लोकनारायण सुवेदी

सार्थक सहमति नै फेरि पनि सही बिकल्प !
[2015-03-06 오후 7:41:00]

आन्दोलनमा उत्रेको प्रतिपक्षको मोर्चाले गएको फागुन १६ गते काठमाण्डौमा बिशाल प्रदर्शन गर्‍यो । उसले यो आन्दोलन सहमतिमा संविधान बनाउनका लागि दबाब स्वरुप गरेको कुरा दोहोर्‍याउदै आएको छ । शुरु शुरुमा निरपेक्षरुपमा सहमति हुनै सक्तैन भनेर यसको बिरोध गरिरहेका सत्ताधारी दलहरु पनि यतिबेला सहमतिको कुरा गर्न थालेका छन् । यद्यपि यो सहमतिलाई सहमतिकै नाममा निरर्थक साबित गर्न समेत एकथरी लागेको देखिन्छ । जसले गर्दा यो सहमति शब्द सुन्न नै पनि अहिले एक किसिमको एलर्जी जस्तो हुन थालेको छ । त्यसैले सहमति हुन्छ भने गर्ने, हुदैन भने प्रकृयामा जाने भन्ने हुइया पनि चलाइएको छ । तर कुरा के हो भने प्रकृयामा जानका लागि पनि सहमति नै चाहिन्छ । त्यसैले सहमति भनेको मिलेर जाने र प्रकृया भनेको पेलपाल गरेर जाने भन्ने खालको जुन अर्थ लगाइदैछ त्यो बिल्कुलै गलत छ । हुन पनि न सहमति सहमतिका लागि हो न प्रकृया प्रकृयाका लागि हो । यो त एउटा माध्यम मात्र हो । साध्य त सार्थक संविधान बनाउने नै हो ।सहमति गरेर या प्रकृयामा गएर पनि जनता र राष्ट्रको तत्कालीन र दूरगामी हितमा संबिधान बन्दैन भने त्यसको कुनै अर्थ रहादैन । केवल एउटा अल्मल्याइरहने कुरा मात्र ठहरिन पुग्दछ । गणितीय हिसावले कथित ठूला बनेका दलका नेताहरुको चोचोमोचो मिलाउने कुरा पनि होइन सहमति । यो अधिकतम सबै आन्दोलनकारी दलहरुको भावना र मर्मलाई समेटर साझा हितमा संबिधान बनाउने कुरा हो ।यसलाई आफ्नो संकीर्ण स्वार्थमा लटपटयाएर दुनो सोझ्याउन खोज्ने प्रबृत्तिले वास्तवमा अहिलेसम्म सहमति नबनेको हो र यसप्रति नै नकारात्मक टीका टिप्पणी हुन थालेका हुन् ।

बास्तवमा जनता र राष्ट्रपति समर्पित र केन्द्रित भएर लाग्ने बित्तिकै यसले सार्थकता पाउदछ । संविधान पनि बन्दछ र त्यसले धेरैभन्दा धेरै जन समुदायको भावनालाई एकाकार गरेर पनि लैजान्छ । यसका कारण १२ बूदे समझदारी, आन्दोलन निर्माणमा एकता र बिस्तृत शान्ति सम्झौता तथा जन समुदायसाग सरकारले गरेका बिभिन्न सहमति र सम्झौताहरुको भावनलाई समेटेर कार्यान्वयनको जुन कुरा सहमतिका सन्दर्भमा उठेका छन् तिनलाई आबश्यक सन्दर्भ सामाग्रीका रुपमा लिएर जनतालाई बिश्वास र भरोसा लाग्ने निकास दिन तत्पर हुनु सर्बथा उचित आवश्यक छ । अनेक बहानामा यसो गरिएन भने त्यो जनता र राष्ट्रको हितमा त हुदैन नै स्वयं आफुलाई गणितीयरुपमा ठूला मान्ने दलहरुको पनि हित नहुने कुरा पक्का छ । आज कुनै पनि राजनीतिक दलहरुले बाल हठको प्रदर्शन र जिद्दी नगरे हुन्छ । किनकि सबै दलहरु संबिधान र सुशासन दिन असफल भएका दलहरु हुन् र जनताको सन्देहको घेरामा परेका दलहरु नै हुन् । यी दलहरुले आफुलाई अर्कोभन्दा चोखो, नैतिकबान, सच्चरित्र देखाउनु या देखाउन खोज्नु केवल पाखण्ड प्रदर्शन मात्र हो । जालझेल, षडयन्त्र र तिकडमबाजीको राजनीति गर्ने दलहरुले उच्च आदर्शको कुरा गर्नु केवल ‘ढााटको निम्तो’ जस्तो कुरा हो । ती कसैल पनि ‘पानी माथिको ओभानो’बन्ने ठूलै कसरत पनि गर्लान् तर त्यसबाट उनीहरुले आफ्नो सिद्धान्तहीन, नीतिहीन, नैतिकताहीन र आदर्शच्यूत औसरवादी चरित्रलाई लुकाउन छिपाउन सक्ने छैनन् । एक वा अर्को किसमले यो उजागर भएर जान्छ । जनताले ढिलो चाडो वास्तविकता बुझ्नेछन् । त्यतिबेला या त ती दलहरु आमूलरुपमा सुध्रिने सच्चिने प्रकृयाबाट अनिवार्यरुपमा गुज्रिनै पर्दछ या जनताले अर्को भरपर्दो र बिश्वासिलो बिकल्प खोज्नेछन् । यो इतिहासको अखण्डनीय नियम नै हो । यसलाई कसैले लत्याउन सक्तैन ।लत्याउन खोज्नेहरु आफै किनारामा धकेलिने छन् ।

हाम्रो नेपाली समाजको चरित्रलाई लामो सयदेखि मूलरुपमा समन्वयकारी समाज मानिन्छ । यो मानिनुका पछाडिको कारण हो – नेपालमा जुनसुकै जात–जाति, सास्कृति, भाषा, धर्म परम्पराका मानिसहरुका बिचमा पनि परस्पर सद्भाव, सहिष्णुता, सम्मान र एकत्वको भावना रहेको छ । यो नेपाली जनताको मौलिक बिशेषता पनि हो । तर जनताका यी उदात्त मानबीय सामाजिक चरित्रको आडमा कसैले पनि आम जन साधारणमाथि मुठ्ठीभर मानिसहरुको शोषण, उत्पीडनलाई कायम राख्न र लुकाउन खोज्छ र केवल आफ्नो हैकम चलाउन चाहन्छ भने त्यो नेपाली जनताका लागि कदापि सैह्य र पाच्य हुदैन । उनीहरु बिद्रोहमा उत्रिन्छन् । यो जनताको नैसर्गिक अधिकार पनि हो । हामीले हाम्रो देशको जनताको इतिहासलाई सर्सरी हेर्‍यौ र केलायौं भने मात्र पनि यो कुरा सबैमा छर्लङ्ग हुन्छ।

राजा राजेन्द्र बिक्रम शाहलाई जनताले दिएको ज्ञापन पत्र, जंगबहादुरको हुकुमी शासनका बिरुद्ध आदि शहीद लखन थापाको बिद्रोह, नारी उत्पीडनको बिरुद्ध योगमाया न्यौपानेको जल समाधी, प्रचण्ड गोर्खाको बिद्रोह, नेपाल प्रजापरिषद् नामको पहिलो ऐतिहासिक राजनीति दलको स्थापना, ०९७ सालको शहीद पर्व, नेपाली राष्ट्रिय काग्रेसको स्थापना, नेपाल कम्युनिष्ट पार्टीको स्थापना, नेपाली काग्रेसको गठन(राष्ट्रिय काग्रेस र प्रजातन्त्र काग्रेस मिलाएर) जस्ता परिघटनाले हाम्रो इतिहास भरिएको छ । त्यसयता ०७ सालको क्रान्ति, ०१७ सालको प्रतिक्रान्ति, २०४६ सालको संयुक्त जन आन्दोलनद्वारा पञ्चायतको अन्त्य र बहुदलीय प्रणालीको पुनस्र्थापना, २०६१ माघ १९ को प्रतिक्रान्ति र त्यसपछि उठेको राजतन्त्र बिरोधी ब्यापक संयुक्त आन्दोलनद्वारा राजतन्त्रको अन्त्य जस्ता राजनीतिक घटनाक्रमले जनता सबै किसिमका शोषण अन्याय, उत्पीडन र थिचोमिचोका बिरुद्ध बिद्रोहमा उत्रिन्छन् भन्ने कुराको पुष्टी गर्दछ । नेपाली जनताको यस आन्दोलनकारी पृष्ठभूमिलाई हामीले बिल्कुलै बिर्सन हुदैन ।

बस्तुत: यसै फराकिलो राजनीतिक परिप्रेक्षमा आजको राष्ट्रिय सहमतिको आधार र औचित्यलाई हेरिनु र खोजिनु पर्दछ । यसलाई तत्कालीन निहीत स्वार्थको जोड घटाऊमा मात्र सीमित गरेर अबलम्बन गर्न खोजियो भन यसले समस्याको समाधान दिदैन । टालटुले समाधान दिइहाल्यो भने पनि त्यो भत्किन्छ । नेपाली समाजका अन्तरिबिरोधहरुको सही किसिमले हल गर्न सकिएन भने सामाजिक र राजनीतिक स्थायित्व र स्थिरतको कुनै अर्थ पनि हुदैन । हामीले १०४ बर्षे जहानिया राणा शासन, ३० बर्षे सामन्ती राजतन्त्रात्मक पञ्चायती शासन, १२ बर्षे बहुदलीय शासन अनि २०६१ माघ १९ को प्रतिगामी शाही शासन पनि देखे ब्यहोरेकै हो । अन्तत: किन २०६२/६३ सालको बृहत संयुक्त जन आन्दोलन गर्नु परेको हो ? यसको सही र सकारात्मक उत्तरको खोजी हामीले गर्नै पर्दछ । नेपाली जनता केही नेताहरुको आपसी लेनदेन र चोचोमोचो मिलाउने खालको सहमति होइन, जनतलाई अधिकार सम्पन्न तुल्याउने राष्ट्रिय सहमतिको पक्षमा छन् । उनीहरुले अहिले खोजिरहेको कुरा भनेकै राजनीतिक, आर्थिक, सामाजिक र साास्कृतिक समानता सहीतको अधिकार हो ।

तर जनताले जनताद्वारा उठाएका यी कुराहरु जनताका लागि भने भएका छैनन् । ‘जनताद्वारा, जनताले नेताका लागि’ मात्र भएका छन् । अहिलेसम्मको यथार्थ इतिहासले यही कुरा भन्दछ । अबको शासन ब्यवस्था बस्तुगत रुपमा नै जनताले, जनताद्वारा र जनताकै लागि हुनु पर्दछ । यसको बिकल्प कुनै पनि टालेटुले कुरा हुन सक्तैन । जनता अधिकार सम्पन्न भए पछि नै राष्ट्र, राष्ट्रियता र राष्ट्रिय सार्वभौमिकता पनि सुदृढ हुन सक्तछ । यस्तो अबस्थामा नै राष्ट्रिय स्वाधीनता पनि सार्थकरुपमा मुखरित र सुदृढ हुन पनि पाउादछ ।



Nick Name     
comment   




कोरियामा बृहत सांगितीक कार्यक्रम २०७६ भव्य रुपमा सम्पन्न


नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com