शशीशेखर

गुट, टुट र फुटको मधेसी राजनीति
[2015-04-11 오후 7:19:00]

नेपालमा गुट, टुट र फुटको राजनीतिक त्यति नौलो विषय होइन । साना विषयमा मतान्तर हुनेवित्तिकै पार्टीमा फुट देखापरिहाल्छ । तर, सवैभन्दा धेरै फुट भने मधेसवादी दलमा नै देखिएको छ । पहिलो संविधानसभा चुनावपछि सबैभन्दा धेरै पटक मधेसवादी दल नै फुटेका छन् । अघिल्लो संविधानसभा चुनाव यताका केहि वर्षलाई नियाल्ने हो भने मधेस केन्द्रित दलहरुको व्यक्ति केन्द्रित राजनीतिका कारण नै पार्टी फुट्ने क्रम बढ्दै गएको छ ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता जितेन्द्रदेवका अनुसार मधेसमा मैलाएको जाती केन्द्रित राजनीति र सवैलाई उच्च पदमा बस्नुपर्ने व्यक्तिगत स्वार्थपूर्ण राजनीतिकै कारण मधेसकेन्द्रित दलहरु विभाजित भइरहेका छन् । बैचारिक र राजनीतिक धरातल एउटै हुदा पनि मेधेसी दलहरु टुटफुटको भुमरीमा पर्नु व्यक्तिगत स्वार्थ हावी भएको उहाको विश्लेषण छ ।

मेधसी जनअधिकार फोरम लोकतान्त्रिकका सचिव रत्नलाल कायस्त पनि मधेस केन्द्रित दलहरु मुद्दा केन्द्रित भन्दा पनि व्यक्ति र पार्टी केन्द्रित राजनीतिका कारण टुटफुटको संघारमा पुगेको बताउनुहुन्छ ।

त्यसो त मधेसकेन्द्रित दलहरुलाई मधेसको मुद्धा स्थापित गर्ने भन्दा पनि सत्ताको लागि राजनीति गर्ने आरोप लागिरहन्छ । हुन पनि घटनाक्रमलाई हेर्ने हो भने पनि त्यस्तै देखिन्छ । पहिलो संविधानसभा चुनावमा चौथो शत्तिका रुपमा उदाएको मधेसी जनअधिकार फोरम नेपाल सत्ताकै कारण धेरैपटक फुट्यो ।

यो पार्टीमा फुटको शृंखला २०६६ जेठमा माधवकुमार नेपाल नेतृत्वको सरकार बन्ने बेलाबाट सुरु भएको थियो । जुन क्रम लगातार चलिरहयो, दोस्रो संविधानसभा निर्वाचन अघि सम्म । २०६६ जेठ पहिलो साता मधेसी जनअधिकार फोरम नेपाल फुटाएर विजयकुमार गच्छदारले आफ्नै अध्यक्षतामा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक ) गठन गरे ।

उक्त पार्टी सहित २२ दलको समर्थनमा त्यही वर्षको जेठ ९ मा नेपाल प्रधानमन्त्री बनेका थिए । माधवकुमार नेपालको सरकारमा गच्छदार उपप्रधानमन्त्रीसहित भौतिक योजना तथा निर्माणमन्त्री बने । २०६७ भदौमा भएको प्रधानमन्त्रीको चुनावमा बाबुराम भट्टराईलाई सहयोग गर्ने या नगर्ने भन्ने विवाद चुलिएपछि मधेसी जनअधिकार फोरम नेपालमा सहअध्यक्ष रहेका जेपी गुप्ताले पार्टी फुटाएर आफ्नै नेतृत्वमा मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) गठन गरे ।

सञ्चारमन्त्री रहेकै बेला उनी भ्रष्टाचारको आरोपमा जेल चलान भए । त्यसपछि पार्टीको नेतृत्व राजकिश्वर यादवले लिए । यादवको नेतृत्वमा पनि पार्टी एक ढिक्का भएर अगाडि बढ्न सकेन । पार्टीभित्रको आन्तरिक कलहका कारण फोरम मात्रै फुटेन तमलोपा, सद्भावना लगायतका दल पनि फुटे ।

सरकारमा सहभागिताकै विषयलाई लिएर तराई मधेस लोकतान्त्रिक पार्टी २०६७ पुस १६ मा फुट्यो । महेन्द्र राय यादवले तमलोपा छाडेर तमलोपा नेपाल गठन गरे । झलनाथ खनाल नेतृत्वको सरकारलाई सहयोग गर्ने या नगर्ने भन्ने विषयमा तिब्र मतभेद भएपछि तमलोपा फुटेको थियो । पहिलो संविधानसभा चुनावमा नौ सभासद रहेको सद्भावना केहि वर्षको अन्तरालमा विभिन्न टुक्रामा विभाजित भयो ।

जहिले पनि अध्यक्ष राजेन्द्र महतो एक्लैले सरकारको नेतृत्व गर्ने, पार्टीलाई एकलौटी ढंगले चलाउने र अरुलाई अवसर नदिने लगायतका आरोप लगाउँदै अनिलकुमार झाले २०६८ साउन २ गते संघिय सद्भावना पार्टी गठन गरे । पार्टी गठन गरेलगत्तै झाले महतोको सत्तामोहका कारण आफूहरुले नयाँ पार्टी गठन गरेको बताए । तर, राजेन्द्र महतोलाई सत्तामोहको आरोप लगाएको केहिसमयपछि नै अनिलकुमार झा बाबुराम भट्टराई नेतृत्वको सरकारमा सहभागि भए ।

मधेस केन्द्रित दलहरु सत्तामा सहभागी हुने या नहुने विवादकै कारण फुटेका छन् । फुट्ने सबैले एक अर्कालाई लगाउने आरोप पनि एकै प्रकारको छ कि सत्तामोह र सत्तालिप्साका कारण पार्टीमा सँगै बस्न सकिएन । लाभको पद पाउने वित्तिकै पार्टी फुटाउन तयार हुने मधेस केन्द्रित दलहरु आन्दोलनको समयमा भने एउटै मोर्चामा आवद्ध हुन्छन् । उनीहरुको राजनीतिक र बैचारिक धरातलमा खासै फरक छैन् । त्यासो त अहिले राजनीतिक र वैचारीक धरातल नै फरक भएको एमाओवादी लागएतका दलहरुसँग मधेस केन्द्रित दलहरुको मोर्चाबन्दी छ ।

एउटै बैचारीक धार भएका पार्टीहरुबिच पनि एकताबद्ध हुननसक्ने मधेसी दलहरुको एमाओवादी सगको मार्चाबन्दीको उद्धेश्य जातीय र क्षेत्रिय राज्यको मुद्धालाई स्थापित गर्नुनै हो । यही स्वार्थको कारण नै मधेसकेन्द्रित दलहरु तीस दलिय मोर्चामा आबद्ध भएका छन् । पछिल्लो समय यही मोर्चा भित्र पनि विवाद सुरु भएको छ । फरक विचार र फरक उद्धेश्य बोकेका दलहरुबीचको मोर्चाबन्दीमा यस्तो देखिनु स्वभाविक भएको नेताहरु बताउछन् ।

मधेसी जनताका माग, आवश्यकता र अधिकार रक्षाका निम्ति गठन गरिएका मधेसी दलहरु कुनै समय राष्ट्रिय राजनीतिको मुख्य शक्ति थिए । सत्ता समिकरणमा ठूलै उलटपुलट पार्न सक्ने क्षमता राख्ने राजनैतिक दलहरु अन्ततः आफ्नो दल केन्द्रीत राजनीतिमा व्यस्त हुन थाले ।

आफ्नो दलले सरकार शमिकरणमा महत्वपूर्ण मन्त्रालय पाए समावेश भइ हाल्ने र बाहिर बस्नु परे राजनैतिक दलले अल्पसंख्यक मधेसी समुदायलाई वेवास्ता गरेको आरोप लगाउदै मधेसमा चर्का भाषण गर्ने परिपाटी मधेसी दलहरुमा हावी भएको छ । स्वार्थकै लागि मधेसी दलहरु फरक –फरक मोर्चामा आवद्द हुन्छन् । यही क्रमले मधेस केन्द्रित दलहरुलाई कमजोर बनाउँदै लगेको छ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com