Manju Thapa

अन्तर्राष्ट्रिय विवाह र महिला हिंसा
[2015-03-09 오전 10:07:00]

२२ वर्षिया अनिशा शेर्पालाई पत्रिकामा प्रकाशित विज्ञापनले तान्यो। त्यसमा भनिएको थियो, ‘के तपाई कोरियनसँग विवाह गर्न चाहनु हुन्छ? यदि हो भने तपाइलाई पकेट खर्च पनि दिइन्छ,’ अनिशाले सुनाइन्, मलाई अचम्म लाग्यो।

त्यो विज्ञापन ‘दक्षिण कोरियाका मानिससँग विवाह गर्नेलाई दिइने मासिक खर्च’ का बारेमा थियो। म काठमाडौं, सामाखुसीस्थित अन्तराष्ट्रिय विवाह ब्युरोमा गएँ। त्यहाँ मैले दक्षिण कोरियाली नागरिकले एक हुल नेपाली युवतीहरूसँग अर्न्तवार्ता लिइरहेको देखेँ। ऊ यसरी बसेको थियो, मानौ कुनै सौन्दर्य प्रतियोगिताको निर्णायक हो। उसले मेरो पनि अर्न्तवार्ता लियो। उसले मलाई मन परायो र मैले पनि ऊसँग विवाह गर्ने निर्णय गरेँ। यो घटना केही मिनेटको वार्तालापमै भएको थियो।

अनिषाको यो अनुभवले धेरै कुरा इंगित गर्छ। दक्षिण कोरियाको विकासले सिंगो एसियाली क्षेत्रलाई आकर्षित गरेको छ। आम सञ्चार र सांस्कृतिक रूपहरु जस्तै कोरियाली सिनेमा, नाटक, फेसनले नेपाली समाजलाई समेत प्रभावित पार्दै लगेको छ। यस्तोमा दक्षिण कोरियाली नागरिकहरूको अन्य देशका नागरिकसँग हुने विवाहलाई दक्षिण कोरियाको बहुसांस्कृतिक अभियानका रूपमा लिइएको छ। दक्षिण कोरिया घट्दो जनसख्या र जन्मदरले चिन्तित देखिन्छ। त्यसले गर्दा भविष्यमा हुने आर्थिक बृद्धिमा हुने असरलाई ध्यानमा राखेर उसले नयँ नीतिहरु ल्याउन थालेको देखिन्छ, जसले गर्दा सस्तो ज्यालामा विदेशी कामदार र बेहुलीहरु भित्राउन र भविष्यका लागि कामदारको व्यवस्था गर्न सजिलो होस्।

अफिसमा लच्चको समय थियो। कोरियन साथीहरु सबै बाहिर खाना खान गए। म भने टेवुलमा बजेको फोनको घण्टीले अडकिएँ। फोनमा एकजना बहिनी रूदै थिइन्, दिदी म भागेर तापाईँको अफिस आउँदै छु। मसँग पैसा पनि छैन, मोवाइल पनि छैन। मलाई कोरियन भाषा पनि आउँदैन। प्लिज मलाई सहयोग गर्नुहोस, म ट्याक्सी ड्राइभरलाई दिन्छु है, भन्दै कोरियनलाइ फोन दिइन। मैले अफिसको ठेगाना र मेरो मोवाइल नम्बर दिए। आधा घण्टामा पर्वत घर भएकी सुनिता पुन (नाम परिवर्तन) मेरो अफिसको गेटमा आइन्।

म ट्याक्सी डाइभरलाई पैसा दिँदै थिएँ, उनी मलाई अंगालो हालेर रून थालिन्। उनीसँग सानो बच्चा पनि थियो। मैला लुगा, खुट्टामा चप्पल छैन। घाटीमा चुरोटले पोलेका घाउ देखाउँदै, दिदि त्यो राक्षसबाट मलाई बचाउनुस्। म यो बच्चासँगै झ्यालबाट हाम फालेर भागेको भन्दै रोइन्। उनको अवस्था देखेर म स्तब्ध भएँ। सुनिता १९ वर्ष हुँदा ५५ वर्षका कवाडी बेच्ने कोरियन पाक हुनसँग नेपालमा धुमधामले विवाह गरेर कोरिया आएकी रहिछिन्।

तर यो कथाको अर्को पाटो पनि छ। दक्षिण कोरियाको स्थानीय सरकार जन्मदर बदाउन चाहन्छ, त्यसैले ऊ बेला–बेलामा यस्ता ‘दुलही’ खोज्न जाने भ्रमणहरुको आयोजना गर्छ। देशबाहिर हुने विवाह स्थानीय विवाह ब्यूरोका इकाइहरुले गर्छन्। कतिपयले त तस्विर मात्र हेरेर दुलही चुन्छन्। महिलाहरुलाई यहाँ ‘बस्तुको’ रुपमा मात्र हेर्ने गरिन्छ। ‘सेल’ मा राखिएको बस्तु जस्तो महिलाको लिलामी हुन्छ। मिस्टर ख्याङ (५६) अर्न्तर्वातामा भन्छन, ‘यी एकाइले ‘दुलही’ को खोजीका लागि बेला बेलामा नेपाल र भियतनाममा भ्रमणको आयोजना गर्छ।’

अचेल थुपै दक्षिण कोरियाली पुरूषहरु नेपाल आउने गर्छन् किनकि त्यहाँको सरकारले बहुसंस्कृति र अर्न्तराष्ट्रिय विवाहरुहरुलाई बढावा दिने गरेको छ। सउलस्थित एक विवाह व्यूरोका अनुसार उसले प्रत्येक महिना १५–२० जना कोरियनहरु नेपाल पठाउँछ।
कोरियालीसँग विवाह गरेका नेपाली महिलाहरु यौन हिंसाद्वारा बढी पीडित भएका छन्। कयौ नेपालीहरु अहिले घरबारविहिन अवस्थामा छन्। उनीहरुले सजिलै कुनै कानुनी उपचार पनि पाउँदैनन्। कतिपय छोडपत्रको प्रक्रियामा छन भने कतिपय वैधानिक कागजातविहिन भइसकेका छन्।

उनीहरु कोरियन अध्यागमन विभागका प्रहरीहरुले समात्लान् भन्ने त्रासमा बाचेका छन्। अधिकांश महिलाले आफ्ना श्रीमानले गर्ने मौखिक र यौन हिंसाको उजुरी कतै गर्दैनन्। कोरियाली भाषामा कमजोर भएका श्रीमतिहरुले यस्ता सास्ती बढी खेप्नुपरेको छ। भाषाकै कारण पनि नेपाली दुलहीले कोरियाली समाजको रहन सहनमा भिज्न समस्या भोग्दै आएका छन्। यो व्यक्तिगत सांस्कृतिक समस्याले मात्र नभएर संचार सक्षमता र परिवारिक मूल्य–मान्यता फरक हुनाले पनि हुने गर्दछ। साथै पारिवारिक समस्याहरु जस्तै, विवाहित जोडिमा हुने उमेरको भिन्नता र तालमेलमा आउने समस्या र कानुनमा के छ भन्ने जानकारी नहुँदा पनि उनीहरुले न्याय पाउन सकेका छैनन्।

नेपाली महिलाहरू आफ्नै श्रीमानबाट घरेलु हिसाको सिकार भईरहेका छन्। अति कमले मात्र आफ्ना कोरियाली श्रीमानसँग खुसी भएको बताएका छन्। केही महिलाका श्रीमानहरु त मानसिक र शारीरिक रूपमा अशक्त छन्।तर यस सम्बन्धी दक्षिण कोरियाको सरकार (जहाँसम्म बहुसांस्कृतिक नियमहरु सरकारले नै बनाएको हो।) को प्रतिक्रिया सन्तोषजनक भने पाइदैन्।

विवाह नितान्त व्यक्तिगत विषय हो। तर विदेश जाने इच्छामा गरिएका धेरै विवाह फर्जी हुने गरेका पनि छन्। यस्तोमा महिलाले यौन र अन्य हिंसाको अत्याधिक शिकार हुनुपरेको छ। कोरियामा नेपाली दुलहीहरुलाई दोश्रो दर्जाको नागरिकको रूपमा लिइन्छ। नेपाली लगायत अन्य विदेशी दुलहीमाथि कोरियामा हुने हिंसाले दक्षिण कोरियाको बहुसांस्कृतिक नीति माथि ठूलो प्रश्नचिन्ह खडा गरेको छ।

बरू अमेरिकाको ग्रिन कार्ड पाउन सजिलो होला, तर कोरियाली पासपोर्ट बोक्ने सपना सजिलो छैन। दिनहुँ जस्तो समाचार आइरहन्छ, नेपाली महिला दुवईमा बेचिइन्, संगिता घिमिरे चीनमा १५ लाखमा बेचिइ्न्। अझै यस्ता समाचारहरु दैनिकजसो आइरहेका छन्। तर पनि विवाह गरे पकेट खर्च दिइने विज्ञापनप्रति नेपाली महिला अझै आकर्षित भइरहेका छन्।

जबसम्म हामी आफ्ना श्रीमानको देशको भाषा र रहनसहन नबुझी बिहे गर्न तत्पर हुन्छौ भने यस्ता अप्रिय घटनाहरु कम हुनेछैनन्, अझ बढ्नेछन्। घरमै हामी असुरक्षित हुनेछौं, श्रीमान् र उनका परिवारबाटै असुरक्षित हुनेछौं। त्यसैले हरेक अन्तराट्रिय बिहेअघि हामी सचेत हुनैपर्छ, कतै हामी बेचिन लागेका त होइनौं? कतै हामी शोषणमा त पर्दैनौं? कतै हामीलाई जिउँदै जलाइने त होइन?



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com