राजु पौडेल

जब मगर राजाको पटांगीनीमा जनताको रुवावासी
[2015-11-10 오후 10:19:00]

दशैँ पछिको मुख्य चाड तिहार कात्तिक कृष्ण पक्षको तृतिया तिथिबाट शुरु भएर शुक्ल पक्षको द्वितीया तिथिसम्म पाँच दिन मनाइन्छ । हिन्दी भाषाको ‘त्योहार’ शव्दबाट अपभ्रंश हुँदै आएको ‘तिहार’ नेपालीमा आगन्तुक शब्द हो । तिहारलाई उज्यालोको पर्व, दीपावली एवं यमपञ्चक पनि भनिन्छ । यस पर्वले दिदीभाई तथा दाजुबहिनी बीचको आत्मिक सम्बन्धलाई झनै प्रगाढ बनाउँछ भन्ने विश्वास गरिदै आएको छ ।

हिन्दु शास्त्रीय पौराणिक कथन अनुसार, यमराजले आˆनी बहिनी यमुनाको निम्तो स्वीकार्दै बहिनीको घरमा पाँच दिनसम्म मेजमान खाएकाले यसलाई यमपञ्चक भनिएको हो । यमुनालाई जानेबेलामा यमराजले सोधे, ‘जे मन लाग्छ, वर माग ।’ यमुनाले मागिन्, ‘हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुभएमा दिदीभाई तथा दाजुबहिनीको प्रेम सदा अटल रहने थियो ।’

यमराज राजी भए ‘मनसा, वाचा, कर्मणा र शुद्धचित्तले भ्रातृपूजा गर्दै हरेक वर्ष यसै दिनलाई विशेष पर्वका रुपमा मनाउदा कीर्ति, आयु र यश फैलिने वर प्रदान गर्दछुँ । तथास्तु !’ यही पौराणिक विश्वासका आधारमा यो पर्व मनाईदै आएको छ ।

नेपालको भूगोल एवं समाजमात्र होईन, चाडपर्व समेत विविधतायुक्त छन् । हाम्रो संस्कारले लगभग सवै जीव-निर्जीव वस्तुको पूजा-अर्चना गर्दछ । ती सबैप्रति भक्तिभाव प्रकट गर्दछ र योगदानलाई कम्तिमा बर्षको एक दिन विशेष रुपले स्मरण गर्दछ । सबैको सह-अस्तित्व स्वीकार गर्ने सांस्कृतिक र धार्मिक मान्यतामा हामी आधारित छौँ । यो पर्वमा पशुपन्छीको समेत पूजा हुन्छ ।

यमपञ्चकका पाँच दिन

तिहारको पहिलो दिन यमको दुतको रुपमा कागको पूजा गरिन्छ । यो दिनमा कागलाई चामलको पिठोबाट बनेको बाक्लो रोट (रोटी) लगायतका अन्य मिठामिठा खाने कुरा बोहता वा दुना-टपरीमा दिएर कालदेवता समक्ष शुभ-सन्देस प्रवाह गर्न कागलाई फकाइन्छ ।

यमपञ्चकको दोश्रो दिन यमको बफादार अंगरक्षक कुकुरको पूजा-अर्चना हुन्छ । कुकुरसमेत सयपत्री फुलको मालाले सजिएर गल्लीगल्लीमा डुलेको भेट्न सकिन्छ ।

तेस्रो दिन धनधान्यकी देवी लक्ष्मीको पूजा-अर्चना हुन्छ । बिहान लक्ष्मीको प्रतिकको रुपमा गाईको पूजा हुन्छ । ढाप (चामलको पिठोबाट बनाइएको बाक्लो तरल पदार्थ, जून गाईको शरीरमा काठको गोलाकार ठोस बस्तुले चोब्दै लगाइन्छ) र सयपत्री फुलको मालाले सजिएको गाईका खुरको जल पिएर टाङमुनीबाट छिरेर शुद्ध हुने परम्परा छ । त्यहि साँझ चारैतिर सफा र झकिझकाउ घरलाई द्वीप-प्रज्वलन गरि चम्काएर कोठा-चोटा र दुकुटीको पूजा गरिन्छ । ढुकुटीमा गच्छेअनुसार बहुमुल्य रत्न र चाँदीका मोहर थप्ने प्रचलन छ । भाइभाइको अंशबण्डामा यो ढुकुटी पैत्रिक नासोको रुपमा बाँडफाँड गरि पुस्तौनीमा हस्तान्तरण हुन्छ । संयोगले यहि दिन महाकबि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती पर्दछ । लक्ष्मीको प्रसाद भएर जन्मेका सरस्वतीका प्रसादलाई सम्मान गर्न पाउनु पनि दुर्लभ संयोग मान्नुपर्छ ।

चौथो दिन गोबर्द्धन पूजा हुन्छ । भगवान कृष्णले गोबर्द्धन पर्वत उचालेर गोकुलबासीलाई आश्रय दिएको किम्बदन्तीमा आधारित यस दिनमा बाँझो भूमि फोरेर उत्पादन गर्न मानव जातीलाई सहयोग गर्ने गोरुको पूजा गरिन्छ । त्यसदिन पशु-चौपयाको गोबरबाट बनाइएको प्रतिमामा पूजा-अर्चना गर्ने प्रचलन छ । गोबर्द्धन पूजा सकिएपछि बाबियाको डोरीमा सात थरी फुलले उनेको तोरण गाईगोठको धुरीबाट कम्तीमा एउटा गोरेटो बाटो काट्ने गरि टाँगिन्छ । म्हपूजा/नेपाल संबत् समेत यही दिनमा पर्दछ ।

यमपञ्चकको पाँचौं दिन यस पर्वको मुख्य दिन हो । कात्तिक शुल्क पक्षको द्वितीया तिथिको शुभ साइतमा घरको मूल ढोकामा ओखर फुटाइन्छ । मूलतः तुलसीको मठमा बनाइने विशेष मण्डपमा बिमिरो, दीप-कलश र गणेशको पूजा गर्दै यमराजलाई आहवान गरी दिदीबहिनीले दाजुभाइ र दाजुभाइले दिदीबहिनीलाई दुबोको लेदोमा सातथरी रंगका टिका र मखमलीको माला लगाई दीर्घयूको आशिर्वाद सहित मिष्ठान्न भोजन र दान-दक्षिणा प्रदान गरिन्छ । यस पर्वले मत्र्यलोकका राजा यमराज यी पाँच दिन दिदीबहिनीको घरमा बस्दछन् भन्ने पौराणिक मान्यतालाई सम्झाउदै आएको छ ।

मगर राजा बचाउने ‘भैली’

यहीँ पर्वसँग उज्यालो र देउसीभैलोको सन्दर्भ पनि जोडिएको छ । ईशाको चौधौं शताब्दीमा अहिलेको पश्चिम पाल्पामा बलिहाङ्ग रानामगर नाम गरेका प्रतापी, भविष्यवेत्ता एवं त्रिकालदर्शी राजाले राज्य गर्दथे । अकस्मात उनलाई कात्तिके औंसीको रातमा आˆनो देहलिला समाप्त हुने दिब्य ज्ञान प्राप्त भयो । आफूले राज गरेको राज्यका सवै नागरिकलाई आˆनो पटाँङ्गनिीमा बोलाएर उनले दुःखद समाचार सुनाए । उनको सुव्यवस्थित राज्य संचालनबाट प्रजा अत्यन्तै प्रसन्न थिए । त्यो दुःखद समाचार सुन्नै सकेनन् । रुन कराउन थाले ! ‘महाराजको दुःखद अवसान हामीलाई सैह्य छैन । महाराजको दीर्घायुका लागि के गर्नुपर्छ ? मर्जी होस् !’

बलिहाङ्गले भने ‘औंसीको राती मलाई लिन मभन्दा पनि शक्तिशाली राजा यमराज आउनेछन्, तीनलाई दीप-प्रज्ववलन गरि फकाउन सक्यौ भने म अवश्य बाँच्ने छु ।’ प्रजाले आˆना राजाको अनुरोधलाई नमान्ने कुरै भएन । रातभर द्वीप-प्रज्वलन गरी जाग्राम बसेर मत्र्यलोकका राजालाई फिर्ता पठाए । बलिहाङ्ग रानामगर बचे, बलि राजा भए । आफ्ना राजा बचेको खुशीयालीमा जनताले ‘फाईलो-फाईलो’ भनेर भट्टयाउन थाले । मगर भाषामा ‘फाईलो’ को अर्थ ‘हामीले बचायौं’ भन्ने हुन्छ । यही अपभ्रंश हुँदै ‘भैली-भैली’ भयो । यसरी भैलीको परम्परा शुरु भएको मिथक भेट्न सकिन्छ (राजाराम सुबेदी २०६३) ।

तसर्थ, हामी भैली भट्टयाउनेले बलिराजाले पठाएर आएका भन्ने शब्दको प्रयोग गर्दै आएका छौं । यद्यपी, तिहार वा देउसीभैलोको सम्बन्ध यसैसँग मात्र जोडिएको छैन भन्ने संस्कृतविद् पनि प्रशस्तै छन् । जे भएपनि पर्वले हामीलाई जोड्छ, फाटेको मनलाई जोड्छ । आँटेको कामलाई सम्पन्न गर्ने आशिर्वाद दिन्छ ।

पिङ र सयपत्री

कम्तीमा वर्षको एकदिन धर्ती छाडेर पृथ्वीको भार कम गर्नुपर्छ भन्ने मान्यतालाई आधार मानेर धौले चौरमा हालिने तौले पिङ्गले दशैं तिहारको आगमनलाई झल्काउने मात्र होइन ढकमक्क फुल्ने सयपत्री र मखमली फुलको सुगन्धले बातावरण नै उल्लासमय हुन्छ । यो मौसममा पूर्वी क्षितिजबाट उदाउँदो सुर्यले सँगसँगै पर्वको उल्लास छरेको हुन्छ । यो पर्वको महिमा पिङसहित कौडासँग समेत जोडिएको छ । ‘नखेल जुवा र तास धनको नाश जीवनको बनवास’ हाम्रो अधिकांस बाल्यकाल यही गीतिभाका गुनगुनाएर बितेको हो । महिमा कायम राख्ने गरि खेलिने खेलले मात्र चाडपर्वको महत्व कायम गरिराख्न सहयोग मिल्छ ।

चौरासी व्यञ्जन खाने बेला होइन

२०७२ साल हाम्रा लागि अत्यन्तै दुःखद भइरहेको छ । वर्षकै शुरुमा शताब्दीकै ठुलो भूकम्पले हल्लाएको यो भूमिमा चाडबाडको मुखमा मुख्य आयात हुने देश भारतको अर्घेल्याइँ जारी छ । चाडपर्वमा कतिपय खानेकुराको महत्व पनि जोडिएको हुन्छ । पटका लगायतका साधनको मुख्य श्रोत त्यतै हो, त्यो नभई चाडपर्व मान्न सकिदैन भन्ने होइन । हाम्रो स्थानीय उत्पादनबाट त्यति सानो कुराको विकल्प खोज्न सकिन्छ । मिठाईलाई आकर्षक देखाउन रोडाइमान बी, मालाच्युट र मेटालिन जस्ता अखाद्य रङ्गको प्रयोग हुन सक्छ । बजारमा नियमन हराउदै गएको छ ।

मान्छेको ध्यान पेट्रोल पम्प र ग्याँसका डिलरमा खिचिएको छ । यस्तो प्रतिकुल समयमा सरकारको मात्र मुख ताक्नु हुदैन । देशको प्रतिकुल परिस्थितिमा देशमा सबै नागरिक सरकारका जिम्मेवार अंग हुन् । आमउपभोक्ता र बजार सबै स्वास्थ्यसँग सम्बन्धित यस्ता कुरामा स्वविवेकले शासित हुनुपर्दछ । चौरासी व्यञ्जनको परिकार पाक्न गाह्रो छ अहिले । बहत्तर व्यञ्जनको परिकारमा चित्त बुझाउ ! स्वास्थ्य बचाउ ! धैर्यता अपनाउ ! पर्वको महिमा बढाउने स्थानीय उत्पादनमा आजैदेखि लागौं । सबैलाई शुभकामना !



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com