शशीशेखर घिमिरे

राप्रपाको फूट र अवको वाटो के ?
[2015-03-09 오후 6:41:00]

नेपालको कुनै पनि प्रजातान्त्रिक आन्दोलनमा कुनै प्रकारको संघर्ष र योगदान नभएको पार्टी नै नेपाली राजनीतिमा प्रजातान्त्रिक नामले स्थापित हुन पुगेको संयोग नेपालका पूर्वपन्चहरुको नेतृत्वमा संचालित दलहरुसंग छ । कमल थापा, सूर्यबहादुर थापा, पशुपति शम्शेर राणा, लोकेन्द्र बहादुर चन्द वा डा. प्रकाशचन्द्र लोहनीहरु वा राजेश्वर देवकोटाहरुले पार्टीको नाम त्यही प्रजातन्त्र शव्दावलीसंग जोडेर राखे अनि राष्ट्रियता समेत थपेर राष्ट्रिय प्रजातन्त्र पार्टी बन्न सके ।

तर नामले जति नै राष्ट्रप्रेमी र प्रजातन्त्र मैत्री देखिए पनि पार्टीको आन्तरिक राजनीतिक अभ्यास र प्रजातान्त्रिक संस्कार व्यवहार प्रदर्शनमा यी दलहरु सधै चुक्दै आए । फलत यी पंचायती पृष्ठभुमिका सबै जसो दलहरु सधै गुट, फुट र झुण्डमा सीमित हुन पुगे ।

२०४६ सालको परिवर्तनले पंचायतको समूल अन्त गरेपछि स्थापित राप्रपा चन्द र थापा कालान्तरमा राप्रपा बने, राप्रपा नेपाल, राप्रपा राष्ट्रवादीदेखि राष्ट्रिय जनशक्ति पार्टीसम्म पनि बने । हाल राप्रपाको व्यानरमै दुई दूई पार्टी छन । एउटाको नेतृत्व पशुपति शम्शेर राणाले गरेका छन भने त्यसमा आफनो फरक दावी पेश गर्दै नेता लोकेन्द्र बहादुर चन्द र नेता डा. प्रकाशचन्द्र लोहनीले अदालतको ढोका कुरीरहेका छन ।

सिद्धान्तका हिसावले प्रजातान्त्रिक संघर्षबाट स्थापित हक अधिकारको उपभोत्ताझै देखिएका यी दलहरुले आपसमा सधै एकको अस्तित्व अर्कोले स्वीकार गर्न सकेन्न र टुक्रे पार्टीको ठूलै बजार बनाइरहेका छन । यसै क्रममा राप्रपा नेपाल पनि स्थापित हुन पुग्यो कमल थापाको नेतृत्वमा । त्यो राप्रपा नेपाल उनै नेताको दल हो जुन नेता जनआन्दोलन २०६२ः६३ मा देशका गृहमन्त्री थिए र जनआन्दोलनको दमनमा सक्रिय थिए ।

तर नेपालीहरुले उनको त्यो विगतको कालो दमनको श्रृखलाको वावजुत उनलाई भारी मत दिए र संविधान सभाको दास्रो निर्वाचनबाट संविधान सभाको चौथो ठूलो दलका रुपमा स्थापित गराए । पहिलो संविधान सभामा ४ सिटमा सिमित राप्रपा नेपाल दोस्रो संविधान सभाबाट चौथो ठूलो दल हुन सक्नु आफैमा राजनीतिक उपलव्धी थियो । तर बोकाको मुखमा कुभिण्डो अटाउन नसकेको नेपाली उखानको चरितार्थ गर्न राप्रपा नेपाल राम्रो उदाहरण बन्न पुग्यो ।उसले पार्टीप्रतिको जनउभारलाई सम्मान गर्न नसकी उ अन्ततः फुटको संघारमा फस्न पुग्यो ।

अहिले कमल थापा फुटेको पार्टीका नेता हुन विवश भएका छन। उनले पार्टीका पुराना र प्रभावशाली नेता पदम सुन्दर लावती र उनको शसक्त समुहलाई दलमा समाहित गर्न चुकेका छन । आधिकारीक रुपमा वैधानिक दल थापाकै हुन सक्नेमा कसैको दुईमत नहोला तर उनले जनउभार प्राप्त दलको उचाई र गरीमा जोगाईराख्न भने सकेन्न । पार्टीमा आफैसंग अध्यक्ष पदमा प्रतिष्पर्धा गरेर हारेका नेता लावतीलाई पार्टीमा सम्मानजनक हैसियतमा समेटि राख्न सकेका भए कमल थापाकै हैसियत ठूलो र शसक्त हुन सक्थ्यो तर त्यो अवसर उनले गुमाएका छन ।

नेता लावतीले कमल थापाविरुद्ध लगाएका आरोप कति जायज हुन वा नाजायज हुन त्यसको फैसला त राप्रपाजनहरुले नै गर्न सक्लान । तर देश दुनियांले जानेको, देखेको र भोगेको सत्य हो की कमल थापाले आफना भाई फुटबलर गणेश थापालाई चोरबाटोबाट सभाषद बनाए । त्यो पनि भाईमाथि भ्रष्टाचारको अभियोग लागेपछि मन्त्रीपरिषदबाट सभाषदमा मनोनित गराउदा कमल थापाले पार्टीमा एकलौटी गरेको कुरो दुनियांकै लागि हजम हुने खालको थिएन ।

जे होस राप्रपा नेपाल नाम कै खिल्ली उडने गरी टुक्रिएको छ । यसले फुटनेलाई भन्दा हेर्नेहरुका लागि राम्रो राजनीतिक मजा दिलाएको छ । गद्धीच्यूत भैसकेका राजा र हिन्दू राज्य पुर्नस्थापनाको माग गर्ने दल राप्रपा नेपाल भित्रको यो वेमौसमी विभाजन विपक्षीहरुका लागि हसीमजाकको राम्रो मसला त हो तर दल,जनता वा देशका लागि उतिसारो सुखद खवर भने पक्कै हैन ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com