लोकनारायण सुवेदी

भारत-आश्रित भयले अनिश्चित भविष्य : चेत्ने कहिले नेतृत्व ?
[2015-11-01 오후 7:25:00]

विगतदेखि नै गलत राजनीति र नेतृत्वले गर्दा हाम्रो देश परनिर्भर र पराश्रित हुँदै आएको हो । त्यसले गर्दा देशको स्वाधीनता, सार्वभौमिकता र स्वतन्त्रता नै गम्भीर खतरामा पर्दै आएको कुरा आज आएर सबैमा अझ प्रस्ट हुन थालेको छ । अन्य कुराका अतिरिक्त, यही परनिर्भरता नै सुन्दर नेपाल पछाडि पर्नुको एउटा मुख्य कारकतत्व हो भन्ने कुरा पनि खुलस्त भएको छ । सन् १८१६ को सुगौली सन्धिदेखि नै अर्धउपनिवेश बनेको हाम्रो देशमा सतही रुपमा जेजस्तो राजनीतिक परिवर्तन हुँदै आएको भए पनि आधारभूत रुपमा कुनै आमूल र अग्रगामी परिवर्तन हुन नसकेको यथार्थको उत्कर्ष पनि हो आजको स्थिति ।
यस्तो स्थिति दोहोरिँदै आएकोले गर्दा परिवर्तनले आफ्नो भाग्य र भविष्य सुनिश्चित गर्ला भन्ने अपेक्षा गरिरहेका जनसाधारण सधैं जिल्लिने मात्र गरेका हुन् भने नेपालको राष्ट्रिय एकता, राष्ट्रियता र सार्वभौमिकता पनि कमजोर भएर जाने गरेको हो । वास्तवमा यो स्थितिमा आमूल परिवर्तन ल्याउने जनआधारित र सही अर्थ–राजनीतिक दिशा नपक्रेसम्म फेरि पनि यही कमजोर अवस्था एक वा अर्को रुपमा कायम रहिरहने छ । यो यथार्थलाई आत्मसात नगरिएसम्म वास्तवमा देश र जनताको जीवनमा कुनै अग्रगामी र सकारात्मक मोड पनि आउँदैन र राष्ट्रियताको सुदृढीकरण पनि हुँदैन भन्ने कुरा अहिलेसम्मका परिवर्तन र नाजुक यथार्थ स्थितिले मध्य दिउँसोको घाम जत्तिकै प्रस्ट पारिरहेको छ ।
के सर्वविदित छ भने विश्वका शोषित पीडित जनताको जनतन्त्र र नागरिक स्वतन्त्रताको संघर्षलाई विश्वभरिका जनसमुदायले नैतिक समर्थन गर्ने गर्दछन् । यसलाई नाजायज र अस्वाभाविक मानिँदैन । त्यसैगरी कुनै पनि देशको सार्वभौमिकता र अखण्डतामाथि हस्तक्षेप र अतिक्रमण हुँदा अरु राष्ट्र र समुदायका जनताले त्यसको विरोधमा आवाज बुलन्द गर्नु र पीडित राष्ट्रको पक्ष लिनु पनि अस्वीकार्य र अमान्य कुरा बिल्कुलै होइन । उपनिवेशवाद, जातिभेद, रंगभेदविरुद्ध विश्वभरिकै जनताको आवाजलाई सहर्ष स्वीकार गर्ने गरिन्छ अनि त्यस्तो सहयोग र समर्थनको खोजी पनि गरिन्छ । तर यो समर्थनको प्वालबाट छिरेर आउने अभिजात वर्गीय सत्ताको स्वार्थ कत्तिको खतरनाक हुन्छ भन्ने कुरा विश्वको इतिहास र हाम्रै देशको पनि राजनीतिक परिवर्तनको इतिहासले पटक पटक स्पष्ट पारेको छ । फलतः परिवर्तनको प्रतिफल जनताको हितमा उपयोग नहुने या सीमित मात्रमा उपयोग हुने र अधिकांशतः शोषक वर्गीय सत्ताकै खेलाडीहरुको स्वार्थमा त्यो परिवर्तन पनि प्रयुक्त हुने गरेको कटु निष्कर्ष छ ।
साँच्चै नै हामीले हाम्रो देशको इतिहासलाई वस्तुगतरुपमा राम्ररी विश्लेषण गर्‍यौ‌ं र केस्राकेस्रा केलायौं भने यो तथ्य छर्लङ्ग देख्न सक्तछौं । २००७ सालको परिवर्तनपछि नेपाली जनता खासगरी किसान र मजदुर, महिला, दलित, अल्पसंख्यक, जाति तथा जनजातिलगायत पिछडिएका क्षेत्र र वर्गका जनताले के पाए भन्ने प्रश्नको कुनै सार्थक र सकारात्मक उत्तर आउँदैन । सीमित रुपमा जनताले पाएको अधिकार पनि २०१७ सालमा उल्टाइएपछिको तीन दशकमा राष्ट्रियताको दुहाइ दिइयो । तर जनताका अधिकारलाई उपेक्षा गरेर राष्ट्रियताको रित्तो ढोल पिट्दा राष्ट्र बलियो हुँदैनथ्यो, भएन । त्यसपछि आएको बहुदलीय परिवर्तनले पनि जनताका आधारभूत समस्या हल गर्न सकेन र त्यसमा अनेक विकृति र विसंगति व्याप्त हुँदै गयो ।
२०६२/६३ सालको ठूलो परिवर्तनपछि एक दशकका गतिविधिले पनि अझै नेपाली जनतामा आफ्नो भाग्य र भविष्यको सुनिश्चितताप्रति आश्वस्त र विश्वस्त हुने आधार प्रदान गर्न सकेको छैन । उपरि ढाँचामा ठूलै परिवर्तको गर्जन सुनिए पनि जगमा कुनै परिवर्तन आउन सक्ने भरपर्दो आशाको सञ्चार भएको छैन । परिवर्तनलाई जनताको व्यापक हितमा उनीहरुलाई एकसूत्रमा बाँध्न र उनीहरुको एकतालाई बलियो बनाउने आधार प्रदान गर्नभन्दा उनीहरुलाई विभाजन गर्ने, परस्पर अविश्वास र सन्देहको स्थितिमा खडा गर्ने गलत वातावरण बनाइयो र बनाइँदैछ । त्यसले गर्दा वास्तवमा आज हाम्रो राष्ट्र अझ कमजोर हुन पुगेको छ । बाह्य हस्तक्षेप बढेर गएको छ । बाह्य शक्तिलाई छिद्र प्रदान गर्ने काम भइरहेको छ । यही नै आज हाम्रो लागि ठूलो समस्या बनेर तेर्सिन पुगेको छ ।
हुन त झण्डै एक दशकजतिको पछिल्लो अनिश्चयकारी संक्रमण कालपछि असोज ३ गते देशमा संविधान संविधानसभाबाट घोषणा गरियो, जसले लामो संक्रमणकालको त अन्त्य गरायो । अनि जसैतसै शान्ति प्रक्रियाको एउटा चरण पनि पूरा भयो । तर सबै शोषित उत्पीडित वर्ग र समुदाय र लिङ्गका समस्या हल गर्न अझै धेरै काम गर्न बाँकी नै छ । यो कुरा संविधानको घोषणा गर्ने प्रमुख दलहरुले स्वीकार गरिरहेका छन् । त्यसैले घोषित संविधान तत्कालै संशोधन गर्ने कुरा चलेको छ । त्यसबाटै हाम्रो राजनीतिक नेतृत्व कति अदूरदर्शी र अपरिपक्व रहेछ भन्ने कुरा पनि प्रकट भएको छ । त्यसमा पनि हाम्रो आन्तरिक मामिलामा बाह्य शक्ति, खासगरी भारतीय शासक वर्गले जसरी खेल्ने ठाउँ पायो र आज ठूलो इन्धन र आपूर्तिको संकट पैदा गरिरहेको छ यसका लागि हाम्रो राजनीतिक नेतृत्वको लामो समयदेखिको आत्मसमर्पणवादी राजनीतिक संस्कृति र पराश्रित परम्परा पनि कम जिम्मेवार छैन भन्ने कुरा बिल्कुलै बिर्सन हुँदैन ।
देश आज एकदमै निस्सासिएको स्थितिमा छ । यसबाट के कसरी बाहिर निस्कने हो, कुनै भरपर्दो निकास देखापरिरहेको छैन । परावलम्बी नीतिले नै यस्तो नियति भोग्न बाध्य तुल्याएको छ । तर पनि यो गएगुज्रेको परिस्थितिबाट सही शिक्षा लिएर आत्मनिर्भरताको बाटो लाग्ने ठोस, दृढ र विश्वासिलो राजनीतिक इच्छाशक्ति देखापर्न सकेको छैन । न कूटनीतिक सफलता, न त राजनीतिक पहल भएको छ । कतै पनि विश्वासको सञ्चार हुन सकिरहेको छैन ।
भारतले अनेक सर्त थोपरिरहेको छ । चीनले अहिलेको समस्या समाधान गर्ने र दीर्घकालका लागि पनि उपयुक्त नीति लिने प्रस्ट उत्सुकता देखाइरहेको छ । तर नेपाल सरकार र यसका जिम्मेवार संयन्त्र कुन कारणले कता कता अल्झिरहेका छन्, एकदमै रहस्यमय छ । भारतको अभिजात वर्गीय सत्ता आश्रित भयका कारण गलत परम्पराबाट मुक्त हुन अत्यन्तै कठिन भइरहेको छ । वस्तुतः जहाँ पनि, जहिले पनि अरुको भरपर्ने राजनीति, अर्थतन्त्र, सामाजिक संरचना र सस्कृतिले कस्तो घाँटी अँठ्याउँदो रहेछ भनेर अब पनि बुझेको नबुझ्यै गर्ने हो भने नेपालको भविष्य र अस्तित्वमाथि प्रश्नचिन्ह उठ्नेबाहेक अरु केही हुँदैन । यो कुरालाई गम्भीरतापूर्वक नलिइएसम्म, भारतसँगको सम्बन्ध पुनर्बिन्यास नगरिएसम्म पराबलम्बनबाट मुक्त हुन पनि सकिने छैन । सबैमा चेतना आओस् ।
सुवेदी नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष हुन् ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com