कस्तूप गैरे

देशभित्र प्रवासी हुनुपर्दाको पीडा
[2015-03-20 오후 11:42:00]

मौसम असाध्यै चिसो छ। हिउँ पर्न छोडेको एक महिना हुन थालिसक्यो तैपनि पहिले परेको हिउँका थुप्रा अझै बरफ बनेर बसेका छन्। काम छोडेर बसेको दुई महिना १० दिन भइसक्यो। अझै २० दिनभित्रमा कुनै कम्पनीको भिसा लगाइएन भने अवैधानिक भइन्छ। दुई महिनायता हरेक दिन घरबाट सोधिने पहिलो प्रश्न काम लागिस्? भन्ने हो। सँगै काम छोडेका साथीहरू सबै काममा लागिसके, म एक्लै छु काम लाग्न बाँकी। मन असाध्यै आत्तिन थालेको छ। आफूमात्रै आत्तिएर नहुने रहेछ, मलाई यत्तिकै छोडेर कुदिरहेको समयलाई टुलुटुलु हेरेर बस्छ मेरो भाग्य, तर आत्तिँदैन पटक्कै। मनभित्रको चिसोले बाहिर हिउँको चिसोलाई चुनौती दिएजस्तो लाग्छ।

अरु केही नयाँ साथी छन्। चर्चले बस्नका लागि सेल्टर दिएको छ, खाना आफैं किनेर खानुपर्छ। बसेबापत चर्चमा गएर उनीहरूसँगै प्रार्थना गर्नुपर्छ। म यशु प्रभुमा विश्वास गर्छु भनिदिनुपर्छ। उनीहरू हामीलाई प्रयोग गर्छन्, हामी उनीहरूलाई। तपाईं जे सुकै भन्नुस्, मैले पनि गरेको त्यही हो। तर केही साथी अलि बढी नै बहकिन्छन्, प्रलोभनमा पर्छन् र पानीमा चुर्लुम्म डुबेर सारा पापहरूबाट मुक्त हुन्छन्, अनि एकबारको जुनीमा मोक्ष प्राप्त गर्छन्।
अब ३-४ ओटा कम्पनी मात्रै रोज्ने अवसर पाइन्छ। वैधानिक बस्नका लागि भए पनि एउटा कम्पनीमा भिसा लगाउनै पर्छ। पट्यारलाग्दो एउटा दिनको अवसान हुन लागेको संकेत गर्दै क्षितिजमा घाम डुब्नै लाग्दा एउटा म्यासेज आउँछ, कम्पनीको। कम्पनी चाहार्दाचाहार्दै हैरान भएको म वास्ता गर्दिनँ। पल्लो कोठाबाट भर्खरै काम छोडेर बसेको साथी चिच्याउँछ- एस..... नयाँ कम्पनीको म्यासेज आयो।

मलाई यो कम्पनी पनि खासै चित्त बुझ्दैन। तर खोइ किन हो किन साथीले कम्पनी मन पराएर यहीँ गरौं भनेर जिद्दी गर्छ। म सोच्नुपर्छ भनेर तर्किन खोज्छु। ऊ मेरो समय सकिन लागेको स्मरण गराउँछ। भोलिपल्ट काम सुरु गर्दा नगर्दै लगभग ६ फिट अग्लो तर निक्कै दुब्लो एउटा अनुहार नजिकै आउँछ। ‘काम राम्रोसँग सिक् अलि सावधानीपूर्वक काम गर्,’ आदेशात्मक शैलीमा यत्ति भनेर ओझेल पर्छ। यो मरन्च्याँसे ठिक छैन यार! हेर्दै कस्तो कस्तो छ, साथीले प्याच्च भनीहाल्छ।

काम थालेको एकहप्ता हुँदा नहुँदै साथी बिरक्त भएर भन्छ- तिमी मान्छौ भने त यो कम्पनी छोडौं यार। यस्तो अर्धपागलसँग कसरी काम गर्न सकिन्छ। देखेनौँ, कति किचकिच गर्छ ? काम राम्रै गर्दा पनि कति कराउनु परेको त्यसलाई। यो सँग अरु २-४ महिना काम गरिरहने हो भने त आत्महत्या गर्न मन लाग्छ।
मान्छेहरू विदेशमा त्यसै आत्महत्या गर्दैनन्। ऊ अरु के-के भनिरहन्छ। म मौन बस्छु, बसिरहन्छु तर सुन्दिनँ।
भोलिपल्ट साथीले टुटेफुटेको भाषामा मालिकसँग कुरा गर्छ। मालिकले प्रष्टीकरणको अपेक्षामा मेरो अनुहार हेर्छ। मलाई एक्लै छोडेर साथी जाँदैन भन्ने अनुमान गरेर म जान्ने टोपलिन्छु- पुरुषले बोलेको कुरा पूरा गर्न सक्नुपर्छ। मैले भनिसकें नि म फेरि कम्पनी छोड्न चाहन्न।
पुरुषप्रधान समाजले पारेको प्रभाव कसोकसो फुत्त बाहिर निस्किहाल्छ। म साथीको अनुहारमा हेरेर तत्काल आँखा हटाउँछु। मालिकले मेरो पिठ्युँमा धाप मार्दै भन्छ- ग्रेट ब्वाए।
कम्पनी छोड्नु पर्दाका दु:ख मलाई राम्रोसँग थाहा छ। जस्तै भए पनि एक वर्षसम्म यो कम्पनी छोड्दिनँ- म मनमनै निश्चय गर्छु।
त्यसपछी मेरो दैनिकी सुरु हुन्छ, उहीँ मरन्च्याँसेसँग। काम राम्रै गर्दा पनि गाली गरिरहने मरन्च्याँसेसँग हाँस्दा पनि धेरै सोचेर हाँस्नुपर्छ। ऊ हाँस्नुको कारण खोज्छ। म रुनुको मात्रै कारण हुन्छ भन्छु। ऊ बिनाकारण नहाँस्न चेतावनी दिन्छ। म हवस् हजुरको भावमा यन्त्रवत काम गरिरहन्छु।
म त्यही मरन्च्याँसेको आधुनिक दास बन्छु, मलाई पैसा कमाउनु छ। म उसलाई खुसी पार्न ज्यान दिएर काम गर्छु, बदलामा ऊ ज्यान फालेर गाली गर्छ। म जति धेरै काम गर्छु, ऊ उतिधेरै मलाई कज्याउन खोज्छ। उसलाई आफू पनि मजस्तै कामदार हुँ भन्ने अलिकति पनि बोध नभए जस्तो भान हुन्छ। मानौँ मेरो मालिक उहीँ हो, अनि म उसको दास।
ऊ मलाइ खान नपुगेर यहाँ काम गर्न आएको ठान्छ। सोध्छ- तेरो देशमा धान छ?
हेप्नुको पनि हद हुन्छ नि यार! झनक्क रिस उठ्छ। तैपनि संयमित भएर भन्छु- छैन। मेरो देशमा त बोटमै चामल फल्छ।
ऊ चुप हुन्छ। केही बेरमा फेरि बोल्छ- तेरो देशमा जुन छ?
अब त अति भो। म झोक्किँदै भन्छु- मेरो देशमा दुई ओटा जुन छन् तलाइ के थाहा?
ऊ अचम्ममा पर्छ। मैले त्यसरी कहिल्यै जवाफ फर्काएको थिइनँ।
ऊ फेरि प्रश्न गर्छ- दुई ओटा जुन? वाहियात कुरा। ऊ च्याँठिन्छ।
म चुपचाप पर्स निकाल्छु। प्रेमिकाको फोटो देखाउँदै भन्छु- यी मेरो एउटा जुन, अर्को माथि आकाशमा।
अचानक उसको अनुहारमा एउटा शून्यता देखापर्छ। ऊ जीवनदेखि हारेजस्तै देखिन्छ।
सधैँ एका बिहानै मलाई गाली गर्छ। ‘साला! तेरो बाउको कम्पनी हो र बिनाकारण गाली गर्छस्?’ म नेपालीमै गाली फर्काउँछु। ऊ नबुझेको भावमा मेरो अनुहार हेर्छ। म मुसुक्क हाँसिदिन्छु, ऊ पनि हाँसेजस्तो गर्छ।
अति भयो भने कम्पनी छोड्छु भन्ने मनसायले म नयाँ दैनिकी सुरु गर्छु। ऊ जतिधेरै गाली गर्छ, म उतिधेरै हाँसिदिन्छु। मलाई ऊमाथि हावि हुन मन लाग्छ। कुर्चीमा बसेर मोबाइल चलाउन थाल्छु। च्याटमा एउटा साथी देखा पर्छ।
‘ओए मुला, जिउँदै छस् कि पैसाले पुरिएर मरिसकिस्?’ साथीले अस्त्र प्रहार गर्छ।
म सन्चो-बिसन्चो सोध्छु। ऊ पैसाको माग गर्छ। म कारण सोध्छु।
‘पार्टीको आन्दोलन छ। गाउँका सबै युवायुवती उठाएर ल्याउने आदेश छ। भोलि पार्टीमा आफ्नो ठाउँ सुरक्षित गर्न पनि त्यति त गर्नैपर्छ यार,’ ऊ एकैचोटिमा लेखी पठाउँछ।
‘अझै पनि आन्दोलन? बन्द? त्यतिधेरैले ज्यानको बलि चढाएर पनि अझै पुगेन? कसका लागि बन्द? केका लागि बन्द? ती दलहरूले समयको धर्म निर्वाह गर्न पर्दैन? आजका जनता के चाहन्छन बुझ्नु पर्दैन? आखिर त्यो बन्द र आन्दोलनले मारमा पर्ने त गरिब नै त हुन नि। फेरि त्यत्रो आन्दोलन गर्ने पार्टीले त आन्दोलनकर्तालाई भत्ता दिनु नि आजको जमानामा।’ म पनि एकैचोटिमा जवाफ फर्काउँछु।
ऊ दोस्रो प्रहार गर्छ- कमाउन थालेर बद्लिइछस्। बरु सिधै भन न दिन सक्दिनँ भनेर। किन कुरा घुमाउँछस्? सर्वहारावर्गको सत्ताप्राप्तिका लागि संघर्ष जारी छ। विकासको मूल फुटाउन अन्तिम क्रान्ति गर्न बाँकी छ। ऊ अरु के-के लेख्छ।
‘देश विकास कडा मिहिनेत र परिश्रमले हुन्छ साथी। बन्द र हड्तालबाट विकासको मूल फुट्छ भन्ने बकम्फुसे कुरा नगर,’ म जवाफ फर्काउँछु।
‘या! तलाई काम गर्न पर्दैन? तँ यहाँ मोबाइल खेलाउन आएको होस् कि काम गर्न?,’ मरन्च्याँसे फेरि कराउँछ। म उसको हातको मोबाइलतर्फ इसारा गर्दै मुस्काउँछु। ऊ आफ्नो काम पनि मलाई अह्राएर आफू आराम गर्न खोज्छ। म बुढी औंलो ठड्याउँछु (बुढी औंलाले मालिकलाई इसारा गरिन्छ)। ऊ आत्तिँदै उठेर खुरुखुरु काम गर्न थाल्छ। म बसेर मोबाइल खेलाइरहन्छु।
‘या! तलाई मालिक आउँदा पनि मोबाइल खेलाउनु पर्छ? घर फिर्ता जालास् फेरि,’ ऊ चेतावनी दिन्छ।
‘खोइ र मालिक?’ म प्रश्न गर्छु। ऊ रिसले मुर्मुरिन्छ। उसलाई जिल्याएकोमा म हाँसिरहन्छु।
बिहानै मेरो अनुहार निरास देखेर ऊ अचम्ममा पर्छ। म कसैको वास्ता नगरी काम गरिरहन्छु। आज किन हो ऊ मलाई हँसाउन खुब प्रयास गर्छ। आफ्नो प्रयास असफल भएपछि ऊ मोबाइलमा एउटी केटीको नांगो फोटो देखाउँदै हाँस्छ। म नदेखेजस्तो गर्छु।
‘मान्छेहरू केटीको नांगो फोटो हेरेर खुसी हुन्छन् र?’ म आफैंसँग प्रश्न गर्छु।
ऊ नांगो फोटोको एउटा कथा सुनाउन थाल्छ- २१ वर्षको हुँदा सैनिकको तालिम गर्न गएको। त्यहाँ केटीको अनुहारसम्म पनि देख्न नपाइने कडा अनुशासनमा बस्नुपर्ने। केटाहरू हेल्मेटको भित्रपट्टी नांगा केटीहरूको फोटो राखेर हेर्ने गरेका। एकदिन माथिका मान्छेले चाल पाएका अनि नांगै बनाएर एक हप्तासम्म बालुवाको भारी बोकाएर सजाय दिएका।
कुरा सकेर ऊ मुसुक्क हाँस्छ। म नहाँसेजस्तै गरी भन्छु- अह ! पटक्कै सुहाएन !
नबुझेको भावमा ऊ प्रश्न गर्छ- के? तेरो अनुहारमा हाँसो।
म व्यंग्य गर्छु। ऊ नसुनेजस्तो गर्छ।
‘संसारका सबैभन्दा अभागी तिनै हुन्, जसको अनुहारमा हाँसेको पनि सुहाउँदैन,’ म अझै जिस्काउँछु।
ऊ झनक्क रिसाएर खाउँलाझैं गरी हेर्छ।
‘बल्ल सुहायो,’ म खित्का छोडेर हाँस्छु। ऊ नसुनिने गरी भुत्भुताइरहन्छ।
भगवान्‌ले यस्ता मान्छे किन बनाउँदा हुन्- मन नभएका, मुटु नभएका। घर, परिवार, देश पुरै छोडेर कहाँ हो कहाँ आएर काम गर्दा मभित्र के गुज्रिरहेको हुँदो हो? उसको मनले अलिकति पनि सोच्न सक्दैन। ल मलाई त बुझ्न सक्दैन रे। आफैंलाई के सोच्दो हो यो मान्छे? जिन्दगीको परिभाषा के ठान्दो हो? हरेक बिहान ब्युँझनुअघि के सपना देख्दो हो?
‘मलाई यो मौसम पटक्कै मन पर्दैन,’ ऊ उदास देखिन्छ।
‘लौ! वसन्त ऋतु पनि मन पर्दैन ?,’ म प्रश्न गर्छु।
यो आत्महत्याको मौसम हो। प्रेमी-प्रेमिका नभएकाहरू सहन नसकेर धेरै आत्महत्या गर्छन्, यो मौसममा।
‘यो प्रेमको मौसम हो, त्यसैले जब-जब यो मौसम आउँछ, मलाई पनि बाँच्न मन लाग्दैन,’ ऊ निस्सार जिन्दगी बाँचिरहेजस्तो देखिन्छ।
यो मान्छे पनि जीवनप्रति यति धेरै गहिरिन सक्छ? मलाई विश्वास लाग्दैन। ऊ मेरो अनुहारमा हाँसो खोजेजस्तो गर्छ। मेरो मन हाँस्न मान्दैन।
केही दिनपछि मलाई मेसिनले अघोरै प्रेम गर्छ। मेरो हात समातेर तान्छ। तर मेरो मनले, शरीरले मेसिनलाई प्रेम गर्न मान्दैन। कसो-कसो मेरा औंला च्यापिइहाल्छन्। म एकमहिना अस्पताल भर्ना हुन्छु। मलाई नेपाल फर्किन मन लाग्छ। कम्पनीले बिदा दिँदैन। म बिहे गर्न जाने बाहाना बनाउँछु।
नेपाल जानुभन्दा अघिल्लो दिन बिहानै कोठाको घन्टी बज्छ। बाइबल लिएर ‘यशुको विश्वास गर’ भन्नेहरू होलान् भन्ने ठानेर म वास्ता गर्दिनँ। उनीहरू भए २ घन्टी बजाएर गइहाल्थे। ४/५ चोटिसम्म बजेपछि आँखा मिच्दै क्यामरा अन गर्छु। ढोकामा त्यही मरन्च्याँसे अनुहार देखा पर्छ। मलाई झनक्क रिस उठ्छ। ‘बिहान-बिहानै निद्रा खल्बलाउन किन आउन पर्‍या हँ? यो मरन्च्याँसे।’ म मन नलागी नलागी ढोका खोल्छु।
‘अझै उठेको छैनस् ? राम्रोसँग गएस्। अन्तिमचोटि तलाईं भेट्न मन लागेर आएको हुँ,’ ऊ उदास देखिन्छ, ‘तँ फर्किंदा म नहुन पनि सक्छु।’
ऊ धेरै बोल्दैन। म पनि केही बोल्दिनँ। ऊ एउटा खाम दिएर बिदा हुन्छ। बिदा हुने बेलामा उसका आँखा रसिला देखिन्छन्। म उसको यो व्यवहार देखेर छक्क पर्छु।
खामको बाहिरपट्टि वैवाहिक जीवनको शुभकामना लेखिएको छ। खाम खोल्छु। एउटा कागजसहित लगभग मेरो एक महिनाको तलब जति नै पैसा छ। म कागज खोल्छु।
कागजमा लेखिएको छ- आजसम्म मैले तेरो मन दुखाएकोमा माफी चाहन्छु। मैले तलाईं सधैं गाली मात्रै गरेँ। बदलामा तँ हाँसिरहिस्। मलाई आज आफैंसँग दया लागेको छ। तँ त भोलि आफ्नो घर जाँदैछस् तर त्यसरी जानका लागि मेरो दुनियाँमा कोही छैन। आफ्नै देशभित्र प्रवासी हुनुपर्दाको पीडा तँ बुझ्न सक्दैनस्। जीवनको अर्थ बोध गराइदिएकोमा धेरै धेरै धन्यवाद।
म उसलाई केही भन्न खोज्छु। दौडिँदै उसको पिछा गर्छु। तर ऊ गाडी चढेर हुँइकिन्छ। मलाई जीवनको एउटा महान् उदासिनता हुइँकिएजस्तो लाग्छ। ऐनामा आफ्नै अनुहार हेर्छु, अहँ पटक्कै मुस्कुराउन मान्दैन।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com