बर २२ तारिखका दिन पृथ्वीमा सबैभन्दा लामो रात हुन्छ । डिसेम्बर २३ देखि दिनलामो हुने क्रम सुरु हुन्छ । तमु ल्होसार पुष १५ डिसेम्बरको अन्त्यतिर पर्ने हुँदा दिन लामो हुने संकेत यसले गर्दछ । वैज्ञानिक यो मान्यता र हाम्रा तमु पुर्खाहरुको प्राचीन मान्यता करिब नजिक मान्न सकिन्छ ।

त्यसैगरी भारतवर्ष अनुसार माघ १ गते मात्र सूर्य मकर राशी सूर्य उत्तरायण लाग्दछ अर्थात् रात छोटो र दिन लामो हुने क्रम प्रारम्भ हुन्छ भन्ने मान्यता छ । पुष १५ र माघ १ पनि खासै फरक छैन ।
अरु समुदायले नयाँ वर्ष मान्ने क्रममा कसैले आफ्नो धर्मगुरुको जन्म दिन कसैले मन पर्ने राजाको सम्झनाको दिनलाई आधार मानेको देखिन्छ । तर तमु समुदायले नयाँ वर्षको दिन प्रकृति र समयको आधारलाई मानेर गरेकोले यो सान्दर्भिक मान्न उपयुक्त हुन्छ ।

ल्होसारको सांस्कृतिक पक्ष

ल्हो (वर्ग), पार्ग हेरी कुन कुन सालमा कुन कुन वर्ग राम्रो÷नराम्रो साइत घरगोठ छाउने, बनाउने विवाह छेवर अर्घाै आदि कुन वर्गमा कुन दिन गर्ने भनी हेर्ने प्रचलन तमु समुदायमा रहेको छ । प्रकृतिवादी तमुहरुले १२ वटा जीवजन्तु र पशुपंक्षीलाई सांस्कृतिक प्रतीक मान्नु स्योकैं खाई सामूहिक मनोविज्ञान झल्काउनु, ल्होसारमा झाँकी, सांस्कृतिक नृत्य र भेषभुषा लगाउनु ग्रहदशा शान्तिको लागि रुपा लगाउनु ल्हो अर्थात वर्ग र पार्ग भिडाएर शुभ अशुभ फल बताउने चलनले प्रतीकवादको वकालत गर्दछ । तसर्थ यसको साँस्कृतिक महत्व बलियो देखिन्छ ।

-लेखक तमु राष्ट्रिय मुक्ति मोर्चा (क्रान्तिकारी)का केन्द्रीय सचिव हुन्



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com