सीता मादेम्बा

आपसी अस्तित्व नस्वीकारेसम्म सद्भाव कायम होला?
[2015-09-14 오후 8:01:00]

पहिलो संविधानसभाको अवसान पूर्व आदिवासी जनजाति महासंघले आम हड्ताल घोषणा गरेको थियो। एक मधेस एक प्रदेश र जातिय पहिचान सहितको संघीय राज्यको मागले देश जलिरहेको थियो। अखण्ड सुदरपश्चिमको आन्दोलन चर्किरहेको थियो। यही आन्दोलनका क्रममा नवपरासीको डण्डाको थारु सङ्ग्रालय जलाइयो।

त्यो सङ्ग्रालय जलिरहँदा साम्प्रदायिक सद्भाव खलल मानिएन। तर जब महासंघको आन्दोलन चर्कियो जातिय पहिचान सहितको संघीय राज्यको कुरा उठेपछि भने फेसबुकमा आफ्नो नामपछि 'नेपाली' लेख्न थालियो। चर्चित व्यक्तिहरुले पनि 'नेपाली' लेख्ने शुरु गरे। टेलिभिजनमा अब हामी नेपाली नेपाली रहेनौँ, नेपाल आमा रोइरहेको छ भनेर समाचार विश्लेषणहरु प्रसारण भए। यसो भनेको सुन्दा मरो मन पनि कता कति खिन्न भयो। नेपाली लेख्दा मात्रै नेपाली हुने नामको पछाडी घिमिरे यादव, मुसर, राउटे, लिम्बु ,राइ, याख्खा लेख्ने चाहीँ नेपाली नहुने त उसो भए? नेपाली लेख्नुको पछाडि आफ्नै तर्क होलान् तर यसरी नेपाली लेख्नाले मात्र हाम्रो विविध जाति, संस्कृति, धर्म र परम्परालाई जोड्दैन।

टीकापुर घटनापछि सामाजिक सद्भावका नाममा हाम्रो जात छैन, हामी नेपाली हौँ, नेपाली-नेपाली एक हौँ भन्ने प्ले कार्ड बोकेर सामाजिक सद्भाव र्‍यालीहरु काठमाडौं लगायतका ठाउँमा निस्कीए ।

आफ्नो नाम पछाडि नेपाली लेख्दैमा कसरी सामाजिक सद्भाव कायम हुन्छ? अनि हामी नेपाली नेपाली एक हौँ भन्दैमा सामाजिक सदभाव कायम हुन्छ? बरु सामाजिक सद्भाव कायम गर्न हामी सबै जातजाति मिल्न सक्नुपर्छ। एक आपसमा सामाजिक सद्भाव कायम गरौँ भन्ने खुला छाती लिएर एक जातको अस्तित्व अर्को जातिले स्वीकार गर्न सक्नु पर्छ।

जातिय राजनिति नगरौँ भनेर हिडिरहेका अभियन्ताहरुले नै जातको आधारमा आफ्नो पार्टीमा प्रतिनिधित्व गरेका छन्। संविधानसभामा निर्वाचित भएका छन्। आरक्षणमा परेका छन्। त्यही जातलाई नै मागी खाने भाँडो बनाएका छन्। अनि अहिले जातको कुरा नगरौँ, हामी सबै नेपालीमात्र हौँ भनेर उडन्ते कुरा गरेर अभियान चलाएर हिडेका छन्। जातको कुरा गर्नु पर्छ तर सामाजिक सद्भाव नै खलल हुने गरी एक जातिले अर्को जातिको अस्तित्वलाई नामेट पार्नु भएन। सबैको सह-अतित्वलाई स्वीकार गर्नु पर्छ।

नेपालमा जन्मिएपछि हामी स्वत: नेपाली हौँ। आन्दोलनकारी कसैले नि हामी नेपाली होइनौँ भनेका छैनन्। आफ्नै देशभित्र आफ्नो पहिचान र अधिकार स्थापित गर्न माग गरिरहेका छन्। आधिकारका कुरा उठाउने जाति राष्ट्रवादी होइनन् भन्ने मान्यता स्थापित गरिँदैछ यहाँ। अखण्ड सुदुरपश्चिमको आन्दोलनमा सहभागी अधिकांश क्षेत्री र ब्राह्मण छन् तर उनीहरुलाइ चाँही जातियताको आरोप नलाग्ने?

नेकपा माओवादी त्यही जातिय राजनिती गरेर सत्तामा पुग्न सफल भयो। एमाले र कांग्रेसले पनि आफनो पार्टीमा जातका आधारमा संगठन बनाउन पछि परेनन्। यही जातिय कार्डलाइ भोट बैंकका रुपमा प्रयोग गरे। जातिय कार्ड प्रयोग गर्दा ती ठूला दलहरु जातिवादी भएनन्। तर आफ्नो पहिचानको खोजिमा आन्दोलन गरिरहेकाहरु जातिवादी हुने?

अब पहिचान पक्षधरका पनि कुरा गरौँ। उनीहरु पनि यति अतिवादी छन् की सार्वजानिक कार्यक्रममा ताली खान जे पनि बोलिदिन्छन्। भोलि लिम्बुवान, मधेस, अनि थरुहट प्रदेश बन्यो भने हामी सर्वैसर्वा हुन्छौं भनेर कार्यकर्तालाई उक्साउँछन्। कार्यकर्ताहरु हो न हो भनेर पछि लागिरहेका छन्। आफूलाई क्रान्तिकारी बनाउन ब्राम्हण र क्षेत्रीलाइ गाली गर्छन्। त्यसैको परिणाम स्वरुप मधेसी र जनजातिसँग सर्वसाधारण ब्राम्हणक्षेत्री नै सशंकित भएका छन्। उनीहरुकै कारणले भोलि थरुहट, लिम्बुवान र मधेस प्रदेश भयो भने हाम्रो स्थान कँहा हुने भनेर तर्सिएका छन् कतिपयहरु? त्यता पनि सोच्नु पर्छ पहिचानवादी नेताहरुले। अरु समुदायमा विश्वासको वातावरण बनाउनु ठूलो चुनौती छ पहिचानवादी नेताहरुलाई।

'माओवादी-सत्ता' आएपछि समाजमा धनी र गरिबको खाडल हुँदैन भन्दै माओवादीले भाषण गरेको र कार्यकर्ता आफनो पार्टीमा लाग्न उकासेको हिजो जस्तो लाग्छ। माओवादी सत्तामा पनि पुग्यो। तर, उक्साहटमा लागेर ज्यानका बाजी थाप्नेहरुको परिवार अनि घाइतेले के पाए भन्ने घाम झैँ छर्लङ्ग छ। बेपत्ताका परिवारहरु आंशुसँगै बाँचेका छन्। राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि सातो हराएका नेताहरु राजा हटाउन एक भए लागे। राजा हटेपछि के-के न हुन्छ भनियो। राजातन्त्र हट्यो, नेताहरु सत्तामा पुगे सर्वसाधारणले के पाए? केही टाठाबाठाबाहेक अरुको अवस्था जस्ताको त्यस्तै। अनि संविधानसभाको चुनाव पछि चुड्कीको भरमा विकास हुन्छ अवसर पाउँछौ भनियो। आठ वर्ष बित्यो। आठ वर्षको प्रतिफल स्वरुप कैलाली घटना भयो। मधेस बलिरहेको छ। शान्त जस्तो देखिए पनि पूर्व शान्त छैन, भुसको आगो झैँ छ। हिजो मिलेर बसेका सबै जातजातिमा फाटो आउन थालिसकेको छ। त्यही फाटोलाई टाल्न कर्फ्यु लगाएर सरकारले टाल्न खोजिरहेको छ। दिनहुँजसो मधेसमा पुलिसको गोलीले मान्छे ढलिरहँदा आँप झरेको संज्ञा दिइरहेका छन् नेताहरु।

टीकापुरमा कर्फ्युको समयमा फूलबारी एफएम जलाइयो, थारुहरुका कयौं पसल जलेका छन्। टीकापुरकै जोशीपुरमा प्रहरीको कुटपिटबाट सतिस थारुको मृत्यु भएको खबर छ। त्यहाँ भएको ज्यादतिको विषयमा कहीँ कतै पनि आएको छैन।

थरुहटको आन्दोलनमा प्रहरी मारिए, यो घटना अत्यन्तै निन्दनीय छ। हत्यामा संलग्नलाई कारबाही हुनुपर्छ। प्रहरीले सबैलाई समान सुरक्षाको प्रत्याभुति दिलाउन सक्नु पर्छ। टिकापुरमा फैलिएको पहाडी र थारुबीचको दरार कम गर्न त्यति सहज छैन, जति हामी आँकलन गरिरहेका छौँ। अनी संघसंस्थामा काम गर्ने सचेत वर्ग सद्भावका नाममा नेपाली नेपाली एक हौँ भनेर सामाजिक सद्भाव कायम होला त? कदापी हुँदैन। त्यसैले नेपालमा बस्ने सबै जातजाति एक होऔं भनेर सन्देश फैलाऔं।

ठूला पर्टीका नेताले अहिलेको परिस्थितिमा संवाद र वार्ताद्वारा चाँडै समस्याको निकास खोज्न जरुरी छ। निकास चाँडै खोजिएन भने यो जातियताको आगो डढेलो झैँ फैलने खतरा छ। सेना परिचालन गरेर दमन गरेर केही क्षणलाई दबाउन सकिएला तर दिगो समस्या समाधान पक्कै हुन सक्दैन।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com