मञ्जु थापा

कोरियामा किन बढ्यो आत्महत्या?
[2015-03-24 오전 10:02:00]

‘बहिनी मलाई बचाउनुहोस्, म मर्न लागेँ। श्रीमान्‌ले पिट्छ। मुख र हातमा पट्टी बाँधेर दिनभर सानो कोठामा थुनेर राख्छ। म के गरूँ?’ बबिता श्रेष्ठ (नाम परिवर्तन) फोनमा गुहार माग्दै थिइन्।

भर्खरै कोरियाली नागरिकसँग बिहे गरेर कोरिया आएकी थिइन्। श्रीमान्‌सँगको सम्बन्ध सुमधुर नभएको र घरेलुहिंसा सहन नसकी पटक-पटक आत्महत्याको प्रयास गरेको उनले सुनाइन्।

कुरा यतिमै टुंगिएन। उनी ठूलो डिप्रेसनमा थिइन्। कोरिया आउन पटक-पटक भाषा परीक्षा दिए पनि नाम निकाल्न नसकेपछि उनले नेपाली दलालमार्फत कोरियालीसँग नक्कली बिहे गरेकी थिइन्।

उनी मनग्गे पैसा कमाउन आएकी थिइन्। तर उनको सपना चकनाचुर भयो, जब नक्कली श्रीमान्‌ले रातदिन जबरजस्ती गर्न थाले। हुन त उनी सजिलै भागेर जान सक्छु भन्ने सोचेर आएकी रहिछिन्। नेपालमा बसेर सोचेजस्तो सजिलो अवस्था कोरियामा थिएन। गरिब र खेती गरी खाने श्रीमान्‌ले उनलाई नछाडेपछि समस्या परेको रहेछ।

म उनलाई थेगुबाट लिएर सोल फर्केँ। कोरिया आउँदा लागेको ऋण तिर्न नसक्नु उनका लागि डिप्रेसनको मुख्य कारण भइदियो। उनी सधैँ आत्महत्या गर्ने कुरा दोहोर्‍याउँथिन्न्, ‘बहिनी, बरु यतै मर्छु नेपाल जादिनँ भन्थिन्।’

त्यसैले मलाई आफू कलेज गएका बेला केही अप्रिय घटना होला कि भन्ने डर पनि लाग्थ्यो। त्यसैले उनलाई एक्लै छोड्ने आँट गरिनँ। हुन त त्यस समय कोरियामा च्याउ उम्रेजस्ता दिनहु खुल्ने संघसंस्था थिए। तर तिनीहरूले नेपाली महिलालाई आपत् पर्दा राख्ने सुरक्षित बासस्थानको कुनै व्यवस्था गरेका थिएनन्। बल्ल तल्ल कोरियाली र केही नेपाली साथीहरूको सहयोगमा उनी नेपाल फर्किइन्।

फेरि अर्को घटना भयो। एक साथीको आत्महत्याको खबरले म स्तब्ध भएँ।

केही दिनअघि मात्रै हामी सँगै बसेर आउनै लागेको चुसक पर्वमा घुम्न जाने योजना बनाएर छुटिएका थियौँ। ऊ इपिएस भिसामा कोरिया आएको एक वर्ष जति भएको थियो। आज उसैको मलामी जानुपर्छ भन्ने कुरा पत्याउन पनि गाह्रो भो मलाई। आफ्नै मलामी गइरहेजस्तो लाग्यो। कोरियामा ठूला सपना साँचेर अनि सुनौलो भविष्यको कल्पना गरेर आएकाहरूले नै किन आत्महत्या गरिरहेका छन्? मैले बुझ्न सकिरहेको थिइनँ।

यो घटनाले मलाई धेरै दिनसम्म सोच्न बाध्य बनायो- किन मानिस यसरी आत्माहत्या गर्नु नै समस्याको समाधान हो भन्ठान्छन्? किन देशबाट टाढा आएर, परिवारलाई भुलेर मृत्यु अँगाल्छन्? अब उसको छोरीले कसलाई बाबा भन्छे? अनि उसकी श्रीमती? धेरै प्रश्न उब्जिए। तर ती कुनैको पनि मसँग उत्तर थिएन।

त्यसको केही दिनपछि बिदाका बेला अल्छी गरेर विस्तारामा पल्टिरहेकी थिएँ। बिहानै एक नेपालीले शौचालयमा आत्माहत्या गरेको समाचार एनसिसीका तत्कालीन अध्यक्ष डेविड राईले फोनमा सुनाए। म फेरि स्तब्ध भएँ। केही बोल्नै सकिनँ। उनी भन्दै थिए - यो समाचार लेखी हाल्नोस् है।

यो कस्तो कामको जिम्मेवारी लिइएछजस्तो लाग्यो। अस्ति भर्खरै लेखेको आत्महत्याको समाचारबारे साथीहरू फोन गरेर सोध्दैछन्। फेरि अर्को आत्महत्याको समाचार लेख्नुपर्ने भो। खासमा म पत्रकार थिइनँ। कोरियामा विद्यार्थी भएर पढ्न गएको थिएँ। त्यही बेला मैले माइग्रेन्ट ट्रेड युनियन (एमटियु)मा काम गर्ने अवसर पाएँ। प्रवासी श्रमिक र नेपालीहरूलाई श्रम ऐनलगायत मजदुरहरूको हक अधिकारबारे सचेत बनाउने र हक अधिकार प्राप्त गर्न पहल गर्ने एउटा साथी बनेँ। त्यसैले प्रवासी श्रमिकहरूका लागि खाली समयमा सक्दो सहयोग गर्थे। शनिबार र आइतबार उनीहरूलाई नि:शुल्क परामर्शका लागि समय निकाल्थेँ।

एमटियुमा काम गर्ने क्रममा धेरै साथी बने। उनीहरूसँग धेरै कुरा सिक्ने मौका पाएँ। कथाजस्तै लाग्ने उनीहरूको दैनिकी कहालिलाग्दो थियो। नेपालमा कहिल्यै ठूला कलकारखाना नदेखेका तर इपिएस भिसामा कारखानामा काम गर्न आएका कतिपय नेपालीलाई काम गर्न नजानेको भन्दै साहुले कारखानाबाट पिटेर निकालेका छन्। कामबाट निकालिएपछि रुँदै आएका नेपालीहरू भेटेँ। काम गर्ने लामो समयका कारण सिकिस्त बिरामी भई बासस्थान खोज्दै हिँडेकाहरूलाई धेरथोर सहयोग गर्न पाएँ। कहाँ जाने र के गर्ने थाहा नभएका, भाषा राम्ररी बोल्न नजान्ने र केही महिनादेखि कारखानाको साहुले तलब नदिएकाहरूका दु:ख देखेँ। एउटा कारखाना छाडेर अर्कोमा काम गर्न जान कोरियामा त्यति सजिलो छैन। दिनभरी फलाम ठोक्नु पर्ने काममा धेरै जोतिएका छन्।

जे पाउने आशमा जन्मथलो, जन्मदेश छाडेको हो। त्यही गाँसबासकै व्यवस्था कतिले पाएका थिएनन्। थोरै तलबमा गुजारा गर्नुपर्ने, सानो अँध्यारो कोठामा गुम्सेर ५/६ जना बस्नु पर्ने बाध्यता उनीहरूलाई थियो। कोरियाको विकसित र आधुनिक रूप होइन, उनीहरू कतै अनकन्टार जंगलको जस्तो अभावको जीवन जिउँथे। न त खानाको राम्रो व्यवस्था छ, न तातोपानीको सुविधा छ, न त बाथरुमको। यस्ता अनगिन्ती गुनासा लिएर आउनेसँग मेरो दैनिक भेट हुन्थ्यो।

नेपालमा कोरियाली फिल्म र सिरियल हेरेर कोरिया आउनेहरूलाई सबैभन्दा गाह्रो हुने मैले देखेको छु। कम उमेरका युवा नै बढी कोरियाको इपिएस प्रणालीअर्न्तगत कोरिया आएको देखेँ। के काम गर्न जाँदैछु भन्नेसमेत थाहा नभएकाहरू पनि भेटेँ। कारखानामा काम गरेको अनुभवको त कुरै छोडौँ, घरमा सिन्को समेत नभाँचेकाहरू कारखानामा काम गर्न नसकेर रुँदै आएकालाई पनि भेटे। बिहान उठ्नेबित्तिकै हतार हतार एक बटुका भात र पानी खाएको भरमा १३/१४ घण्टा लगातार काम गर्नुपर्ने बाध्यता कोरियामा छ। नेपालमा ऋण काढेर कोरिया आएको केही महिनादेखि नै घरपरिवारले फोन गरेर पैसा किन नपठाएको भनेर ताकेता गरेको गर्‍यै गरेपछि डिप्रेसनका कारण पनि कतिपयले आत्महत्या गर्दा रहेछन्।

कोरियामा इपिएस प्रणाली सुरु भएको केही वर्षभित्रमा २५ नेपालीले आत्माहत्या गरिसके। २०१५ को सुरुको दुई महिनामा मात्रै तीन नेपालीले आत्महत्या गरिसकेका छन् भने कोरियामा यो तीन महिना पनि नसकिँदै मृत्यु हुने नेपालीको संख्या पाँच पुगिसक्यो।

२१ वर्षको कलिलै उमेरमा इपिएसमार्फत कोरिया आइपुगेका मानबहादुर कम्पनीको भान्सामा झुण्डिरहेको अवस्थामा फेला परेका थिए। उनी कोरिया आएको एक महिना मात्रै भएको थियो। कामको अत्याधिक चाप, एक्लोपना र भाषाको समस्याले गर्दा उनी चिन्तित भएका थिए होलान्। यस्तो अवस्थामा उनले न्यायो माया र सद्‌भाव पाएको भए सायद त्यो अवस्था आउने थिएन कि? उनले कतैबाट कुनै किसिमको मानसिक सहयोग नपाएको कारणले अत्याधिक डिप्रेसनमा गई आत्महत्या गर्न पुगेको हामीले अनुमान गरेका थियौं।

कोरियनहरूले नयाँ वर्ष सलनाल ठूलो पर्वको रूपमा मनाउँछन्। उक्त अवसरमा कलकारखानामा काम गर्ने श्रमिकहरूलाई केही दिन बिदा दिइन्छ भने कोही कोहीले बोनससमेत पाउँछन्। त्यस्तै चारैतिर खुसियाली मनाइरहँदा एक नेपालीले सुसाइट नोट लेखेर आत्महत्या गरे। झापा धुलाबारीका छविलाल भण्डारीले गत महिना फेब्रुअरी २० तारिखका दिन काम गर्ने कारखानाबाट एक किलोमिटर टाढाको जंगलको रूखमा झुण्डिएर आत्महत्या गरेका थिए। उनी त्यसको एक महिनाअघिमात्र इपिएस प्रणालीअन्तर्गत कोरिया आएका थिए।

हामी यो वर्ष इपिएस भिसामा यति हजार नेपाली कोरिया गए, कोरिया जानेहरूको तलब एक लाख नाघ्यो भनेर त लेख्छौँ। तर उनीहरूले बगाएका पसिना र कोरियामा काम गर्ने दौरानमा मृत्यु हुने, अंगभंग हुनेहरूबारे कमै चासो व्यक्त हुने गरेको छ। रेमिट्यान्सले देश चलाउने सरकारले पनि आफ्ना कामदारको सुरक्षाका लागि अहिलेसम्म केही गर्न सकेको छैन। सरकार र सरोकारवाला निकायले समयमै ध्यान नदिने हो भने यस्ता समस्या विकराल बन्ने छन्।

यो आलेख लेख्दै गर्दा मेरा औलाहरू टक्क अडि्ए। आँखा धमिलो भयो। मार्च १३ गते कोरियामा काम गर्ने साथीहरूले फेसबुकमा धमाधम एकै किसिमको पोस्ट गरिरहेको देखेँ- कोरियामा एक नेपालीले आत्महत्या गरे।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com