नवीन लोहोरुङ राई

नेपालका नगरपालिकाहरु “नगरपालिका” हुन् कि “नगर् पालिका” ?
[2015-10-26 오후 1:09:00]

नेपालको जनगणना-२०११ अनुसार २७.२ प्रतिशत (७१,९९,५१४) जनसंख्या १३० नगरपलिकामा बसोबास गर्छन् । सहरी घरपरिवारको आकार औसत ४.८ जना रहेको छ ।
विश्व जनसंख्या-२०११ अनुसार संसारभर पचास प्रतिशतभन्दा बढी जनसंख्या शहरमा बस्छन् । कम विकसित देशमा पैंतालिस प्रतिशत जति जनसंख्या शहरमा बस्ने गरेको खुलेको छ । अति कम विकसित देशहरुको अवस्था हेर्ने हो भने मात्र उनन्तिस प्रतिशत जनसंख्या सहरमा बसोबास गरेको पाइएको छ ।
यसबाट सजिलै अनुमान गर्न सकिन्छ देश जति विकासतिर लम्किन्छ शहरीकरण हुँदै जान्छ र जनसंख्याको चाप पनि उत्तिकै बढ्दै जान्छ । यो मान्यताबाट मनन गर्दा विकसित देशमा शहरीकरण बढी छ तुलनात्मक रुपमा कम विकसित र अति कम विकसित देशमा भन्दा ।
अर्को पक्ष भनेको कम र अतिकम विकसित देशमा शहरमा भन्दा ग्रामीण भेगमा बढी जनसंख्या बसोबास गर्छन् भन्नु अर्थ यी देशहरुको अवस्था विकसित देशहरुको दाँजोमा भौतिक पूर्वाधार कम छ, बेरोजगारी, गरिबी र शैक्षिक समस्या छ भन्ने हो ।
नेपालको सन्दर्भमा शहरीकरणको प्रकृति कस्तो छ भनेर बुझ्न शहरी र ग्रामीण जनसंख्याबीचको भिन्नता बुझ्नु आवश्यक छ । यसमा हिमाल, पहाड र तराईबीचको असमान भौगोलिक वितरण, भौतिक पूर्वाधार, बेरोजगारी, अशिक्षा, जनसंख्या बृद्धि, गरिबीले प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रभाव पारेको छ ।
एतिहासिक पृष्ठभूमिका सन्दर्भमा नेपालको शहरीकरण लिच्छवी र किरातकालबाट भएको अनुमान गरिन्छ । त्यतिखेर सहरलाई ‘नगरी’ भनिन्थ्यो । नगरी भन्नाले घना बस्ती, विकसित अन्य बस्तीभन्दा आयस्रोत र भौतिक पूर्वधारले पनि समृद्ध भन्ने बुझिन्थ्यो । नगरीको विकसित रुपलाई अहिले नगरपालिका भन्ने चलन बसेको हो ।
नेपाल सरकारले भौगोलिक, प्रशासनिक र जनसांख्यिक आधारमा १३० नगरपालिका कार्यान्वयनमा ल्याइसकेको छ (अझै थप गरिएको भए पनि जनगणनाको तथ्यांक नभएकोले समावेश नगरिएको)।
नेपालले शहरी जनगणना सन् १९५२/५४ बाट सुरुवात गरेको थियो । छ दशकको समयावधिमा १० बाट १३० नगरपालिका र शहरी बसोबास गर्ने जनसंख्या २७.२ प्रतिशत पुगेको छ । छोटो अवधिमा नगन्यबाट तीव्र हुँदै छ नेपालको शहरी जनसंख्याको वृद्धि ।
सन् २०११ को तथ्याङ्कअनुसार हिमाली क्षेत्रमा ८, पहाडमा ५२ र तराईमा ७० गरी जम्मा १३० वटा नगरपालिका रहेका छन् । सन् २००१ को जनगणनाअनुसार नेपालमा ५८ नगरपालिका थिए- भौगोलिक क्षेत्रअनुसार हिमालमा २, पहाड २७ र तराई २९ ।
सन् १९५२ देखि सन् १९९१ सम्मको ४ दशकमा हिमाली क्षेत्रमा शहरी जनसंख्या भेटिँदैन । पहाडमा सुरुवाती समयदेखि नब्बेको दशकसम्म तराईको भन्दा बढी जनसंख्या थियो भन्ने तथ्यांकले देखाउँछ। नगरपालिकाको सङ्ख्याको आधारमा पहिलो र दोस्रो जनगणनासम्म पहाड र तराई ५-५ नगरपालिका थिए ।
तेस्रो जनगणनाबाट तराईमा नगरपालिकाको सङ्ख्या पहाडी क्षेत्रमा भन्दा बढ्दै गएको छ । जनसंख्याको आधार जम्मा शहरमा बसोबास गर्ने जनसंख्यामा ८२.४ प्रतिशत पहाडमा मात्र थिए, तराईमा केवल १७.६ प्रतिशत । तर तथ्यांकले के देखाउँछ भने अन्य सबै जनगणनामा क्रमशः तराईको शहरी जनसंख्या बढेर गएको छ पहाडको घट्दो क्रम ।
हिमाली क्षेत्रको सन्दर्भमा सन् २००१ मा नगरपालिका घोषणा गरिएपछि मात्र शहरी जनसंख्या भनी समावेश गरिएको थियो । पहिलो पटक नगरपालिका २ वटा घोषणा गरिएको थियो जसअनुसार हिमाली क्षेत्रमा १.४ प्रतिशत शहरी जनसंख्या थियो ।
सन् २०११ सम्ममा नगरपालिका ८ र जनसंख्या ९.५ प्रतिशत पुगेको थियो । भौगोलिक क्षेत्रफलका हिसाबले हिमाली क्षेत्रले १५ प्रतिशत ओगटेको छ तर सन् २०११ को जनगणना हेर्ने हो भने जनसंख्या ६.२ मात्र बसोबास गर्छन् ।
पहाडी क्षेत्रको भौगोलिक क्षेत्रफल ६८ प्रतिशत छ, जनसंख्या ४३ प्रतिशत रहेको छ । र, नेपालको कुल जनसङ्ख्याको आधाभन्दा बढी जनसङ्ख्या १७ प्रतिशत तराईमा बसोबास गर्छन् ।
सरकारले जनसंख्या र आयस्रोतको आधारमा हिमाली, पहाडी र तराई क्षेत्रमा फरक मापदण्ड बनाई धमाधम नगरपालिका घोषणा गर्दै कार्यन्वयन गरेको छ । नगरपालिका हुनलाई चाहिने न्यूनत्तम सेवा सुविधा र आवश्यकता ख्याल नगरी गाविसलाई नगरपालिका बनाई नाम मात्रको शहर र शहरी जनसंख्या भनिएको छ ।
हिमाली जनसंख्याको तथ्य र तथ्यांकले स्पष्ट बताउँछ- सन् २००१ को जनगणनामा १.४ प्रतिशत जनसंख्या २ नगरपालिका, एक दशकपछि अर्को जनगणनामा हिमाली जनसंख्या ९.५ प्रतिशत र ८ नगरपालिका हुनुले । भौतिक पूर्वाधार, विजुली, खानेपानी, हस्पिटल, स्कुल, कलेज राज्यले दश वर्षभित्र पुर्‍याउन सफल भएर हो या हचुवाको भरमा नगरपालिका बनाएर शहरी जनसंख्या बढेको हो, प्रश्न महत्वपूर्ण हुनसक्छ ।
भूगर्भविद् टोनी हेगेनलाई नेपालको जातीय विविधता र नेपालीले भोगेको समस्या देखेर भूगर्भभन्दा यहाँको मान्छेमा अनुसन्धान गर्न इच्छा जागेछ । रसियन राजदूतले उनलाई एक भेटमा भनेछन्, ‘तिमी भूगर्भविद् भएर भोकमरी र शरणार्थीहरुको अध्ययन गर्न थालेछौ ।’ उनले जवाफमा भनेछन्, ‘मान्छे प्राथमिकता कि चट्टान र ढुङ्गा-माटो ?’
सरकारको पूर्वाधारविहीन नगरपालिका घोषणाले पनि यस्तै प्रश्न उठाएको छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com