कमल कोइराला

भाग्य कोर्ने भारतले हाम्रो नक्सा किन छाड्छ ?
[2015-12-22 오후 7:12:00]

२०६४ सालको असार साउनतिर मलाई काम विशेषले बराबर विराटनगर जानुपर्दथ्यो । २०६४ असारमा सप्तरीमा जयकृष्ण गोइत र ज्वालासिंहका अपहरण, फिरौती र हत्याका बजार तातेको थियो । वि.सं.२०६४ मै ‘द राइजिङ नेपाल’ र ‘द काठमाण्डू पोष्ट’ मा सीपी गजुरेल, प्रकाश ए.राजका लेखहरूमा र २०६५ असोजमा प्रकाशित सरोजराज अधिकारीको पुस्तक जासुसीको जालो : विदेशी गुप्तचर नेपाल चलखेलमा पनि पटना गुप्त भेलाको कुरो प्रकाशित छ।

त्यसअनुसार, बिहारको राजधानी पटनामा नेपालको मधेशमा हिंसात्मक र शान्तिपूर्ण आन्दोलन उठाउने बारे बैठकमा नेपालतिरका मान्छेहरूकासाथै भारतको विदेशमा जासुसी र गुप्त क्रियाकलाप संचालन गर्ने संस्था ‘रअ’का मान्छेहरू अनि भारतीय विदेश मन्त्रालयको काम गर्ने प्रितिशरणको पनि उपस्थिति थियो ।

भारत सरकारले एकातिर नयाँदिल्लीमा नेपालका राजनीतिक दलका नेताहरू र दशबर्षसम्म भारतमा आश्रय पाएर हजारौं नेपालीहरूको हत्याहिंसा मच्चाइरहेका माओवादी नेताहरूमाझ समझदारी गराएको थियो भने अर्कातिर तराईमा मधेशवादी आन्दोलन उठाउने गुप्त प्रपञ्च पनि समानान्तर रुपले रचिरहेको थियो । किन दशबर्ष भारत सरकार र यसका गुप्तचर एजेन्सीहरूले माओवादी सशस्त्र कारवाहीका नेताहरूलाई भारतमा आश्रय दियो । यो प्रश्नको उत्तर अझै रहस्यकै गर्भमा छ । साथै भारतको के डिजाइन थियो ? त्यसताका भारतीय दैनिक र साप्ताहिकहरूमा किन पटक पटक नेपालमा हस्तक्षेप(इन्टरभेन्सन्) का चर्चाहरू छापिन्थे ? कुरा स्पष्ट छ जसरी श्रीलंकामा तमिल सशस्त्र विद्रोह पहिले आफैंले उचालेर, पालेर, अघि बढाएर पछि शान्तिस्थापनार्थ भारतीय पिसकिपिङ फोर्स पठाउने सोच थियो भन्ने स्पष्ट हुन्छ । तर, पश्चिमा शक्तिहरू अमेरिका, ब्रिटेन इत्यादिले नेपालको सेनालाई आधुनिक हतियार, सैनिक प्रशिक्षण र जासुसी सामाग्रीहरू प्रदान गर्न थाले तब नेपालको सरकारी पक्ष बलियो हुन थाल्यो र माओवादी पक्ष कमजोर हुन थाल्यो । अमेरिकन एम–१६ र बेल्जियन हतियार प्रणालीहरू साथै ब्रिटिश जासुसी जहाजहरू नेपाल आउन थाले ।

त्यसपछि भारतमा सन् २००४ मा पश्चिततिर ढल्केको भारतीय कांग्ेरसको मनमोहन सिंह प्रधानमन्त्री भएपछि कोर्ष करेक्सन गरेर सैनिक हस्तक्षेपको योजना परित्याग गरियो । माओवादीमा रहेका उपेन्द्र यादवलाई भारतमा पक्राउ गरिएपछि छाडियो । त्यसपछि उनी अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम सबैभन्दा प्रमुख र प्रखर रुपमा सद्भावना र अरु पार्टीभन्दा अगाडि बढाइएको तथ्य पनि हामीहरूको सामु छ । काठमाडौंस्थित भारतीय राजदूतावास र त्यसका कर्मचारीहरूले मूलधारका पार्टी नेपाली कांग्ेरस र नेकपा एमालेका मधेशी नेताहरूलाई आ–आफ्नो पार्टी छाडेर मधेशवादी बन्न लगाइएको कुरा पनि त्यसैबखत खुलेको गोप्यता भारतीय पत्रकार शरद बद्र्धराजनले पनि त्यस विषयमा लेखेका छन् ।

नेकपा एमाओवादीका रामकुमार शर्मालाई काठमाडौंस्थित भारतीय राजदूतावासको कर्मचारीले तिमी मधेशवादी नबने तिम्रो छोरीलाई राजदूतावासको स्कूलबाट हटाइदिने भनेको कुरा त्यसैताका नेपालका अखबारहरूमा प्रकाशित छन् । खुला देखिएको छ कि मजफो नेपाल र तमलोपालाई २०६३/०६४ तिर अगाडि बढाउनका लागि कसरी मूलधारका पार्टीहरूबाट मन्त्री वा सांसद भइसकेका व्यक्तिहरूलाई तोडियो–फोडियो । कुरा केवल काठमाडौंका पत्रिकाहरूमा मात्र होइन स्वयम् भारतकै पत्रपत्रिकामा समेत छापिएका छन् ।

नाकाबन्दी हामीले गरेकै होइनौं भनि शतप्रतिशत झुट बोल्न सक्ने भारतीय सरकारले कहिल्यै यो भन्ने छैन कि २०६३/०६४ पछि मधेशवादी आन्दोलनको असली सिर्जक हामी नै हौं । तथाकथित मधेशवादी आन्दोलन एउटा आवरण हो जसको संगठक र संचालक भारतको गुप्तचर एजेन्सी भारतीय राजदूतावासका कर्मचारी र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका मान्छेहरू छन् ।

तीनबर्ष अघि भारतीय कन्सुलेट जनरल एस.डी.मेहताको होटल विश्वासमा नेपालका राजनीतिक कार्यकर्ताहरूसँग भएको प्रवचन त त्यसैताका चर्चित नै भएको हो । लगभग एकदशकदेखिको गुप्तखेल आज भारतीय एसएसबी र कस्टमले लगाएको नाकाबन्दीबाट खुला रुपले उदांगो पनि भइसक्यो । तैपनि केही नेपाली नेताहरू बुझ पचाउँदै तथाकथित मधेशवादी धर्ना र भारतको केन्द्रीय सरकारको नाकाबन्दीलाई अलग मान्दछन् । दार्चुला र धार्चुलामाझ कुन धर्ना थियो । जौलजिवी, डडेलधुरा, बैतडीमा कुन मधेशवादी धर्ना थियो । पूर्व काँकडभिट्टामा कुन धर्ना थियो । पशुपतिनगरतिर कुन धर्ना थियो । यी सबै ठाउँ भारतीय एसएसबी र भारतीय कस्टमले भारतको केन्द्रीय सरकारको गुप्त आदेश बमोजिम नाकाबन्दी गरे ।

मधेशवादी आन्दोलन विफल हुँदै गएपछि भारत सरकार र यसका एजेन्सीहरू खुला भएर आए । आज पनि गुप्त समझदारी भित्रैभित्रै कमल थापा, रविशंकर, भारतीय मन्त्रीहरू र विनोद चौधरी इत्यादि मार्फत भारत सरकार र नेपाल सरकारका माझ बनाइदैछ । नेपालका प्रान्तहरूको नक्सा र कुन नदी कहाँ पर्ने गरी भारत सरकारले कोर्ने प्रयास गर्दैछ । हेरौं वर्तमान सत्तासिन नेताहरूले कति समर्पण गर्नेछन् वा कति देशको सार्वभौमिकता राख्न सक्नेछन् ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com