दिल निसानि मगर

गृहमन्त्री ज्यू, काठमाडौं बाहिर पनि नेपाल छ है
[2015-04-29 오전 10:08:00]

देशभन्दा बाहिर रहेका नेपालीहरू पहिरोमा पुरिएका आफ्नो प्यारो गाउँको विक्षिप्त तस्बिर टुलुटुलु हेरेर बस्न विवश छन्। भनेको समय घरमा फोन लाग्दैन, गाँउमा स्काइप, भाइबर छैनन्, मन आतिन्छ। यो दुखत् घडिमा धेरै गर्न सके उनीहरू धुरूधुरू रूने हुन् अनि भगवानको नाममा प्रार्थना गर्ने हुन्।उनीहरूलाई रातमा निद्रा छैन अनि दिनमा भोक छैन। मिडिमामा आउने समाचार अनि भिडियो पढेर, देखेर लकलक काँपेर मुर्छा खानेहरू कति छन् कति। यस्तो दर्दनाक पीडा स्वदेशमा रहनेहरुलाई छैन भन्न खोजेको होईन। एउटा सत्य पीडा के हो भने टेलिकम, स्काईप, भाईवर विश्वको जुन सुकै कुनामा पनि समपर्क गर्न निःशुल्क त गरिदिएको तर गाँउघरमा यी नानाथरि सुबिधा कहाँ छ र, कठै।

विदेशमा बस्दा देशको माया अति नै लाग्छ। भुकम्प नेपालमा होईन, आफनै मुटुमा झट्किए जस्तो लाग्छ, यो मलाईमात्र होईन बिश्वभरि रहेका नेपालीलाई त्यस्तै लाग्छ। एक टुक्रा बिस्कुटमा ज्यान थामेको ३ दिन भइसक्यो। दालभात त घाँटीभन्दा तल झरे पो खानु।
स्वदेशमा बस्ने आफन्तहरूको आँखा अगाडि लासहरूको थुप्रो छ। भासिएका जमिनहरू छन्। गुहार-गुहारभन्दा भन्दै अन्तिम पटक जीवनको भिख मागिरहेका बाबु आमाका चित्कार कानभरि छन्। अचानक खाल्टो भित्र पुरिन पुगेका छोरा-बुहारी, छोरी-ज्वाँइको माया मुटु भित्र छ।कतिले मन मिल्ने साथी गुमाएका छन्। कतिले जीवनको साहारा गुमाउन पुगेका छन्। कतिको नाति-नातिना गुमेका छन्। कतिको प्यारा सन्तानहरू गुमेका छन्। गुम्न बाँकि अब केहि पनि रहेन। भौतिक सम्पति गुमेको पीडा शब्दमा ब्यक्त गर्न सकिँदैन। खैर, जे होस् छाडौ यो कुरालाई। सबैलाई महशुस भएको यो समान पिडालाई धेरै पटक सम्झियौ भने झन ठूलो पीडा थपिन्छ।

भुकम्पले निम्त्याएको क्षति देश भरि नै छ। कहीँ कम क्षति भएको हुन सक्छ, कहिँ धेरै। निधन भएका मानिसहरूको सङ्ख्याको आधारमामात्र उक्त ठाँउमा धेरै क्षति भयो भनेर बुझ्न मिल्दैन। कैयौ पहाडि गाँउहरूमा कतिमान्छे मरे कति अझै खाल्डो भित्र ढुकढुकी प्राण छामेर बसिरहेका छन् कसैलाई पनि थाहा छैन।यो संकटको मापन काठमाडौका अग्ला घर भत्केको वा चर्केको आधारमा पनि गर्न मिल्दैन, पहाडमा सिङ्गो गाँउ धव्स्त बनेका छन्। पहाडमा धैरै परिवारका सबै सदस्यहरू घर भित्र पुरिएका छन्। तिनको कुनै लेखाजोखा छैन। सुदूर गाँउको आँशु सरकार देख्दैन। झुपडी भत्केको के पिडा, महल भत्केको पो पिडा त!

यसैबीच सरकारको उद्वार प्रथामिकता काठमाडौंमामात्र केन्द्रित भयो भनेर कैयौ मिडीयाहरूले आफ्ना मुख्य समचारमा उल्लेख गरेका छन्। सामाजिक सञ्जालमा सम्बन्धित गाँउबासिहरूले क्षतिग्रस्त पहाडी ईलाकामा ३ दिनसम्म कुनै पनि सरकारी सहयोग पुग्न नसकेको गुनासाहरू बडो दुखका साथ पोखिरहेका छन्। यो सत्य पनि हो, किनभने नेपाल सरकारलाई आफ्ना नागरिकहरूको कतिमाया रहेछ भन्ने जाँच अब हुँदैछ र यिनको जवाफदेहिता नाङ्गै नाचिँरहेको छ। अलिकति सोच्नुहोस् त बामदेब ज्यु काठमाडौं बाहिर पनि नेपाल छ। कति ठूलो भु-भाग छ काठमाडौं बाहिर। कति बिशाल नेपाल छ, काठमाडौं बाहिर।

भुगोलको आधारमा यति धेरै बिभेद किन भयो सरकार? हामी जस्तो सामान्य नेपाली नागरिकका लागि काठमाडौं पनि नेपाल हो, गोर्खा पनि नेपाल हो, दोलखा पनि नेपाल हो। प्राकृतिक प्रकोपको सबैभन्दा ठूलो पीडा पहाडी ईलाकाहरूमा हुन्छ। यस्तो प्राकृतिक प्रकोपको बखत पहाडी जनजीवन निकै भयानक हुन्छ।हुन त काठमाडौंमा पनि भयानक हुन्छ। तर, काठमाडौंसँग ठूला ठूला अस्पतालहरू छन्। काठमाडौंसँग घाइतेलाई उपचार गर्ने घुम्ति मेडिकलहरू छन्। काठमाडौंसँग खानपिन वितरणको राम्रो ब्यवस्था छ। काठमाडौंसँग सिंहदरबार नजिक छ, लजिम्पाट दरबार निजक छ, बल्खु दरबार नजिक छ। अनि अर्को महत्वपूर्ण कुरा बिदेशबाट आएका सहयोगिहरूबाट सबैभन्दा पहिले लाभान्वित हुने काठमाडौं नै हो।

तर, गोर्खाको लाप्राकमा अबस्थित गुरुङ गाँउमा वीर अस्पताल छैन मन्त्री ज्यु! भएको एउटा स्वास्थ चौकीमा १० जना घाईते अटाउन्नन्। गोर्खाको लाप्राकमा एक्बुलेन्सहरू डौडिन सक्दैनन्। गोर्खाको लाप्राकमा रगत चढाउन मिल्ने घुम्ती अस्तपाल पनि छैनन्। गोर्खाको लाप्राकमा दाताहरू छैनन्। गोर्खाको बारपाकमा सयौं घाईतेहरू हिलो भित्र आधा जीवन बाँचिरहेका छन् अनि सयौं मृत शरीर सुतिरहेका छन्।

हाम्रो नेपाली सेना सबैभन्दा पहिले त्यहाँ किन पुग्न सकेन? भुकम्पको केन्द्र बिन्दु कहाँ थियो मन्त्री ज्यु थाहा छ? शनिबार गएको गोर्खाको लाप्राकमा अव्यवस्थित गुरूङ गाउँमा थिएन र? अनि क्षति कहाँ हुन्छ? हाम्रा नेपाली सैनिकका हेलिकप्टरहरू काठमाडौंको आकाशबाट भग्नावशेष जमिनको फोटो खिच्न पठाउनु भएको थियो कि कसो? यदि हेलिकप्टर अपुग छन् भने मान्छे मर्न दिने?

गोर्खा कै बुङ्कोट गाविसका पनि प्रायः सबै घर ध्वस्त भइसकेका छन् भनेर जानकारी आएको थियो। सरकारसँग बाबुराम भट्टराईले हेलिकप्टर पठाउन माग त गरेछन् तर सरकारले तत्कालै सुन्दै सुनेनन्। गाँऊमा मान्छे मरिकसेपछि, घाईतेहरू छट्पटाउँदा छट्पटाउँदै जीवनको त्याग गरिकसे पछि घटनास्थलमा त जो पनि पुग्न सक्छ नि होईन र? तर, उद्वार कार्य भनेको के हो?

कुन अवस्थामा उद्वार कार्यको आवश्यता कस्तो रहन्छ भने कुरा सरकारको बागडोर सम्हालेर बसिरहेका मानिसहरूलाई थाहै रहेनछ। हिजोमात्रै गृहमन्त्रीको कान्तिपुर टेलिभिनमा भएको अन्तर्वार्ता हेरियो । उदेक लागेर आयो बामदेव ज्यु, एउटा देशको गृहमन्त्री भएर त्यस्तो कुरा गर्ने? ‘भुकम्प हामीले बोलाएर आएको हो र, समय मै उद्दार गर्न सकिन्छ रे,’ लौ भयो अब।

हिजोमात्रै गोर्खाको लाप्राकस्थित गुरुङ गाँउमा भारतीय सैनिकको समूह हेलिकप्टरका साथ पुगेर उद्वारको कामलाई अगाडि त बढाए। तर, तीन दिनपछि। दुई दिनसम्म त तिनै बाबुरामको पनि आँखा बन्द थियो जसले गोर्खालाई आफ्नो निजी पेवा सम्झीन्छन्। कम्तिमा संकट आइलाग्दा जहाँ भौतिक पूर्वाधारहरू छैनन्। सेवा सुबिधाहरू छैनन्। त्यस्ता प्रभावित क्षेत्रहरूमा बिदेशिहरू भन्दा पनि सबैभन्दा घरेलु उद्वार समूह पुगेको हुनैपर्ने थियो।
किनभने भुगोलको जानकारी हुनाले उद्वारमा खटिन जति स्वदेशी सजिलो हुन्छ त्यति बिदेशीलाई हुँदैन। अनि सरकारलाई हेलिकप्टर माग्ने बाबुरामको वाईसियल शक्ति कहाँ छ? कोठामा लुकेर विज्ञप्ति निकाल्दैमा जनताको घाउ निको हुने भए मोहन बिक्रम सिंह एसियाकै महान नेता बनिसक्थे। बाबुरामलाई गोर्खाको लाप्राक गाँउ उद्वार गर्न पनि समस्या भएछ।

अर्को काठमाडौं बाहिर भनेको दोलखा पनि। दोलखामा ३ सय जना नागरिकको अत्तोपत्तो केहि छैन भनेर मुस्किलले बाँचेका दोलखाबासी रोईरहेका छन्, कराईरहेका छन्। खोजिकार्यको लागि सरकारसँग अपिल गरिरहेका छन्। लामाबगर भन्ने गाविसमा यार्सागुम्बा टिप्न जाँदा बेपत्ता भएका ३ सय नागरिक नेपाली हुन् कि होईनन् वा तिनीहरू नेपाल भन्ने देशका नागरिक हुन कि होईनन्?

ए सरकार! तिमि आफै भनिदेऊ, ति नागरिकको माया तिमिलाई छ कि छैन? सगरमाथा आधार शिवरमा फसेका गोराहरू निस्केर पनि तिनको देशमा पुगिसके, हाम्रै देशका नागरिकहरू मृत नहुदाँसम्म फसिरहनु पर्ने हो?

संकटको बेलामा मानिसहरूले हरेक कष्टलाई ‘भगवान’ भरोसाको रूपमा लिन्छन्। भावना र आस्थाको हिसाबले त्यो ठीक छ, तर यस्तो कसिसिमको प्राकृतिक प्रकोपमा हामीले हाम्रो भगवान भनेर उद्वारकर्मीहरूलाई बुझ्नु पर्छ। सात समुन्द्रपारीका कैयौ भगवानहरू आफ्नो ज्यानलाई जोखिममा मोलेर हिमालको आधार शिविरदेखि पहाडको खोजसम्म पुगेका छन् हाम्रो सरकार भने काठमाडौंमा लाश गनेर बसेको छ।

सरकारको यस्तो गतिबिधि, रबैया कुनै पनि दृष्टिकोणबाट सहि छैन, नगरिकको हितमा छैन। दुःखि र समस्यामा परेका मानिसहरूको निम्ति सरकार भगवान हुनु पर्दथ्यो, यतिखेरको संकटमा कोही कसैको आलोचना गर्नु त राम्रो हुँदैन तर बेलाबेलामा भुकप्पको उच्च जोखिम रहेको देश भनेर सरोकारवाला निकायले सजक गराउँदा पनि सरकारको कुनै तयारी रहेनछ भन्ने सहजै बुझियो।तलब, भत्तामा भुकम्प निवारण सम्बन्धी तालिम गोष्ठि र छलफलको भत्ता जान्छ, जब भुकम्प जान्छ तिनको सातो जान्छ।

ब्यापारीहरूले एउटा चाउचाउको पोकालाई एक सय पचास भाउ बनाएका छन् भन्ने सुनियो। एक बोटल पानीलाई पनि एक सय। भुकम्प भनेको मेलापात हो? ब्यापार गर्ने? नेपालमा यति ठूलो अभाव र अराजकता हुन पर्ने हो र? के कुनै निकाय छैन जसले राज्यको जिम्वेवार नागरिकको हितमा लागाओस्, नागरिकको स्वास्थ्य, सुरक्षामा ध्यान देओस्, खानपिनमा ध्यान देओस?तर गृह मन्त्रालयका प्रवक्ता भन्छन्-‘हामिसँग भएपो दिने?’ को संग छ त जनताले तिरेको राजस्व? जवाफ चाहियो।

हिजोमात्रै एकजना घाइते बिरामीलाई उपचार गर्ने पैसा नभएका कारण उपचार नगरिदिने भनेर एक निजी अस्पतालले भर्ना गर्न मानेनछ। ठिकै छ, निजी होला तर निजी अस्पतालको मान्यता मुनाफा मात्र हो कि सेवामुलक पनि हो?यस्ता अस्पतालको तत्काल लाईसेन्स खारेज हुनपर्दछ। पक्कै पनि काठमाडौं ठूलो शहरहो अस्पतालहरू भरिएका होलान् तर, काठमाडौंमा वैकल्पिक ब्यवस्था धैरै छन्। बिश्वका धैरै टाढाका सहयोगिहरू नेपाल आएर सेवा गरिरहेका छन् नेपाल भित्रैका मानिसहरूको यस्तो दादागिरिपनलाई निमिट्यान्न पार्नै पर्छ।

सायद राणाहरू भएका भए यी कालाबजारिहरूलाई चोकमा लगेर काटिदिन्थे होला। परोपकारीको नाममा कि त निःशुल्क उपचार गर्न सक्नु पर्थ्यो कि पछि सरकारबाट असुलन मिल्ने बाताबरण मिलाउन पक्कै सकिन्थ्यो।

विपतका बेला लुट मच्चाउने कलंकलाई १९९० सालका प्रधानमन्त्री जुद्ध समशेर राणाले जस्तो पाँच जना साक्षी राखेर यी लुटेरालार्इ मर्मत गरिदिए कुनै फरक पर्दैन। तर समस्या यतिको मात्रै छैन। भुगोलको बनावट, जाने बाटो तथा भुकम्पका कारण जमिनमुनि वा माथि फसेका मानिसहरूको सम्भावित सङ्ख्या थाहा हुने भनेको राज्यको संयन्त्रलाईमात्र हो।

स्वभाविक रुपमा प्रभावित क्षेत्र बारे बिदेशीलाई थाहा हुन्न। अहिले धेरै जसो उद्दारकर्ताहरू राजधानीमा ढलेका केही घरहरू खोतलेर बसिरहेको देखिन्छ, खाना पानि बितरण गरिरहेका देखिन्छन्। घाईते ओसारपसार गरिरहेका पनि देखिन्छन् दुःखको कुरा गाँउमा केहि देखिन्न।
यो सरकार आफैंपनि केहि गर्न नसक्ने, आफै भरपर्दो उद्वार पनि सक्न नसक्ने जस्तो देखियो। तर आफै उद्वार गर्न नसकेपनि बिदेशबाट आएका सहयोगी समूहलाई कसरी ब्यवस्थापन गराई काममा लगाउने योजना राज्यको नुन खाएकाहरूसँग हुनुपर्ने थियो।
कता हो पढेको थिँए-‘जो पायो त्यहि नेपालमा सहयोग गर्न आउँदा सरकारलाई एकदम झन्झट भयो रे। वा ! क्या रे गोर्खाली, कवि भूपि शेरचनले भनेका थिए- ‘हामी विर छौ र बुद्दु छौ, बुद्दु नभईकन हामी बिर हुनै सक्दैनौ।’

संयोगबश कस्तो मेल खान गयो। उद्वारको लागि आएको टोलीलाई कृपया बिमानस्थलमा अलपत्र नपार, बरू प्रभावित क्षेत्रमा परिचालन गर।

गर्हमन्त्री ज्यु! काठमाडौं बाहिरका भुकम्प प्रभावित जिल्लाका घाईते मानिसहरूलाई अब पनि हतार नगरे उपचार गर्न निकै ढिलो हुनेछ। जीवनको माया सबैलाई लाग्छ।राहत तथा उद्वारलाई ब्यवस्थित बनाउने बैठकमा बस्दा प्रम सुशील कोईरालासँगै तपाई पनि प्रहरीको हात समातेर भाग्नु भयो रे भन्ने पनि सुनियो। हो त्यसरि नै भाग्छन् गाँउ तिर पनि। तर गाँउमा भाग्नेहरूको सहयोगी प्रहरी हुन्नन्। सम्भवतःकोही पनि हुन्नन्।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com