एस.के. शान

काठमाडौंमा पद थपिँदै, मधेसमा पुत्ला थपिँदै ! विद्या भण्डारीदेखि नन्दबहादुर पुनसम्मको पुत्ला दहन
[2015-11-03 오후 10:41:00]

राजधानीमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखलगायतको चुनावको रौनक छाइरहँदा मधेसमा चाँहि पुत्लाको संख्या थपिइरहेको छ । सिंहदरबारमा जति मन्त्री थपिन्छन्, मधेसमा त्यति नै पुत्ला थपिँदैछन् । संविधान जारी भएलगत्तै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बने । उनी प्रधानमन्त्री बनेलगत्तै बीरगंज, जनकपुर, राजविराजसहितका ठाउँमा उनीबिरुद्व प्रदर्शन भयो र उनको पुत्ला जलाइयो । एक हप्तासम्म ओलीको पुत्ला जलाउने काम बिभिन्न ठाउँमा जारी रह्यो । ओली प्रधानमन्त्री बनेलगत्तै उपप्रधानमन्त्रीको शपथ लिएका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई त आन्दोलनकारीहरुले ‘गद्दार’ कै संज्ञा दिए । गच्छदारलाई गद्दार भन्दै बिभिन्न ठाउँमा उनको पुत्ला मात्रै जलाइएन, उनको पार्टीनेताहरुले राजीनामा दिने लहर नै चल्यो । सप्तरी, सिरहा, रौतहट, बारा, पर्सासहितका जिल्लामा उनका अधिकांश नेता/कार्यकर्ताले पार्टी छाडिसकेका छन् । गच्छदारसँगै अर्का उपप्रधानमन्त्री राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि मधेसी जनतालाई मन परेनन् । उनको पनि बिभिन्न ठाउँमा पुत्ला जलाइयो । त्यसपछि आयो विद्या भण्डारीको पालो राष्ट्राध्यक्षमा विद्यादेवी भण्डारी निर्वाचित भएको भोलिपल्टै मधेसका बिभिन्न शहरहरुमा उनको पुत्ला जलाइयो । त्यसैगरी शनिबार उपराष्ट्रपति बनेका नन्दबहादुर पुनको पनि पुत्ला जलाइएको छ । आइतबार उनको पुत्ला सप्तरीको भारदह र पोर्ताहा बजार परिक्रमा गर्दै भारदहको मुख्य चोकमा ल्याएर जलाइयो । आफ्नै जिल्लाबासी झनै आक्रोशित प्रधानमन्त्री केपी ओली, राष्ट्राध्यक्ष विद्या भण्डारीसहितकाहरुको मात्र होइन मधेसका जिल्लाहरुबाटै मन्त्री बन्नेहरुप्रति पनि स्थानीय जनताहरु निक्कै आक्रोशित भएका छन् । सप्तरी क्षेत्र नम्बर ३ का सांसद उमेश यादव र एमालेका समानुपातिक सांसद सत्यनारायण मण्डल मन्त्री बनेलगत्तै दुबैबिरुद्व जिल्लाका बासिन्दाहरुले प्रदर्शन गर्दै दुबैको पुत्ला जलाइएको छ । जिल्लाको लालापट्टी गाविसका बासिन्दा यादव सिंचाई मन्त्री बनेका छन् भने सप्तकोशी नगरपालिकाका मण्डल बिनाविभागीय मन्त्री । सदरमुकाम राजविराजसहित जिल्लाको कञ्चनरुप नगरपालिका, भारदहमा यी दुई मन्त्रीको पुत्ला जलाइएको छ । सप्तरीका जनताले सप्तरीबाट उपसभामुख बनेका गंगाप्रसाद यादवको पनि पुत्ला जलाएका छन् । जिल्लाको २ नम्बर योगिनियाँ गाविस निवासी उपसभामुख यादवको राजविराज, भारदह र कञ्चनरुप नगरपालिकामा पुत्ला जलाइएको छ । त्यस्तै रौतहट जिल्लाबाट निर्वाचित सभासद महमद मुस्ताक आलम सरकारमा विनाविभागीय राज्यमन्त्रीका रूपमा सरकारमा प्रवेश गरेपछि उनको पनि पुत्ला जलाइएको छ । ‘समग्र मधेस नै आन्दोलनमा रहेका बेला जनताका बीचमा आउनुपर्नेमा आफ्नै स्वार्थ खोज्नेहरुमाथि आक्रोश पोख्नु अस्वभाविक होइन’ विद्यार्थी मञ्चका राष्ट्रिय अध्यक्ष किशोरकुमार यादव भन्छन्, “मधेसी जनताले अधिकार नपाए बन्दुक उठाउने धम्की दिएका व्यक्तिहरु कुर्सीका लागि मरिहत्ते गरेपछि भोट दिएका जनताले त्यस्ताको पुत्ला जलाएर बिरोध नभै के गर्छन् ?” सामाजिक क्षेत्रमा कृयाशिल राजविराज निवासी शम्भुनन्द चौधरी आन्दोलनमा राज्य पक्षले गोली चलाएर मारिरहेको अवस्थामा ‘एउटा गाछीबाट दुई, चारवटा आँप र्झदैमा केही नहुने’, मानव साङ्लोलाई माखे साङ्लो’ भनेर होच्याएकै कारण केपी ओलीसहित एमालेका नेताहरुको बिरोध भएको बताउँछन् । उनी भन्छन्, “त्यस्तै शब्दहरुका कारण आन्दोलनरत जनताले एमालेलाई स्वीकार्ने पक्षमा छैनन् भने जिल्लाका साँसदहरु कुर्सीका लागि लडेपछि उनीहरुको बिरोध भइरहेको छ ।” कानुन व्यवसायी अशोककुमार चौधरी आन्दोलनलाई वेवास्ता गरी सबै कुर्सीकै लागि अगाडि बढ्दा जनता उनीहरुप्रति आक्रोशित हुनु स्वभाविक भएको धारणा व्यक्त गर्छन् । आन्दोलनरत पक्षलाई सम्बोधन गरी संविधान जारी गरेर कुर्सीको खेलमा लाग्दा पदमा जानेहरुको एक किसिमको सम्मान पनि हुन्थ्यो’ उनी भन्छन्, “एकतर्फी रुपमा संविधान जारी गर्नु र पदमा जान मरिहत्ते गर्नुले आन्दोलनलाई लामो बनाउने र जनतालाई थप आक्रोशित बनाउने खेलबाहेक केही पनि होइन ।” अन्योलमा मधेस मधेसका जिल्लाहरुमा शुरु भएको आन्दोलनले मंगलबारसम्म ८१ दिन पूरा गरेको छ । गत साउन ३१ गतेदेखि शुरु भएको आन्दोलनसँगै बन्द र हड्तालले समेत निरन्तरता पाएको छ । ब यसवीचमा बन्न गइरहेको संविधानमा मधेसीहरुको हकअधिकार सुनिश्चित गर्नुपर्ने भन्दै थालिएको आन्दोलन जारी रहेकै समयमा संविधानलाई छलफलमा लगियो । मधेस केन्दि्रत दलहरु बाहिरै रहेको अवस्थामा गणितीय विधिबाट संविधानको मस्यौदा छलफल गराइयो । मधेसका जिल्लाहरुमा जताततै गोली चलिरहेको अवस्था, मान्छे ढलिरहेको अवस्थाकैबीच सरकार र शुरुवातका चारदलीय गठबन्धनले यो कुरालाई वेवास्ता गर्दै असोज ३ गते संविधान नै जारी गर्‍यो । संविधान जारी भएको दिनसम्म चार दर्जनले राज्यपक्षको दमनका कारण ज्यान गुमाइसकेका छन् । संविधान जारी हुने दिन पनि बीरगंजमा एकजना युवा राज्यको गोलीबाट ढले । यस दिन मधेसका प्रायः हरेक जिल्लामा तनाव थियो । यो अवस्थालाई देखे पनि नदेखे झैं गरेर सत्तासीन र मुख्य दलहरुले संविधान जारी गरेरै छाड्यो । यस दिन काठमाडौंमा भव्य दीपावली मनाइयो भने मधेसमा थियो विरोध । काठमाडौंमा उज्यालोमा नाचगान र मीठा-मीठा खानपान भइरहँदा मधेसका जनता आफैं अँध्यारोमा परे । कसैले नून र भात खाए भने कोही भोकै सुते । संविधान जारी गरेर पनि सरकार र त्यसका सञ्चालकहरु आन्दोलनलाई नहेरे झैं गर्‍यो । यसलगत्तै बिभिन्न पदहरुको बहाली हुन थाल्यो । काठमाडौंमा पदबहाली भएसँगै सप्तरीसहितका जिल्लाहरुमा ती पदमा बहाल भएका व्यक्तिहरुको पुत्ला सोही दिन अथवा भोलिपल्टदेखि जलाउँदै आएका छन् ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com